बिहीबार, वैशाख १३, २०८१

एनआरएनए जापानको विवाद सहमतिमा टुंगियो, संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याईने

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन ३१ गते २१:१२

लामो समयदेखि विवादमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको विवाद सहमतिमा टुंगिएको छ ।

सहमति अनुसार शिव प्रसाद पौडेल अध्यक्ष रहेको कार्यसमितिलाई अनुमोदन गर्ने र अध्यक्षको दाबी गर्दै आएकि अनिता गुरुङलाई उक्त कार्यसमितिको संरक्षक बनाईने भएको छ ।

दुई पक्षबिच भको पाँच बुँदे सहमति अनुसार एनआरएन जापानको आगामी २०२३-२०२५ कार्यकालकालागि निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्नका लागि अधिकार सम्पन्न अनुगमन समिति, निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति लगायत अन्य आवश्यक समितिहरु गठन गरिने छ ।

त्यसैगरि एनआरएनए जापानको संस्थागत खाताबाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याईने छ ।

हेर्नुस् सहमति पत्र

त्यस्तै, निष्पक्ष निर्वाचन, निर्वाचनको विश्वासनियता र सर्वस्वीकार्यता हुने गरी सदस्यता बनाइने छ । एनआरएनए केन्द्रिय समिति र राष्ट्रिय समन्वय समितिले प्रयोगमा ल्याएको एम आइ एस पद्दतीको विश्वासनियता र ब्यक्तिगत वैयक्तिक गोपनियता तथा सूचनाको सुरक्षा (पर्सनल इनफरमेसन प्रोटेक्सन) को प्रत्याभूतिको सुनिश्चितता गरी प्रयोगमा ल्याईने सहमतिसमेत भएको छ ।

गैरआवासीय नेपाली संघको गत दशौं महाधिवेसनमा जारी गरिएको भावना अनुरुप सहमतिको आधारमा संस्था संचालन गर्ने र संरक्षक, सल्लाहकार तथा विभिन्न समितिहरुमा महत्वपूर्ण ब्यक्तिहरुलाई थप वा समायोजन गरिने भएको छ ।

अनिता गुरुङ समुहमा रहेका अन्य ब्यक्तिहरुलाई सल्लाहकार एवं विभिन्न बिभागमा चयन गरिने छ । ब्यक्तिहरु छनौटका लागि लागि संयोजकमा एनआरएनएका पूर्व केन्द्रिय अध्यक्ष भवन भट्टलाई राखिएको छ । अन्य दुई सदस्यमा शिव प्रसाद पौडेल र अनिता गुरुङ रहने छन् । यो तीन सदस्यिय समितिले नवगठित कार्य समितिको नामावली तय गरी सेप्टेम्वर १५ सम्ममा भवन भट्टबाट सपथग्रहण गराउने निर्णय पनि भएको छ ।

यसको साक्षीको रुपमा एनआरएनए केन्द्रिय उपाध्यक्ष महेश श्रेष्ठ, केन्द्रिय उपमहासचिव ओम गुरुङ र डिपी कँडेल रहेका छन् । यसको सहमतिकर्तामा शिव प्रसाद पौडेल र अनिता गुरुङ छन् ।

सन् २०२१ जुलाई ३० मा सम्पन्न एनआरएनए जापानको निर्वाचनको विषयमा विवाद उत्पन्न भई अत्यन्तै विषम परिस्थिति सिर्जना भएको र निर्वाचनका सन्दर्भमा भएका बिभिन्न घटनाहरुद्वारा देश, विदेशमा रहेका नेपालीहरु प्रति यस अवधिमा भएका असुविधा, अन्योलता एवं गैरआवासीय नेपाली संघमा अपूरणिय क्षति पुगेको सहमतिकर्ताहरुले उल्लेख गरेका छन् । तर ति गल्तिहरुमा आत्मालोचना गर्दै यस अवधीमा भए गरेका सबै घटनाक्रमको अपनत्व ग्रहण गरिने बताएका छन् ।

सहमति अनुसार गत २०२१ जुलाई २९ को अवस्थामा फर्केर सोही जगमा नयाँ कार्य समिति बनाइने सहमतिकर्ताहरुले उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया