शुक्रबार, चैत १६, २०८०

फ्रान्समा नेपालीको युरोपस्तरिय फूटबल टुर्नामेन्ट, १६ टोलीबिच प्रतिस्पर्धा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ भदौ २० गते २३:१५

युरोपका बिभिन्न मुलुकमा रहेका नेपालीहरुले नेपालीहरु बिच युरोपस्तरिय फुटबल टुर्नामेन्ट खेल आयोजना गरेका छन् । फ्रान्सस्थित तमु समाज फ्रान्सले आइतवार पेरिसमा आयोजना गरेको फूटबल खेलमा युरोपका १६ टोली सहभागि थिए । आइतवार विहानदेखिनै शुरु भएको नक आउट पद्दतीको खेल दिनभरि खेलाइएको थियो ।

धेरै समुह भएकाले एकै दिनमा खेल सक्नकालागि जम्मा ३० मिनेटको दरले प्रतिस्पर्धा गराइएको थियो । १५ समुहबिच भएको खेलमा नेदरल्याण्ड्सको नेपाली ड्रिम टिम र फ्रान्सको काठमाडौं ब्वाईज एफ सि फाईनलमा पुगेका थिए ।

ति दुई टोलीबिच भएको आधा घण्टाको प्रतिस्पर्धामा नेदरल्याण्ड्सको नेपाली ड्रिम टिम प्रथम भएको थियो ।

ड्रिम टिमले काठमाडौं ब्वाईजलाई एकका बिरुद्द पाँच गोल गरेको थियो । खेल दुबै तर्फबाट ज्यादै हार्दिकता, अत्यन्त सौम्य र भद्रतापूर्वक खेलिएको थियो ।

आयोजक तमुसमाज फ्रान्सले फिफाको तर्फबाट प्रशिक्षित रेफ्री र लायसमेनहरुको ब्यवस्था गरेको थियो । खेल अवधिभर खानपिन र अन्य सुविधाको राम्रो प्रवन्ध गरिएको थियो ।

खेल अवधिभरको समग्र मूल्यांकन गरेर उत्कृष्ठ वा अब्बल खेलाडी, सबैभन्दा धेरै गोल हान्ने खेलाडी र उत्कृष्ठ गोलरक्षकसमेत घोषणा गरियो ।

प्रतिस्पर्धामा पहिलो हुने नेदरल्याण्ड्सको ड्रिम टिमलाई २५०० युरो नगद र ट्रफीको पुरस्कार दिईयो । त्यस्तै दोस्रो हुने काठमाडौं ब्याईजलाई पुरस्कार स्वरुप १५ सय युरो नगद र ट्रफ्री थियो ।

 

खेलको अनुगमन र मूल्यांकन टोलीले उत्कृष्ठ खेलाडीमा सुजन घले, उत्कृष्ठ गोल रक्षक बिरेन गुरुङ र सबैभन्दा बढी गोल गर्ने सांगे तामाङलाई उत्कृष्ठ गोलकर्ता (बेस्ट स्कोर) घोषणा गरे । यि तीनै जना खेलाडी नेदरल्याण्ड्सको ड्रिम टिमसित आबद्द छन् ।

आफ्नो आफ्नो भूमिकामा उत्कृष्ठ ठहरिएर उपाधी जितेका तीनै जना खेलाडीलाईसमेत पुरस्कार दिईएको थियो । फाईनल खेल बिजयी भएको र उत्कृष्ठ खेलाडीमा पनि तीन जनानै आफ्नो टोलीको परेकाले नेदरल्याण्ड्सको नेपाली ड्रिम टिमका खेलाडी र समर्थकहरु निकैबेर खुशियालीमा नाचेका थिए ।

पुरस्कार बितरणमा फ्रान्सस्थित नेपाली राजदूत दीपक अधिकारीले यस्तो खेल नेपालीहरुले आयोजना गर्नु ज्यादै महत्वपूर्ण भएको बताए । उनले यस्तो खेल आयोजना गर्नाले एकतिर नेपालीहरुको विश्व प्रसिद्द फूटबल खेलमा विकास हुने र अर्कोतिर नेपालीको प्रतिष्ठा र गौरब बढ्ने बताए ।

पुरस्कार बितरण समारोहमा तमु समाज फ्रान्स, गैर आवासीय नेपाली संघ फ्रान्स, ईनास फ्रान्स, नेपाली एकता समाज फ्रान्स लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बधाई र शुभकामना दिएका थिए ।

एकै दिनमा युरोपका बिभिन्न मुलुकबाट आएका खेलाडीहरुलाई समेटेर ठूलो र ब्यवस्थित कार्यक्रम आयोजना गरेको भन्दै तमु समाज फ्रान्सको धेरैले प्रशंसा गरेका थिए ।

तमु समाज फ्रान्सले नेपालीहरुबिच युरोप स्तरिय यस्तो टुर्नामेन्ट हरेक वर्ष आयोजना गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक