बिहीबार, असोज २०, २०७९

विलुप्त भएको ७० वर्षपछि भारतमा फर्काइँदै चित्त

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन ३० गते १५:५३

फोटो स्रोत- चुङ्बा शेर्पाको फेसबुक

बिरालो समुदायको मांशहारी जिव चित्त भारतमा लोप भएको ७० वर्षपछि फर्काईदै छ ।

भारतमा आधा शताब्दीभन्दा बढी समयदेखि लोप भएका चित्त अन्ततः यहि अगस्ट महिनामा देश फर्किने भएका हुन्।

एउटा महत्वाकांक्षी संरक्षण परियोजनाले दक्षिण अफ्रिका र नामिबियाबाट चित्तहरूको समूहलाई भारतमा स्थानान्तरण गर्ने लक्ष्य राखेको छ ।

यो जंगलमा पुन: परिचय गराउने उद्देश्यका साथ भारतमा ठूलो मांसाहारी सार्न खोजिएको यो पहिलो प्रयास हो।

आउँदो केही वर्षहरूमा भारतले आफ्ना धेरै राष्ट्रिय निकुञ्ज र जिवजन्तु संरक्षणका आरक्षहरूमा चित्तहरू पुन फैलाउने आशा गरेको छ।

भारतमा चित्त कसरी पुर्‍याइन्छ ?

ठूला बिरालाहरूलाई अफ्रिकाबाट यहि अगस्टमा भारतको कुनो राष्ट्रिय निकुञ्जमा रहेको उनीहरूको नयाँ घरमा लैजाने लामो यात्राको लागि तयारी भइरहेको छ ।

करिब १६ वटा चित्तले दक्षिण अफ्रिका र नामिबियाको आफ्नो वासस्थान छोडेर भारतका लागि हिंड्ने छन् । यी दुई देशमा विश्वको जंगली चित्तको एक तिहाइभन्दा बढी जनसंख्या रहेको छ।

स्थानान्तरणको लागि जवान बिरालाहरू छनौट गरिएको छ । तिनीहरुले आफ्नी आमाको साथ छोडेर एक्लै जिउन थालेको केहि समय मात्रै भएको छ । त्यसैले तिनीहरू आफैं बाँच्न सक्छन्।

हेलिकप्टरबाट लठ्याउने सुई प्रहार गरेर चित्तलाई शान्त पारी यसअघि नै नियन्त्रणमा लिइसकिएको छ । त्यसपछि उनीहरूको शरिरमा माइक्रोचिप जडान गरिएको थियो जसले गर्दा उनीहरुको क्रियाकलाप निगरानी गर्न सकियोस् । तिनलाई रेबिज र हर्पेस जस्ता संक्रमणहरू विरुद्ध खोप लगाइयो ।

पशु चिकित्सकहरूले डीएनएको लागि रगतको नमूना लिएका छन् । त्यसपछि बिरालाहरूलाई सम्बन्धित देशहरूमा क्वारेन्टाइन सुविधाहरू भएको ठाउँमा उडाइन्छ ।

भारतमा जनावरहरू ढुवानी गर्न, तिनीहरूलाई सडक वा हेलिकप्टरबाट उनीहरूको अन्तिम गन्तव्यमा पुर्‍याउनु अघि जोहानेसबर्गबाट दिल्लीसम्म कार्गो विमानमा उड्नेछन् ।

चित्तका लागि खतरनाक यात्रा

विज्ञहरूले जंगली चित्तको यात्रा चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिएका छन् । मानिसहरूको वरिपरि र पिंजरा भित्र बन्द हुँदा तिनीहरूले तनाव महसुस गर्न सक्छन्।

बिरालाहरूलाई सकेसम्म सहज बनाउनको लागि, तिनीहरूलाई क्रेट (काठका बाकस) हरूमा सार्दा ट्र्यान्क्विलाइजर (लठ्याउने सुई) हरू लगाएर शान्त पारिनेछ । क्रेट भित्र पसेपछि उनीहरूलाई ब्यूँझाइनेछ । तर उनीहरूलाई यात्राको क्रममा शान्त रहन, डर र त्रास हटाउन शान्त पारिने हल्का खाले औषधी दिईने छ ।

चित्तहरूलाई यात्राको दुई दिन अघि वा स्थानान्तरणको क्रममा जनावरहरू बिरामी पर्न बाट रोक्न, उनीहरूको बान्ता रोक्न र निसास्सिनबाट बच्नका लागि केही खानेकुरापनि दिइने छैन।

चित्तहरू कसरी जंगलमा सारिने छ ?

भारतमा आइपुगेपछि बिरालाहरूलाई राष्ट्रिय निकुञ्जभित्रको घेरा लगाएको क्षेत्रमा एक महिनासम्म क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि उनीहरूलाई १ लाख १५ हजार हेक्टर आरक्षित क्षेत्रमा स्वतन्त्र रूपमा घुम्न पाइने क्षेत्रमा छोडिने छ ।

चित्तले पार्कमा केहि कठिनाई वा जोखिम मोल्ने छन् । जंगलका अन्य चितुवालेपनि ति जवान चित्तलाई मार्न सक्छन् ।

भारतमा जाने बिरालोहरूले अफ्रिकामा चित्त, सिंह, हायना र जंगली कुकुरहरू जस्ता खतराहरू सामना गरेका छन् । तर तिनीहरूको नयाँ घरमा तिनीहरूले काला भालु र ब्वाँसाहरू पनि भेट्नेछन् जुन तिनकालागि नयाँ शत्रु हुने छन् ।

शिकारको रूपमा तिनीहरूले हिरण, ईन्डियन गाजेल्स (म्रिग), चार-सिङ्गे, खरायो, बँदेल लघुना मृगको शिकार गर्नेछन्।

भारतले नयाँ चित्तको जनसंख्या कसरी जोगाउला ?

भारतमा चित्तको बासस्थान घट्दै गएकाले आयोजना असफल हुनसक्ने संरक्षणविदहरुले चेतावनी दिएका छन् । सन् १९५२ मा तिनीहरू विलुप्त हुनुको प्रमुख कारणहरू मध्ये एक वासस्थानको क्षति थियो । तिनीहरु पहिलेनै बिलुप्त भएको मानिएपनि घोषणा सन् १९५२ मा गरियो ।

तर अधिकारीहरू संरक्षित हुनेमा आशावादी छन् । किनकि मध्य प्रदेशमा रहेको कुनो राष्ट्रिय निकुञ्जले ठूला बिरालाहरूलाई पर्याप्त ठाउँ र सिकार प्रदान गर्न सक्ने वातावरण, क्षेत्रसमेत रहेको तर्क गरेका छन् ।

आगामी ५ देखि ६ वर्षमा भारतले ५० देखि ६० वटा थप चित्त आयात गर्ने र देशभरका मुट्ठीभर पार्क र संरक्षण क्षेत्रमा पुनः छोड्ने आशा गरेको छ। आनुवंशिक विविधता सुनिश्चित गर्न वरिपरिका जंगलमा छोडिने छ । ति तोकिएका क्षेत्रमा केहि जनावर अदलबदल गरिने छ ।

भारतले सन् २०२० देखि जनावरहरू स्थानान्तरणको काम गरिरहेको छ । सर्वोच्च अदालतले अफ्रिकी चित्तहरूलाई प्रयोगात्मक आधारमा “होशियारीपूर्वक छनौट गरिएको स्थान” मा छोड्न सकिने घोषणा गरेपछि स्थानान्तरण अभियान शुरु गर्न लागेको हो ।

भारतमा भएको यो अभियानले भारतमा मात्रै नभएर उसको छिमेकी मुलुक नेपाल, वंगलादेश, पाकिस्तान र श्रीलंकामापनि संरक्षणको पाठ सिक्न सकिने विशेषज्ञहरुले औंल्याएका छन् ।

(स्रोत : अलजजिरा, फ्रंस २४ र युरोन्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक