शनिबार, वैशाख ८, २०८१

प्रदेश एककै नमुना ‘जीतपुर मावि’: विज्ञान संकायमा निःशुल्क पठनपाठनसहित छात्रवृत्ति

डिल्ली रमण सुवेदी / इलाम२०७९ साउन २८ गते २२:५२

इलामको पश्चिम क्षेत्रमा पर्छ देउमाई नगरपालिका । यही देउमाई नगरपालिकाको वडा नं. ९ मा छ ‘श्री जीतपुर माध्यमिक विद्यालय ।’ खुल्ला , फराकिलो ठाउँ । सुविधासम्पन्न विद्यालय भवन । ठूला र फराकिला कक्षाकोठा । इन्टरएक्टिभ प्यानलसहितका प्रविधिमैत्री कक्षाकोठा । सीसीक्यामेराको २४सैं घण्टा निगरानी । शुद्ध र स्वच्छ पिउने पानी । चमेनागृह । शौचालयलगायतका सम्पूर्ण भौतिक सुविधा । यी विद्यालयका भौतिक विशेषता हुन् ।

विषयविज्ञ र अनुभवि शिक्षक, शिक्षिकाहरु, साधारणधारतर्फ कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान संकायको अध्यापन, प्राविधिकधारतर्फ १८ महिने भिजेटिए, एआई तालिम, भिडियो एक्स–रे तालिम, कम्युटर साइन्सको पनि पठनपाठन र प्रत्येक वर्षको एसईईमा सतप्रतिशत वा सर्वाधिक नतिजा, बालमैत्री वातावरण विद्यालयका शैक्षिक विशेषता हुन् ।

भौतिक र शैक्षिक विशेषता, शिक्षक, शिक्षिकाको मेहनत, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको उचित व्यवस्थापनले नै जीतपुर मावि इलामको पश्चिमी क्षेत्रको रोजाइको विद्यालय बनेको छ । त्यतिमात्रै होइन, इलाम जिल्लाकै आदर्श विद्यालय र प्रदेश एककै नमुना विद्यालय बन्न पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि नमुना विद्यालयको पहिचानसहित हरेक वर्ष आर्थिक तथा भौतिक सुविधा, अनुदान र सहयोग दिँदै आएको छ ।

यसैगरी शैक्षिक क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्थाहरुले विद्यालयलाई निरन्तर सहयोग गर्दै आएका छन् । यसले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो मद्दत पुगिरहेको जीतपुर माविका प्रधानाध्यापक गोविन्द बराल बताउँछन् ।

बरालका अनुसार विद्यालयमा अहिले प्लेग्रुपदेखि १२ कक्षासम्ममा करिब ७ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । जसमा जीतपुर क्षेत्रका मात्रै नभएर अन्यत्रका विद्यार्थीहरु पनि छन् । कक्षा ११ र १२ भने देशकै विभिन्न जिल्लाका विद्यार्थी पनि आएर अध्ययन गरिरहेका छन् । यो सामुदायिक विद्यालय भएर पनि शैक्षिक गुणस्तर राम्रो भएकै कारण विद्यार्थीको रोजाइमा परेको उनको बुझाइ छ । विद्यालयको शैक्षिक गुणस्तर कायम राख्दै अझ वृद्धि गर्न प्रधानाध्यापक बरालसहित सम्पूर्ण टिम नै अहोरात्र खटिएको छ । यसको परिणाम विद्यार्थीको रोजाई र परीक्षाको नतिजाले बताइरहेको छ ।

विज्ञान विषयमा निःशुल्क पठनपाठन

एसईई पास गरेर विद्यार्थीहरु उच्च शिक्षा पढ्न विभिन्न सरकारी तथा निजी कलेजहरुमा जान्छन् । राम्रो अध्ययन गर्ने विद्यार्थीको रोजाईमा पर्छ विज्ञान विषय । यही विषय अध्ययन गर्न कतिपयलाई १० कक्षासम्म आफूले पढेको विद्यालय छोड्नुपर्ने बाध्यता पनि आइपर्छ भने निजी कलेजको चर्को शूल्क, महङ्गो डेराभाडा पनि तिर्नुपर्छ । तर जीतपुर माविले विद्यार्थीहरुलाई निःशुल्क रुपमा विज्ञान विषय पढाउने भएको छ । कक्षा ११ र १२ मा विज्ञान संकायमा पढ्न चाहने सबै विद्यार्थीलाई विद्यालयले निःशुल्क पढाउने भएको हो ।

त्यति मात्रै होइन, विद्यालयले प्रत्येक विद्यार्थीलाई वार्षिक २० हजारको छात्रवृत्ति पनि दिने प्रधानाध्यापक बरालले बताए । विद्यार्थी र अभिभावकलाई आर्थिक भार नपरोस् भनेर विद्यालयले निःशुल्क अध्यापन गराउन लागेको उनले बताए । अर्कोतर्फ विज्ञान विषय पढ्छु भनेर इच्छा राख्ने विद्यार्थीले घरपायकै गुणस्तरीय शिक्षा पाउने र कमजोर आर्थिक अवस्थाकै कारणले राम्रो पढ्ने विद्यार्थीले पढाईबाट बञ्चित हुन नपरोस् भनेर निःशुल्क पठनपाठन गराउन लागिएको उनको भनाई छ ।

यसैगरी वार्षिक २० हजारको दरले प्रत्येक विद्यार्थीलाई दिइने छात्रवृत्तिले शैक्षिक सामग्री, पोशाक र अन्य खर्च पनि धान्ने प्रधानाध्यापक बरालले बताए । ‘विद्यार्थीले पढ्ने इच्छा गर्नुपर्यो, विद्यालय सबै खर्च व्यहोरेर पढाउन तयार छ’ उनले भने, ‘आर्थिक अभावकै कारण कोही पनि विद्यार्थीले उच्च शिक्षा र राम्रो विषय छनौटबाट बञ्चित हुन नपरोस् भनेरै यो सुविधा दिएका हौं ।’

कक्षा ११ र १२ उच्च शिक्षाको आधार पनि भएकोले विज्ञान विषय लिएर पढ्ने विद्यार्थीले भविष्यमा जुनसुकै क्षेत्र रोजेर आफ्नो क्षमता देखाउन सक्ने उनको भनाई छ । ‘हामीले विद्यार्थीको आधार तयार गरिदिने हो’, उनले भने, ‘क्षमतावान विद्यार्थीलाई अघि बढ्ने बाटो देखाउने काम हाम्रो हो ।’

पठनपाठनमा सहयोग र सुविधा दिएर विद्यार्थीलाई अघि बढाउन खोजेको उनको भनाई छ । विद्यालयले निजी स्रोत र नमुना अनुदानबाटै निःशुल्क पठनपाठन र छात्रवृत्ति दिने उनले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक