शुक्रबार, वैशाख १४, २०८१

एउटा समाचारकै कारण सम्मानको सूचीबाट हटाएर विचाराधीनमा ?

सन्तोष न्यौपाने / बेल्जियम२०७९ भदौ २७ गते १३:४४

केहि दिन अगाडि बेल्जियममा ग्लोबल एनआरएनए फाउन्डेसनको तदर्थ समिति गठन भयो। गठन पश्चात विभिन्न अनलाईनहरुले समाचारमा यसलाई प्राथमिकता दिए। तर प्रकाशित समाचारले एनआरएनए बेल्जियमलाई केहि पिरलेको देखियो।

समाचारका बारेमा एनआरएनए बेल्जियमका अध्यक्ष खड्ग केसीसँग पंक्तिकारको राम्रो बहस भयाे। अध्यक्ष केसीले समाचार आफ्नै तालमा नबुझी लेख्नु भएको भन्न समेत भ्याएका थिए। बहसको क्रममा मैले उनलाई प्रश्न गरें “समाचारमा तपाईंको असहमति के हो ?” त्यसपछि उनले आफ्नो कुरा राखे । कुरा सुनेपछि मैले उनलाई ‘समाचारको शीर्षकमै एनआरएनए संस्था भन्ने छ तपाईहरुको र उहाँहरुको संस्थाको नाममा नै फरक छ । भित्र पुरै पढ्नुस्’ भनें ।

विडम्बना उनले समाचारको शीर्षक हेरेर प्रतिक्रिया दिएका रहेछन् जुन आफैं स्वीकार गरेर भने” तपाईंको समाचार मैले पुरै पढेको छैन ।”

गफ गर्दै जाँदा अध्यक्ष केसीले दुई एनआरएनए बीचको आन्तरिक मतभेद समाचारमा पोखिएको प्रस्ट हुन्थ्यो । तर पनि उनले जानकी गुरुङ, पदम गुरुङ जस्ता एनआरएन अग्रजहरुलाई विगतकै सम्मान दिएको र व्यक्तिगत रूपमा सौहार्दपूर्ण सम्बन्ध रहेको प्रस्ट पनि पारे।

एनआरएनए बेल्जियमको वार्षिक साधारणसभा यही बुधवार व्रुज शहरमा हुने भनिएको छ। अध्यक्ष केसीका अनुसार उक्त कार्यक्रममा पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । ति सम्मानित हुने मध्ये मेरो नाम पनि रहेछ । तर केही दिन अगाडि मैले लेखेको समाचारकै कारण नाम विचाराधीनमा धकेलिएछ। उनको कुरा सुनेर म आफैंलाई अचम्म लाग्यो । एनआरएनएले कुन आधारमा मलाई सम्मानको सूचीमा राख्यो ? र एउटा समाचारकै कारण कुन आधारमा सूचीबाट विचाराधीनमा पुर्यायो ?

सम्मान गर्ने सूचीमा पत्रकार सनत आचार्य र ओम शर्माको नाम पनि रहेछ। आचार्यलाई एनआरएनए बेल्जियमले विज्ञ समूहमा राखेको छ । उनले एनआरएनएलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका छन् । संघको मुखपत्र प्रकाशन गर्न होस वा तालिम दिने सवालमा आचार्यको सहयोग विशेष देखिन्छ। शर्मा नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको अध्यक्ष भएको नाताले सम्मान गर्न लागिएको भन्ने समितिका साथीले बताए ।

बेल्जियममा लामो समयदेखि कार्यरत पत्रकार डिल्ली अम्माइ आफ्नो पछिल्लो लेखमा लेख्छन् “घरबाट निस्केपछि एक पत्रकारले कसैले दिएको एक कप कफी खाँदा पनि होसियार हुनुपर्छ । कसैले सूचनालाई प्रभावित पार्न दिएका कुनै पनि सहुलियत, पुरस्कार, उपहार र प्रायोजित पदहरू अस्विकार गर्न नसक्ने ब्यक्ति स्वतन्त्र र सन्तुलित पत्रकार बन्न सक्दैन ।” उनको लेखको यो अंशले पनि एनआरएन वा अन्य कुनै संस्थाले प्रदान गर्ने सम्मान र लिने पत्रकारहरुलाई व्यङ्ग गर्न खोजेको देखिन्छ। उनको कुरा जायज पनि छ।

एनआरएनए बेल्जियमको पक्षधर भएर समाचार लेखिदिएबापत सम्मान गर्न लागिएको हो भने त्यो कुनै पत्रकारले पनि ग्रहण गर्नुपर्दछ भन्ने लाग्दैन। पत्रकारको कलम दुवै पक्षमा चल्नु पर्दछ । गलतलाई गलत भनेर लेख्न सक्नुपर्दछ भने संघ भित्रको कुनै प्रेरणादायी कथा भए त्यो पनि ल्याउनु पर्दछ । एनआरएन मात्रै होइन प्रायजसो संघसंस्था आफ्नो प्रशंसाले भरिएका समाचार हेर्न आतुर रहन्छन्। जुन दुखद पक्ष पनि हो। तर पत्रकारले आफू सबैको प्यारो बन्ने ध्येयले गलत पक्ष उजागर गर्न पछि पर्नु हुँदैन । जसले गर्दा विकृति अझ बृद्धि हुँदै जाओस्।

केही समय अगाडि एनआरएनए बेल्जियमले लेवी तिर्न बाँकी रहेको व्यक्तिहरूको सूची सार्वजनिक गर्यो। सूची सार्वजनिक भएलगत्तै पंक्तिकारले लेखेको समाचारमा एनआरएनए बेल्जियमका पदाधिकारीहरुले समाचारको विभिन्न पाठ सिकाउन खोजे । तर सबै पदाधिकारी उस्तै थिएनन्। गंगा शर्माले समाचार सहि भएको भन्दै तारिफ पनि गरे। समाचार आएपछि केहीले लेवी तिरेको भन्दै सूचना पनि दिए। जुन एनआरएनए बेल्जियमको लागि सकारात्मक पक्ष थियो । तर त्यसको मूल्यांकन गर्ने कसले ?

एनआरएनए बेल्जियमले साँच्चै पत्रकारहरुलाई सम्मान गर्ने हो भने सबै कुरा हेरेर गर्नुपर्दछ। आफ्नो पक्षमा लागेकालाई गर्ने बाँकीलाई छोड्ने गर्नु हुँदैन । बेल्जियमको मामिलामा सम्मान गर्नु पर्नेमा पत्रकार डिल्ली अम्ममाई, महेश थापा अग्र स्थानमा आउँछन् । यी दुवै बेल्जियममा कार्यरत पुराना पत्रकार हुन् । दुबैले विगतमा होस वा अहिले सक्रियताका साथ पत्रकारिता गरेका छन् । सम्मान सूचीमा उनीहरूको नाम नहुनु आफैमा दुखद पक्ष पनि हो। यदि संस्थाले आफ्नो प्रशंसामा मात्रै लेख्ने वा संस्था, संस्थाका पदाधिकारीको पक्षमा लेख्ने पत्रकारहरुलाई सम्मान गर्दछ भने त्यो जायज हुँदैन। यो सच्याउनु पर्दछ। यस बारेमा संघले बेलैमा सोच्नुपर्दछ।

तपाइँको प्रतिक्रिया