बिहीबार, वैशाख १३, २०८१

बेलायतका नयाँ राजा चार्ल्सका सामु चुनौतिनै चुनौति

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ २९ गते ९:५२

बेलायतमा राजातन्त्रको ईतिहास कति वर्ष पुरानो हो भन्ने कुराको जानकारी धेरै कमलाई मात्र छ । नलेखिएको ईतिहासलाई हेर्ने हो भने र केही महिनाको राजाविहिन समयलाई छोड्ने हो भने बेलायतमा जहिलेदेखि सभ्यताको शुरुवात भयो त्यहि समय देखि यहाँँ अविच्छिन्न रुपमा राजतन्त्र चलिरहेको छ । तर लेखिएको ईतिहासले भने बेलायतको राजातन्त्र १४ सय वर्ष पुग्न लागेको छ ।

सन ८२७ मा राजा एगबर्टले बेलायतको राजागद्दी सम्हाले देखिको समयलाई उत्तर आधुनिक बेलायतको राजतन्त्रात्मक ईतिहासको रुपमा व्याख्या गरिन्छ । त्यो समय, जतिबेला बेलायतमा राजतन्त्र शुरुवात भएको थियो त्यसैको आसपासमा दुनियाँभरका अन्य देशहरुमा उस्तै रुपमा राजतन्त्र चलिरहेको थियो । कतिपय देशहरुमा नयाँँ राजाहरुको उदय हुँदै थियो ।

अहिले त्यस्ता अधिकांश देशहरुमा राजातन्त्रको नामोनिशान समेत छैन । तैपनि बेलायत एउटा यस्तो राष्ट्र हो जहाँँको राजतन्त्र सम्मानित मात्र होइन चर्चित पनि छ । धेरै बेलायतीहरुले राजातन्त्रलाई रुचाएका छन । बेलायती प्रजातन्त्रका खुकुला ढोका भित्र बसेको राजतन्त्र बेलाबेला मर्यादा घेरा बाहिर निस्किएको भनेर विवादमा परे पनि नागरिकहरुको मनमष्तिस्कका नमेटिने गरी बसेको छ । तर अब के होला ?

महारानीको मृत्‍यु पछी स्वभाविक रुपमा केही प्रश्नहरु उठेका छन । किनभने ७० वर्षको उनको कार्यकाललाई विर्सिन बेलायती जनतालाई त्यति सजिलो हुने छैन र उनको कार्यकाल पछी राजा बनेका ७४ वर्षिय छोरा चार्ल्सका केही यस्ता खुकुला पाटाहरु छन जसले मान्छेहरुको मनमा धङ्धङी बनाइरहने छ ।

बेलायती दरवार यहाँँको समाजले चाहे जस्तो खुला छैन । दरवार भित्रका धेरै कुरा बाहिर आउन नदिन हर सम्भव प्रयास भइरहेको हुन्छ । तर पनि ति आइनैरहन्छन । नब्बेको दशक यस्तो समय थियो जतिबेला यहाँँको राजतन्त्र कठिन मोडमा पुगेको थियो । सडकमा हरेक दिन जस्तो जुलुस निस्केका हुन्थे र मान्छेहरुले राजतन्त्र अन्त्यको नारा लगाइरहेका हुन्थे । धेरै नागरिकहरुलाई लाग्दथ्यो, हामीले तिरेको करले पालिएको राजदरवार आर्थिक पारदर्शीतामा निकै कमजोर छ । त्यतिबेला यो लहरलाई मत्थर पार्न दरवारले निकै मेहनत गर्नु पर्‍यो ।

शेफिल्ड युनिभर्शिटी राजनीतिशास्त्रका प्राध्यापक स्टिभ वाग्नर भन्छन- “त्यतिबेला एलिजावेथको सुझबुझले धन्न महोल साम्य भयो । धेरैले राजातन्त्र अन्त्य हुनसक्ने अड्कल काटेका थिए । दरवारका सामान्य परिवर्तन पछी राजतन्त्र विरुद्दको अभियान केहि मत्थर भयो । बेलायती समाज जति खुला र उदार जस्तो मानिन्छ खासमा यहाँँको शाही परिवार न त खुला नै छ, न उदार देखिन्छ । दरवार भित्र दर्जनौं यस्ता किस्साहरु छन जुन यथार्थ त हुन तर रहस्यकै कुनामा थन्किएका छन । दरवार कि बुहारी डायनाको विन्दास र स्वच्छन्द चरित्र सार्वजनिक भएपछी त्यहाँका केहि रहस्यहरु बाहिरिए जो सोचिएको राजतन्त्र भन्दा फरक थिए । उनको मृत्‍युले नराम्रो सँग हल्लिएको राजतन्त्रलाई दिवंगत रानीले कुशलतापुर्वक सम्हाल्न सकिन । अझै पनि धेरैलाई लाग्छ डायनाको मृत्‍युमा कतै न कतै दरवारको हात रहेको छ ।

वाग्नर भन्छन- “रानी नरहेको अवस्थामा पक्कै पनि यो विषय फेरि पनि छचल्किने छ । अब नयाँँ राजाले कसरी यसलाई फेरिन्मत्थर पार्न सक्छन त्यो उनको कुशलतामा भर पर्दछ ।

