आइतबार, मंसिर ११, २०७९

पञ्चायतमा चोरिएका मूर्ति र नासिएको गुठी

बसन्त महर्जन२०७९ भदौ ४ गते ८:३४

बसन्त महर्जन

राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भइसकेपछि पनि पुन: राजतन्त्र नै फर्काउन भइरहेको कसरतलाई नजरअन्दाज गर्न मिल्दैन। राजतन्त्रवादीहरूको एउटा जिकिर छ, धर्म, संस्कृति र परम्परा बचाउने हो भने राजतन्त्र नै चाहिन्छ। यसरी नै एक तप्काका हिन्दू धर्मावलम्बीहरू हिन्दू धर्मको संरक्षक राजा हुन्छन्, राजा विष्णुको अवतार हुन् र राजतन्त्र मासिएपछि हिन्दू धर्ममा खतरा आइपर्छ भन्ने मान्यता राख्छन्। नेपाललाई हिन्दू राज्य बनाउन चाहनेहरू पनि यसका लागि राजतन्त्र नै चाहिने मनसाय राख्छन्। मान्यता एक ठाउँमा छ, तर तथ्यले ती मान्यताहरूको समर्थन गर्दैन। तथ्यमा आधारित विचार निर्माण भए मात्रै समाजलाई अगाडि बढाउन सक्छ।

विधानत: नेपाल हिन्दू राज्य भएको २०१९ सालदेखि हो । त्यो पनि गणतन्त्रको स्थापनासँगै अन्त्य भयो। सदियौंदेखि नेपाल हिन्दू राज्य रहेको भाष्यलाई इतिहासचेतको अभाव भन्न सकिन्छ। इतिहासकै कुरा गर्ने हो भने हिन्दू, बौद्धलगायतका यी धर्महरूको उदय हुनुअघि नै वर्तमानमा नेपाल अवस्थित भूभागमा मानव सभ्यता र संस्कृतिको विकास भइसकेको थियो। कुनै पनि धर्म, संस्कृति, दर्शन तथा परम्पराहरू मानव इतिहासभन्दा पुराना हुन सक्दैनन्। यही इतिहासका अनेक कालखण्डहरूमा यी धर्मसंस्कृतिहरूको विकास र विस्तार भएका हुन्।

नेपालको इतिहासमा राजा मानदेव वैष्णवी थिए भने उनकै छोरी राजकुमारी विजयवती शैव धर्मावलम्बी रहेको कुरा पशुपति सूर्यघाटको अभिलेखबाट बुझिन्छ। राजा वैष्णवी भइकन पनि उनको योगदान बौद्ध धर्ममा पाइन्छ। उनका जिजुहजुरबुवा राजा वृषदेव बौद्ध थिए र राजपाट छाडेर बौद्ध भिक्षुमा दीक्षित भएका थिए। उनको बौद्ध कृति जनाउने एउटा अभिलेख हालै पाटन मंगलबजारमा खानेपानीको पाइप बिछ्याउने क्रममा प्राप्त भयो।

राज्यको सुरक्षा संयन्त्रभित्रै रहेका मूर्ति तथा अन्य सम्पदाहरू विदेशी म्युजियममा पाइनुले यस कार्यमा राज्यकै संलग्नता रहेको स्पष्ट हुन्छ। मूर्तिलगायतका प्राचीन सम्पदाहरूको खानीको रूपमा प्राचीन हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र हुन्। यी क्षेत्रहरू नारायणहिटी दरवारअन्तर्गत सञ्चालित हुन्छन्। सुरक्षाका लागि भनेर सैनिक सुरक्षा नै दिइएको हुन्छ। यिनै क्षेत्रबाट मूर्तिहरू व्यापक रूपमा चोरी भएको पाइनुको अर्थ हो, चोरी कार्यमा दरबारभीत्रकै संलग्नता।

यी लगायत अन्य प्रसङ्गहरूबाट बुझिने एउटै कुरा के हो भने धर्म भनेको व्यक्तिगत कुरा हो र राजाले मान्ने धर्म हुँदैमा त्यो राज्य धर्म नहुने रहेछ। आफूलाई हिन्दू धर्मको संरक्षक मान्ने पृथ्वीनारायण शाहलगायतका हिन्दू राजाहरूले पनि नगरेको हिम्मत राजा महेन्द्रले नेपाललाई संविधानत: हिन्दू राज्य घोषणा गरेर देखाए। राजतन्त्र र हिन्दू राज्य हुँदैमा हिन्दू धर्म तथा यससँग सम्बन्धित पक्षहरूको रक्षा नहुने रहेछ भन्ने तथ्य पनि नेपालमा नै स्थापित भयो।

नेपालमा हिन्दू देवीदेवताका मूर्तिहरू व्यापक रूपमा हराउन थालेको कहिलेबाट भनेर हेर्दा यो देश हिन्दू राज्यको रूपमा घोषणा भइसकेपछिको समय देखिन्छ। विश्वका विभिन्न म्युजियमहरूमा सजिन पुगेका मूर्तिहरूको तस्बिर मात्र हेर्दा पनि आँकलन हुन्छ– उक्त मूर्ति मौलिक स्थानबाट उठाएर ल्याउन दश बार्‍ह जना मान्छेले पनि सक्दैनन्। जाँचका क्रममा सानासाना कुराहरू पनि फेला पर्ने ठाउँमा आदम कदका ती मूर्तिहरू कसरी चोरी भए र विदेश पुगे भन्ने प्रश्नमा ठूलै शक्तिको संलग्नतालाई नकार्न मिल्दैन। राज्यको सुरक्षा संयन्त्रभित्रै रहेका मूर्ति तथा अन्य सम्पदाहरू विदेशी म्युजियममा पाइनुले यस कार्यमा राज्यकै संलग्नता रहेको स्पष्ट हुन्छ। मूर्तिलगायतका प्राचीन सम्पदाहरूको खानीको रूपमा प्राचीन हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र हुन्। यी क्षेत्रहरू नारायणहिटी दरवारअन्तर्गत सञ्चालित हुन्छन्। सुरक्षाका लागि भनेर सैनिक सुरक्षा नै दिइएको हुन्छ। यिनै क्षेत्रबाट मूर्तिहरू व्यापक रूपमा चोरी भएको पाइनुको अर्थ हो, चोरी कार्यमा दरबारभीत्रकै संलग्नता। यी क्षेत्रबाहेक अन्य क्षेत्रका मन्दिरहरूबाट पनि मूर्ति चोरीको घटना एक समय व्यापक रूपमा हुन्थ्यो। त्यति बेला मूर्ति र चरेसको अवैध निकासी हुन्थ्यो र त्यसमा राजदरबारको संरक्षकत्व थियो भन्ने कुराको चर्चा व्यापक रूपमा नै हुन्थ्यो।

मूर्तिहरू हिन्दू देवीदेवताका मात्रै हुँदैनन्, बौद्ध मूर्तिहरू पनि छन् र तिनको पनि उत्तिकै चोरी हुन्थ्यो। यस्तो चोरी काठमाडौं उपत्यकाबाट मात्रै नभएर जनकपुरलगायतका सम्पदा क्षेत्रहरूबाट पनि हुन्थ्यो। चोरी कार्यमा संलग्नलाई कुनै धर्मविशेष वा क्षेत्रविशेषसँग सरोकार थिएन, सम्पदाको चोरी निकासीबाट हुने आर्थिक लाभसँग मात्रै सरोकार थियो। विष्णुको अवतार मानिएका गद्दीनसिन राजाकै छत्रछायाँमा हिन्दू तथा बौद्ध देवीदेवताका मूर्तिहरू चोरी हुनुले भन्न बाध्य पार्दछ, हिन्दू राजा हुँदैमा हिन्दू धर्मको रक्षा हुने होइन अनि रक्षाका लागि राजतन्त्र नै चाहिने पनि होइन रहेछ।

