बिहीबार, वैशाख १३, २०८१

संकटमा पानी, जोखिममा मानव जिवन

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २९ गते १७:०१

फोटो सौजन्य- निराजन श्रेष्ठ स्विजरल्याण्ड

पानीले हाम्रो ग्रहको ७० प्रतिशत भाग ओगटेको छ । त्यसैले हामीलाई लाग्छ, पानी छ्यालब्याल छ । जतापनि छ । चाहिएभन्दा बढी छ । यो सधैं प्रशस्त हुनेछ भनेर सोच्न सजिलो छ। तर हामीले पिउने, नुहाउने, हाम्रो खेतबारीमा सिँचाइ गर्ने ताजा पानी यति कम छ कि त्यो विश्वासै नलाग्ने गरि दूर्लभ छ । विश्वको पानीको जम्मा तीन प्रतिशत मात्र ताजा पानी हो । त्यसकोपनि दुई तिहाई भाग हिमनदीहरूमा बरफको रुपमा टाँसिएको हुन्छ । त्यसको अर्थ हामीलाई आवश्यक पर्नासाथ चाहिएजति प्राप्त हुन्न पानी ।

फलस्वरूप, विश्वभरका करिब एक अर्ब १० करोड मानिस पानीको पहुँचबाट वञ्चित छन् । कुल २ अर्ब ७० करोडले वर्षको कम्तिमा एक महिना पानीको अभाव भोग्छन् । सरसफाइकालागि दुई अर्व २० करोड मानिसलाई पानी पर्याप्त हुन्न । त्यसले गर्दा हैजा र टाइफाइड ज्वरो, र अन्य पानीजन्य रोगहरूको शिकार बन्छन् । पखाला रोगबाट मात्रै प्रत्येक वर्ष २० लाख मानिस मर्छन् जसमध्ये अधिकांश बालबालिकाको मृत्यु हुन्छ । त्यो स्वच्छ पानीकै अभावका कारणले हो ।

जिव परिव्रित्ती प्रणाली, जिवको चक्र (इकोसिस्टम) लाई फस्टाउने र बढ्दो मानव जनसंख्यालाई खुवाउने धेरै पानीका स्रोत, पानी प्रणालीहरू तनावग्रस्त भएका छन् । नदीहरू, तालहरू, जलचरहरू मर्दै छन् । भएको पानी प्रयोग गर्नका लागि धेरै प्रदूषित हुँदैछ । विश्वका आधाभन्दा बढी सिमसार क्षेत्र लोप भइसकेका छन् । कृषि सबैभन्दा बढी पानी प्रयोग हुने क्षेत्र हो । कमजोर कार्यक्षमताका कारण त्यो धेरै खेर जान्छ। जलवायु परिवर्तनले संसारभरको मौसम र पानीको ढाँचाहरू परिवर्तन गर्दैछ । केही क्षेत्रमा अभाव र खडेरीले सुख्खा पारेको छ । डढेलो निम्त्याएको छ । कतै बाढी निम्त्याउँछ।

हालको पानी उपभोग दर कायम रहे अवस्था विश्वका नागरिकालागि खराब हुने छ । कसैले पानी त्यत्तिकै बगेर जान दिने, फाल्ने । कसैले पिउनै नपाउने । २०२५ सम्म, विश्वको दुई तिहाई जनसंख्याले पानीको अभावको सामना गर्न सक्ने विश्व वन्यजन्तु कोषको अनुमान छ । र विश्वभरका इकोसिस्टम प्रणाली अझ बढी पीडित हुनेछन्। ति पिडित हुनुभनेको हामी झनै पिडित हुनु हो ।

मानव समुदायले विश्वका धेरै प्राकृतिक जलमार्गहरू प्रयोग गरेको छ । बाँधहरू, पानीको इनार, विशाल सिंचाई प्रणालीहरू । मानव सभ्यताहरूलाई बढ्न र फस्टाउन दिने अन्य संरचनाहरू सफलतापूर्वक प्रयोग गरेको छ । तर पानीका स्रोत, प्रणालीहरू बढ्दो तनावमा छन् । र केही नदीहरू, तालहरू र जलप्राणीहरू सुक्दैछन् ।

जलवायु परिवर्तन

मानिसहरूले वायुमण्डलमा कार्बनडाइअक्साइड र अन्य हरितगृह ग्यासहरू निस्काशन गर्न जारी राख्दा, मौसम र पानीको ढाँचाहरू संसारभर परिवर्तन हुनेछन् । कतिपय ठाउँमा खडेरी, कतिपय ठाउँमा बाढी आउनेछ । हिमनदीहरू र हिउँका चाक्लाहरू केही क्षेत्रहरूमा गायब हुनेछन्, जसले त्यो भन्दा तल्लो भेकमा बस्ने समुदायहरूमा ताजा पानीको आपूर्तिलाई असर गर्नेछ। कतै बाढी जाने छ । यी परिवर्तनहरूले विश्वभरका कृषि, ऊर्जा उत्पादन, शहरहरू र इकोसिस्टमहरूको लागि पानी कम उपलब्ध गराउन भूमिका खेल्ने छ ।

प्रदूषण

पानी प्रदुषण धेरै स्रोतहरूबाट आउँछ, जस्तै कीटनाशक विषादी र मलहरू । त्यसले खेतहरूबाट पखालिएर बगाउँदै मानव पानीका स्रोतमा पुर्‍याउँछ । जलभण्डारमा पुर्‍याउँछ । प्रशोधित मानव फोहोर पानी, र औद्योगिक फोहोरहरू जलस्रोतका अन्य ठाउँमा पुग्छ ।

जमिनमुनिको पानी पनि प्रदूषणबाट सुरक्षित छैन । किनकि धेरै प्रदूषकहरूले भूमिगत जलचरहरूमा प्रभाव पार्न सक्छन्। मानव फोहोरबाट हुने हानिकारक किटाणुले पानीलाई दूषित गर्दा र यसलाई पिउन वा पौडी खेल्न अयोग्य बनाउँदा केही प्रभावहरू तुरुन्तै पर्छ । अन्य अवस्थाहरूमा-जस्तै औद्योगिक प्रक्रियाहरूबाट विषाक्त पदार्थहरू-वातावरण र खाद्य श्रृंखलामा निर्माण हुन वर्षौं लाग्न सक्छ। तिनीहरूको प्रभाव पूर्ण रूपमा बुझ्नु अघिनै असरहरु देखिनसक्छन्, देखिन्छन् ।

कृषि

कृषिले विश्वको पहुँचयोग्य ताजा पानीको ७० प्रतिशत प्रयोग गर्छ । तर त्यसमध्ये ६० प्रतिशत त चुहावट सिँचाइ प्रणाली, अकुशल सिंचाई प्रयोग विधि र वातावरणको लागि धेरै तिर्खा लाग्ने बाली (पानी धेरै सोस्ने खेती) हरूका कारण बर्बाद हुन्छ। पानीको यो दूरुपयोगले नदी, ताल र भूमिगत जलप्राणी सुक्दै गइरहेको छ । भारत, चीन, अष्ट्रेलिया, स्पेन र संयुक्त राज्य अमेरिकालगायत धेरै मात्रामा खाद्यान्न उत्पादन गर्ने धेरै देशहरू आफ्नो जलस्रोतको सीमामा पुगेका छन् वा नजिक छन्। यी तिर्खा लाग्ने बालीहरूबाट थपिएको तथ्य के भने कृषिले पनि पर्याप्त ताजा पानी प्रदूषण उत्पन्न गर्दछ-दुबै मल र कीटनाशकहरू मार्फत । ती सबैले मानव र अन्य प्रजातिहरूलाई असर गर्छन् ।

जनसंख्या वृद्धि

पछिल्लो ५० वर्षमा मानव जनसंख्या दोब्बरभन्दा बढी भएको छ । यो द्रुत बृद्धिसँगै आर्थिक विकास र औद्योगीकरण बढेको छ । यसले विश्वभरको पानीको पारिस्थितिकीय प्रणालीलाई रूपान्तरण गरेको छ र यसले जैविक विविधतामा ठूलो क्षति पुर्‍याएको छ।

आज विश्वको ४१ प्रतिशत जनसंख्या नदी तटीय क्षेत्रमा बसोबास गर्दछ जुन पानीको तनावमा छ। त्यसैले अहिले पानीको उपलब्धताको बारेमा चिन्ता बढ्दै गएको छ । किनकि ताजा पानीको प्रयोगको आवश्यकता र खाँचो दिगो स्तरमा जारी छ। यसबाहेक, यी नयाँ अनुहारहरूलाई खाना, आश्रय र कपडा पनि चाहिन्छ, जसले गर्दा वस्तु र ऊर्जाको उत्पादनको माध्यमबाट ताजा पानीमा थप दबाब पर्छ ।

हराउँदै गइरहेको सिमसार क्षेत्र

सन् १९०० देखि विश्वको झन्डै आधा सिमसार क्षेत्र नष्ट भइसकेको छ। ग्रहका केही सबैभन्दा उत्पादनशील बासस्थानहरू सिमसारहरू हुन् । तिनले स्तनधारी, चरा, माछा र सरिस्रिपहरू लगायतका जनावरहरूको उच्च रोजावट, छनौट समर्थन गर्छन् र यी धेरै प्रजातिहरूको लागि नर्सरीको रूपमा सेवा गर्छन् । सिमसार क्षेत्रहरूले धानको खेतीलाई पनि समर्थन गर्दछ, जुन विश्वको आधा जनसंख्याको आहारको मुख्य भाग हो। तिनीहरूले इकोसिस्टम सेवाहरूको दायरा प्रदान गर्दछ जसले मानवतालाई फाइदा पुर्‍याउँछ, जसले पानी छान्ने वा शुद्ध गर्ने, आँधीको सुरक्षा, बाढी नियन्त्रण र मनोरञ्जनका रुपमा काम गर्छन् ।

क्षतिग्रस्त पारिस्थितिक प्रणाली

जब पानी दुर्लभ हुन्छ, प्राकृतिक परिदृश्यहरू प्रायः हराउँछन् । मध्य एशियाको अरल सागर कुनै समय विश्वको चौथो ठूलो ताजा पानीको ताल थियो । तर तीन दशकमै समुद्रले मिचिगन तालको क्षेत्रफल (५८ हजार ३० वर्ग किमी) जतिनै  गुमाएको छ। अत्यधिक प्रदूषण, सिँचाइ र विद्युत उत्पादनका लागि पानीको डाइभर्सनका कारण यो अहिले समुन्द्रजस्तै नुनिलो भएको छ । समुन्द्र फर्किएपछि यसले प्रदूषित जमिन छोडेको छ । यस पारिस्थितिक प्रकोपले खाद्यान्न अभाव सिर्जना गरेको छ । परिणामस्वरूप शिशु मृत्युदरमा वृद्धि भएको छ र त्यस क्षेत्रबाट नजिकै बस्ने जनसंख्याको आयुमा कमी आएको छ ।

(विश्व वन्यजन्तु कोषद्वारा अंग्रेजीमा लिखित मूल आलेखमा आधारित)

तपाइँको प्रतिक्रिया