शनिबार, वैशाख ८, २०८१

अवर्णनिय बसाईमा अष्ट्रेलियाको मान पदवी

इन्द्रा बन / अष्ट्रेलिया२०७९ साउन ३१ गते १९:५०

अष्ट्रेलियाको मानपदवी लिँदाको क्षण । देब्रेबाट पहिलो ईन्द्रा बन र अष्ट्रेलियाली उच्च ब्यक्तित्व

त्रिभुवन बिश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर सकिएपछि म १९७५ मा अष्ट्रेलिया आइपुगेँ । यहाँ आएको एक वर्ष पछि मैले अक्कलबहादुर सिँह, गोविन्द शाह र आनन्द प्रसाईलाई भेटेँ । शुरुमा हामी चार जना भेटिने मौका मिल्यो ।

म आएको ४७ वर्ष भयो । अहिले अष्ट्रेलियामा सानो तिनो नेपाल भेटिन्छ । नेपाली समुदायको आवागमन फैलावटको बिकास देख्ने एक साक्षी हुँ म ।

नेपाली समुदायको उत्थानकालागि मैले गरेको योगदानको कदर गरेर सन् २०११ मा मलाई अष्ट्रेलिया सरकारले ‘अर्डर अफ अष्ट्रेलिया’ भन्ने मानपदवी दिएको छ । यो मानपदवी अष्ट्रेलियाको चौथो ठूलो सम्मान हो । अष्ट्रेलियाका बिभिन्न क्षेत्रमा विशेष योगदान दिएका व्यक्तित्वहरुलाई यो पदक दिइन्छ ।

सन् २००९ को एक दिन मैले घरको पत्र मन्जुषामा एक पत्र पाएँ । अर्डर अफ अष्ट्रेलियाको पदवीका लागि अनुसन्धान गर्ने कार्यालयबाट आएको रहेछ । एउटा सम्मानका लागि तिम्रो नाम प्रस्ताब भएको छ, तर यो कुरा गोप्य राख्नुपर्छ भनेर अनुरोध गरिएको थियो पत्रमा । २०१० को सेप्टेम्बर तिर तिमी छानियौ भनेर पत्र आयो र यो मानपदवी लिने कि नलिने भनेर सोधनी भयो ।

यस्तो पदवी पाउँला भनेर सपनाको सपनामा पनि सोचेकी थिइन । पदक लिन इच्छुक छु भनेर जवाफ दिएँ । यो कुरा अष्ट्रेलियाका मेरा केहि नजिकका साथीहरुलाई थाह भयो । उहाँहरुबाट नेपाली समुदायले पनि थाह पायो । आफूले प्राप्त गरेका उपलब्धिहरुको बखान गर्न मलाइ कहिल्यै मन नलाग्ने भएकोले मैले समाजिक सन्जाल या मिडियामा हल्ला खल्ला गरिन । यो पदवी प्राप्त गरेपछि मलाइ अष्ट्रेलियाको प्रधानमन्त्री, केहि सांसद लगायत म बसेको नगरपालिका प्रमुख लगायत धेरै व्यक्तित्वले बधाइ दिनुभयो ।

अष्ट्रेलियाको न्यू साउथ वेल्सका गभर्नर मेरी बर्सिएले एक कार्यक्रमको आयोजना गरेर मे महिनामा हामीहरुलाई पदक लगाइदिनुभयो । यो पुरस्कार पछि मैले मेरो नामको पछाडी ओ ए एम अर्थात ‘अर्डर अफ अष्ट्रेलिया मेडल’ लेख्न पाउँछु तर मलाई बडप्पन देखाउन मन लाग्दैन ।

अष्ट्रेलिया राष्ट्रमन्डल समुहमा रहेका देशहरु मध्ये एक हो । यो देशले बेलायतको रानीलाई आफ्नो पनि रानी मान्छ । मैले पाएको मान पदवीमा उहाँको श्रीपेचको झलक देखिन्छ । बेलायतको रानीको प्रतिनिधित्व यहाँका राज्यका गभर्नहरुले गर्नुहुन्छ ।

म इलामको जितपुर भन्ने ठाउँमा जन्मेकी हुँ । बुबाहरु खोटाङबाट बसाइँ सरेर झापा आउनुभएको रहेछ उहिल्यै । त्यो बेला ‌औलो लाग्ने भएकोले हामीलाई पढाउन हुर्काउन भनेर इलाम बजारमा घर बारी किन्नुभएको रहेछ ।

सरस्वती कन्या माध्यमिक विद्यालयबाट मैले एसएलसी दिएकी हुँ बिस २०१६ तिर । उबेला विद्यालयमा सबै जसो गुरुआमाहरु दार्जलिँगबाट पढाउन आउनुहुन्थ्यो । किनभने नेपालमा शिक्षकको अभाव थियो । छोराछोरीले पढुन् भनेर हाम्रो घरमा उ बेलै ट्युशन पढाउने शिक्षकको व्यवस्था थियो । गाउँमा एकजना हिरालाल कन्हैँया भन्ने पसले हुनुहुन्थ्यो । उहाँको पसलमा हाम्रो घरको खाता खोलेको हुन्थ्यो । आवस्यक परेको सामान त्यहाँबाट ल्यायो चलायो अनि बुबाले पैसा पठाउनुभएपछि तिरिन्थ्यो ।

मसिर महिनाको जाँच दिएपछि जाडो बिदा शुरु हुन्थ्यो । यो विदामा झापा झर्नका लागि बुबाले मानिसहरु सहित घोडाहरु पठाइदिनुहुन्थ्यो । हामीहरु घोडा चढेर दुइ महिनाकालागि शनिश्चरे (मधेश) झर्थ्यौँ । मधेश झरेपछि बकुल्ला चराहरु कन्काइ नदी किनारका बगर र बालुवाहरुमा देखिन्थे । त्यसको आकर्षण छुट्टै थियो । अब पढ्नुपर्दैन भनेर हामी केटाकेटीहरु खुब रमाउँथ्यौँ । इलामबाट झापा झर्दा साइत हेरिन्थ्यो र साइतमा त्यसबेला बाजा बजाउने गरिन्थ्यो । चारकोशे झाडीको बाक्लो र घना जंगलका जनावरहरुले आक्रमण गर्न सक्छन् भनेर हामीहरु बिच बाटोमा पाल टाँगेर बास बस्थ्यौँ ।

झापाको हाम्रो घरमा थुप्रो खेतिपाती हुन्थ्यो । अर्जुनधारको मन्दिर बनाउने देखि शनिश्चरेमा विद्यालय खोल्ने र स्थानिय स्तरमा राजनीतिमा पनि बुबा सक्रिय रहनुभयो । बुवा सामाजिक कार्यकर्ता पनि हुनुहुन्थ्यो । बुबाले छोरा र छोरीमा भिन्नता गर्नुहुँदैनथ्यो । छोरा सरह छोरीहरुले पनि समान अवसर पायौँ । हाम्रो घरमा हाम्रा केटा साथीहरु आउँथे जान्थे । कति साथीहरुका पत्र आइपुग्थे । बुबाले पत्र च्यातेर हेर्ने गाली गर्ने कहिल्यै गर्नुहुँदैनथ्यो । उहाँले छोराछोरीको गोपनियता कायम गर्नहुन्थ्यो । यहि वातावरणको प्रभावले होला ममा चुरा गरगहनामा शोख कहिल्यै आएन र मैले आफूलाई केटी हूँ भनेर नै सोचिन ।

एसएलसी पास गरेपछि बुबाले दिदी र मलाइ दार्जलिङ पढ्न पठाउनुभयो । इलाममा बत्ती पनि नेदेखेको मैले त । दार्जलिङमा त सीनेमा हेर्न जान पाइने । जताजतै झिलिमिलि रमाइलो । चौरास्तका रेष्टुरेन्टहरुमा किसिम किसिमका महँगा खाना पाइन्थे । पैसा भइन्जेल महँगो खाइन्थ्यो । पैसा सकिने सकिने बेला हुन थालेपछि सस्तो रेष्टुरेन्ट पनि खोजियो । एक खालको स्वतन्त्रता थियो । बुबाको पैसामा दुइ वर्ष मैले खुब रमाइलो पल बिताएँ ।

