आइतबार, असोज ९, २०७९

पटाक्षेप

ईशा शाह२०७९ भदौ २६ गते ११:३०

(पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

ईशा शाह

स्वाती भान्छाको काम सकेर कोठामा आउँदा परिमित एक्लै बिछ्यौनामा निदाई रहेकोथियो । परिमितलाई बिछ्यौनामा एक्लै देखेर उनको आँखाले परिवेशलाई खोज्यो । परिवेश आरामदायी कुर्सीमा आँखा चिम्लिएर बसिरहेको देखेर उनलाई अचम्म लाग्यो ।

“हजुर निदाएको ?” स्वातीले परिवेशको गाला मुसार्दै सोधिन् ।

“छैन” परिवेशले आँखा चिम्लिएरै भने ।

“छोरो उसै निदाएछ, सू गर्यो कि गरेन, यसो लुगा फेरिवरी सुताएर हजुरपनि सँगै पल्टिएको भए हुने !” भन्दै स्वाती गन्गन गर्न थालिन् ।

“नकराउ है, मलाई रिस उठिरहेको रहेछ” परिवेशले रिसाउँदै भने ।

“कति उठ्दो रहेछ रिस पनि ! हजुर त्यहिं सुत्ने हो कि के ?”

“स्वाती अब तिमी पनि !” भन्दै परिवेशले आँखा खोलेर हेरे । स्वाती निदाएको परिमितको लुगा फेराउँदै थिईन् ।

“आज एकदिन त उसै सुत्न दिएको भए पनि हुन्थ्यो नि ! अब निदाएको मान्छेलाई …….! अहिले उठ्यो भने घर उचाल्छ ।”

“उचाल्यो भने मैले जानेको छु ।”
“के गर्छौ ?”

“हजुरको कान उखेल्छु ।”

“लौ !”

“के लौ ?”

“अनि मेरो कान ….. !”

“हो, यो पाली उसलाई देखाएर हजुरको कान उखेल्छु अनि अर्को पाली यस्तो गल्ति हुँदैन ।”

“त्यसो त मैले पनि उसलाई सतर्क बनाउन पाउँछु ।”

“पाएको पाई हो, खोई मेरो कुराको जवाफ ?”

“के कुराको ?”

“आज हजुर त्यहिं सुत्ने हो कि के हो भन्या ?”

“होईन, तर मलाई उठेर त्यहाँसम्म आउन पनि मन लागेको छैन स्वाती !”

“आज हजुरको व्यवहार अलि अर्कै थियो कतै केही खाएर आएर घरमा थप्दा लाग्यो कि के हो ?”

“कता के खानु तिमी पनि ! यहिं मात्रै हो । त्यो पनि अनावश्यक कचकचले उत्रियो, स्वाद नै पाईनँ त्यसैले ….!”

“पिउने भए म अर्को पेग बनाई दिन्छु ।”

“भो नाईं बानी बिग्रिन्छ ।”

“त्यसो भए उठ्नुहोस् ।” स्वातीले परिवेशको हात समातेर तान्दै भनिन्, भुरो त भुरो भयो भयो बुढोको पनि भुरोलाई भन्दा धेर गर्नु परेपछि मेरो अवस्था के होला ?”

“त्यसैले त स्वाती मेरो मनमा एउटा कुरा खेलिरहेको छ ।” स्वातीको हात समातेर उठ्दै परिवेशले भने ।

“के कुरा ?”

“म सरुवा मिलाउँछु, हामी अन्तै जाउँ ।”

“के नचाहिने कुरा गरेको हजुरले ? बुढाबुढी भई सकेको बुवाआमालाई छोडेर कहाँ जाने हामी ? फेरि हजुरको आम्दानी पनि कति नै हुन्छ र ?”

“जति भए पनि हामीलाई पुग्छ ।”

“अहिलेको अहिले यत्रो ठूलो निर्णय ! जिम्मेवारीबाट पन्छिने कुरा नगर्नुस् हजुर प्लिज ।”

“त्यस्तो होईन, तर म ……!”

“दाँया बाँया नसोचेर सुत्नुहोस्” भन्दै परिवेशलाई तानेर ल्याएर स्वातीले बिछ्यौनामा बसाईन् ।

“कति सुत्नुहोस् सुत्नुहोस् भनेको भन्या तिमी चाहिं सुत्दिनौ ?” परिवेशले रिसाउँदै भने ।

“मेरो एकछिन काम छ ।”

“मलाई बिछ्यौनामा एक्लै राखेर …… !”

“नकराउनु न, भोलिको कक्षा अलि गाह्रो छ के त्यसैले एकछिन हेर्छु ।”

“यसबेला !”

“अब फुर्सद यसबेलै भयो तब कसो गर्नु ?”

“अहँ नाईं भो पर्दैन, म बाबुलाई अर्को बेडमा सुताउँछु तिमी आउ ।”

“छि: मनमा भगवान नभएको कस्तो मान्छे हजुर ?”

“कुन्नि कसको पो मनमा छैन भगवान ? दश वर्ष भयो सँगत गरेको र पनि ! सुत्ने बेला भयो सधैं किताब झिकेर….. ! हिजोआज त झन मोवाईल, ल्यापटप ! मेरो त वास्तै छैन” भन्दै परिवेशले निदाएको छोरो उचाले । लगेर अर्को बिछ्यौनामा सुताए ।

“कहिलेकाहिं त उसै सुते पनि हुन्न भन्या ? अब जागिर खाएपछि आफ्नो ड्यूटी निभाउनै पर्यो त्यसैले ……!”

“सक्नु परेन ? सकेको भए किन सुत्ने बेलामा सँधै तिम्रो चाकरी गर्नु पर्थ्यो ?”

“धन्नको मान्छे बनाएछन् भगवानले, एकछिन यसो केही सघाए पनि हुन्थ्यो । त्यो पनि छैन । पढाउने बेला विद्यार्थी कता कताको के के सोधेर वाक्क लगाउँछन् । कतिपय अवस्थामा त जवाफ दिन नसकेर आफैं पक्क पर्नुपर्छ र विषय भन्दा बाहिर जानु भएन भन्नुपर्छ । अथवा त्यो विषयमा कक्षापछि कुरा गरौंला समेत भन्ने अवस्था आउँछ ।यता भने आफ्नो यस्तो छ” स्वातीले किताब बन्द गरेर टेबल माथि राख्दै भनिन् ।

“एघार बज्यो यार !”

“केको यार, मलाई यार स्यार भन्ने होईन । अब आईन्दा घर छोडेर जाने कुरा गर्नुभयो भने मैले जानेको छु ।” भन्दै स्वाती लुगा फेर्न थालिन् ।

“हामीलाई नै सजिलो होला भनेर …. !”

“हुन्छ सजिलो, परिमितलाई कसले हेर्छ ? अनि फेरि अर्को एउटा भन्दै हुनुहुन्छ । जागिर छ त्यो मात्रै होईन प्रमेश बाबुको बिवाह भएको छैन । यस्तो अवस्थामा कसरी हामी घर छोडेर जान सक्छौं ?”

“सधैंको कचकचले म त ….. !”

“आफ्नो सन्तान नबिग्रिउन् भन्ने सोचको कारण यो अवस्था सिर्जना भएको हो भन्ने कुरा हजुरको दिमागमा किन घुस्दैन भन्या ? बुवामुमाको अगाडी कराउँ भने पनि भएन । आज त फेरि तार्किक पनि थियो, के सोच्यो होला त्यसले ?” स्वातीले बिछ्यौनामा बस्दै भनिन् ।

“के सोच्नु ? दिदीले सुख पाउने भई भन्ने सोच्यो होला !”

“पाउँछे सुख ! त्यस्तो बिचार दिमागमा ल्याउँदै नल्याउनु नत्र म ।” भन्दै स्वाती उठ्न खोजिन् ।

“कता ?” परिवेशले स्वातीको हात समाउँदै सोधे ।

“यि, छोड्नुहोस् न, छोरोले ओढ्ने फाल्यो, रातभरि त्यसै सुते चिसो लाग्ला यसो च्यापेर आउनु पर्छ नि !”

“कोठा भित्र, शरीर पुरै छोप्ने लुगा लगाएको छ र पनि …..!”

“आमा हुँ मन मान्दैन, हजुरलाई पनि यसैगरी हुर्काउनु भएको थियो मुमाले” भन्दै स्वाती गएर परिमितलाई दोंलाई ओढाएर फर्किईन् ।

“त्यस्तो माया लाग्छ छोरोको ?” फर्किएर आएर बिछ्यौनामा बसेकी स्वातीलाई परिवेशले सोधे ।

“…… !” स्वाती केही बोलिनन् ।

“ बत्ति निभाउनु होस् ।”

“ आज ननिभाउँदा हुन्न ?”

“कोठामा हामी मात्रै होईन सात वर्षको छोरा पनि छ ।”

“ हो है, तर कहिलेकाहिं त होश नै नहुने” भन्दै परिवेशले बत्ति निभाए ।

क्रमश :

तपाइँको प्रतिक्रिया

फेसबुक