मंगलबार, वैशाख ११, २०८१

एनआरएनए युकेको निम्तामा नेपालका १० जना पत्रकार बेलायत भ्रमणमा

नेपाल प्लस२०७९ भदौ ४ गते १५:५६

फोटो सौजन्य- एनआरएनए युके

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतमा अत्यन्त विवाद, खिचातानी, तानातान र किचलो भैरहेका बेला नेपालका प्रसिद्द मेडियामा कार्यरत १० जना पत्रकार एनआरएनए युकेको निम्तामा बेलायत भ्रमणमा आएका छन् ।

नेपालका चर्चित टिभी तथा प्रिन्ट मिडियाका १० जना पत्रकारहरु शनिवार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिएको एनआरएनए युकेले जनाएको छ  ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, महासचिव, कोषाध्यक्ष र उपाध्यक्ष लगायतका पदाधिकारीबिच तिब्र बिवाद र आरोप प्रत्यारोप भैरहेका बेला अध्यक्ष प्रेम गाहामगरले एनआरएनए बेलायतको खर्चमा पत्रकारहरुलाई बेलायत घुमाउन निम्ता गरेका हुन् ।

लन्डन आएका पत्रकारहरुमा हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टिकाराम यात्री (एपीवान), विक्रम श्रेष्ठ (योहो टिभी), निमेश बन्जाडे (ग्यालेक्सी टिभी), दिवाकर ज्ञवाली (कान्तिपुर टुडे), सन्तोषकुमार देवकोटा (नेपाली पात्रो), स्वरुप आचार्य (इकान्तिपुर) अरुण बहादुर श्रेष्ठ (इकान्तिपुर) र जेम्स् प्रधान (भिडियोग्राफर) छन् । साथमा गायक योगेश्वर अमात्य पनि लन्डन आएका छन् ।

एनआरएनए यूकेकै ‘स्पोन्सरसीप’ मा उनीहरु बेलायत आएको अध्यक्ष गाहामगरले बताएका छन् ।

नेपाली राष्ट्रिय टिभी तथा प्रिन्ट मेडियाका पत्रककारहरुसित गैर आवासीय नेपाली संघ युकेले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ ।

उनीहरुलाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक शेरबहादुर सुनार, थर्क सेन, एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष एलबीजेड गुरुङ, काउन्सिलर विष्णु गुरुङ, शिव कल्चरल सेन्टरका उपाध्यक्ष विक्रम भट्टराई, इनास यूकेका अध्यक्ष विनोद चिपालु, हेल्प नेपाल नेटवर्कका प्रसिद्ध प्रधान लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।

पत्रकारहरुको बेलायतस्थित विभिन्न शहर तथा सांस्कृतिक धरोहर अवलोकन भ्रमण र रात्री भोज तय गरिएको छ ।

बेलायती संसद भवन, टावर ब्रीज, लन्डन आइ, म्याडम टुसाड, बकिंगहम प्यालेस, अक्सफोर्ड, स्टोनहेज भ्रमण, नेपाली मेलामा सहभागिता आदि कार्यक्रम तय भएको एन आर एन ए युकेका प्रवक्ता भरतमणि चोङ्बाङले उल्लेख गरेका छन् । लन्डनस्थित नेपाली राजदूतावासले पनि उनीहरुको सम्मानमा रात्रीभोज राखेको छ । आइतबार हिथ्रो विमानस्थल नजिक ‘ब्ल्याक टाइ डिनर’ राखिएको छ ।

संस्थाभित्र तिब्र विवाद, खिचातानी, आरोप प्रत्यारोप र संस्था बिभाजित भैरहेका बेला नेपालका पत्रकारलाई ल्याएर आफ्नो पक्षमा लेखाउन खोजेको, आफ्नो बचाउमा नेपालका पत्रकारलाई प्रयोग गर्न खोजेको, संस्थाको रकम दुरुपयोग गरेको जस्ता आरोप अध्यक्ष गाहामगरमाथि एनआरएनए युकेका उनका आलोचकले लगाएका छन् ।

संस्थाको रकम खर्च गरेर पत्रकारलाई भ्रमण गराउनेबारे संस्थामा आमसहमति नगरि आफ्नो मनोमानी अध्यक्षले निर्णय गरेको आरोपसमेत अगहामगरमाथि लगाइएको छ ।

पत्रकारहरुको नेपाली समुदायसंग कुनै औपचारिक कार्यक्रम अहिले नै तय भएको छैन । तर गैर आवासीय नेपाली संघ युकेले आफ्नै कार्यालय अल्डरशटमा २३ तारिख मंगलबार साँझ ५ बजे पत्रकार तथा मिडियाकर्मीहरुसित औपचारिक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने चोङबाङले उल्लेख गरेका छन् । कार्यक्रमको कोर्डिनेटरको जिम्मेवारी संघका प्रबक्ता भरतमणि चोङ्बाङले गरेका छन् । युकेको भ्रमणपछि उनीहरु २९ अगष्टमा नेपाल फर्कने कार्यक्रम छ ।

तपाइँको प्रतिक्रिया