काठमाडौं उपत्यकामा भएका अधिकांश मठमन्दिर तथा जात्रापर्वहरू हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित रहेका छन्। यिनीहरूको सञ्चालन विधि गुठी परम्पराबाट हुँदै आइरहेको पाइन्छ। यो भनेको मन्दिर तथा जात्रापर्वका संस्थापकले सपाट रूपमा मन्दिर मात्रै बनाएर त्यत्तिकै छाड्दैनन्, जात्रापर्व पनि यत्तिकै चल्दैनन् यसको लागि विशेष व्यवस्था गरिएको हुन्छ। के कसरी चलाउने भन्ने सवालमा पुग्दो आयस्ता आउने जग्गा गुठीमा राखेर गुठी सञ्चालनका लागि गुठियारको व्यवस्थासमेत गरिएको हुन्छ। यसलाई आजभोलिको भाषामा भन्ने हो भने अक्षयकोष र अक्षयकोषको संरक्षण भन्न सकिन्छ ।

तर राजा महेन्द्रबाट लागू भएको भूमि सुधार ऐन र गुठी संस्थानको स्थापनाले हजारौं वर्षदेखि चल्दै आएको सांस्कृतिक जीवनलाई ध्वस्तै पार्ने काम भयो। गुठी सञ्चालनमा केही गरेन तर ती गुठी अन्तर्गत रहेका भूमिहरू गुठी संस्थानअन्तर्गत राख्ने काम भयो। अब आइन्दा जात्रापर्व तथा मठमन्दिरहरूको सञ्चालनका लागि चाहिने खर्च गुठी संस्थानले तय गरेको बजेट अनुसार हुने र त्यही बजेटले स्थानीय गुठीहरू चल्नुपर्ने भइदियो। रमाइलो कुरा त के भयो भने कुनै एक जमानाको बजेट एकै रूपमा निरन्तर लागू भइरह्यो । तर बजार भाउ भने बढ्दै गयो।

इसाई भएकै आधारमा कतिपय नेपाली देशनिकालामा परे। राणा कालमा त बौद्ध धर्म अपनाएकै आधारमा पनि बौद्ध भिक्षुहरू आफ्नै देशबाट निष्कासित हुनु पर्‍यो। कतिपय भिक्षु कारागारमा राखिए। सर्वसाधारण बौद्धहरूले त कारागारमा कठोर सजाय नै भोग्नु पर्‍यो।

कुरा यति मात्रै होइन, ती गुठीका जग्गाहरू रैकरमा परिणत गरी गुठी संस्थानका कर्मचारीहरूले धमाधम बिक्री गरेर सकिसकेको अवस्था छ। यसबाट काठमाडौंको मठमन्दिर तथा जात्रापर्वहरूमा नराम्रोसँग असर पुगेको छ। कति हराएर गएका छन् भने कति चाहिँ हराउने क्रममा छन्।

राजतन्त्रको ठाउँमा गणतन्त्रको स्थापनालाई पचाउन नसकेकाहरू आफ्नो पक्षमा विचार निर्माणका लागि कतिपय अवस्थामा धर्म र संस्कृतिकै प्रसङ्गहरू उठाइरहेको पाइन्छ। उनीहरूका अनुसार गणतन्त्रको स्थापना पछि इसाई धर्मको प्रचारप्रसार बढ्यो। नेपालमा इसाई धर्मको प्रवेश सत्रौं–अठारौं शताब्दीमा नै भइसकेको थियो। त्यो बेला नै नेपाल धार्मिक स्वतन्त्रता भएको एउटा देशको रूपमा चिनिन्थ्यो। आफ्नो धर्म सम्प्रदायमा मान्छेहरूलाई आकर्षित गर्न आफूले राम्रो काम गर्ने हो, राम्रो लागे आकर्षित हुन्छ होइन भने हुन्न भन्ने सरल अभ्यास रहेको पाइन्छ। सबै आआफ्नो मर्यादामा रहन्थे ।

तर शाहकालको सुरुदेखि नै यो अभ्यासमा अंकुश लाग्न थाल्यो। इसाई भएकै आधारमा कतिपय नेपाली देशनिकालामा परे। राणा कालमा त बौद्ध धर्म अपनाएकै आधारमा पनि बौद्ध भिक्षुहरू आफ्नै देशबाट निष्कासित हुनु पर्‍यो। यस्तो निष्कासनको घटना दुई पल्ट भएको पाइन्छ। कतिपय भिक्षु कारागारमा राखिए। सर्वसाधारण बौद्धहरूले त कारागारमा कठोर सजाय नै भोग्नु पर्‍यो। राणाकालको मात्रै कुरा होइन, पञ्चायती कालमा पोखराका फेवातालमाथि अन्दू डाँडामा बन्दै गरेको बौद्ध स्तूपमा सैनिकहरू पठाएर भत्काउन नै लगाइयो। त्यसमा संलग्नहरूलाई अनाहकमा कानूनी कारबाही गरियो।

वास्तविकता त के हो भने राजतन्त्र आफैं टिक्न सक्दैन र कुनै न कुनै शक्तिको खोजी भइरहन्छ। आफ्नो दुनो सोझ्याउन कतिपय धर्माधिकारीहरू राजतन्त्रको शरणमा जाने हुन् तर धर्मको रक्षा राजतन्त्रमा हुन नसक्ने रहेछ भन्ने तथ्य नेपालमा मूर्तिचोरीलगायतका घटनाहरूमा स्वयं राजतन्त्रका अवयवहरू नै परिचालित भएबाट स्पष्ट हुन्छ।

धर्म र संस्कृतिको सवालमा राजतन्त्र र गणतन्त्रको तुलनात्मक अध्ययन गर्ने हो भने धेरै मात्रामा फरक पाउन सक्छौं। राजतन्त्रको बेलामा समाचार पत्रहरूमा मूर्तिचोरीका समाचारहरू बरोबर आइराख्थे। चोरिएका ती मूर्तिहरू विदेशमा खुलमखुला रूपमा बोलकबोल गरी बेच्ने गरिन्थ्यो र व्यक्तिगत संकलनमा पनि पुुग्दथ्यो। अहिले गणतन्त्र स्थापना पछि प्रत्येक महिनाजसो तिनै मूर्तिहरू नेपाल फर्काइएको समाचार प्रकाशन भइरहेको पाइन्छ। यसरी फर्काइएका मूर्तिहरू नेपालकै म्युजियममा सुुरक्षित गरिएका छन्। कतिपय मूर्ति यथास्थानमा पुुर्‍याई पूर्ववत्, नियमित पूजा गर्न पनि थालिएको छ।

संघीय गणतान्त्रिक नेपालमा बेलाबेलामा हुने निर्वाचनमा राजतन्त्र र हिन्दू राज्यको मुद्दा पनि उठ्ने गर्छ। कतिपयले यी दुुई मुुद्दालाई नङ र मासुजस्तै सम्बन्ध रहेको पनि भन्छन्। यसले हिन्दूू धर्मलाई कमजोर पार्ने काम राजतन्त्रसँग जोडिन पुग्दा भएको विचार पनि राख्छन्। वास्तविकता त के हो भने राजतन्त्र आफैं टिक्न सक्दैन र कुनै न कुनै शक्तिको खोजी भइरहन्छ। आफ्नो दुनो सोझ्याउन कतिपय धर्माधिकारीहरू राजतन्त्रको शरणमा जाने हुन् तर धर्मको रक्षा राजतन्त्रमा हुन नसक्ने रहेछ भन्ने तथ्य नेपालमा मूर्तिचोरीलगायतका घटनाहरूमा स्वयं राजतन्त्रका अवयवहरू नै परिचालित भएबाट स्पष्ट हुन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया