बिहीबार, असोज २०, २०७९

पटाक्षेप

ईशा शाह२०७९ भदौ २४ गते ०:२९

ईशा शाह

अफिसबाट छुटेपछि अविजित बजारतिर अलिबेर अल्मल्लिए । उनी घर पुग्दा साँझ परिसकेको थियो । गाडी ग्यारेजमा थन्क्याएर घर भित्र पस्दा घरमा आरती गर्ने बेला भईसकेको कुरा घण्टको आवाजले सूचित गरायो । तर आज घण्टको आवाज अर्कै थियो । घण्ट बजेपछि प्रसाद खान नाती दुगुरेन । किन दुगुरेन ? सोच्दै उनले जुत्ता फुकालेर र्याकमा राखे र पर्दा उठाएर भान्छा भित्र चियाए ।

भान्छामा कसैको चालचूल थिएन । कतै सासु बुहारी दुवै पुजा कोठामा त होईन ? यस्तै सोच्दै उनी आफ्नो कोठा भित्र पसे । कोट फूकाल्दै गर्दा समाउनको लागि कोही आएन । फुकालेर आफैंले ह्यांगरमा झुण्ड्याए र टाई खुकुलो पारे । अहँ कोही आउन्नन् त ! नबोलाई सुखै पाएनन् । उनले नातिलाई बोलाए,
“परिमित ! कहाँ तिमी ? बुबा तिमीलाई खोज्दै छु ।”
“हजुर” भन्दै नाती दुगुर्दै आईपुग्यो ।
“आमा खोई ?” उनले सोधे ।
“पुजा गर्दै हुनुहुन्छ ।”
“अनि मामी नि ?”
“मामा आउनु भएको छ, कोठामा हुनुहुन्छ” अविजितको हात समाउन खोज्दै परिमितले भन्यो ।

“ए, एकछिन पख है, म हात खुट्टा धुन्छु अनि लुगा फेरेर तिमी र म …..!”

“आज फूलमा पानी हाल्नुपर्दैन बुबा, मामीले हालिसक्नु भयो । नपत्याए आमालाई सोध्नु होस्” उसले ढोकातिर हेर्यो ।

कोही आउँदैछ भन्ने सोचेर उनी पाईन्टको मोहोता फर्काएर बाथरूम भित्र पसे र ढोका ढप्काएर हात खुट्टा धुन थाले । बाथरूमबाट निस्किंदा उनकी श्रीमती हत्केलामा किसमिस राखेर बसेकी थिईन् । नाती हत्केलाबाट किसमिस टिप्दै खाँदै थियो ।

“धेरै नदेउ है, अहिले खाना खाँदैन ।” अविजितले भने ।
“कता धेरै हुनु ? पाँचवटा थियो, भ्यायो । अनि हजुर आज किन ढिलो ?” उनकी श्रीमती प्रमदाले आफ्नो हात टक्टक्याउँदै सोधिन् ।

“एक दुईवटा किताब किन्नु पर्यो भनेर यसो बजार छिरेको । चित्त बुझ्दो एउटा भेटिनँ र उसै फर्किएँ” उनले सामान्य पाराले भने ।

“खुट्टा नपुछी बिछ्यौनामा टेक्ने होईन है मैले भनिदिएको छु ।”
“ बस्न त पाईन्छ होला नि ! थाकेर लखतरान परेर आएको छु तिमी भने ….. !” अविजितले बिछ्यौनाको छेउमै बस्न खोज्दै भने ।

“ होईन लुगै नफेरि ……… ! के हो हजुरको पारा ? कतै बजारतिर पसेर……….!” उनले मेरो मुख हेर्दै भनिन् ।

“मरिजाउँ होईन । बरु परिमित मामा आएको भन्दै थियो, एकछिन यसो बस्ने मेसो मिलाउ न, परिवेश आएपछि ….!” खुट्टा झारेर बिछ्यौनाको एक छेउमा बसेर खुट्टा पुच्छदै अविजितले भने ।

“भो पर्दैन, अहिले मुमाले थाहा पाउनु भयो भने घर उचाल्नु हुन्छ” प्रमदाले भनिन् ।
“किन उचाल्नु ? पाहुना आएका छन् भन न !”

“तार्किकलाई मुमाले भेटिसक्नु भयो” भन्दै उनी कोठाबाट निस्किईन् । उनीसँगै परिमित पनि निस्कियो ।

“तार्किक पो ! म त ….. !” भन्दै उनले आफ्नो वाक्य अपुरो छोडे ।

अविजितको दिमागमा उनको बुहारीको दाई आएको होला भन्ने थियो । तर होईन रहेछ ।

तार्किक भन्नासाथ बुहारीको आमाको मृत्यु पश्चात बुहारीको बाबुले कताबाट गोठै बोकेर ल्याएर छोरा भन्ने गरेकोमा पर्‍यो । त्यहि व्यक्तिको अनुहार उनको आँखा अगाडी आयो । भन्नेले बाहिर कता अर्की राखेका थिए, श्रीमतीको मृत्यु पश्चात अर्की बोकेर ल्याए पनि भने रे ! तर खाँट्टी कुरा के हो उनीहरुलाई थाहा भएन । त्यसरी ल्याएको कुरा थाहा भएपछि अविजितकी आमाले परिवेशको विवाह स्वातीसँग हुन नदिन सकेसम्म कोशिश गरेकी थिईन् । तर परिवेशले मन पराएर मरीहत्ते गरेकै कारण स्वातीलाई बुहारीको रुपमा त्यो परिवारले स्वीकार्न कर लाग्यो ।

उनले त्यसै बेला थाहा पाए, सन्तान भनेको कमजोरी रहेछ ।’ उनी यस्तै के के सोच्दै थिए नाती कोठा भित्र पस्यो ।

“बुबा, हजुर बैठकमा आउनुहोस् रे !” नातीले कोठामा पस्दै उनको हात समातेर उनलाई तान्दै भन्यो ।

“ एकछिन पर्ख है म …… !”
“ कति पर्खने ? पख्दा पख्दा मामालाई जान ढिलो भयो !”

“नजान भन, आज मामालाई यहिं बसाउनु पर्छ, जाउ त गएर भन” अविजितले भने ।

“हस्” भन्दै परिमित अघि आएकै बाटो फर्कियो ।

ऊ गएपछि अविजितले लुगा फेरे । उनी बैठकमा पुग्दा अघि बैठकमा बसेका मान्छेहरु भान्छामा पुगिसकेका रहेछन् । उनी उपस्थित नभएको भएर खाना पस्किन रोकिएको रहेछ ।

“खाना खाई हाल्ने हो र ?” टेबलमा सजाईएको भाँडा हेर्दै उनले सोधे ।
“कुन्नि त ?” परिवेशले आफ्नी श्रीमती स्वातीलाई हेर्दै भने ।
“मलाई जानु छ त्यसैले ….. !” तार्किकले उठेर उनको हातमा ढोग्दै भने ।
तार्किकको कुम समातेर हाँस्दै उनलाई कुर्सीमा बसाएपछि अविजित आफ्नो कुर्सीमा गएर बसे र भने, “अब यसबेला कता जाने ? आज यतै बसौं ।”

तार्किक केही बोलेनन् । उनले स्वाती र परिवेशलाई हेरे ।

“आमा खोई ?” अविजितले सबैलाई हेर्दै सोधे ।
“उहाँले खाईसक्नुभयो । प्रमेश बाबु उहाँलाई कोठामा पुर्याउन जानु भएको छ, बरु हजुर गएर भेटेर आउने हो कि बुबा !” स्वातीले भनिन् ।

“अलिखेरमा भेटौंला । “अविजितले सामान्य पारामा भने ।
“मुमा त …..!” स्वातीले टेबलमा राखिएको बोत्तललाई हेर्दै आफ्नो वाक्यलाई यसै छोडिन् ।

“मैले होईन है, तिमीहरुकै बुबाले मलाई अघिनै …… ! “प्रमदा भान्छाबाट कराईन् ।
“प्रमदा कत्रो स्वरले कराएकी ?” अविजितले भने ।

“ बन्दोबस्त हुँदैछ, आमा भेटेर फर्किनु बुबा, त्यसपछि बस्न पाईन्छ नत्र अवि कि अवि भनेर …..!” स्वातीले भनिन् ।

“त्यो पनि हो” भन्दै उनी कुर्सीबाट उठेर आमाको कोठातिर लागे ।

बाटोमा प्रमेश भेट्टिए । तर उनीसँग अविजितको केही कुरा भएन । उनी आमाको कोठामा पसे । आमा कौचमा बसिरहनु भएको थियो ।

“सुत्ने आमा ?” अविजितले आमाको कुम समाउँदै सोधे ।
“होईन एकछिन बस्छु, तिमी सुत्ने हो र ?” उहाँले आफ्नो कुममा भएको छोराको हात समातेर सोध्नु भयो ।

“आज अलि थकाई लागे जस्तो भएको छ, खाना खाएर सुत्छु भनेर भेट्न आएको” अविजितले भने ।

“किन लाग्यो त थकाई ? थकाई लाग्नु राम्रो कुरा होईन” आमाले भन्नुभयो ।

“आज अफिसमा काम थुप्रै थियो, फेरि किताब किन्न बजार पनि गएँ । त्यसैले थकाई लाग्यो” अविजितले भने ।

“त्यसो हो भने सुत त सुत” भन्दै आमा कौचमा अलि सजिलो गरी बस्नु भयो ।
“लड्नु होला नि ! केही परे यो घण्टी थिच्नु होला” भन्दै अविजित आमाको कोठाबाट निस्किए ।
उनी पुग्दा स्वातीले गिलासमा ह्विस्की खनाईसकेकी रहिछिन् । तार्किक र दुई छोराहरु सहित अविजित पिउन बसे ।

“बाबुलाई खाना खान दिए हुन्थ्यो नि स्वाती” गिलास जोडेर चियर्स भनिसकेपछि अविजितले पिउँदै भने ।

“भनेको हो भोक छैन रे” प्रमदाले परिमितलाई हेर्दै भनिन् ।
“कसरी होस् त भोक ? कच्याक कुचुक खाएको छ, उस्तै परे अब सबैको गिलासबाट एक एक घुँट्को पिउँछ सुत्छ” प्रमदाले भनिन् ।”

“हुन्न भन्न पर्छ नि ! बुवा पनि घुच्चुक समाती समाती पियाउने अनि कसो होस् ?” स्वातीले भनिन् ।

“आफू चाहिं खाने मलाई चाँही नदिने भनेर बाझेपछि हामीले के गर्ने ?” अविजितले भने ।
“त्यसो हो भने कति गतिलो कुरा हो र नपिए हुन्न ?” प्रमदाले भनिन् ।

“पिउनकै लागि बनाएको जिनीस नपिई भयो भन्या ? दुनियाँमा पिउँदा नरिसाउने भनेको हाम्री बुहारी मात्रै होलिन्” अविजितले प्लेटमा राखिएको गाजरको टुक्रा टिपेर टोक्दै भने ।

“अब केही सिप नलागेपछि कसो गर्नु त बुबा ? सकेसम्म त नपिए हुन्थ्यो भन्ने त मलाई पनि लाग्छ नि ! तर न हजुर मान्नुहुन्छ न हजुरको छोराहरु नै मान्नुहुन्छ । सक्दै नसकेपछि लुकिलुकी बाहिर पिएर आउनु भन्दा घरै पिए हजुरहरु तिनै जनालाई एकजनालाई बाहिर पिउँदा लाग्ने खर्चले पुग्छ, त्यसैले म नरिसाएको !” स्वातीले भनिन् ।

“त्यस्तो सोच कहाँ छ र तिम्रो सासुको ? लौ न उनलाई पनि यस्तो बुद्धि देउ” अविजितले हाँस्दै भने ।

“मितव्ययिताको हिसाबले होला । तर यो जिनिश न मिठो हुन्छ न गतिलो हुन्छ, तब किन सबै जना यसको पछि अघि लागेर बुद्धि बिगारेका होलान् । छोराहरुले त जाने जाने अब त नाती पनि ……. !” प्रमदा कराईन् ।

“यसरी पिउने बेला बिथोली रहेपछि पिउनुको मज्जा हुन्न भनेर मैले हजुरलाई कतिचोटी भनें ? जति भन्दा पनि लागेको बानी जाने रहेनछ !” परिवेशले आफ्नो बुवा लगायत सबैलाई हेरेर गिलास उठाए र भएभरको ह्विस्की एकैचोटी पिएर गिलास टेबलमा बजारे ।
“दाजी प्लिज !” उठ्न खोजेको परिवेशलाई रोक्दै प्रमेशले भने ।

“प्रमदा खाना पस्क, म खाएर कोठामा जान्छु, यसो एकछिन बसौं भन्यो गन गन गरेको गर्यै गरेर मूड जति सब चौपट !”

“मुमाले भएकै कुरा गर्नु भएको त हो नि हजुर किन रिसाउनु भएको ?” स्वातीले परिवेशलाई हेर्दै सोधिन् ।

“सधैं किच-किच ! मान्छे परिवार छोडेर किन हिंड्छ ? किन एकात्मक परिवारमा रमाउँछ भनेको यस्तै भएर रहेछ । खान ठिक पनि पारिदिएको छ, कराएको पनि छ । यस्तो द्वैध चरित्रले मान्छेको दिमागमा कस्तो अशर पार्छ भन्ने कुरा बिचार गर्नुपर्छ कि पर्दैन ? उहाँ भने पढे लेखेको मान्छे रे !” परिवेशले भने ।

“होईन पिएको त एउटा लार्ज पेग मात्रै हो । कुरा त ठूल्ठूला पो हुन थाल्यो त ! कतै यसले …… !” भन्दै प्रमदाले स्वातीलाई हेरिन् ।

“खोई होईन होला, मैले त सत्य मरिजाउँ थाहा पाईनँ । “स्वाती साग गले झैं गलिन् ।
उनको अवस्था देखेर सबैजना हाँस्न थाले ।

क्रमश : (अर्को भाग आगामी हप्ता)

तपाइँको प्रतिक्रिया

फेसबुक