आइतबार, मंसिर ११, २०७९

शान्ति सेनामा खै महिला ? पुरुषको प्रभुत्व किन?

पुरुष जत्तिकै महिला शान्ति सैनिकहरू राख्ने राष्ट्रसंघको दीर्घकालीन लक्ष्य पूरा नहुन सक्छ।

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ साउन ३१ गते २३:४८

संयुक्त राष्ट्रसंघका विश्वभरमा एक दर्जन द्वन्द्वग्रस्त क्षेत्रमा करिब ७४,००० शान्ति सैनिक तैनाथ छन्। तिनीहरूलाई चर्चित फिका नीलो हेलमेटमा सहजै चिन्न सकिन्छ। तिनीहरुमध्ये महिला भेट्टाउन अलि गाह्रो छ। त्यहाँ सैन्य विशेषज्ञ, प्रहरी र स्थलगत सैनिक एकाइहरू छन्, जुन १२१ देशहरूबाट शान्ति कायम गर्न मद्दत गर्न खटिएका छन्।तिनीहरुमध्ये महिला कमै भेटिन्छ किनकी शान्ति सेनामा ८ प्रतिशत मात्रै महिला छन्।

यो १५ वर्ष पहिलेको तुलनामा उल्लेखनीय वृद्धि हो, त्यतिबेला शान्ति सेनाको संख्या आजको जस्तै थियो तर महिलाहरू केवल २% मात्र थिए। २० वर्षदेखि, संयुक्त राष्ट्रसंघले यो तथ्याङ्क सुधार गर्न प्रयास गरिरहेको छ। तर पुरुष जत्तिकै महिला शान्ति सैनिकहरू राख्ने राष्ट्रसंघको दीर्घकालीन लक्ष्य पूरा नहुन सक्छ।

किन संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा पुरुषहरू अत्याधिक छन्, शान्ति सेनामा महिला भर्ती भएको दशकौं भएसक्दा पनि महिला सैनिकको संख्या किन बढ्न सकेन भन्ने सम्बन्धमा पूर्व अमेरिकी राजदूत तथा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेनिश जेटको विश्लेषण

एक अमेरिकी कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय मामिलाका विशेषज्ञको रूपमा, म अफ्रिका, ल्याटिन अमेरिका र मध्य पूर्वमा शान्ति स्थापनामा संलग्न भएको छु। महिला शान्ति सैनिकको संख्यामा नाटकीय रूपमा वृद्धि गर्दा सामुदायिक सम्बन्धमा सुधार लगायतका स्पष्ट फाइदाहरू छन्, तर शान्ति स्थापनाको क्रमिक विकासले लैङ्गिक समानतालाई असम्भव बनाउँछ।

संयुक्त राष्ट्र्संघले के माग गर्छ ?

संयुक्त राष्ट्र्संघको आफ्नै सेना छैन। त्यसकारण जब संयुक्त राष्ट्र्संघले शान्ति मिसन सुरु गर्छ, यसले आफ्ना १९३ सदस्य देशहरूलाई आवश्यक व्यक्तिहरू उपलब्ध गराउन आग्रह गर्नैपर्छ।

 

आवरणः शान्ति सेनामा कार्यरत नेपाली सैनिक क्याप्टेन सोनी खड्का। सौजन्यः संयुक्त राष्ट्र्संघ

संयुक्त राष्ट्र्संघले सेना लिएका संगठनमार्फत् प्रत्येक देशलाई एकजना सैनिकका लागि हरेक महिना १,४०० अमेरिकी डलर भुक्तानी गर्छ। यसले गरिब देशहरूलाई आफ्नो सेना कायम राख्न र सैनिकहरूलाई भुक्तानी गर्न मद्दत गर्छ। बंगलादेश, नेपाल, भारत र रुवान्डा हरेकले शान्ति सेनाको रूपमा काम गर्न सबैभन्दा बढी अर्थात् ५,००० भन्दा बढी सैनिकहरू दिन्छन्। अमेरिकाले हाल ३० जना मात्रै सैन्य अधिकृतहरू उपलब्ध गराएको छ।

सन् २००० मा, संयुक्त राष्ट्र्संघीय सुरक्षा परिषदले १३२५ संकल्प प्रस्ताव पारित गर्दा शान्ति स्थापनामा लैङ्गिक असन्तुलनलाई पहिचान गर्‍यो। उक्त प्रस्तावले महिलाहरूलाई सेवा गर्ने थप अवसरहरू प्रदान गर्न आग्रह गरेको थियो। सन् २०१८ देखि संयुक्त राष्ट्र्संघले विशेष रूपमा आफ्ना शान्ति मिसनहरूलाई पुरुषहरू जत्तिकै सकेसम्म धेरै महिलाहरू समावेश गर्ने दिशामा काम गर्न निर्देशन दिन थाल्यो।

अनुसन्धानले देखाउँछ कि द्वन्द्व सुल्झाउन महिलाहरूलाई समावेश गर्नु राम्रो सोच हो, खासगरी तिनीहरू प्राय: पुरुषहरू भन्दा धेरैजसो युद्ध पीडीत हुने गरेका छन्। जब महिलाहरू शान्ति वार्तामा सहभागी हुन्छन्, यसबाट प्राप्त हुने शान्ति अझ दिगो हुन्छ।

महिला शान्ति सैनिकहरूको संख्या धेरै हुँदा नागरिकस्तरमा सम्बन्ध सुधार गर्न मद्दत मिल्दछ। स्थानीय समुदायहरू र शान्ति सैनिकहरू बीच खुला कुराकानी र आपसी विश्वास अभिवृद्धिले उन्नत सांस्कृतिक समझदारी र महिलाले यौन हिंसाको जानकारी महिला शान्ति सेनालाई जानकारी गराउन सक्ने हुनाले यस्ता जानकारी सहित महत्वपूर्ण चलाखीको विकास तर्फ डोर्‍याउन सक्छ।

यो विशेष गरी महत्वपूर्ण छ किनकि विगतका केही वर्षहरूमा शान्ति सेनाले बालबालिकाहरू सहित नागरिकहरूलाई दुर्व्यवहार गर्ने गरेको आरोप लागेका घटनाहरु धेरै छन्।

महिलालाई सहभागिताका अप्ठयारा

उल्लेखित फाइदाका बाबजुद पनि शान्ति सेनामा धेरै महिलालाई सहभागी गराउनमा तीनवटा प्रमुख अवरोधहरू रहेका छन्।

पहिलो, भारत र टर्कीमा १% भन्दा कम र हंगेरीमा २०% सम्म गरी हरेक देशका सशस्त्र बलहरूमा महिलाहरूको सहभागीता लगभग थोरै प्रतिशत छ।

दोस्रो, धेरै थोरै देशहरूले महिलाहरूलाई मैदानमा लडाइँका लागि प्रशिक्षण दिन्छन्, जुन संयुक्त राष्ट्रको शान्ति मिसनको एउटा हिस्सा रहन्छ।

तेस्रो, लडाईका लागि महिलाहरूलाई तालिम दिने देशहरू प्राय: लोकतान्त्रिक र धनी हुन्छन्। उनीहरूले संयुक्त राष्ट्रसंघको जोखिमयुक्त शान्ति मिसनहरूमा सैनिक पठाउने सम्भावना पनि कम हुन्छ।

शान्ति स्थापनाको तरिका परिवर्तन भएकाले यी व्यावहारिक चुनौतिहरू झनै कठिन भएका छन्।

शान्ति स्थापनाको विकास

सन् १९४८ मा इजरायल र यसका अरब छिमेकीहरूबीचको युद्धमा प्रतिकार्यस्वरूप आफ्नो पहिलो शान्ति मिसन सुरु गर्दा संयुक्त राष्ट्र्संघ स्थापनाको तीन वर्षमात्र भएको थियो। त्यो अपरेसनमा, र त्यसपछिका विभिन्न भूभागहरूमा देशहरूबीचका द्वन्द्वको समाधान गर्ने क्रममा, एक पटक लडाइँ रोकिएपछि दुईतर्फी सेनाबीच युद्धविराम कायम राख्न मध्यस्थ शान्ति सैनिकहरू राख्ने गरिन्थ्यो।

सन् १९९० को दशकमा, शान्ति सेनाले अंगोला र मोजाम्बिक जस्ता ठाउँहरूका गृहयुद्धलाई पनि सम्बोधन गर्यो। ती अपरेसनहरूले पूर्व लडाकूहरूलाई निष्क्रिय गर्दै उनीहरूलाई नागरिक जीवनमा पुन: एकीकृत गर्नु र नयाँ राष्ट्रिय सेनाको गठन गर्नुपथ्र्यो।

अक्सर सबैभन्दा महत्त्वपूर्ण काम चुनाव सञ्चालनका लागि गरिने थियो। सन् १९९४ मा मोजाम्बिकमा म अमेरिकी राजदूत हुँदा, यो सबै सफलतापूर्वक सम्पन्न भयो र शान्ति सैनिकहरू घर गए। तर यस प्रकारको शान्ति स्थापना पनि प्राय: विगतको अवशेष हो।

सन् २०१० र सन् २०१४ को बीचमा र अफ्रिकामा सुरु गरिएको संयुक्त राष्ट्र्संघका पाँचवटा सबैभन्दा पछिल्ला शान्ति मिसनहरूमा, शान्ति सेनालाई नागरिकहरूको सुरक्षा गर्न र सशस्त्र विद्रोही समूहहरूको चुनौती कम गर्न सरकारको नियन्त्रण क्षमता विस्तार गर्न मद्दत गर्ने जिम्मेवारी दिइएको छ। त्यसो गर्न धेरै स्थलगत सेना एकाइहरू चाहिन्छ, जसका कारण उदाहरणका लागि, मालीस्थित मिसनमा १२,००० सेनाहरू समावेश छन्।

यी सबैभन्दा ठूला मिसनहरू मात्रै होइनन्, सबैभन्दा घातक पनि हुन्। यी मिसनहरूमा प्रत्येक वर्ष औसत १६ जना शान्ति सैनिकहरू मारिन्छन्, जबकि सबैभन्दा पुरानो शान्ति स्थापना कार्यहरूमा प्रत्येक वर्ष औसत दुई शान्ति सैनिकहरू मारिने गर्थे।

संयुक्त राष्ट्र्संघले सुरुमा सबै युद्धरत पक्षहरू शान्ति सैनिकहरूको उपस्थितिमा सहमत छन् साथै शान्ति सैनिकहरू निष्पक्ष रहन्छन् र उनीहरू आफ्नो रक्षा गर्न मात्र बल प्रयोग गर्छन् भनी जोड दिएको थियो।

पाँचवटा नयाँ मिसनहरूमा, आवश्यकता अनुसार बलको प्रयोग गर्न पाउने अनुमतिलाई विस्तार गर्न आवश्यक छ। यसको मतलब शान्ति सेनाहरूले सबै लडाकुहरूको सहमति खोजिराख्नु पर्दैन, र सत्तामा रहेको सरकारलाई सहयोग गर्न निष्पक्षता त्यागिएको छ। परिणाम स्वरूप, सरकारको विरोध गर्नेहरूमध्ये केहीले शान्ति सेनालाई पनि निशाना बनाउन थाले।

महिला शान्ति सेनासँगको सम्बन्ध

यी नवीनतम शान्ति मिसनहरूलाई बल प्रयोग गर्न सक्षम बन्नका लडाईको लागि तयार हजारौं सेनाहरू आवश्यक पर्दछ। त्यस कारणले गर्दा, शान्ति सेनामा ८६% सैन्य बलहरू छन्, तर केवल ६% सेनाहरू महिला छन्।

महिला सेना कम प्रतिशत युद्धमा संलग्न हुने, जोखिम नलिने अन्य प्रकारका शान्ति सैनिकहरूको तुलनामा एकदमै फरक छ –यसमा २७% सैन्य विशेषज्ञ, १९% अधिकृत कर्मचारी र १९% प्रहरी महिलाहरू छन्।

जबकि धनी देशहरूले संयुक्त राष्ट्र शान्ति स्थापनाको आर्थिक लागतको ८६% तिर्छन्, जुन ६.४ अरब डलर वार्षिक रकम हो, सैनिकका हिसाबले भने तिनीहरूले कुल सेनाको ८% भन्दा कम योगदान गर्छन्।

इजरायलमा जस्तै संयुक्त राष्ट्र्संघका ६ वटा पुराना मिसनहरूमा ७% मात्रै महिला छन्, र तीमध्ये ३७% महिला धनी देशहरूबाट आएका छन्। अन्य पाँच घातक मिसनहरूमा ५% सेनाहरू महिला छन् र तिनीहरूमध्ये केवल ३% धनी सदस्य राष्ट्रहरूबाट आएका हुन्।

त्यसैले, धनी देशहरूले धनराशीमा तिर्छन्, गरीब देशहरूले रगतमा चुकाउँछन्।

थप महिला शान्ति सेना प्राप्त गर्नका लागि सदस्य देशहरूले सबैभन्दा खतरनाक शान्ति मिसनहरूमा थप महिलाहरू खटाउनु पर्ने हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, त्यो रगत बगाउने मौका थप महिलाहरूलाई पनि दिन आवश्यक छ।

सम्बन्धमा पूर्व अमेरिकी राजदुत अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेनिश जेटको द कन्भरसेशनमा छापिएको विचारको भावानुवाद।

आवरणः शान्ति सेनामा कार्यरत नेपाली सैनिक क्याप्टेन शिचन मोक्तान। सौजन्यः संयुक्त राष्ट्र्संघ

प्रस्तुतिः मनोजराज रेग्मी

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया