मंगलबार, वैशाख ११, २०८१

घातक बाढीले पाकिस्तानको एक तिहाइ भाग पानीमुनि, पाँच लाख घरबारविहीन

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ १४ गते ११:१०

Photo: Twitter/ @RadioPakistan

पाकिस्तानमा गएको भिषण बाढीले पाँच लाख नागरिकलाई घरबारबिहिन बनाएको छ भने देशको एक तिहाई जमिन पानीमुनि परेको छ । बाढीले १,१३० भन्दा बढीको ज्यान लिएको छ ।

व्यापक बाढीमा आफ्नो घर गुमाएपछि झन्डै पाँच लाख मानिसहरू शिविरमा बस्न बाध्य भएका छन् । जलवायु परिवर्तन मन्त्रीले सोमबार पाकिस्तान विश्वको जलवायु संकटको “फ्रन्ट लाइन” मा रहेको चेतावनी दिएकि छन् । मध्य जुनमा सुरु भएको अभूतपूर्व मनसुन वर्षाले देशलाई तहसनहस बनाएको छ ।

भिषण मनसुन वर्षाले ल्याएको बाढीका कारण पाकिस्तानको एक तिहाइ भूभाग पानीमुनि रहेको जलवायु परिवर्तन मन्त्री शेरी रहमानले सोमबार बताएकि हुन् । यो बाढीले पाकिस्तानमा अकल्पनीय संकट सिर्जना गरेको छ ।

“यो सबै एउटै ठूलो महासागर जस्तो बनेको छ । पानी पम्प गरेर बाहिर पठाउन सुख्खा जमिन कतै छैन” उनले भनिन्।

दुई दिनअघिदेखि परेको वर्षा थोरै कम भएपछि केही क्षेत्रमा बाढी कम हुँदै गएको छ । तर देशका धेरै भागहरूमा अझै पनि घर, सडकहरू पानीले भरिएका छन् । उनीहरूले घर र व्यवसायहरूलाई कसरी क्षति हुनबाट जोगाउने भनेर संघर्ष गरिरहेका छन् ।

बाढीको सबैभन्दा दुखलाग्दो घटना सोमबार भएको थियो । दक्षिणी सहर बिलावलपुर नजिकै सिन्धु नदीको बाढीको पानीमा दुई दर्जन व्यक्तिलाई बाहिर निकाल्न स्वयंसेवी उद्धारकर्ताहरूले प्रयोग गरिरहेको डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । पाकिस्तानका मेडियाका अनुसार डुंगा डुबेपछि अझै केहि मानिस हराईरहेका छन् ।

रहमान र मौसमविद्हरूले सेप्टेम्बरमा नयाँ मनसुन आउन सक्ने अपेक्षा गरिएको एसोसिएटेड प्रेसलाई बताए । ग्रीष्मको शुरुवातदेखि नै मनसुन पहिले भन्दा छिटो र अधिक भारी मात्रामा आउने गरेको अधिकारीहरूले बताएका छन् ।

“पाकिस्तान मनसुन वर्षा र बाढीमा अभ्यस्त छ । तरअहिले जस्तो होइन” रहमानले भनिन् “हामीले पछिल्लो आठ हप्तामा के देख्यौं त्यो मूसलधारे वर्षाले ब्यापक, धान्नै नसकिने बाढी ल्यायो यस्तो मनसुन जसले यति बिघ्न बाढी कहिल्यै ल्याएको थिएन ।”

भारी वर्षा प्रकोपको शृङ्खलामा सबैभन्दा नयाँ भएको र जलवायु परिवर्तनले संकट बढाएको रहमानले बताएकि छन् । गर्मीको लहरहरू बढेको, जङ्गलमा डढेलो झन बढी फैलिंदै गएको र हिमतालको प्रकोपहरू बढ्दै गएको उनले उल्लेख गरेकि छन् ।

“हामीले ब्यहोरेको क्षतिले झल्काउँछ कि कसरी गरिब देशहरूले प्रायः अधिक औद्योगिक राष्ट्रहरूले गर्दा हुने जलवायु परिवर्तनको मूल्य तिर्छन्” उनले भनिन् ।

सन् १९५९ देखि विश्वको ऐतिहासिक कार्बन डाईअक्साईड उत्सर्जनको शुन्य दशमलव ४ प्रतिशत मात्र पाकिस्तान जिम्मेवार छ। अमेरिका २१ दशमलव ५ प्रतिशत, चीन १६ दशमलव ५ प्रतिशत र ईयू १५ प्रतिशत जिम्मेवार छन् ।

रहमानले भनिन् “जलवायुले कुनै सिमाना थाहा पाउँदैन । यसको प्रभाव असमानतापूर्वक महसुस गर्न सकिन्छ । जब तपाइँ बङ्गालको खाडीबाट न्यून चाप भएको वर्षादसहितको हावा आएको देख्नुहुन्छ, तिनीहरूले हामीलाई कसैको अगाडि ठोक्छन्। त्यसैले हामी विश्वव्यापी संकटको अग्रपंक्तिमा छौं । ”

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यस गर्मीमा आएको बाढीले १,१३६ भन्दा बढीको ज्यान गएको, १,६३६ जना घाइते भएको र १० लाख घरमा क्षति पुगेको बताएको छ। यसका साथै ७ लाख २ हजार १ सय पशुधन नष्ट भएका छन् भने ३ हजार किलोमिटरभन्दा बढी सडकमा क्षति पुगेको छ ।

२२ करोड जनसंख्या भएको पाकिस्तानमा कम्तीमा ४ लाख ९८ हजार मानिस विस्थापित भएर राहत शिविरमा बसेका छन् । धेरै विस्थापितहरू आफन्त, साथीभाइ वा बाहिर बस्दै आएको विश्वास गरिन्छ ।

‘मैले सबै गुमाएँ’

पाकिस्तानमा अन्तर्राष्ट्रिय सहायता प्रवाह हुन थालेको छ । सेनाले दुर्गम क्षेत्रहरूमा सहायता वितरण गर्न र आफ्नो घर गुमाएकाहरूलाई बाहिर निकाल्न मद्दत गरिरहेको छ । अधिकारीहरूले लामो समयदेखि सडक पुनर्निर्माण र रेलमार्ग पुनः सुरु गर्ने प्रयास थालेका छन् । बाढीले १५० भन्दा बढी पुलहरू ध्वस्त पारेको छ । धेरै सडकहरू बगेका छन्, जसले उद्धार कार्यमा कठिनाइ बनाएको छ।

सिन्धु नदीबाट नजिक रहेको दक्षिणपूर्वी सहर शिकारपुरमा, रेहान अलीले आफ्नो घरको भत्किएका पर्खालहरूबाट इँटाहरू खने जुन आँधी र पानीको चपेटाले लगभग पूर्ण रूपमा नष्ट भएको छ ।

२४ वर्षीय मजदुरले सरकारी सहयोगविना पुनर्निर्माण गर्न नसक्ने र अशान्तिका कारण अहिले काम गर्न नसक्ने बताए । “मसँग मेरो परिवारलाई खुवाउन पनि केही छैन। मैले सबै गुमाएँ। मलाई कहाँ जाने थाहा छैन। भगवान मलाई मद्दत गर्नुहोस्,” उनले बिन्ति गरे ।

पाकिस्तान मौसम विभागका एक अधिकारी आरिफ उल्लाहले अर्को महिना पाकिस्तानका केही भागहरूमा अझै वर्षा जारी रहने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री मियान मुहम्मद शाहबाज शरीफले सोमबार पाकिस्तानमा तीन दशकयताकै सबैभन्दा ठूलो वर्षा भएको बताएका छन् ।

“मैले जताततै बाढीको पानी देखेँ । म पछिल्ला दिनहरूमा जहाँ जहाँ गएँ बाढी छ । स्वात नदी क्षमताबाहिर पुगेको र वरपरका समुदायहरूलाई दलदलमा पारेपछि सहरका करिब एक लाख ८० हजार मानिसहरूलाई विस्थापित गरिएको छ ।

सरिफले आफ्नो घर गुमाएका सबैलाई सरकारले आवास उपलब्ध गराउने बताएका छन् । तर धेरै विस्थापितहरूले घर मात्र नभई बाली र व्यवसाय पनि गुमाएका छन्।

“म मेरो परिवारसँग पालमा बसिरहेको छु । र म कसरी काम गर्न बाहिर जान सक्छु? म जागिरको खोजीमा निस्किए पनि जताततै पानी भएकोले मलाई कसले जागिर दिने ?’ चारसड्डाका बाढीपीडित रहमत उल्लाहले सोधे ।

