शुक्रबार, चैत १६, २०८०

पद्मश्री साहित्य पुरस्कार ‘अर्को भोर’ कथा संग्रह, पद्मश्री साधना सम्मान ठकुरी र पद्मश्री गौरव पुरस्कार डा. रुईतलाई

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ १६ गते १६:११

वि.सं. २०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको अर्को भोर कथासङ्ग्रह, पद्मश्री साधना सम्मान कथाकार माया ठकुरी र पद्मश्री गौरव पुरस्कार नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा बिहिवार प्रेस बिज्ञप्ती मार्फत उक्त घोषणा गरिएको हो ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा गठित निर्णायक समितिको मूल्यांकन अनुसार अर्को भोर कथासङ्ग्रहका कथाहरूको शैलीमा नवीनता रहेको, फरक कथानक र उत्कृष्ट संयोजनले हरेक कथालाई निकै सुन्दर बनाएको उल्लेख छ । कथाहरूको भाषा सरल र आरोह, अवरोह र नाटकीयताको सम्यक सन्तुलन कायम राख्न अधिकांश कथा सफल रहेकोसमेत उल्लेख छ ।

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा पन्ध्र ओटा र दोस्रो चरणमा पाँच ओटाको संक्षिप्त सूची यसअघि प्रकाशन गरेको थियो ।

यस वर्ष पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहनी थिए । निर्णायक सदस्यहरु नयनराज पाण्डे र कुमारी लामा थिए ।

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले आज बिहिवार जारि गरेको प्रेस बिज्ञप्ती अनुसार पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएकि कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

बिज्ञप्तीमा उनका कथाहरु समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत रहेको उल्लेख छ । उनका सात ओटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथासङ्ग्रह प्रकाशित छन् ।

यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गराउने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन सङ्घर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रको सगरमाथा बन्न सफल रुइत अँध्यारोमा रुमलिएका लाखौं जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर हुन् । सन्दूक रुइत नामक उनको जीवनी पुस्तक अलि ग्रिपरले अङ्ग्रेजीमा लेखका छन् भने नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन् । उक्त पुस्तक फाईन प्रिन्टले प्रकाशित गरेको छ ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।

विस २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्ने भएको छ ।

तपाइँको प्रतिक्रिया