आइतबार, मंसिर १८, २०७९

मौकाले बनेको एक हिरो म

शशि ढकाल / डेनमार्क२०७९ साउन ३० गते २१:४३

शशी ढकाल

धेरै दिन देखि घर बस्नु परेकोले मलाई एउटा ‘आउटिङ्ग’ को जरुरि थियो । घर बस्दा बस्दा म वाक्कदिक्क भैसकेको थिएँ, सधैं एउटै दिनचर्यामै समय बिताउँदा । दैनिक एकैकहले क्रियाकलाप गर्दा गर्दाग । लंग ड्राइविङ्ग होस्, केटाहरु मात्र होउन्, उन्मत्त हुन पाइयोस । जता भन्यो त्यतै घुम्न पाइयोस । कुनै रुटिंग नहोस । खान पिउन र बोल्न समेत कुनै बन्देज नहोस । यसो भनौं, छाडा, बिन्दास हुन पाइयोस । चिच्याउन पाइयोस । रिसाउनअप्नि पाइयोस । हाँस्न पाइयोस । कमि कमजोरी भएर गम्भिर बन्दै धुम्म परेर बस्नपनि पाइयोस, केहि दिन भन्ने थियो । भित्र निकै उकुस मुकुस थियो । बाहिर निस्कने वातावरण मिलिरहेको थिएन । के यस्तो सम्भब हुन्छ त् ? हुँदो रहेछ । तँ चिता म पुर्याउँछु भन्थे । मैले चिताएको थिएँ पुग्यो पनि ।

कुरो यताबाट सुरु गरें । म डेनमार्क बस्छु । केहि हप्ता आगाडी लग्जेम्बर्गमा युरोप स्तरीय भलिबल प्रतियोगिता भएको थियो । मैले यसमा जाने बिचार गरेको थिएँ, डेनमार्कको तर्फबाट । पहिले तिन वटा गाडीमा जाने कुरो भएको थियो । ८- १० घन्टाको ड्राइभ । मैले चाहे जस्तै रमाइलो अनि खेलकुद, म पुरै तयारीमा थिएँ । पछि खर्चको हिसाबले दुइवटा गाडीमा जाने अनि सकेसम्म खेलाडीहरु बढी जाने भनेपछि म त्यो मापदण्डमा परिन । घरनै बसें, चित्त बुझाएँ ।

यस्तै क्रममा गत शनिबार अर्थात् २०२२ अगष्ट ६ का दिन गैर आवासीय नेपाली संघ, स्वीडेनले स्टकहोममा युरोप स्तरीय चौथो एनआरएनए कप फुटबल प्रतियोगिता आयोजना गर्यो । जसको तयारीका लागि एनआरएनए डेनमार्कका सभापति शैलेन्द्र अधिकारीले डेनमार्कमा सक्रिय क्लबका प्रतिनिधिहरुको एक टिम बनाउनु भयो । नेप्लिज भेट्रान फुटबलको तर्फबाट म जोडीएँ । एक हप्ता समयमा खेलाडीहरुको छनोटका साथै स्टकहोम पुगेर खेल खेलेरनै आउनुपर्ने चुनौती थियो । आफूलाई खेल र खेलको प्राविधिक पक्षको जानकारी कम नै भएकोले म खेलाडी छनोटको कार्यमा पछिनै बसें । साथीहरुले छनौट गर्नुभयो ।

यहाँपनि तीनवटा गाडीमा जाने कुरा भयो । खेलाडी अफिसियल सबै छनौट भयो । मेरो जाने तिब्र इच्छा त थियो तर लग्जेम्बर्गकै परिस्थिति आउँछ भनेर म पछि नै थिएँ । पछि गाडीको कुरामा फेरी कचमच भएछ । त्यसैले अब स्टकहोम रेलमा जाने कुरो भो । गर्मीयामको बेला, अन्तिम समयमा स्टकहोम जाने सबै टिकट बुक भैसकेको । लामो प्रयास पछि पनि टिकट पाइएन । यता होटल बुकिङ्ग लगायत अन्य सबै तयारी भैसकेको थियो। अब गाडीको बिकल्प रहेन । धेरै साथीहरुसँग कुरा गरियो । सबैको आआफ्नै समस्या । यो बहाना उ बहाना । यस्तै हो युरोपमा सामाजिक कार्यको लागि पद ओगट्ने तर सप्ताहन्तमा सहयोग गर्न कोहि तयार भएन । पहिले तयार भएका साथीहरुको फोन उठेन । अब एनआरएन सभापति शैलेन्द्र अधिकारि र टिम क्याप्टेन भूबन खड्काको नेतृत्वमा दुइवटा नै गाडीमा ९ खेलाडीको साथमा स्टकहोम जाने कुरा भो । गाडीमा सहयोग नपाइएको कारण यहाँ दुइजना महत्वपूर्ण खेलाडी लान सकिएन ।

यहाँपनि अन्तिम अवस्थामा एक जना खेलाडीको काममा बिदा नमिलेकोले गाडीमा जान नमिल्ने भयो । र टिम नै नबन्ने समस्या आयो । त्यसकारण उहाँलाई राती अबेरको भएपनि फ्लाइट मार्फत स्टकहोम आउने व्यवथा मिलाइयो । अन्तिम अवस्थामा पनि संकट आइलागेको र गाडीमा एक सिट बचेकोमा दिक्क हुँदै शैलेन्द्रजीले भन्नुभयो “तपाइले मलाई साथ् दिनुपर्यो । तपाई पनि हामीसँगै स्टकहोम जाँदैहुनुहुन्छ । लौ तयारी गर्नुहोला । तिन चार घण्टा पछि म गाडी लिएर तपाइकोमा आउने छु ।”

मेरो के तयारी ? जाने मन, भन्न नसकीरहेको ।।। भने पनि जान नमिल्ने । म खुशीले गदगद भएँ । तरपनि उक्त कुरा उहाँलाई ब्यक्त गरिन । मानवीय स्वभाव न हो, मैले पनि हल्का डोज दिएँ ‘म जानैपर्ने हो र ?’

उहाँले पनि त्यही लवजमा फर्काउनु भयो ‘तपाई नगए गेम नै नहुने भयो ।’ उसो भए अब म नगई नहुने भयो त ? हाम्रो हल्का सवाल जवाफमा उहाँले ‘हो’ भन्नु भयो ।

मैले जे चाहेको थिएँ त्यो हुँदै थियो लंग ड्राइभ । केटाहरुको समुह । सप्ताहन्तको दिन । त्यसमाथि फुटबल खेल । मनोरन्जनको यो भन्दा बढी प्याकेज के हुनसक्ला त ? फुटबलका दर्शकको त्यो असिस्ट ब्यबहार, छाडा बचन, रिस, राग, द्वेष अनि खुशी र क्षण क्षणमा परिवर्तन हुने त्यो वातावरण ! अब त मैले चाहेको भन्दा बढी थियो । यत्ति हो कि त्यसलाई मैले कसरी ग्रहण गर्छु । कति लिन सक्छु । म मेरै लागि जाने पक्षमा थिएँ र उन्मत्त भएर भरपुर मनोरन्जन लिने पक्षमा थिएँ ।

मेरो खास तयारि केहि हुन्न । खास योजना पनि हुन्न । उठ जोगी बोक छाला जहाजाला उही खाला खालको मान्छे हुँ म । शाकाहारी भएकोले खानामा चाहिं प्राय समस्या भैरहन्छ । केहि फलफुल, चिउरा,दालमोठ र तिन बोतल पानी बोकें । आफ्नो ब्यागप्याक तयार भै त गो । चिउरा, दालमोठ चाहिं म सधैं बोक्ने गर्छु, आपतबिपतको लागि । बोकें । युरोपमा शाकाहारी बन्नअलि अप्ठेरो चाहिं छ । पाहुना लाग्न गए चिकेन, भात । बाटोमा बर्गर, चिकेन फ्राई यस्तै हो । तर दालमोठ र चिउरा चाहिं फिर्ता आयो है ! खानामा खासै समस्या परेन ।

करिब १२ बजे तिर भुवनको नेतृत्वको रातो टेस्ला गाडी ५ जना खेलाडी सहित स्विडेनको स्टकहोम तिर गुड्यो । शैलेन्द्रको नेतृत्वको कालो आउडि गाडी चाहिं खेलाडीहरु कुर्दै उनीहरुको काम सकेपछि सम्बधित ठाउँबाट खेलाडीहरु उठाउँदै ३ जना खेलाडी र म सहित तिन बजे तिर कोपेनहेगनबाट हिंड्यो । मैले गाडीमा थाहा पाएँ यो ७ ए साइड गेम रहेछ । अर्थात् एकपटक एउटा टिमबाट ७ जना खेलाडी खेल्ने रहेछन ।

