शनिबार, असोज ८, २०७९

पहिले तातो लहर, त्यसपछि बाढी : पाकिस्तान जलवायु संकटको अग्रपंक्तिमा किन ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १६ गते ५:०४

Photo Courtesy-radio.gov.pk

“शाब्दिक रूपमा भन्नुपर्दा देशको एक तिहाइ भाग पानीमुनि छ” पाकिस्तानका जलवायु परिवर्तन मन्त्री शेरी रहमानले यस हप्ता भाबुक हुँदै भनिन् । मनसुनी वर्षापछि देशको विनाशकारी बाढीबाट मर्नेहरूको संख्या ११ सय माथि छ । मौसम परिवर्तनको लागि पाकिस्तानको जोखिम उच्च छ । तातो लहरहरूको श्रृंखला पछि मुसलधारे वर्षा आएको आयै छ।

जुनको सुरुदेखि पाकिस्तान बाढी पछि बाढीको शिकार भएको छ । हिमालयको फेदमा रहेको खैबर पख्तुनख्वा प्रान्तदेखि दक्षिणमा बलुचिस्तान र सिन्धको सुक्खा क्षेत्रहरूमा नदी किनारहरू फुटेका छन् । घरहरू, सडकहरू र पुलहरू ध्वस्त भएका छन्। हजारौं मानिस घरबार छोड्न बाध्य भएका छन् ।

जलवायु परिवर्तन मन्त्री रहमानले यसलाई “अकल्पनीय अनुपातको संकट” भनेर वर्णन गरिन् । एएफपी समाचार एजेन्सीलाई उनले भनिन् “यो सबै एउटै ठूलो महासागर बनेको छ । पानी बाहिर निकाल्न कुतै सुख्खा जमिन बाँकि छैन”।

अधिकारीहरुका अनुसार बुधबार बाढीबाट आधिकारिक मृत्यु हुनेको संख्या १,१६० पुगेको छ र हालैका महिनाहरूमा दक्षिण एसियाली राष्ट्रमा प्रहार गरेको चरम मौसमबाट करिब ३ करोड ३० लाख मानिस वा प्रत्येक सात पाकिस्तानीमा एक जना प्रभावित भएको अनुमान गरिएको छ । तर, बाढीले पूरै क्षेत्र सम्पर्कविहीन भएकाले मृतकको वास्तविक संख्या धेरै हुनसक्ने आशंका गरिएको छ ।

संवन्धित : घातक बाढीले पाकिस्तानको एक तिहाइ भाग पानीमुनि, पाँच लाख घरबारविहीन

शुक्रबार प्रधानमन्त्री शहबाज सरिफले राष्ट्रिय आपतकाल घोषणा गरे । मंगलबार पाकिस्तान र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आपतकालीन कोषमा १६ करोड डलरको अपील गरेपछि उनले बाढीलाई “पाकिस्तानको इतिहासमा सबैभन्दा खराब” भने।

यसैबीच, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले यसलाई “स्टेरोइडमा मनसुन” सँग तुलना गरे । र विश्वलाई जलवायु परिवर्तन विरुद्ध आफ्नो कार्यहरू बढाउन आग्रह गरे।

“जलवायु परिवर्तनले हाम्रो ग्रहको विनाश जुन दिशामा गरिरहेको छ त्यहि दिशामै निद्रामा हिंड्न छोडौं,” उनले भिडियो सन्देशमा भने “आज, यो पाकिस्तानमा भयो, भोलि यो तपाईंको देश हुन सक्छ ।”

‘एक सर्वनाश’

मानवीय गैर नाफामुखी एधी फाउन्डेसनका प्रवक्ता अरिज आकाले पाकिस्तानीहरू मनसुन र बाढीको लागि बानी परे पनि यस पटक जे देखिरहेका छन् त्यो अभूतपूर्व, अपत्यारिलो बताईन्। “यो एक सर्वनाश हो” उनको भनाई थियो ।

सन् २०१० को भयानक बाढीले २,००० मानिसको ज्यान लिएको थियो । त्यो बेलापनि यति ठूलो आएको थिएन । “सन् २०१० मा केही ठाउँ सुक्खा रह्यो, अहिले जताततै पानी छ” उनले भनिन्।

चरम मौसमी अवस्थाले पाकिस्तान कसरी जलवायु परिवर्तनसँग जोडिएको दुष्ट चक्रमा फसेको छ भनेर प्रकाश पार्छ ।

हिमालयको फेदमा अवस्थित यस देशका नदीहरू पहाड शृङ्खलाका हिमनदीहरू तीव्र गतिमा पग्लने क्रममा पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । जुन महिनामा यो देश सामान्य भन्दा भारी वर्षाले प्रभावित भयो। यद्यपि मौसमविद्हरूले अगस्टको मध्यमा वर्षा केही हदसम्म कम हुने भविष्यवाणी गरेका थिए । तर त्यसो भएन बरु तीव्रता बढ्यो र बलुचिस्तान र सिन्ध जस्ता केही प्रान्तहरूले उनीहरूको ३०-वर्षको औसतभन्दा चार गुणा पानी रेकर्ड गरे ।

“परिस्थिति झन् गम्भीर छ अहिले । किनभने यी बाढीहरू मार्च र जुन बीचमा बारम्बार तातो लहरहरू पछि आएका थिए । माटोमा यो सबै पानी सोस्ने क्षमता छैन” आकाले यस तथ्यलाई औंल्याईन् । धेरै हप्तादेखि भारत र पाकिस्तानले चरम गर्मीको सामना गर्यो । तापक्रम प्रायः ५० डिग्री सेल्सियस भन्दा बढी भयो ।

जलवायु परिवर्तनको अग्रपंक्तिमा

बाढी, तातो छाल र जंगलको आगो लगायतका विनाशकारी प्राकृतिक प्रकोपहरूको छाल पाकिस्तानले अन्तहीन तरिकाले पछ्याउँदै छ । जलवायु परिवर्तन मन्त्री रहमानले गत हप्ता एएफपीलाई यस अवस्थाको गम्भीरताको सारांश दिईन्: “हामी अहिले चरम मौसमको अग्रपंक्तिको केन्द्रबिन्दुमा छौं ।”

जलवायु परिवर्तनको आसन्न खतराहरूबारे लामो समयदेखि चेतावनी दिंदै आएका हुन् वैज्ञानिकहरूले । तिनका लागि यस वर्ष उनीहरूका धेरै नराम्रो डरहरू सत्यमा बदलिएका छन् । दक्षिण एशियामा चरम मौसमी घटनाहरू आउने वर्षहरूमा संख्या र तीव्रता दुवैमा मात्र वृद्धि हुने निस्चित छ । विशेषगरी पाकिस्तान जलवायु परिवर्तनको डरलाग्दो नतिजा भोग्ने पहिलो मुलुक मानिन्छ ।

सन् २०२० मा जर्मनीको बोनस्थित थिंक-ट्याङ्क जर्मनवाचले पाकिस्तानलाई जलवायु परिवर्तनका लागि विश्वको आठौं सबैभन्दा जोखिममा रहेको देशको रूपमा स्थान दिएको थियो । तर यस वर्षको मार्चमा, नासाको अध्ययनले पाकिस्तानमा अझ कालो बादल छाएको देखायो । निकट भविष्यमा केही पाकिस्तानी क्षेत्रहरू बस्न नसक्ने हुनेछन् भनी भविष्यवाणी गरे । यसले विशेष गरी ज्याकोबाबादलाई औंल्यायो जुन पहिले नै विश्वको सबैभन्दा तातो सहरको रूपमा चिनिन्छ। पाकिस्तानको आर्थिक राजधानी कराँची सन् २०६० सम्ममा समुद्री पानीमा डुब्ने प्रक्षेपण गरिएको छ ।

वर्षौंको निष्क्रियताको मूल्य तिर्दै

क्याम्ब्रिज युनिभर्सिटीको दक्षिण एसियामा जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञ आयशा सिद्दीकीले पाकिस्तान र यसको २२ करोड जनसङ्ख्या ग्लोबल वार्मिङको सिकार भएतापनि उनीहरूले “समस्यालाई सम्बोधन गर्न वर्षौंको ढिलाइको मूल्य पनि तिरिरहेको” बताइन् ।

सिद्दीकीले पाकिस्तानको सहरी योजनालाई “अराजक” भनी वर्णन गरिन्। “देशले बढ्दो जनसंख्या दबाबको सामना गरिरहेको छ। त्यहाँका बासिन्दाहरू नदीको किनार र बाढीको जोखिममा रहेका क्षेत्रहरू लगायत जहाँ पाइन्छ त्यहाँ बसोबास गरिरहेका छन्” उनले फ्रान्स २४ लाई भनिन्” बाढी प्रकोप क्षेत्रमा निर्माण गर्न अनुमति लिन कहिलेकाहिँ केही पैसा दिए पुग्छ ।”

उनले थपिन् “बलुचिस्तान जस्ता केही गरिब र दुर्गम क्षेत्रहरूमा अझै आवश्यक पूर्वाधारको अभाव छ। खराब तत्वहरूबाट भवनहरू वा सडकहरू जोगाउन कुनै पनि ठाउँमा सुविधा छैन। टिन र जस्ताले बनेको घर पहिलो बाढीमै नष्ट हुन्छ ।”

उनले जलस्रोतको कमजोर व्यवस्थापनलाई पनि औंल्याईन् । र भनिन् “तिनीहरू लामो समयदेखि वैज्ञानिक भन्दा पनि राजनीतिक इच्छाको विषय बनेका छन् । कहिलेकाहीँ सबै तर्कविपरीत बनेका हुन्छन् ।”

“हामी आज यसको मूल्य तिर्दैछौं” उनले भनिन्।

तथापी यस वर्षको अप्रिलमा तत्कालीन प्रधानमन्त्री इमरान खानले जलवायु परिवर्तनसँग लड्न ठूलो कार्यक्रम घोषणा गरेर पाकिस्तानले सही दिशामा कदम चालेको देखिन्छ। प्याकेजमा नवीकरणीय ऊर्जामा लगानी, रुख रोप्ने र जलवायु परिवर्तन मन्त्रीको नियुक्ति अत्यन्तै प्रतीकात्मक कदम चालेका थिए उनले । खानलाई केही सातापछि पदबाट हटाइयो । त्यसपछि अधिकांश योजनाहरू अलपत्र परेको देखिन्छ।

‘खाद्य संकटतर्फ सिधै अग्रसर’

बाढीले पाकिस्तानलाई मात्र क्षतिग्रस्त पूर्वाधारमा १० अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । पहिले नै गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको देशको लागि यो ज्यादै खराब स्थिति हो ।

“हामी मानवीय संकटको छेउमा छौं” आकाले भनिन् “बाढीले भित्र्याउन तयार गहुँ र धान खेतहरू नष्ट गरेको छ ।”

अधिकारीहरूले अनुमान गरेका छन् – पाकिस्तानको लगभग ८० हजार हेक्टर खेती भूमि हालसम्म नष्ट भएको छ । र बाढीमा परेकाहरूले कम्तिमा अर्को यामको लागि केहि उत्पादन गर्न सक्षम हुने अपेक्षा गरिएको छैन । अब राज्यले तिनको पनि भरथेग गर्नुपर्छ ।

“बजारमा मूल्य पहिले नै बढेको छ। गोलभेडा र प्याजको मूल्य उदाहरणका लागि, चार गुणा बढेको छ। हामी सीधै खाद्य संकटतर्फ जाँदैछौं” आकाले भनिन्।

बाढीसित संवन्धित अन्य समस्या

बाढीसँग जोडिएका अन्य समस्याहरू पनि छन्: रोगहरूको फैलावट। “ठूलो पानीमा जताततै लामखुट्टे फैलिरहेको छ, मलेरियाको डर बढाउँदैछ। पिउने पानीको अभावको कुरा झन नगरे भयो” उनले भनिन् । उनको एनजीओले अलपत्र परेका पाकिस्तानीलाई उद्धार गर्न र आपतकालिन काम गर्नका लागि हेलिकप्टर र डुङ्गा दुवै तैनाथ गरेको उल्लेख गरिन् । उद्दार केन्द्रमा राखिएकाहरूलाई सहायता किटहरू बाँडेको छ । तर कतिपय क्षेत्र भने पहुँचविहीन छन् र तिनलाई अझै सहयोग पुर्‍याउन सकिएको छैन ।

संयुक्त राष्ट्रको आपतकालीन अपीलको अतिरिक्त, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस हप्ता घोषणा गर्‍यो-सन् २०१९ मा ६ अर्ब डलर बेलआउट सम्झौताको एक भागको रूपमा पाकिस्तानको लागि एक अर्ब १७ करोड डलर बिनियोजन गर्ने छ । तर चिन्ताको कारण के भने यो रकम अस्थायी रूपमा रोकिएको थियो । पाकिस्तानले सम्झौताको पालना गर्छ कि गर्दैन भन्ने चासो थियो । किनकि यो संझौता तत्कालिन प्रधानमन्त्री ईमरान खानले गरेका थिए । उनी हटेपछि संझौता पालना हुनेमा आशंका थियो ।

तर, सिद्दीकीले भने “अहिले सबैभन्दा खराब आपतकालिन अवस्था आएपछि पुनर्निर्माणको समय आएको छ । र त्यसपछि सरकारले जलवायु परिवर्तनको वास्तविकतालाई ध्यानमा राख्दै दिगो तरिकामा पुनर्निर्माण गर्नुपर्नेछ ।”

(युरोन्युज डट कममा सेरियल काबोद्वारा फ्रान्सेली भाषामा लिखित आलेखलाई नेपालप्लसद्वारा भावानुवाद गरिएको हो-सं)

तपाइँको प्रतिक्रिया

फेसबुक