त्यसको दुइ वर्ष पछि दिदी बनारस पढ्न जानुभयो । मलाई भने काठमाडौं जान मन लाग्यो । हाम्रो देशको राजधानी कस्तो होला भन्ने भयो । बुबाले मलाइ दिदी सँगै गए हुने भन्नुभएको थियो । तर मैले काठमाडौं नै जाने भनेर जिद्दी गरेपछि म काठमाडौं आएँ । यो कुरा संभवत २०२० तिर होला ।

सीमानामा पैसा पनि भारतिय नै चल्थ्यो उ बेला जसलाई मोहर भनिन्थ्यो । त्यतिबेला रेडियो नेपालमा काठमाडौंको फलानो ठाउँबाट भनेर फर्माइसी गीत आउँथे र त्यो ठाम हेर्न मन लाग्थ्यो । धर्मप्रसाद ढकाल उ बेला राष्ट्रिय पन्चायत सदस्य हुनुहुन्थ्यो । उहाँ सँगै म काठमाडौं आइपुगेँ । एउटा छात्रावासमा बसेर मैले मेरो अध्ययन जारी राखेँ ।

उ बेला झापाबाट सिधै काठमान्डौ आउन सकिंदैनथ्यो । भद्रपुरबाट भारतको गर्गरिया गयो । अनि त्यहाँ रेल लिएर कटिहार हुँदै रक्सौल पुग्यो । रक्सौलबाट टाँगामा विरगंज आयो । अनि वीरगन्जबाट काठमाडौं आउने बस लिइन्थ्यो । थोरै मात्र बस चल्ने भएकोले कहिलेकाहिं त विरगन्ज आइपुग्दा ति बस छुटीसकेका हुन्थे । यस्तो बेला सरदारजीका ट्रकमा पनि हिंड्नु पर्थ्यो । त्रिभुवन राजपथको सात घुम्ती हुँदै काठमामाडौं आइपुग्दा श्वास मात्र रहन्थ्यो । यो सडकलाई अचेल बाइरोडको बाटो भन्छन् । कम्तीमा दुइ दिन नत्र तीन दिन लाग्थ्यो काठमाडौं आइपुग्न । पछि भद्रपुर काठमाडौं जहाज चल्न थाल्यो । तर जहाजमा एकैछिनमा घर पुगिन्छ, घुम्दै जान्छु भनेर म भारतको रक्सौल हुँदै रेल चढेर घर पुग्थेँ । र रेलको टीकट थर्ड क्लासको काट्थेँ किनभने यस्तो ठाउँ लिँदा सुरक्षाको अनुभूती हुन्थ्यो ।

बुबाले काठमाडौं जाँदा मलाइ भारु पाँच शय दिनुभएको थियो । त्यो काठमाडौं लगेर साट्दा आठ शय भयो । बाफ रे पैसा त कति कति मासेरै नसकिने । काठमाडौं कति राम्रो थियो उ बेला । सिंहदरवारको भद्रकाली मन्दिर वरपर तरकारी खेती हुन्थ्यो । मैती देवी आसपासमा त धान रोपिन्थ्यो । काठमाडौंमा पुरानो वस्ती थियो । माटोका घरहरु बग्रेल्ती देखिन्थे । जताततै मन्दिर नै मन्दिर । पूजापाठका लागि मानिसहरुको लाइन । सुन्दर काष्टकलाहरु । म मौका पायो कि घुम्न गाइहाल्थेँ । राजधानी भएर पनि समाज चाहिं अति नै पुरानो सोच र संस्कारबाट चलिरहेको थियो । छोरी मानिसमाथि धेरै खालका बन्धनहरु थिए । रेष्टुरेन्टमा खाना खान जानु हुँदैन । केटाहरुलाई साथी बनाउनु हुँदैन, यस्तै यस्तै नि ।

उपत्यकाका नेवारहरुले बाहिरका मानिसहरुलाई पर्वतेहरु भन्नुहुन्थ्यो । नेवार समुदायका चेलीहरु सकेसम्म बाहिरी मानिसहरुसँग बोल्न रुचाउनुहुँदैनथ्यो । शुरुमा त मलाई काठमाडौंको खाडलमा फसे जस्तो भयो । फर्केर जाउँ भने बुबासँग जिद्दी गरेर आएको ।

