बिहीबार, वैशाख १३, २०८१

अलविदा प्रदिप गिरी, तपाईं हजारौं युग बाँच्नु हुनेछ !

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ ५ गते १८:४२

फोटो स्रोत- माई रेपुब्लिका

नेपाली राजनीतिमा विशिष्ट क्षमता राख्ने नेता प्रदिप गिरी अब सधैंका लागि अस्ताएका छन । तर नेपाली समाजले उनको विचारलाई कजिल्यै अस्ताउन दिने छैन । एकदमै साधारण र एकांकी जीवनशैलीमा रमाउने गिरी पटक–पटक कांग्रेसको केन्द्रीय सदस्य भए, सांसद भए । तर, उनी न कहिल्यै पार्टीको नेतृत्वमा जान चाहे, न मन्त्री, प्रधानमन्त्री पदको लोभ देखाए । उनले जीवनभर काठमाडौंमा आफ्नै घर समेत बनाएनन्, बरु डेराको जीवन बाँचे । दिनभरी सडकका छेउछाउ हिंडेर पुस्तक पसलका अघिल्तिर झुण्ड्याइएका पुस्तकहरु पढे । वानेश्वर चोकमा घण्टौं उभिएर पत्रीकाहरु पढे, कती दिन त उनले काठमाडौंका अस्पातलहरुमा चिन्दै नचिनेका विरामी कुरेर पनि बिताए ।

जानकारहरु भन्छन- प्रदिप गिरिको जीवनशैली अनौठो थियो । तर पनि उनी राजनीतिमा थिए । नेपालको परिवेशमा असामान्य राजनीति । राजनीतिमा उनी खास बुझिएनन । उनको दर्शनलाई नेपाली राजनीतिले आत्मसात गर्न सकेन । सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा गिरीले करिब चार वर्ष जेल जीवन पनि विताए ।

उनले पछी भन्ने गर्दथे- “विचार त हावा जस्तै हुन्छ जेल भित्र कहाँँ थुनिन सक्दछ ।” विचारहरु कहिल्यै पनि थुनिएनन, ति मान्छेहरुका कण्ठ कण्ठमा चलायमान भइरहे । जसरी शनिवार बिहानसम्म नेपालका संचार माध्यम र सामाजिक सन्जालमा गिरिको स्वास्थ्य लाभको मात्र कामना भइरह्यो । उनको अवशान पछी श्रद्दान्जली ब्यक्त गर्नेहरुको सागर उर्लीरहेको छ । जिन्दगी त क्षणिक चकाचौध मात्र हो । अनन्त यात्रा मृत्‍यु पछी मात्र शुरु हुन्छ । तर यो अनन्त यात्रामा निस्किनु भन्दा पहिले मान्छेले आफ्नो वा समाजका लागि कस्तो धरातल निर्माण गरेको थियो भन्ने कुरा महत्वपूर्ण हो ।

मान्छेहरुले राजनीति किन गर्छन् ? अहिलेको कुरा छोडौं, केही वर्ष अघिको हेरौं । कुनै पनि ब्यवस्थाका विरुद्दमा लडाईं लड्नु सजिलो काम होइन । जसको प्रस्थानविन्दु शायदै कसैलाई थाहा हुन्छ । व्यवस्था विरुद्दको लडाईंले जिन्दगी ज्युँका त्युँ सकिन सक्छ, आजीवन खुला आकाश नदेखिन सक्दछ । तै पनि मान्छेहरुले यसको शुरुवात गरेका हुन्छन । आफुलाई सोचको माथिल्लो तहमा राखेर राजनीतिमा होमिएका हुन्छन । प्रदिप गिरी त्यस्तै ब्यक्ती हुन जसले आफ्नो रोमान्चक जीवन जिउन सक्ने दर्जनौं अवशरलाई छोडेर बन्द राजनीतिको कठिन यात्रामा हिंडेका थिए । उनले चाहेको भए आफ्नो जिन्दगीलाई मजबुत बनाउन सक्दथे । पंचायत कालमै सुकिला लुगा लगाएर चिल्लो गाडीमा सयर गर्न सक्दथे । गरेनन । समाज रुपान्तरण गर्ने बाटोको खोजमा लागिरहे ।

यदि उनलाई चकाचौं जिन्दगीको लोभ हुन्थ्यो भने उनको जिन्दगीमा वैभवको जीवन जिउने अवसर अनेकपटक आएको थियो । उनका दुई काका प्रधानमन्त्री र गृहमन्त्री जस्तो शक्तिशाली व्यक्ति बने । पञ्चायतमा तुलसी गिरी प्रधानमन्त्री र रुद्र गिरी गृहमन्त्री भए । २०१५ सालमै तुलसी र रुद्र सांसद थिए । काकाहरुको बाटो उनले रोजेनन । कठिन बाटो रोजे, शान शौकत र वैभवमुक्त खद्दरको पहिरन रोजे । फुटपाथका मान्छेहरुको जस्तो जिन्दगी बाँच्न कठिन थियो, तर सरल थियो । उनले आफ्नो जिन्दगी त्यसरी नै बाँचे । उनी पढेर बाँचे, राजनीतिलाई गलत तरिकाले प्रयोग गर्ने व्याख्याताहरु सँग लडेर बाँचे ।

नेपाली राजनीतीको ठुलो भूभाग यस्ता मान्छेहरुले ओगटेका छन जसले कहिल्यै अरुको विचार सुन्दैनन । अध्ययन गर्ने जाँगर चलाऊँदैनन र दुनियाँको सबैभन्दा ठुलो प्रवर्तक आफैंलाई सम्झिन्छन । त्यो राजनीतिको अलिकती जमिनमा छुट्टै र अग्लो कद सहित गिरी उभिएका थिए र राजनीतिका हरेक आडम्वरीहरुलाई नतमस्तक बनाएका थिए ।

२०४६ सालको परिवर्तन पछी गिरी पटक–पटक सांसद भए, कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भए । २०५१ मा सिराहा–५ बाट निर्वाचित र २०५६ मा पराजित भए । २०६३ सालको पुनर्स्थापित संसदमा मनोनीत भए भने २०६४ र ०७० मा समानुपातिक सांसद भए । २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धन तोडेर सिराहा–१ बाट सांसद निर्वाचित भए । तर न कहिल्यै मन्त्री बने, न त्यसप्रति कुनै रुचि राखे । किन उनले शक्तिको रुची राखेनन त्यो छुट्टै छलफलको विषय हुन सक्ला । तर उनी जस्तो संसारलाई बुझेको खासगरेर नेपाली समाजका भित्री समस्याहरुसँग चुर्लुम्म डुबेको ब्यक्ती देशको मन्त्री मात्र होइन प्रधानमन्त्री बन्नुपर्दथ्यो । उनी बनेनन । देशले समाजवादी सोच अनुरुप परिवर्तन हुने मौका गुमायो ।

हुन त धेरैलाई लाग्दो होला, एउटा ब्यक्ति इमान्दार हुँदैमा देश कसरी परिवर्तन सम्भव छ ? छ, दुनियामा धेरै देशहरु एउटा ब्यक्तिको सोचले परिवर्तन भएका छन् । इमान्दार नेताले केही वर्षमै कायापलट गराउन सक्दछ । कम से कम प्रदिप गिरिले मन्त्री नै भएर पनि बैमान नेताहरुलाई लाज लाग्ने बनाउन सक्दथे । यो उनको जिन्दगीको पाटो थियो जसले नेपाली जनतालाई अन्याय गरेको छ । गिरिको सोच अनुसारको जिन्दगी बाँच्न पाउने नेपाली जनताको अधिकार उनी आफैंले हनन गरे । तथापी उनका विचार नेपाली समाजको निकै गहिराईसम्म पुगेको उनी विरामी पर्दा स्वास्थ्यको कामना गर्ने र मृत्‍यु पछी विभिन्न माध्यमबाट श्रद्दान्जली दिने मानव सागरले देखाउँदछ ।

प्रदिप गिरी यस्ता राजनेता भए जसले होचो जमिनमा उभिएर पनि सगरमाथा जत्तिको अग्लो कद बनाए । उनको जत्तिको सम्मान र शुभेक्षा अहिलेका कुनै पनि राजनेताले सायदै पाउला । कहिल्यै सत्ता र शक्तीमा नपुगेको, पद प्राप्तिका लागि कहिल्यै मरिहत्ते नगरेको र सामान्य जीवन बाँच्न रुचाउने राजनीतिज्ञ एवं विचारक प्रदीप गिरी कसरी जनमानमा बसेका रहेछन र समाजमा उनको प्रभाव कति गाढा रहेछ भन्ने धेरैले सिक्नुपर्ने छ । यो उनले आफ्नो चेत समाजलाई बाँडेको परिणाम हो ।

देश बनाउने नाममा पटक पटक सत्तामा पुगेका शेरबहादुर देउवा, केपी ओली, प्रचन्ड, माधव नेपालहरुले प्रदिप गिरिले समाजमा बाँडेको चेत कति बलियो रहेछ भन्ने कुरा थोरै भए पनि बुझ्नुपर्ने हो । हुन त यो अप्रिय लाग्न सक्ला, यि मध्येका कुनै नेता विरामी परुन जनताले स्वास्थ्य लाभको कामना कति गर्लान् ? जमिनमा उभिएर उचाइ आफैं बनाउने हो । प्रधानमन्त्री हुँदैमा वा देशको सर्वोच्च निकायमा सम्मानित भइन्छ भन्ने मानक गलत हो । प्रदिप गिरिको अगाडि अहिलेका हरेक नेता पुड्का देखिए । अलविदा प्रदिप गिरी । बाँच्नका लागि बाँचिरहनु पर्छ भन्ने छैन । तपाईं, तपाईंको चेत नेपाली समाजमा हजारौं वर्ष बाँच्ने छ ।

तपाइँको प्रतिक्रिया