नयाँँ राजा चार्ल्स केही फरक र विन्दास स्वभावका छन । डायनासँग विवाहका बाबजुद चार्ल्स क्यामेलियासँग रोमान्समा थिए । डायनासँगको सम्बन्ध विच्छेद र क्यामेलियासँग विवाह गरेपछी अलिकती उनको सार्वजनिक जीवन फेरिएको थियो । तर डायनाले दरवारको बारेमा गरेका खुलासाले त्यहाँको मर्यादित ईतिहासलाई बेला बेला झक्झक्याइरहन्छ । यसकारण पनि उनी बेलाबेला विवादको कठघरामा आइरहन्छन । उनले आमाको कार्यकुशलताको सिको गर्ने कुरामा धेरैको शंका छ । किनभने विन्दास स्वभावका चार्ल्स पटक पटक विवादमा तानिंदैआएका छन् ।

चार्ल्स आवद्द एउटा परोपकारी संस्थाले लिएको चन्दाका बारेमा चर्किएको पछिल्लो विवाद अझैसम्म मत्थर भएको छैन । गत जुलाईमा बेलायतबाट प्रकाशित हुने सण्डे टाइम्सले तत्कालिन प्रिंन्स चार्ल्स आवद्द रहेको परोपकारी संस्था प्रिंन्स अफ वेल्सको खातामा करिव १० लाख पाउण्ड आएको कुरा सार्वजनिक गरेको थियो । परोपकारी संस्थामा चन्दा आउनु त्यति ठूलो कुरा भएन । तर त्यो चन्दा कहाँबाट आएको थियो भन्ने कुरा मह्त्वपूर्ण हुन्छ ।

सन २०१३ मा ओसामा विन लादेनका भाईहरुले त्यो रकम उनी आवद्द संस्थामा दान गरेका थिए । समाचारहरुले त्यसको केही समय अघी प्रिन्स चार्ल र विन लादेनका भाईहरुका विचमा भेटघाट समेत भएको खुलासा गरे । सन २००२ मा न्युयोर्कमा भएको आतंकवादी आक्रमण परेर ६७ जना बेलायती नागरिकहरु मारिएमा थिए । आक्रमण ओसामा विनलादेनको आतंकवादी संगठन अलकायदा गरेको थियो । जहाँं लगभग ३ हजार जीवन समाप्त भएको अनुमान छ । बेलायतीहरुले अन्तरराष्ट्रिय समुदायले आतंकवादी घोषणा गरेको ब्यक्तीको परिवारबाट चन्दा स्विकार गर्नु नाजायज मात्र होइन नागरिकहरुको मानमर्दनको रुपमा हेरेका छन ।

लिड्स शहरका एक जना ब्यवशायी जोसेफ ब्राउन भन्छन- जसले ६७ जना बेलायती नागरिकको ज्यान लियो, त्यस्ता ब्यक्तिको परिवारसँग हाम्रो राजा परिवारका सदस्य आवद्द संस्थाले चन्दा स्विकार गर्नु लज्जाको बिषय हो । तर चार्ल्सको आधिकारिक कार्यालयले भने चन्दाका लागि राजाकुमारले कुनै आग्रह नगरेको जनाएको छ । चार्ल्सले यस अघि पनि कतारका पूर्व प्रधानमन्त्री शेख हमाद विन जसिमासँग तीन पटक गरेर ३० लाख युरो नगद लिएका थिए । चार्ल्स आवद्द संस्थामा चन्दा दिने प्राय: ब्यक्तिहरु खाडी मुलुकका छन । धेरै बेलायतीहरुलाई के लाग्छ भने विशुद्द सेवाभावले ति चन्दाहरु पक्कै पनि आएका होइनन र त्यहाँ कुनै न कुनै आग्रह जिवित रहिरहन्छ । नागरिकहरुको विरोध र असन्तुश्टी पछी महानगर प्रहरीले चार्ल आवद्द संस्थामा आउने चन्दाका बारेमा अनुसन्धान गरिरहेको छ । तर यि यस्तो अवस्थामा भएका थिए जतिबेला राष्ट्र प्रमुखको रुपमा रानी थिइन र उनले निकै कौशलतापूर्वक दरवार तर्फ सोझिएका आरोपहरुलाई सामना गर्दथिन । तर अब त्यस्ता आरोप र गुनासाहरुको सम्बोधन चार्ल्स आफैंले गर्नु पर्दछ जब कि आधा दर्जन भन्दा बढी आरोप र गुनासाहरुका उनी नै पहिलो पात्र हुन ।

यति मात्रै होइन, उनकी आमाले थामथुमा पारेर राखेका पारिवारिक मुद्दाहरु केही यस्ता छन जुन चार्ल्सले आफ्नै उमेरमा सुल्झाउनुपर्ने छ । खास गरेर कान्छा छोरा ह्यारी र बुहारी मेघानको विवाहले छेडिएको विवाद र यौन दुर्व्यवहारको आरोप लागेका भाइ एन्ड्रुसँगको अप्रिय सम्बन्धका बारेमा राजाले चाल्ने कदमप्रती हरेक बेलायतीका नजर छन । मुख्य रुपमा दरवार आर्थिक पारदर्शिताका कुराहरु अहिले मात्र होइन केहि दशक देखि उठ्दै आइरहेको विषय हो । रानीको ओजन भब्य हुँदाहुँदै पनि यि र यस्ता विषय सतहमा देखिए । चार्ल्सले राजकुमार छँदा जे गरे वा जस्तो जीवन बाँचे, त्यसरी बाँच्ने र त्यही अनुरुपका क्रियाकलाप गर्ने छुट अब उनलाई हुने छैन । उनी निकै पारदर्शी हुनुपर्ने छ र दरवारलाई जनता सँग जोड्ने पहल गरिरहनु पर्ने छ ।

तपाइँको प्रतिक्रिया