सैनिकहरूले आफूलाई डुङ्गाबाट बाहिर निकालेको अर्की बाढी पिडित जरिना बीबीले बताईन् । बाढीले आफ्नो घर कसरी भत्कियो भन्ने कुरा सुनाउँदा उनले आँसु झारेकी थिइन् ।

“हामीलाई सिपाही र स्वयंसेवकहरूले पाल र खाना दिए” उनले भनिन् “बाढीको पानी चाँडै कम होला तर हामीसँग हाम्रो घर पुनर्निर्माण गर्न पैसा छैन।”

बाढी पीडितका लागि संयुक्त राष्ट्रसंघको अपिल

कम्तिमा ६,५०० सेनालाई मद्दतको लागि तैनाथ गरिएको छ । अधिकारीहरूले फसेका, बाढीले क्षती पुर्‍याएका मानिसहरूलाई बाहिर निकाल्न र उनीहरूलाई सहायता पुर्‍याउन सैन्य विमानहरू, हेलिकप्टरहरू, ट्रकहरू र डुङ्गाहरू प्रयोग गरिरहेका छन् ।

यद्यपि, धेरै विस्थापितहरूले उनीहरू अझै पनि मद्दतको प्रतीक्षामा रहेको गुनासो गरेका छन् । कतिपयले पाल पाएपनि खाना नभएको बताएका छन् ।

पाकिस्तानी अधिकारीहरूले यस वर्षको विनाश सन् २०१० को भन्दा खराब भएको बताएका छन् । त्यो बेला बाढीले १,७०० जनाको ज्यान लिएको थियो । पाकिस्तानका सैन्य प्रमुख जनरल कमर जावेद बाजवाले आइतवार आफ्नो देशलाई यो क्षतीको खाडल पुर्न वर्षौं लाग्न सक्ने बताएका छन्। उनले विदेशमा रहेका पाकिस्तानीहरुलाई बाढी पीडितका लागि उदारतापूर्वक चन्दा दिन अपिल गरेका छन् ।

टर्की र संयुक्त अरब इमिरेट्सका कार्गो विमानहरूले अन्तर्राष्ट्रिय सहायताको थालनी गरेका छन् । पाल, खाना र अन्य दैनिक आवश्यकताहरू लिएर आइतबार इस्लामाबादमा विमानहरु अवतरण गरे। संयुक्त राष्ट्रसंघले मंगलबार इस्लामाबादमा पाकिस्तानी बाढी पीडितहरूको लागि अन्तर्राष्ट्रिय अपील सुरु गर्नेछ ।

बाढीको बिपत्तीले पाकिस्तानलाई यस्तो समयमा हिर्काएको छ यो देशले आफ्नो सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । आर्थिक अवस्थाबाट टाट पल्टिननबाट बच्न पाकिस्तानले संघर्ष गरिरहेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइ एम एफ) को कार्यकारी बोर्डले सोमबार पाकिस्तानको लागि बहुप्रतिक्षित एक अर्ब १७ करोड डलर जारी गर्न अनुमोदन गरेको पाकिस्तानका सूचना मन्त्री मरियम औरंगेजले एपीलाई बताइन् ।

पाकिस्तान र आइ एम एफले सुरुमा सन् २०१९ मा एक सम्झौतामा हस्ताक्षर गरेका थिए । तर एक अर्ब १७ करोड डलर किस्ता जारि गर्न यस वर्षको सुरुदेखि रोकिएको थियो । आइ एम एफले पूर्व प्रधानमन्त्री इमरान खानको सरकारको नेतृत्वमा पाकिस्तानले पालना गरेको सम्झौताका सर्तहरू प्रधानमन्त्री बदलिएपछि अब के हुने भनेर चिन्ता व्यक्त गरेको थियो।

गत हप्ता संयुक्त राष्ट्र संघले एक विज्ञप्तिमा पाकिस्तानमा संयुक्त राष्ट्र सहायता एजेन्सीहरू र उनीहरूका साझेदारहरूलाई बाढीको सामना गर्नका लागि ३० लाख डलर विनियोजन गरेको उल्लेख गरेको थियो । यो पैसा स्वास्थ्य, पोषण, खाद्य सुरक्षा, पानी र सरसफाइ सेवाहरूमा प्रयोग गरिने छ। बाढी प्रभावित क्षेत्रहरूको पनि सबैभन्दा जोखिममा केन्द्रित गरिने छ ।

(फ्रान्स २४, एएफपी र एपीको सहयोगमा)

तपाइँको प्रतिक्रिया