मैले त्रिचन्द्र क्याम्पसबाट बिए पास गरेँ । कलेज समयमा म संझन्छु, कक्षाभरी केटासाथी हुन्थे भने केटी पाँच, छ वटी च ६ वटी मात्र हुन्थ्यौँ । यहि कलेज समयमा मैले काठमाडौंमा साइकल चढ्न सिकेँ । महिला गाइड तालिम पनि लिएँ । बेलाबेलामा बदमासी गर्न पनि मन लाग्ने । पद्म कन्या क्याम्पस पढ्न जाने दिदीबहिनीहरुले पहेंलो धोती लगाएर जानुहुन्थ्यो । हामीहरु उहाँहरुलाई जोगिनीको भेष धारण गरेको भनेर जिस्काएर पैसाले हान्थ्यौँ ।

मैले पछि राजनीति शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकाएँ । किर्तीपुर बस्दा म छात्राबासमा बसेँ । भर्खर भर्खर त्रिभुवन बिश्वविद्यालका भवनहरु बनिरहेका थिए । क्याफ्टेरिया एकजना स्विस नागरिकले चलाउनुहुन्थ्यो । अति सफा र सुन्दर थियो । यो चाहि २८, २९ साल तिरको कुरा हो । यो बेला पनि उपत्यका बाहिरका मानिसले भरिएका थिएनन । हामीलाई पढाउने शिक्षकहरु बहुतै आत्मिय हुनुहुन्थ्यो । मेरो जीवनको सबैभन्दा सुन्दर वर्षहरु मैले किर्तिपुर बसाइमा बिताएँ ।

मलाइ संझना छ, किर्तिपुर आउने बाग्मतीको पुल नजिक एउटा चिया पसल थियो । त्यो चिया पसलको नाम हामीले हिल्टन भनेर राखेका थियौँ । बेलुखापख किर्तिपुर काठमाडौं गर्ने बस चढ्यो अनि हिल्टनमा चिया पिउँथ्यौँ र बसमा एक चक्कर लगाएर छात्राबास छिर्थ्यौँ । मास्टर्स गर्नेहरुको मान सम्मान नै बेग्लै त्यो बेला ।

ममा सानै देखिनै यात्रा गर्ने शोख थियो । पछि मैले देश बिदेश घुम्ने सपना देख्न थालेँ । स्नातकोत्तर गरेपछि अमेरिका जाने तयारी गर्न थाले । उ बेलाको चलन नै अमेरिका जाने थियो । पाँच छ बर्ष उता बसेर नेपाल फर्कन्छु अनि राजनीति गर्छु भन्ने थियो ।

स्नातकोत्तर सकाएपछि एकदिन अमेरिकी पिस्कोर प्रोजेक्टको भाषा प्रमुख चिजकुमार श्रेष्ठ भन्ने सर सँग चिनाजान भयो । उहाँले एक जना अष्ट्रेलियनले नेपाली भाषा पढ्न चाहिरहनुभएको छ मद्दत गरिदिनु पर्यो भन्नुभयो । ल त ल भनेँ । मैले भाषा पढाउने भनेर सुझाइएको मानिस भिभियान कन्डोस दिदी रहिछिन् । त्यो बेला नेपालबारे पिएचडी गर्दैथिइन् । मैले उनको पिएचडि सकाउन असिस्टेन्ट सरह धेरै मद्दत गरेँ । १९७२ देखि १९७९ को बिचको नेपालबारे उनले गरेको अध्ययन अहिले पुस्तकका रुपमा प्रकाशित छ । उनले नेपाल बारे थुप्रै लेखहरु लेखिन् र अष्ट्रेलियामा नेपाल बिज्ञका रुपमा चिनिइन् । पछि उनले सिड्नी बिश्वविद्यालयमा मानवशास्त्रीका रुपमा अध्यापन गराइन् । उनका श्रीमानको नाम आलेक्स हो । उनले त्यो बेला समाज शास्त्रमा न्यू साउथ वेल्स बिश्वविद्यालयमा पढाउँथे ।

यिनै भिभियानले अमेरिका भन्दा अष्ट्रेलिया पनि कोशिष गर भनेपछि मैले भिषाका लागि बृटिश दुताबासमा निवेदन दिएँ । भिभियानले नै मलाइ स्पोन्सर लेटर बनाइदिईन् । भिषा प्राप्त भएपछि बुबाले टिकट काट्न पाँच हजार नेपाली दिनुभयो । यो बाहेक ६ शय जति डलर तयार पारेँ र भिभियानकै साथमा उनकै परिवारको एक सदस्य जस्तै भएर सन् १९७५ को अप्रिल १५ मा अष्ट्रेलिया आइपुगेँ । जीवनभर म उनीहरुको पारिवारीक सदस्य भएँ र रहनेछु । म आफूलाई एक दुर्घटनाजन्य कारणले बसाइ सराइँ भएको एक भाग्यमानी नेपाली नागरिक मान्छु ।

अष्ट्रेलिया आउँदा मैले अष्ट्रेलियाको नक्सा चिनेकी थिएँ । कंगारु र आदिवासीहरु छन् भन्नेसम्म थाह थियो । सिड्नीको नाम सुनेकी थिएँ । अष्ट्रेलिया आइपुग्दाको रमाइलो प्रसँग छ । नेपालमा रहँदा म अक्सर उनी सँगै यात्रा गर्थें । लामो हवाइ यात्रामा अष्ट्रेलिया जाँदैछु भन्ने अनुभुती भएन । जब एयरपोर्टबाट झरेँ अनि त्यहाँ गोरे मानिसहरु देखेँ । आफ्नो झोला आफैं बोक्ने र गुडाउने गर्दा रहेछन् । हाम्रोमा जस्तो भरियाहरु त्यहाँ थिएनन । आलेक्सले हामीलाई लिन त्यो बेलाको सिड्नीको सानो विमानस्थल आएका थिए । बेलुका उनको घर छिर्दा भिभियानकि आमाले हामीलाई ढोका खोलिन् । गोरी भर्भराउँदो उमेरकी भिभियानकी सासु आमा निकै एलेगेन्ट देखिन्थिन् । उनलाई देखेपछि बल्ल मैले अष्ट्रेलिया आइपुगेको अनुभुती गरेँ ।

म उनीहरु सँगै डबल बे भन्ने ठाउँमा बसेँ जुन ठाउँ सिड्नीसँग जोडिएको छ । रात अबेर भैसकेको थियो । खानपिन पछि सुतेँ । बिहान झ्याल खोलेर हेर्दा त झ्याल बाहिर नीलो समुन्द्र देखिएको । भोलिपल्ट उनीहरुले बनडाइबीच (समुद्रीकिनार), डोबरहाइट, ग्याप भन्ने समुद्र पसेको ठाउँमा घुमाउन लगे । त्यो दिन आकाशमा एउटा पनि बादलको टुक्रा थिएन । पानी नीलो । आकाश नीलो । सूर्य चम्किरहेको । कुनै नयाँ दिनको उदय भैरहेको जस्तो अनुभुती भयो । पानीका छालहरु आफ्नै गतिमा बेरींदै आउँछन् ठोक्किन्छन् अनि हुत्तिदैँ फर्कन्छन् । घन्टौँ तिनै छालको राम रमिता हेरेर बसौँ र तिनहरु सँग बात मारौँ जस्तो भयो । पर पर क्षितिजमा पनि पानी मात्रै देखेँ । ‘क्रिष्टल ब्लु’को त्यो उत्कृष्ट र अनुपम सौन्दर्यले मलाई यसरी तान्यो कि समुन्द्रको नीलो पानी माथि एक छलाङ मारेर कुदौं कुदौं भयो । अनि मैले सोचेँ, मेरो गन्तब्य यहि हो । नभन्दै म बिस्तारै बिस्तारै अष्ट्रेलिया निवासी बन्दै गएँ ।

प्रस्तुति- अनुराधा पौडेल

तपाइँको प्रतिक्रिया