बुधबार, वैशाख १२, २०८१

यति निर्लज्ज प्रधानमन्त्री र सरकारभन्दा यो देशमा अर्को के हुनसक्छ ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ भदौ २७ गते २२:०४

Image Credit-himalsanchar.com

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको घटनाले हाम्रा दल र तिनका नेतालाई उदांगो बनाउँदै लगेको छ । आफू निलम्बित भएपछि बिस्तारै आक्रोशित बन्दै गएका चोलेन्द्र शमशेर दल र नेताबिरुद्द झन झन राँक्किंदै गएका छन् । उनको पछिल्लो अभिब्यक्तिले हाम्रा दलका समग्र नेताहरुलाई ठादो चुनौति दिएको छ । आफूमाथि महाभियोग पारित गरेर देखाउन चोलेन्द्र शमशेरले ठाडै चुनौती दिएका छन् । उनले महाअभियोग सिफारिस समितिको सवाल जवाफमा पनि नेताहरुलाई चुनौति दिंदै आएका हुन् ।

देशको एउटा निलम्बित प्रधानन्यायधिश । जो अहिलेपनि महाअभियोग सिफारिस समितिको सवालजवाफमा छ । उसको परिक्षा महाअभियोग समितिले लिनै बाँकि छ । सुनुवाईकै क्रममा छ । अर्थात् उनी हाल पक्षिणमा छन् । तर बाहिर सार्वजनिक रुपमा उनले चुनौति दिईरहेका छन्, यो देशको प्रधानमान्त्री, पार्टी र सरकारलाई- हिम्मत छ भने महाअभियोग लगाएर देखाउ ।’

उनले यस्तो ठाडो चुनौति सार्वजनिक रुपमा दिंदापनि देशका प्रधानमन्त्री शेर बहादुर देउवा पुच्छर लुकाएर बसेका छन् । प्रमुख दलका नेताहरु चुँक्क बोलेका छैनन् । जुन सरकार र नेताहरुलाई उनले चुनौति दिएका छन् तिनै बोल्दैनन् । लाग्छ, यो देशमा प्रधानमन्त्रीनै छैन । न्याय र कानुन केहि बाँकि छैन । अत्याचारका बिरुद्द बोल्ने कुनै निकायपनि छैन ।

संवन्धित – चोलेन्द्रको महाअभियोग : राजनीतिक अभिष्ट पुरा गर्न शुरु गरिएको खेल

यसको अर्थ उनले यो सरकारका, यि पार्टीका हरेक नेतालाई तौलेका छन् । जोखेका छन् । तिसित चोलेन्द्रको अवैध गठबन्धन भएको छ । चोलेन्द्र र तिबिच धेरै अँध्यारा कोठरीमा कानुन र न्यायको सिद्दान्तबिर्परित स्वार्थ बाँडफाँड गरिएको छ ।

चोलेन्द्र र प्रधानमन्त्री शेर बहादुर देउवाबिच बिगतमा अनेक स्वार्थमा सहमति भएको छ । अर्थात् चोलेन्द्रका बिरुद्द कुनै कुरा बोलेमा वा उनमाथि महाअभियोग लगाएमा चोलेन्द्रले ति बिगतका काला कर्तुतहरु छताछुल्ल पारिदिने हैशियत राख्छन् । त्यो हैशियत बिगतमा गुन लगाएर उनले बनाएका छन् । त्यसैले चोलेन्द्रले हाकाहाकि चुनौति दिंदापनि प्रधानमन्त्री र हाम्रा नेता पुच्छर लुकाएर बस्न बाध्य भएका हुन् ।

राजनितिक विश्लेषक, वरिष्ठ पत्रकार कमल कोइरालाले प्रष्ट लेखेका छन् “महाभियोग पारित गरेर देखाउन चोलेन्द्र शमशेर को चुनौती । आजको नागरिक दैनिकमा पढें । यो मुलुकमा भ्रष्टाचार यति बलियो छ र ठूलो साना दलका शिर्ष नेताहरु यति भ्रष्ट छन कि उनीहरु द्वारा नियन्त्रित संसद एउटा महाभ्रस्ट न्यायाधीश माथि महाभियोग पारित गर्न असमर्थ, अकरमणय, अयोग्य र असक्षम छ।”

कोइरालाले सहि भनेका छन्, देशका हरेक पार्टीमा भ्रस्टाचार मौलाएको छ । पार्टीका सर्बोच्च कमाण्डरहरु सबै पैसा, पद र स्वार्थमा बिकेका छन् । तिनले आफ्नो स्वार्थ, पद, कुर्सी र आफन्तलाई सत्तामा पुर्‍याउन बिगतमा जस्तोसुकै कुकर्म र सहमतिपनि गरेका छन् । न्यायालयको खिलाफमा तिनले अँध्यारा कोठामा बसेर न्यायमूर्ति, प्रहरी, सेना, प्रशासन र बिदेशी जोसुकैसितपनि अपवित्र गठबन्धन गरे। गैर कानुनी काम गरे । ति दर्जनौं सयौं कुकर्ममा चुके । र चोलेन्द्र त्यसका साक्षी छन् । त्यसैले चोलेन्द्रले तिनलाई चुनौति दिंदापनि तिसित चुइक्क बोल्न सक्ने हुति छैन । चोलेन्द्र बिरुद्द केहि बोले बिगतका काला कर्तुतहरु चोलेन्द्रले गल्ली गल्लीमा ल्याएर पोखिदिने छन् ।

आफ्नो स्वार्थ अनुकुल चोलेन्द्र शमशेरसित एमाले, कांग्रेस र माओवादीका नेताहरुले गठवन्धन गरेका छन् । गर्न नहुने काममा अनेक सहमति गरेर काम लिएका छन् । न्यायको धज्जी उडाएका छन् र भ्रस्टाचारका लागि ति ठूला दल सबै चुकेका छन् । अदालतमा जनतालाई न्याय दिन बसेका न्यायमूर्ति भनिनेहरु दलिय स्वार्थमै लागेको फेहरिस्तपनि चोलेन्द्रसित छ । ति आफू मात्रै शिकार भएनन् कि न्यायलाई सौदाबाजी गरेर, अपबित्र स्वार्थसित जोडेर जनताको हुर्मत् लिए । कानुनी राजयको हुर्मत लिए । पार्टी र नेताको ब्यक्तिगत महत्वाकांक्षाको शिकार भए । न्यायमूर्ति र नेता मिलेर जनताको शिकार गरे ।

चोलेन्द्रसँगको यहि अपबित्र साँठगाँठका कारण उनले यि नेता र पार्टीका खुट्टा कमाईदिएका छन् । मुटु हल्लाइदिएका छन् । र ठाडो चुनौति दिएका छन् ‘सक्छौ भने मलाई महाअभियोग लगाएर देखाउ ।’ तर यस्तो चुनौति दिंदापनि भ्रस्ट नेताहरु भने चुइँक्क गरेका छैनन् । बरु चोलेन्द्रले अझै कुन कुन बिगतका गोप्यता, साँठगाँठको गाँठो फुस्काईदिने हो भन्दै त्राहिमाम छन् । देशको प्रधानमन्त्री, समग्र सरकार र देश हाँक्ने पार्टीलाई यसरि खुले आम चुनौति दिंदापनि कोहि बोल्दैन । यो भन्दा निर्लज्ज प्रधानमन्त्री, नेता यो देशमा अर्को के हुनसक्छ ?

उनले चुनौति किन नदिउन् उनलाई थाह छ, शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र केपी ओलीहरुले उनलाई रौंपनि हल्ला सक्दैनन् । तिनका एक एक कर्तुतको फेहरिस्त बोकेर चोलेन्द्र शमशेर बसेका छन् । तिनले महाअभियोग लगाउन सक्दैनन्, त्यो क्षमता र नैतिकतानै आफैंसित मिलेर बेचिसकेको प्रमाण चोलेन्द्र शमशेरसित छ ।

यो सरकार नै भ्रष्टाचारको जगमा बनेको न हो । गठबन्धन सरकार बन्नासाथ भ्रस्ट बिजय गच्छदारलाइ बाहिर निकाले । ललिता निवास काण्डको फाइल गायब भयो । राजदूत लेनदेनमा सिफारिस अग्रियो । सिंहदरबारलाईनै बेचेर खानेहरु निर्लज्ज हुनुपर्नेमा भाषण ठोक्दै हिंडेका छन्, सरकारमै छन् । यो सबै सेरोफेरोका साक्षी कतै न कतै यिनै चोलेन्द्र शमशेर हुन् । अनि कसरि चोलेन्द्र शमशेरमाथि महाअभियोग लगाउन सक्छन् । अनि किन चोलेन्द्र शमशेरले चुनौति नदिउन् ?

तपाइँको प्रतिक्रिया