बुधबार, वैशाख १२, २०८१

अमेरिकाद्वारा ताइवानका लागि हतियार प्याकेज स्वीकृत, चीन आक्रोशित

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ १८ गते २०:००

Photo Source-planetconcerns.com

अमेरिकाले शुक्रबार ताइवानको लागि एक अर्ब १० करोड डलरको हतियार प्याकेज घोषणा गरेको छ । फ्रंस २४ न्युजले आज शनिवार उल्लेख गरेअनुसार चीनले अमेरिकाको यो कदमलाई प्रतिउत्तर दिने चेतावनी दिएको छ ।

चीनसँग तनाव बढ्दै जाँदा ताईवानको प्रतिरक्षालाई बढावा दिने वाचा गरेको अमेरिकाले हतियारको लागि खुलेरै सहयोग घोषणा गरेको हो ।

हतियार बिक्रिको यो कदम अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताईवान भ्रमण गरेको एक महिना पछि आएको हो । अमेरिकाको यो निर्णयले मुख्य भूमि चीनलाई अब बलप्रदर्शन गर्न उत्प्रेरित गरेको छ । अब चीनले भविष्यमा आक्रमणको लागि परीक्षण शुरु गर्न सक्छ ।

राष्ट्रपति जो बाइनको प्रशासन अन्तर्गत ताइवानको लागि सबैभन्दा ठूलो प्याकेज अनुमोदित गरिएको छ । सन् २०१३ देखि सञ्चालनमा रहेको रायथेवन राडार चेतावनी प्रणाली कायम राख्न र त्यसलाई अपग्रेड गर्न सहयोगस्वरुप ६६ करोड ५० लाख डलर पनि प्याकेजमा समावेश छ । उक्त राडारले ताइवानलाई आक्रमणको बारेमा पूर्व जानकारि दिन्छ।

ताइवानले ६० हार्पुन ब्लक दोस्रो मिसाइलहरूमा ३५ करोड ५० लाख डलर मिलियन खर्च गर्नेछ, जसले चीनले पानीबाट आक्रमण गरेमा आउने जहाजहरूलाई पत्ता लगाउन र डुबाउन सक्छ।

सम्झौतामा १०० भन्दा बढी साइडविन्डर मिसाइलहरूको लागि आठ करोड ५६ लाख डलर पनि समावेश छ जुन पश्चिमी सेनाहरूको वायुमै आक्रमण, प्रत्याक्रमण गर्न सकिने मुख्य आधारकालागि हो ।

ताइवानको राष्ट्रपति कार्यालयका प्रवक्ता चाङ टुन-हानले एक विज्ञप्तिमा यस टापुको सुरक्षा र रक्षाका लागि निरन्तर सहयोग गरेकोमा संयुक्त राज्य अमेरिकालाई धन्यवाद दिएका छन्।

“यस हतियार बिक्रीले हाम्रा सिपाहीहरूलाई ग्रे जोन जबरजस्ती विरुद्ध लड्न मात्र मद्दत गर्दैन, यसले टापुको लामो दूरीको ब्यालिस्टिक मिसाइलहरू विरुद्ध प्रारम्भिक चेतावनी क्षमताहरू पनि बढाउँछ” उनले भने।

बेइजिङले राजधानी ताइपेईमा ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको, बेइजिङले अघिल्लो पटकपनि बलको प्रदर्शन गरेर टापुलाई निरुत्साहित गरेको आरोप ताईवानले लगाएको छ । चीनले ताईवानमा रहस्यमय आक्रमण गरेको र त्यस रहस्यमय आक्रमणको क्रममा ताइवानी सेनाले चीनको अज्ञात व्यावसायिक ड्रोनलाई खसालेको दाबी गरेको थियो । अमेरिकी हतियार किन्ने घोषणा त्यसैको एक दिनपछि आएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

चीनले ताइवान आफ्नो क्षेत्रको “अपरिवर्तनीय” भाग भन्दै संयुक्त राज्य अमेरिकालाई हतियार बिक्री तत्काल रद्द गर्न आग्रह गरेको छ ।

“यसले ‘ताइवान स्वतन्त्रता’ का पृथकतावादी शक्तिहरूलाई गलत संकेतहरू पठाउँछ र चीन-अमेरिका सम्बन्ध र ताइवानमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्छ” वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले भने।

“चीनले परिस्थितिको विकासलाई ध्यानमा राख्दै दृढताका साथ वैध र आवश्यक काउन्टर उपायहरू लिनेछ” उनले थपे।

ताइवानको लागि आवश्यक ‘

अमेरिकी हातहतियार आफ्नो देशलाई बिक्रीको अनुमोदन गर्ने राज्य विभागका प्रवक्ताले प्याकेज “ताइवानको सुरक्षाको लागि आवश्यक” भएको बताए । अमेरिकाले अझै पनि बेइजिङलाई मात्र मान्यता दिएको छ र ताइपेईलाई नदिएकोमा जोड दिए ।

