बिहीबार, असोज २०, २०७९

भाउ बढेको बढ्यै, मूल्यवृद्धि ८.०८ प्रतिशत

उच्च आयात र चालु खाता घाटा हुँदा अर्थतन्त्रमा जोखिम यथावत

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ १ गते २१:०४

गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) आठ दशमलव ०८ प्रतिशत पुगेको छ । अघिल्लो महिना जेठमा महँगी आठ दशमलव ५६ प्रतिशत थियो । गत आवको वार्षिक औसत मुद्रास्फीति दर भने छ प्रतिशतकै हाराहारीमा सीमित थियो । सुरुवाती महिनाहरूमा कोभिडकै कारण माग बढ्न नसक्दा महँगी न्यून रहेकाले असारमा वार्षिक औसत दर भने छ दशमलव ३२ प्रतिशतमै रहेको देखिन्छ ।

विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले मुद्रास्फीति बढेको राष्ट्र बैंकको विश्लेषण छ ।

साउन महिनाको अन्तिम दिन पारेर मंगलबार राष्ट्रबैङ्कले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी मूल्य वृद्धिको उक्त तथ्याङ्क दिएको हो। उच्च आयात, अध्ययनका नाममा विदेशी मुद्रा बाहिरिनु तथा न्यून निर्यातले गर्दा मुलुकको अर्थतन्त्रमा जोखिम यथावत रहेको छ। आर्थिक वर्ष २०७८/०७९ मा उच्च आयातका कारण निर्यात व्यापारमा सुधार भए पनि त्यसले अर्थतन्त्रलाई सुधार गर्न सक्ने नसक्दा समग्रमा मुलुकको व्यापार घाटामा रहेको छ। नेपाल राष्ट्र बैंकले निरन्तर घट्दै आएको विदेशी मुद्राको सञ्चिति सुधार ल्याउन विलासिताको वस्तुहरूको आयातमा कटौती गरे पनि यसको प्रभावले व्यापार घाटा कम भएको छैन।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/०७९ मा कुल वस्तु निर्यात ४१ दशमलव सात प्रतिशतले बढेर दुई खर्ब तीन करोड पुगेको छ। यसरी वस्तु निर्यात दुई खर्ब पुगेको यो पहिलो पटक हो। निर्यात बढे पनि आयात उच्च हुँदा व्यापारघाटा भने निर्यातको तुलनामा निकै माथि छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो निर्यात ४४ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमश: ४९ दशमलव नौ प्रतिशत र ३० दशमलव चार प्रतिशतले बढेको भए पनि चीनतर्फको निर्यात २० दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। वस्तुगत आधारमा पाम तेल, ऊनी गलैँचा, धागो (पोलिष्टर तथा अन्य), जिंक सिट, जुसलगायतका वस्तुको निर्यात बढेको भए पनि सोयाबिन तेल, अलैँची, चिया, औषधि (आयुर्वेदिक), तारलगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार आव २०७८/०७९ कुल वस्तु आयात २४ दशमलव सात प्रतिशतले वृद्धि भई १९ खर्ब २० अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात २८ दशमलव सात प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश: २३ दशमलव पाँच प्रतिशत, १३ दशमलव दुई प्रतिशत र ३६ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, स्पन्ज आइरन, सुनलगायतका वस्तुको आयात बढेको भए पनि एमएस बिलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरणलगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ। निर्याततर्फm कञ्चनपुर भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात भने आव २०७८/०७९ मा बढेको छ। यसैगरी आयाततर्फm पनि सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा बढेको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार आव २०७८/०७९ कुल वस्तु व्यापारघाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा २७ दशमलव तीन प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात १० दशमलव चार प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात नौ दशमलव दुई प्रतिशत थियो। समीक्षा वर्षमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी दुई खर्ब १३ अर्ब ५३ करोडबराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात एक खर्ब ९० अर्ब ५४ करोडबराबरको भएको थियो।

चालू खाता छ खर्ब २३ अर्ब रुपैयाँले घाटामा

मुलुकको चालू खाता घाटामा देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा चालू खाता छ खर्ब २३ अर्ब ३३ करोडले घाटामा देखिएको हो। अघिल्लो वर्ष चालू खाता तीन खर्ब ३३ अर्ब ६७ करोडले घाटामा थियो।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब ८४ करोडले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा पाँच अर्ब १७ करोडले घाटामा छ। समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४ दशमलव पाँच प्रतिशतले कमी आई नौ अर्ब ९९ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार दशमलव नौ प्रतिशतले कमी आई १८ अर्ब ५६ करोड कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रहेको राष्ट्र बैंकको भनाइ छ। समीक्षा वर्षमा शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति एक अर्ब २३ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा दुई अर्ब १४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।

खुद सेवा आय एक खर्ब आठ अर्ब रुपैयाँले घाटामा

खुद सेवा आय घाटामा देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा खुद सेवा आय एक खर्ब आठ अर्ब १२ करोडले घाटामा देखिएको हो। अघिल्लो वर्ष खुद सेवा आय ७२ अर्ब ८५ करोडले घाटामा थियो।

समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय तीन सय ४६ दशमलव पाँच प्रतिशतले वृद्धि भई ३२ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय सात अर्ब २७ करोड थियो। समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय एक सय ९६ दशमलव सात प्रतिशतले वृद्धि भई ९७ अर्ब ३२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। यसमध्ये शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड छ। अघिल्लो वर्ष भ्रमण व्यय ३२ अर्ब ८० करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ९६ करोड रहेको रहेको राष्ट्र बैंकको भनाइ छ।

१२ महिनामा भित्रियो १० खर्ब सात अर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्स रकम चार दशमलव आठ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी १२ महिनाको प्रतिवेदनअनुसार आव २०७८/०७९ रेमिट्यान्स रकम चार दशमलव आठ प्रतिशतले बढेर १० खर्ब सात अर्ब ३१ करोड पुगेको छ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौ दशमलव आठ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह आठ दशमलव दुई प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ। समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ६२ दशमलव आठ प्रतिशतले घटेको थियो।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा एक सय ९८ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई लाख ८२ हजार चार सय ५३ पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ४६ दशमलव आठ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा खुद ट्रान्सफर चार दशमलव तीन प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर नौ दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।

कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब

विदेशी मुद्राको सञ्चिति घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव एक प्रतिशतले घटेर २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८ दशमलव नौ प्रतिशतले कमी आई नौ अर्ब ५४ करोड कायम राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ असार मसान्तमा १५ दशमलव एक प्रतिशतले कमी आई १० खर्ब ५६ अर्ब ३९ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंक बाहेकका संस्थाहरूसँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ असार मसान्तमा तीन दशमलव प्रतिशतले वृद्धि भई एक खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव छ प्रतिशत छ। आर्थिक वर्ष २०७८/०७९ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना आठ दिनको वस्तु आयात र छ महिना नौ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको भनाइ छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया

फेसबुक