बिहीबार, वैशाख १३, २०८१

डच नागरिकले झैं साईकल चलाए वार्षिक ७० करोड टन कार्बन घट्ने

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ ८ गते ६:१६

अबको भविष्य भनेको साईकलनै हो । वैज्ञानिक जर्नल ‘कम्युनिकेसन अर्थ एण्ड इन्भाइरोन्मेन्ट’ मा अगस्त १८ मा प्रकाशित एक अध्ययन अनुसार, यदि सम्पूर्ण विश्वले डच नागरिकले जत्तिनै साईकल चलाउने हो भने हाम्रो ग्रहले आफ्नो कार्बन डाइअक्साइड उत्सर्जन प्रति वर्ष ६८ करोड ६० लाख टन घटाउन सक्छ । त्यो भनेको क्यानडाको वार्षिक उत्सर्जन बराबर हो ।

अनुसन्धानकर्ताहरूको टोलीले सन् १९६० को दशकको सुरुदेखि हालसम्मका ६० देशहरूमा साइकलको स्वामित्व र प्रयोगको तथ्यांक तुलना गरेर हेरेका थिए। अहिले विश्वव्यापी रूपमा उत्पादन हुने साइकलको संख्या कारको भन्दा बढी भएको उनीहरूले टिप्पणी गरेका छन् । यद्यपि, यसको प्रयोग भने सीमित रहेको छ ।

अध्ययन गरिएको ६० देश भित्र औसतमा दैनिक यात्राको ५ प्रतिशत मात्र साइकल प्रयोग गरिन्छ। छोटो यात्राका लागि कार प्रमुख प्रयोगमा रहेको छ र साइकल मनोरञ्जनका गतिविधिहरूमा सीमित छ ।

यद्यपि, यसको जलवायु संरक्षणकालागि सम्भाव्यता अपार छ । यदि सबैले साइकलमा यात्रा गरेमा निकै घटाउन सकिन्छ । अर्थात् औसतमा प्रति दिन एक किलोमिटर ६०० मिटरको दूरी मात्रै साईकल चलाएमा संसारले प्रति वर्ष ४१ करोड ४० लाख टन कार्बन उत्सर्जन घटाउन सक्ने वैज्ञानिकहरूले गणना गरेका छन् । यो भनेको संयुक्त अधिराज्य बेलायतले वार्षिक उत्सर्जन गर्ने परिमाण बराबर हो ।

यस्तो साईकल यात्रा कुनै ठूलो कुरो भने होइन । यो भनेको डेनमार्कका बासिन्दाहरूले दैनिक यात्रा गर्ने औसत दूरी हो जहाँ साइकल प्रमुख, प्राथमिकताको यातायात हो । यदि सबैले नेदरल्याण्डमा जस्तै दिनमा दुई किलोमिटर ६०० मिटर साइकल चलाउने हो भने ६८ करोड ६० लाख टन कार्बन डाइअक्साइड उत्सर्जनबाट बच्न सकिन्छ ।

यति साईकल चलाउने हो भने स्वास्थ्य लाभहरूपनि धेरै हुने अनुसन्धानकर्ताहरूले बताएका छन् । मानिसको मोटोपन घट्ने छ र वायुको गुणस्तर सुधार हुनेछ ।

यस्तो परिवर्तनलाई आत्मसाथ गराउनकालागि वैज्ञानिकहरूको टोलीले साइकल मार्गहरूको विकास, ‘साईकल चढौं’ संस्कृतिको विकास, साईकल खरिदमा सहजता, साईकल चढ्नेलाई कम कर र गाडी चढ्नेलाई बढी कर, गाडी प्रयोगकर्ताहरूलाई तिनीहरूको कार प्रयोग गर्नबाट निरुत्साहित, गाडी प्रवेश गर्दा अलि कडाई र झन्झटिलो उपायहरू अपनाउनुपर्छ ।

तपाइँको प्रतिक्रिया