शनिबार, वैशाख ८, २०८१

वातावरण संरक्षणकालागि निजी जेटमाथि प्रतिबन्ध लगाउँदै फ्रान्स !

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १० गते ११:०७

जलवायु परिवर्तनका कारण उत्पन्न समस्या न्युनिकरण र कार्बनको मात्रा घटाउन भन्दै निजि जेट विमानहरुको उडानमा फ्रान्सले प्रतिबन्ध लगाउने भएको छ । यसकालागि फ्रान्सले बिस्तारै कदम चाल्दै छ । फ्रान्सले यसलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याएमा पेरिस-लण्डन, पेरिस-जेनेभा, पेरिस-बर्लिन, पेरिस-एम्स्टरडम, पेरिस-स्टकहोल्मको जेट यात्रा पुरै बिगत हुने छ ।

आम नागरिककालागि यातायातलाई हरियालीयुक्त, कम प्रदुषित र जनसंख्याको लागि सहज बनाउनको लागि छोटो यात्राका लागि फ्रान्सले निजी जेटहरूको प्रयोगमा कडाई गरिरहेको छ ।

यातायात मन्त्री क्लेमेन्ट ब्युनले ऊर्जा संकट र जलवायु परिवर्तनको सामना गर्न जनताले कटौती गरिरहेका बेला निजी विमानहरू प्रयोग गरेर सुपर धनीहरूलाई देशले सहन नसक्ने बताएका छन् ।

“हामीले निजी जेटहरूमा उडानहरू नियमन गर्न कार्य गर्नुपर्नेछ,” उनले ल पेरिसियन अखबारलाई भने । आंशिक रूपमा वामपन्थी विपक्षीहरूले प्रदूषित यातायातमा पूर्ण प्रतिबन्धको लागि गरेको आह्वानको प्रतिक्रियामा उनले यस्तो योजना सुनाएका हुन् ।
सेलिब्रेटीहरू र अरबपतिहरूको निजि विमानले अत्यधिक कार्बन छोडेको, सिमित ब्यक्तिकालागि धेरै प्रदुषित फैलिने गरि विमान उडाएको,सेलिब्रेटी र धनाढ्यहरु बिभिन्न शहरमा हरेक हप्ता निरन्तर ओहोरदोहोर गरेर शोषण गरेको प्रकाशमा आएपछि निजी जेटहरू हालै आक्रोशको स्रोत बनेका छन् ।

उडान ट्र्याकिङ तथ्यांक अनुसार अमेरिकी सिनेमा निर्देशक स्टिभन स्पिलबर्गको जेटले जुनदेखि दुई महिनामा करिब एक लाख १७ हजार मूल्य बराबरको इन्धन जलाएको थियो।

यातायात र वातावरण (टि एण्ड ई), सफा यातायातका लागि युरोपेली महासंघको प्रतिवेदनले पत्ता लगाएअनुसार प्रति यात्री माइलको हिसाब गर्दा व्यावसायिक उडानहरू भन्दा निजी जेटहरू १४ गुणा बढी प्रदूषित छन् र रेलहरू भन्दा ५० गुणा खराब छन् ।
यातायात मन्त्री क्लेमेन्ट ब्युनले फ्रान्सले अब मानिसहरूलाई आफ्नो आरामको लागि निजी विमानहरू प्रयोग नसहने बताएका छन् ।

अभियानकर्ताहरूले तत्काल माग गरे अनुसार फ्रान्सले जेटहरूमा पूर्ण प्रतिबन्ध तत्कालै लगाउने सम्भावना भने छैन।

सरकारका प्रवक्ता ओलिभियर भेरानले अर्थतन्त्रमा उनीहरूको महत्त्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै स्पष्ट रूपमा उनीहरूलाई प्रतिबन्ध लगाउने तत्काललाई योजना नभएको बताएका छन् ।

तर निजि जेट विमानलाई नियन्त्रण गर्न भारी कर र प्रतिबन्धहरू पेश गरिने सबैभन्दा सम्भावित उपायहरू हुन् । फ्रान्सले त्यहि गर्न खोजिरहेको छ । अधिक पारदर्शिताका लागि कम्पनीहरूलाई कर्पोरेट विमानहरूको प्रयोगको विवरणहरू प्रकाशित गर्न बाध्य पार्न सकिने संभावनापनि छ ।

फ्रान्सले राम्रोसँग सार्वजनिक यातायातले जोडिएका शहरहरूमा निजि उडानहरूमा प्रतिबन्ध लगाउन सक्छ । महामारीको समयमा निजी जेटको प्रयोग बढेको थियो ।

अप्रिलमा अनुमोदित जलवायु विधेयक अन्तर्गत रेलबाट मात्र साढे दुई घण्टा टाढा रहेका शहरमा फ्रान्सले घरेलु उडानहरूमाथि प्रतिबन्ध लगायो । फ्रान्सको बुर्गुन्डी क्षेत्रमा पर्ने वाईन उत्पादनकालागि प्रसिद्द बाउने शहरको नगरपालिकाले अब निजी उडानहरूलाई गैरकानूनी बनाउनेबारे छलफल गरिरहेको छ । रेल वा सार्वजनिक एयरलाइन्स द्वारा राम्रोसँग पुग्न सकिने ठाउँमा निजि उडान रोक्न खोजेका छन् ।

हरित पार्टी ‘युरोप इकोलोजी ले भेर्त (ईईएलभी) का नेता जुलियन बेउले पेरिसबाट लन्डन वा जेनेभा जाने अरबपतिहरूको निन्दा गर्दै निजि जेट विमानमा प्रतिबन्ध लगाउने उपायको समर्थन गरेका छन् । यो पार्टीले सबै निजि बिमानहरु ग्राउन्डेड गराउने लगायतका प्रस्ताब गरेको छ । अर्को महिना यो पार्टीले वातावरण सुधारकालागि बिभिन्न उपायर्सहितको प्रस्ताव पेश गर्दै छ जसमा निजि जेट ग्राउण्डेडको प्रस्ताबपनि छ ।

“इकोलोजिकल ट्रान्जिसन बनाउन सबैले आ-आफ्नो तर्फबाट काम गर्न आवश्यक छ । यदि धेरै धनीहरुले सुपर छुटहरूबाट फाइदा लिन्छन् भने हामी यसबाट बाहिर निस्कन सक्नेछैनौं” उनको भनाई छ ।

फ्रान्सको अन्य युरोपेली राष्ट्रहरूसँग तुलना

जलवायु परिवर्तनमा सुधार गर्न फ्रान्सले निजि जेटले खर्च गर्ने विमानको इन्धन घटाउन खोजिरहेको छ जुन राम्रो कदम हो । पछिल्लो उड्डयन तथ्यांक अनुसार फ्रान्सको राजधानी पेरिसबाट देशका बिभिन्न स्थानिय क्षेत्रमा सबैभन्दा बढी निजि बिमान उड्ने देश युरोपमा फ्रान्स पहिलो हो ।

सन् २०१९ मा भएका उडानमध्ये दश प्रतिशत निजि जेट थिए । ति मध्ये आधाले ४८३ किमी (३०० माईल) भन्दापनि आधा दूरीकालागि जेट उडान गरेका थिए ।

ईयुकै पहल आवश्यक

फ्रान्सेली सरकारलाई एक्लै निजि बिमान उडानमा प्रतिबन्ध लगाउन मुस्किल पर्न सक्छ । त्यसैले सरकारले ईयु-व्यापीरुपमै यो कदम चालिए समस्या समाधान गर्ने उत्तम तरिका हुने विश्वास गरेको छ । अक्टोबरमा हुने युरोपेली यातायात मन्त्रीहरूको बैठकमा यो मुद्दा उठाउने बताईएको छ ।

“यातायात मन्त्रीले कार्बनडाईअक्साईड उत्सर्जन कम गर्ने तरिकाहरू छन् कि भनेर हेर्नको लागि युरोपेली स्तरमा परामर्श गर्ने प्रस्ताव राखेका छन्” फ्रान्स सरकारका प्रवक्ता ओलिभियर भेरानले थपे।

फ्रान्समा कार चढ्नेलाई साइकल

फ्रान्सले पनि मानिसहरूलाई कारबाट साईकलमा जान प्रोत्साहन गरिरहेको छ । फ्रान्सले प्रोत्साहनको दायरा मार्फत २०२४ सम्ममा देशको ९ प्रतिशतले साइकल चलाउने आशा राखेको छ।

फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले ऊर्जा प्रयोगमा “सामूहिक संयम” को प्रस्ताव गरेका छन् । त्यस अनुसार फ्रान्सेली नागरिकहरुलाई कारको सट्टा विद्युतीय साईकल चढ्न प्रोत्साहित गरिएको छ । विद्युतीय साईकल किन्दा सरकारले भारी छुट दिने, उधारोमा किन्न सकिने, बैंकसित कर्जासमेत लिन सकिने सुविधा दिएको छ ।

कम उत्सर्जन क्षेत्रहरूमा कम आय भएका परिवारहरूलाई कारबाट विद्युतिय साईकलमा जान अनुदान दिनको लागि अधिकतम चार हजार युरो सम्म उपलब्ध छ । धनी नागरिकहरूलाई समेत थोरै भएपनि मद्दत गर्न रकम सुविधा छ ।

गत वर्ष फ्रान्सले ‘ल प्लँ भेलो (द साईकल प्लान)’ शुरु गर्‍यो । यसको उद्देश्य फ्रान्सेलीहरूलाई साईकल-प्रेमी डच, जर्मन र डेनिसहरूसँग भेट्न मद्दत गर्ने छ ।

फ्रान्समा हाल साईकल चढ्नेको संख्या तीन प्रतिशत मात्रै छ । नेदरल्याण्ड्समा २७ प्रतिशत छ । फ्रान्सले हालको ३ प्रतिशतलाई सन् २०२४ सम्ममा बढाएर देशको ९ प्रतिशतलाई दुई पाङ्ग्रेमा पुर्‍याउने लक्ष्य राखेको छ ।

पक्कै पनि यस अभियानमा फ्रान्स युरोपेली युनियनमा एक्लो देश भने होइन । साईकल अनुदान योजना अनुसार लिथुआनियामा ई-बाइक, स्कुटर र मोपेडहरूको ठूलो योजना छ । त्यहाँ २०२० देखि मानिसहरूलाई उनीहरूको पुरानो गाडी हस्तान्तरण गर्दा १,००० युरो सम्म दिइन्छ। यो सार्वजनिक यातायात क्रेडिटहरूमा पनि जान सक्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक