बुधबार, वैशाख १२, २०८१

जनतासँग होइन, पहिले छोरीसँगको नेपाली कांग्रेस अहिले पत्नीसँग

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ ७ गते १७:३२

वि.सं २०७८ साल साउन १५ गते । आफ्नो घर परिवारको जिविकोपार्जन लागि तुइनमा झुण्डिएर महाकाली तर्न लागेका दर्चुला व्यास गाउपालिकाका ३५ वर्षीय जयसिंह धामी नदिमा खसेर वेपत्ता भए । तुइनमा झुन्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा फुकालिदिएपछि जयसिंह महाकालीमा खसेका थिए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन ।

तर, दुःखका सय जँघार तर्दै पसिना बगाउन हिँडेका उनको सपना घरनजिकै महाकालीमा डुब्यो । देशमा नेपाली कांग्रेसको नेतृत्व थियो र प्रधानमन्त्री शेर बहादुर देउवा थिए । जय सिंह धामीको हत्या यस्तो प्रकरण थियो जसमा छिमेकी देशका सुरक्षाकर्मी संलग्न थिए । देउवा सरकारले सामान्य औंपचारिकता बाहेक केहि गरेन । पटक पटक दोहोरिइरहने यस्ता घटनाहरुमा संलग्न ब्यक्तिलाई कारवाहिका लागि अली कडा कदम उठाउनुको साटो थोरै क्षतिपुर्ती दिएर सरकारले नै घटनालाई छोपछाप गर्‍यो । अब घटना पुरानो भयो । सरकारलाई लाग्छ- घटनाहरु पुराना भए भने मान्छेहरुले विर्सिदै जान्छन ।

तर त्यस्तो हुँदैन । धेरै घटना यस्ता हुन्छन जुन मान्छेहरुको जीवनसँग त जोडीएका हुन्छन नै, राष्ट्रियतापनि सँगै गाँसिएको हुन्छ । जय सिंह घामी प्रकरण त्यस्तै थियो । तर नेपाली कांग्रेसले नेतृत्व गरेको देउवा सरकार जनताको साथमा रहनबाट चुक्यो ।

व.।सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी निर्मला पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबीन माग गरेका थिए । प्रहरी विरूद्ध भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो ।

त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबीन समिति गठन गरेको थियो । छानबीन आयोगले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको प्रतिवेदन दिएको छ । निर्मला पन्तको बलात्कार पछी हत्या भएको थियो र बलात्कारमा सरकारी सेवामा आवद्द माथिल्ला अधिकारीहरु सामेल भएको मान्छेहरुको प्रारम्भिक अनुमान थियो । तर सरकारले शताब्दिको सबै भन्दा खतरानाक बलात्कार र हत्या काण्डलाई यसरी सामसुम पर्‍यो मानौं कहीं केही भएकै थिएन ।

ओली देशका प्रधानमन्त्री थिए । शेरबहादुर देउवा प्रतिपक्षी दलका नेता । तर नेपाली कांग्रेसले निर्मला पन्त बलात्कार प्रकरणमा कतै आवाज उठाएन बरु सरकारसँग मिले जस्तो देखियो । कांग्रेस मौन भयो ।

अहिले शेर बहादुर देउवा प्रधानमन्त्री छन । यदी उनले र उनको पार्टी नेपाली कांग्रेसले चाहने हो भने अहिले पनि अनुसन्धानलाई तिब्र पारेर दोषी पत्ता लगाउन सक्दछ । गत वर्षको दशैं मनाउन भारतका विभिन्न शहरहरुमा रोजगार गरेर फर्किएका डेढ दर्जन नेपालीहरुलाई सिमा नाकामा भारतीय प्रहरिलेले निर्घात कुटपिट गरे । कमाइ गरेर ल्याएका लत्ता कपडा, सरसामान र पैसा समेत भारतीय प्रहरिले लुट्यो । उनिहरु जंगलको बाटो हुँदै अर्को दिन अर्धनग्न अवस्थामा नेपाल पसे । जिल्ला प्रशासन कार्यालय देखी परराष्ट्र मन्त्रालयमा समेत उजुरी हाले । तर सरकारले सुनेन । नेपाली कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए । ति लुटिएका आफ्ना नागरिकका बारेमा उनले एउटा सामान्य शब्द समेत बोलेनन ।

यि एक दुईवटा प्रतिनिधि घटना मात्रा हुन । उपक्षर गर्न नसक्नेका पिडा, भर्खरका कलीला आफ्ना बालबालिकालाई स्कुल पठाउन नसक्दाका निरासा र वैदेशिक रोजगारिमा गएको आफ्नो छोराको लास बुझ्ने बेला हुने मानशिक स्खलन कति छन कति जनतासँग । जहाँँ सरकार वा कुनै पनि राजनीतिक दलले कुनै प्रकारको सरोकार राखेको देखिन्न ।

तर पार्टीहरुले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि आफूहरु जनताको साथमा रहेको लगायतका कार्यक्रम अगाडि सारेका छन् । खास गरेर नेपाली कांग्रेसले भदौ १० गते देखी आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । देशमा कांग्रेसको नेतृत्वमा सरकार छ । पाँचौं पटक प्रधानमन्त्री बनेका सभापति देउवा प्रधानमन्त्री छन् ।

महँगीले देशको अर्थतन्त्रलाई पुड्को बनाएको छ । जनता दुइछाक जोहो गर्न नसक्ने अवस्थामा पुगेका छन । तर सरकारमा बस्ने र सरकारमा पहुँच राख्ने सानो समुह र केही ब्यक्तिहरु रातारात मालामाल भएका छन । प्रधानमन्त्री पत्नी आराजु राणा ब्यापारीहरुसँग दिनरात बैठकमा छन् । भारतीय खुफिया ऐजेन्सीका मानिसहरुसँगका उनका साँठगाँठ छोपेर पनि छोपिने खालका छैनन् । सामान्य जनताको छोरोले मेहनतले हुनुपर्ने बढुवा समेत पाउँदैन । त्यसमा या त प्रधानमन्त्री देउवाको नातेदार हुनुपर्‍यो या आराजुको छिमेकी हुनुपर्‍यो या पुष्पकमल दाहालको आफन्ती हुनुपर्‍यो । नेपाली कांग्रेसका पहुँचवाला नेताहरु आफ्ना मान्छेहरुलाई अनेक निकायमा भर्ती गर्नै तल्लिन छन् ।

जनताका छोराहरु जतिसुकै मेहनती भए पनि पढ्ने कोटा पाउँदैनन । जागिरको प्रतिस्पर्दामा पुग्नै सक्दैनन । विरामी हुँदा उपचारको त कुरै छोडौं सिटामोल समेत नपाएर मर्न परेका दर्जनौं उदाहरण गाउँतिर भेटिन्छन । अनी कांग्रेसले भन्छ- “जनताको साथमा नेपाली कांग्रेस” । कुनै कांग्रेसको नेताले जवाफ दिन सक्दछ यो कारणले नेपाली कांग्रेस जनताका साथमा छ भनेर ?

आफ्नो चुनावी कार्यक्रमको बारेमा जानकारी दिंदै प्रवक्ता प्रकाश शरण महतले भने- पहिलो चरणमा भदौ १० देखि २४ गतेसम्म जनताको घरदैलोमा पुग्ने, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोसम्म पुगेर मुलुकको वर्तमान राजनीतिमा कांग्रेसको भूमिका र आगामी पाँच वर्षकालागि चुनावी एजेण्डाबारे जनतालाई प्रशिक्षित गर्ने गतिविधि सञ्चालन हुनेछन् । अभियानकालागि केन्द्रीय समितिले ७७ वटै जिल्लामा प्रतिनिधिहरू खटाउने प्रवक्ता महतले बताए । कांग्रेसको कार्यक्रमा किन पनि हास्यास्पद सुनिन्छ भने निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा बोल्दै नबोल्ने, जयसिंह धामीका बारेमा कुनै कुरा अगाडि नबढाउने । भारतीय सुरक्षाकर्मीद्वारा आफ्ना नागरिक पिटिंदा मौन बस्ने । कांग्रेस कसरी जनताको साथमा हुन सक्दछ ?

यो अहिलेको मात्र कुरा होइन अली पछाडि जाने हो भने पनि देखिने परिणाम उस्तै हो । गिरिजा प्रसाद कोइराला कालको कुरा गरौं । कहाँनेर उनले आफ्नो र आफ्नो पार्टीको फाईदा बेगर कुनै निर्णय गरे ? प्रजातन्त्र वा लोकतन्त्र जनतालाई चाहिएको ब्यवस्था भन्दा पनि पार्टी र तीनका नेताहरुलाई चाहिएको थियो भन्ने कुरा समयले प्रमाणित गर्दै गइरहेको छ । जनता ३० वर्ष पहिलेको भन्दा पनि दुरुह जिन्दगी बाँच्न बाध्य छन । न जनताको साथमा गिरिजा प्रसाद कोइराला थिए न शेरबहादुर देउवा छन । कार्यक्रमहरुले जनता झुक्क्याउने मात्र हो ।

खासमा कुनै पनि पार्टी जनतासँग छैन । एकपटक नाम लिएर हेरौं त । एमाले, माओवादी, समाजबादी, बाबुराम पार्टी, मधेशी दल कोकसले जनताका लागि के के गरे । शुन्य । सबैले आफू, आफ्ना सन्तान र आफ्ना वरिपरि झुम्मिने सानो झुण्डको बाहेक केही गरेकै छैन । गिरिजा प्रसादले जे गरे शेरबहादुरले पनि त्यही गर्दैछन । चुनाव जित्ने, शक्तिमा रहिरहने र आफ्नो दम्भ देखाइरहने ।

कांग्रेस जनताको साथमा त त्यस्तै हो, नहिजो थियो न आजनै छ। कांग्रेस गिरिजाप्रसाद कालमा भन्दा देउवा कालमा एउटा कुरा जरुर फेरिएको छ । त्यो के भने पहिले सरुवा, बढुवा र नियुक्तिका लागि सुजाता कोइरालाको आशिर्वाद चाहिन्थ्यो अहिले आरजु राणाको आशिर्वाद चाहिन्छ । त्यसैले जनतासित नेपाली कांग्रेस भन्दै यो झुक्याउने खेल बन्द गर । नेपाली कांग्रेस पहिले छोरीसँग थियो, अहिले श्रीमती सँग छ ।

तपाइँको प्रतिक्रिया