हामी कोपनहेगनबाट हिंड्दा भुवनको गाडीले स्विडेन-डेनमार्क सिमामा रहेको अध्यागमन पार गरेर धेरै माथि पुगी गाडी चार्जिगमा हालेको कुरा आइसकेको थियो । उनीहरुको गाडी अध्यागमनमा रोकिनु समेत नपरेको उनीहरुले बताएका थिए । कुनै समस्या नभएको उनीहरुले बताए । हाम्रो गाडी पनि सिमामा पुग्यो, स्विडेन – डेनमार्कको माल्मो । हाम्रो गाडी साइड लगायो । पुरै जाँच गर्यो । प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै कुरा गरे । हामी सबैको कागजात हेर्‍यो। एकजना खेलाडीले पासपोर्ट नबोकेको र अर्को खेलाडीको भिसा समस्या देखाउँदै अध्यागमनले दुईजनालाई फर्काईदियो ।

हामी अलमल्ल पर्‍यौं । अब गर्ने के ? तुरुन्तै टेलिमिटिंग बसियो । अब खेलाडी ७ जना पनि नपुग्ने देखियो । तर एक जना खेलाडी विमानबाट आउने भएकोले खेल चाहि खेल्ने निधो गर्दै हामी स्टकहोम तर्फ लागियो । हाम्रो गाडीमा स्टकहोम जाने खेलाडीको नाम कृष्ण रहेछ । हामी उनिसँग हाँसीमजाक गर्दै बाटोमा रोकिंदै, खाँदै पिउँदै स्टकहोम पुग्यौं ।

स्टकहोम पुगेपछि हामीले हाम्रो समस्या र आउने रणनीतिबारे छलफल गर्यौं । तर छलफल खासै टुंगिएको थिएन । गैर आवासीय नेपाली संघ, स्वीडेनका बर्तमान अध्यक्ष राजकुमार पाठक दलबल, खादा माला सहित होटल आइपुग्नु भो । नेपाली परम्परा भन्दै खादा माला लगाउँदै फोटोहरु खिचियो । हामी पुग्दा फ्लाइटबाट आउने हाम्रो खेलाडीपनि आइपुगिसकेकोले हाम्रो ७ जना खेलाडी पुगेकोमा हामी दंग परेका थियौं । त्यसपछि खेलाडीहरु आआफ्नो कोठातिर लागे । हामी अध्यक्ष राजकुमार पाठकको आतिथ्य टार्न नसकेर उहाँको घर तर्फ लाग्यौं । रातभरी गफगाफ हस्सी रमाइलो गरियो। दुइ, चार पेग दबाईयो । अनि देशको चिन्ता गरियो। बिदेसिएका नेपालीको साझा अनिवार्य कार्यकर्म गर्दै बिहान भै त गो ।

गर्मीयामको बेला राति ११ बजेसम्म घाम अनि बिहान चार बजे नै सुर्योदय । कोठामा सुत्न जाँदा घाम झलमल्ल । त्यही पेगको रन्कोमा २-३ घण्टा सुतेर चौर तिर लागियो ।

रातभरि सुतेको छैन । अनिंदो अनी असली महाभारतको मैदान । मैदानमा पुग्नासाथ क्याप्टेन भुबन खडकाले “दाई तपाई पनि खेल्नु पर्ने भो, ड्रेस लगाएर तयार रहनु होला, जुत्ताको व्यवस्था हुँदै छ” भन्दै आदेशात्मक अभिव्यक्ति दिनु भो । म अलमल्ल परें, हुन्छ भनु कि हुँदैन ? बिकल्पनै थिएन । जुत्ता आयो, एक नम्बर सानो । बल्ल बल्ल छिर्यो । खुट्टाको अगाडीको भाग खुम्चाउन परेकोले आजसम्म खुट्टामा घाउनै भाको छ । आजसम्म दुखिरहेको छ ।

खेल शुरु हुनुभन्दा अगाडी ‘डेनमार्कको मेनेजर सम्पर्कमा आइदिनु होला । केहि अफिसियल कार्यहरु बाँकी छन्’ भनेर माइकबाट फुकेको फुक्यै गरेको सुनियो । बल्ल बल्ल खेलाडीको संख्या पुगेको छ । वार्म अप गरिराका छौं । अब मेनेजर कहाँबाट ल्याउने ? अर्को चिन्ता । मेनेजरले केहि आवश्यकिय अफिसियल कागजातमा सहिछाप नगरी खेल, टिम दर्ता र खेल नै सुरु नहुने फेरी । यो युरोपको खेल न पर्‍यो, कागजात त पूराका पुरा हुनुपर्छ ।

अँ कोहि त हुनुहुन्न । शैलेन्द्रजीले तपाई अतिरिक्त खेलाडी हो, अब मेनेजरको भूमिका पनि गिरिदिनुस भन्नुभयो । खेलाडीको ड्रेसमानै सानो जुत्ताले खुट्टा खोच्याउँदै मेनेजरको भूमिका पनि गरियो । खेलाडी परिचय, सदभाव आदान प्रदान, प्रि म्याच कन्फ्रेंन्स, खेलका नियम, रेगुलेसन सबै औपचारिक भूमिका पुरा गरेपछि अतिरिक्त खेलाडीको रुपमा मैदानमा छिरियो ।

लिग खेलमा हाम्रो टिमले एक गोल पनि नखाइकन समुहको प्रथम भएको थियो भने अन्य नकाउट खेल पनि हामीले सजिलै विजय हाँसिल गरेका थियौं । अब माहाभारतको अन्तिम फाइनल नर्बेसँग खेल्नुपर्ने थियो । यसअघि भएका लिग तथा नकआउट प्रतियोगितामा कुनै पनि गोल नखाइकन फाइनलमा प्रवेश गरेको डेनमार्क फाइनलको मध्यान्तर आगाडि नै नर्बेको तर्फबाट गोल खाएर दबाबमा परेको थियो। नर्बेको तर्फबाट फिजिकल खेल खेलिएर उनीहरुले केहि पहेंलो कार्ड पनि पाएका थिए । हाम्रा खेलाडी घाइते हुँदै खेलीरहेका थिए । फल खाएर फ्रि किक बल पाउनु बाहेक हामीले केहि गर्न सकिरहेका थिएनौं ।

हाफ टाइमको ब्रेकमा हामीले रणनिती परिवर्तन गर्यौं । सानो मिटिंगमा हामीले आक्रामक भएर खेल्ने रणनिती बनायौं । जसले काम गर्यो । हामीले उनीहरुलाई धक्का दिंदै खेल्यौं । हाम्रो आक्रामक खेलले हाफ टाइमपछि डेनमार्कको टिम फर्ममा आयो । डेनमार्कले पारसको असिस्टमा सागर लामिछानेले म्यजिकल गोल गर्दै खेल बराबरीमा ल्यायो। अब आपसी खेल पुरै घम्साघम्सीमा गयो । रेफ्रीले समेत भने “तपाई सबै नेपालीहरु आपसी सद्भावमा खेल खेल्ने भन्ने । तर ड्याम ड्याम खुट्टामा हान्ने, यो त भएन है ।’ उनले कडा चेतावनी दिए ।

घम्साघम्सी बीच प्रतियोगिताको निर्धारित समय सकियो । निर्धारित समयसम्म १-१ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमा डेनमार्कका अन्जन परियारको पासमा सागरले नै निर्णायक गोल गरे । यो गोल पछि नर्बे घाइते बाघ झैँ जाई लाग्यो । फलस्वरूप डेनमार्कका स्टाइकर सागर नराम्ररी घाइते भए । उनि मैदानबाट बाहिरीए । क्याप्टेन भुवन खड्काले मलाई मैदानमा प्रवेश गराए । हेर्दा हेर्दै म डेनमार्कको टिमको स्टाइकरको रुपमा मैदानमा प्रवेश गरें, जर्सी नम्बर ८ लगाएर ।

म निकै डराएको थिएँ । मेरो छोरा सरहका थिए सबै खेलाडीहरु । उनीहरु शारिरिक रुपमा तन्दुरुस्त, खिरिला, पातला, जोशिला । आफू पातलो तर अतिनै दुब्लो पातलो । चाउरी परेको अनुहार । रातभरी नसुतेको रक्सीले गाँजे जस्तो । सधैं रक्सी नभैनहुने जस्तो । कस्तो कस्तो ।

त्यति मात्रै हो र ? ड्रेस लगाएको पनि सुहाएको थिएन । ड्रेस ठूलो जुत्ता सानो । हाम्रै टिममा पनि १९-२५ वर्षका खेलाडीको बाहुल्यता थियो । मेरो हिजो भर्खर ५३ वर्षको जन्मदिन मनाएको । खेल शारिरिक रुपमा खेल्ने रणनिती थियो । मैदानमा खेलाडी ढल्ने र फल हान्ने त कति कति । रेफ्रीनै आजित । त्यस्तैमा म मैदानमा छिरेको । मेरो हालत र मेरो बाध्यता उफ……… आज सम्झन्छु कत्ति डराएको थिएँ म । फेरी डर देखाउन पनि नमिल्ने…… भन्न पनि नमिल्ने । खुट्टा त जान्छ जान्छ, म यस्तै सोच्दै मैदानमा छिरेको थिएँ । तर…..तर त्यो त मेरो लागि अपूर्व अवशर रहेछ………….अपूर्व ।

खेल हामीले जित्यौं । फुटबलको प्रथम उपाधिका साथै हाम्रा खेलाडीले उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकको उपाधि सरोज श्रेष्ठ र भुवन खड्काले जिते । पुरस्कार बितरण समारोहमा म मेनेजरको हैसियतले प्रथम पुरस्कार, नगद र प्रमाणपत्र लिन गएँ । जब मैले प्रमाण पत्र लिएँ त्यो उत्सव गर्ने तरिका र साथीहरुले गरेको उल्लाहसमय क्षण मेरो लागि त्यो पहिलो अविश्मरणिय पल हो । जिन्दगीका सबै कुरा बिर्से पनि मैले यो खुशीको क्षण चाहिं कहिले पनि बिर्सने छैन ।

झन् हिजो परेको मेरो जन्मदिन साथीहरुले प्रथम कप लिनु भन्दा आगाडी मेरा साथीहरु, अन्य टिमका खेलाडी र मैदानमा उपस्थित सबैले, अनि आयोजकले समेत माइक बाटनै मलाई ‘ह्यापी बर्थ डे टु ‘यु भन्दै ठूलो उत्सव मनाए । मैले यो चिताएकै थिईन । खासै भन्ने हो भने आफ्नो जिन्दगीमा मैले आफ्नो जन्म दिन मनाएकै पनि छैन । म विशेष ब्यक्ति पनि हैन, जन्मदिननै मनाउनुपर्ने । त्यही जन्मदिन पनि फेसबुकले सम्झाए पछि मलाई थाहा हुन्छ र केहि साथीहरुले बधाई दिनुहुन्छ, बस त्यति हो । यसपालिको त मेरी बास्सै ! मैले कल्पनानै नगरेको त्यतिको मान्छेको अगाडी मेरो बर्थ डे। वाउ त्यो क्षण !

पछि आयोजकले मेरो भिडियो मलाई पठाए पछि मैले हेरें । वाउ कत्ति सारो लोभ लाग्दो । हाम्रा टिमका सुपर हिरोहरुको बिचमा म । उनीहरुकै संगतले म पनि एउटा हिरो ।

सायद मेरो पुस्ताका महानुभावहरुले एउटा कथा ९-१० कक्षा तिर अंग्रेजीमा पढ्नु भएको होला । अहिले त त्यो कथा पाठ्यक्रममा छैन । एउटा जलिरहेको घरबाट एउटा केटा लुगाको पोकोले मुख छोप्दै धुवाँ र आगोको रापबाट बचेर बाहिर निस्कन्छ । पोको फुत्त भुइमा फालेर त्यत्रो आगोको रापबाट बच्न सफल भएकोमा भगवानलाइ धन्यबाद दिइरहेको हुन्छ । तर यता बाहिर एउटा बिशाल भिड बचाऊ बचाऊ भन्दै रुँदारुँदै बेहोस भएकी महिलालाइ पानी छम्कँदै उठाइरहेका हुन्छन । त्यो युवकले आफ्नो बचाउको लागि घरभित्रबाट उठाएर मुख छोप्दै बाहिर आएपछि फुत्त फ्याँकेको पोकोबाट एउटा बच्चा च्याहाँ च्याहाँ गर्दै रुन थाल्छ। त्यो रुवाई सुनेपछि ति महिला बेहोसबाट बिउँतिन्छिन र छोरो च्याप्दै चिच्याउँछिन “मेरो छोरा, मेरो बाबा, मेरो प्राण ।”

उपस्थित भिडले युबकलाइ बोक्छ । ‘हिरो, हिरो’ नारा लाग्छ । उत्सव मनाइन्छ । ‘हिरो जिन्दाबाद, रियल हिरो जिन्दाबाद ।’ युबक अलमल्ल पर्छ । यहाँ के भइराखेको छ । केहि बुझ्दैन । धेरै बेरपछि कसैले उसलाई भन्छ ‘तिमीले ज्यानको बाजि लगाएर त्यो बच्चालाइ लुगाको पोकोमा राखेर ल्यायौ, तिमि रियल हिरो हौ ।’

युबक मुस्कुराउँछ । र मनमनै भन्छ ‘वाउ म हिरो । अ हिरो बाइ चान्स ।’ बस यसपाली मैले आफैं लाई यही महसुस गरे। । हिरो ………….. म हिरो कसरि ?…………….। अ हिरो बाइ चान्स………. !!

तपाइँको प्रतिक्रिया