“हामी बेइजिङलाई ताइवान विरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं” प्रवक्ताले एक विज्ञप्तिमा भने।

हतियारहरू ताइवानको सशस्त्र बललाई आधुनिकीकरण गर्न र विश्वसनीय रक्षात्मक क्षमता कायम राख्ने निरन्तर प्रयासहरूलाई समर्थन गर्नका लागि हुन् । ति नियमित कार्यहरू हुन्” प्रवक्ताले प्रोटोकल अनुसार नाम नछाप्ने सर्तमा भनेको भन्दै फ्रंस २४ ले उल्लेख गरेको छ ।

“अमेरिकाले ताइवानका जनताको चाहना र सर्वोत्तम हितहरू अनुरूप क्रस-स्ट्रेट मुद्दाहरूको शान्तिपूर्ण समाधानलाई समर्थन गर्न जारी राख्नेछ।”

हतियार बिक्रीलाई अमेरिकी कांग्रेसको स्वीकृति चाहिन्छ । ताईवानलाई सहयोग गर्ने विषयमा अमेरिकी पार्टीहरूमा बलियो समर्थन रहेकोले ति हतियार बिक्रि सुनिस्चित हुने देखिन्छ ।

ह्वाइट हाउसमा दोस्रो पङ्क्तिमा रहेकि पेलोसीको भ्रमण अघि बाईडेनका अधिकारीहरूलेनै चुपचाप चीनलाई मुद्दा दिए -उनले प्रशासनको नीतिको प्रतिनिधित्व गर्दिनन् किनकि कांग्रेस सरकारको छुट्टै र समान हैशियतको शाखा हो ।

अमेरिकाले त्यसो भनेपनि हतियार स्वीकृति गर्ने निर्णय आफ्नै भनाईको बिपरित छ । किनभने स्पष्ट रूपमा बाइडेन प्रशासनबाटनै हतियार बिक्रिको निर्णय गरिएको छ । सन् १९७९ देखि अमेरिकाले ताईवानलाई छुट्टै होइन कि यो भूभाग चीनको भन्दै मान्यता दियो । अर्थात् त्यस अघिको ताईवान हेर्ने आँखा बदल्यो । तर आत्मरक्षाको लागि ताइवानको क्षमता कायम राख्न भने सहमत भयो। अमेरिकाको यो भूमिकानै आफैंमा दोहोरो हो ।

मेमा टोकियोको यात्रामा रहेका बाइडेनले दशकौंदेखिको अमेरिकी नीतिलाई तोडेको देखिन्थ्यो । किनभने त्योबेला उनले भनेका थिए “ताइवानमाथि हमला भएमा अमेरिकाले त्यसको सिधै रक्षा गर्नेछ ।”

तर त्यस लगत्तै उनका सहयोगिहरुले अमेरिकी नीति अस्पष्ट रहेको कुरामा जोड दिँदै वाईडेनको टिप्पणीलाई फिर्ता लिएको बताएका थिए ।

चीनले ताइवानलाई आवश्यक परे बल प्रयोग गरी पुनः एकीकरण गर्ने आफ्नै टापू प्रान्त मान्छ। चीनका राष्ट्रवादीहरूले सन् १९४९ मा मुख्य भूमिमा गृहयुद्ध हारेपछि ताइवानमा प्रतिद्वन्द्वी सरकार स्थापना गरेका थिए । त्यसपछि यो टापु एक जीवन्त प्रजातन्त्र भएको र प्रमुख प्राविधिक हबको रूपमा विकास भएको छ । ताईवानले छुट्टै स्वतन्त्र देश भन्दै आएपनि चीनले आफ्नै देशको रुपमा अधिनमा राख्दै आएको छ ।

युक्रेनमा रुसको आक्रमणले गर्दापनि चीनले ताइवान त्यहि बाटो पछ्याउन सक्छ भन्ने बुझाई पस्चिमी देशहरुको छ । तर के यो टापु चीनका अगाडि आफ्नो रक्षा गर्न सुसज्जित छ त ? प्रश्नहरू बढ्दै गएका छन् ।

जुलाईमा सीआईए प्रमुख बिल बर्न्सले भनेका थिए- चिनियाँ राष्ट्रपति सी जिनपिङ अझै पनि ताइवानलाई नियन्त्रणमा राख्न कटिबद्ध छन् । तर युक्रेनमा रुसको समस्याले बेइजिङलाई पर्खन र यो ठूलो सैन्य फाइदा हुनेछ भनेर सुनिश्चित गर्न प्रेरित गरेको हुन सक्छ ।

(नेपालप्लससहित फ्रंस २४ र एएफपी)

तपाइँको प्रतिक्रिया