बिहीबार, वैशाख १३, २०८१

‘एनआरएनए आईसिसिको बर्खास्तपत्र अवैधानिक, ३९ हजार पाउण्ड ढाकछोपको प्रपञ्च’ एनआरएनए युके

नेपालप्लस संवाददाता / बेलायत२०७९ भदौ २९ गते ११:११

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगरलाई गरिएको बर्खास्त पुरै अवैधानिक भन्दै एनआरएनए युकेले खेद ब्यक्त गरेको छ ।

मंगलवार (१३ सेप्टेम्बर) मा गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदले एनआरएनए युके अध्यक्ष गाहामगरलाई बर्खास्त गरेको पत्र सार्वजनिक गरिएको थियो ।

तर पत्र आफैंमा अवैधानिक भएको एनआरएनए युकेका प्रवक्ता भरतमणी चोङवाङद्वारा आज बुधवारजारि बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्ती अनुसार मंगलवार साँझ एनआरएन युके राष्ट्रिय समन्वय समितिको भर्चुवल बैठक बसेको थियो । सोहि बैठकले गाहामगरलाई बर्खास्त गर्ने निर्णयलाई खारेज गरेको हो ।

गाहामगरलाई बर्खास्त गरिएको भन्ने एनआरएनए आईसिसिको पत्रमा एनआरएन युकेको कार्यसमितिको बहुमतले अध्यक्ष माथि अविश्वासको प्रस्ताव राखि पदमुक्त गर्न केन्द्रमा सिफारिस पठाएको उल्लेख थियो । तर त्यसलाई एनआरएनए युकेद्वारा जारि बिज्ञप्तीले खण्डन गरेको छ । उक्त पत्रनै अवैधानिक भएको भन्दै एनआरएनए युकेले बिभिन्न कारणसमेत खुलाएको छ ।

संवन्धित : एनआरएनए युकेका अध्यक्ष गाहामगरमाथि बहुमतद्वारा कारवाहि, केन्द्रद्वारा अनुमोदन (पत्रसहित)

बिज्ञप्ती अनुसार केन्द्रको पत्र अवैधानिक हुनुमा पहिलो कारण एनआरएन युकेको विधानमा अध्यक्ष माथि अविश्वासको प्रस्ताव गर्ने ब्यवस्था र परिकल्पना नै गरिएको छैन ।

अविश्वासको प्रस्ताव गर्ने भनिएका ब्यक्तिहरुनै अध्यक्षकै पक्षमा रहेको, केहिको नक्कली हस्ताक्षर गरिएको र बहुमत देखाउन मताधिकार नभएका राज्य समितिको केही पदाधिकारीहरुको समेत नाम राखेर बहुमतको झुठो हवाला दिएका छन् ।

त्यस्तै, एनआरएन युके स्थानिय कानुन अनुसार परोपकारी संस्थाका रुपमा दर्ता भईसकेको संस्था भएकाले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदले युकेको परोपकारि कुनैपनि संस्था र त्यसको ब्यक्तिलाई पदमुक्त गर्न सक्दैन ।

युकेको परोपकारि संस्था एनआरएन युकेको खाताबाट हराएको ३९ हजार पाउण्डको खोजविन तथा स्वतन्त्र छानवीन समितिले काम जारी राखेको बखत छानविनमा असर हुने कुनैपनि काम नगर्न र नगराउन निर्देशन जारी गरिसकेकोले यो पदमुक्तको पत्र लेख्नु अबैधानिक भएको बिज्ञप्तीमार्फत् तर्क गर्दै चेतावनी दिईएको छ “अब यो च्यारिटीको छानविनमा एनआरएन अन्तर्राष्ट्रिय परिषद समेत मुछिएको छ ।”

एनआरएन युकेको वार्षिक क्यालेण्डरमा गत ६ अगष्टको दिन ११ औं साधारण सभा तथा संघसंस्था प्रतिनीधि सभा हुनुभन्दा अघिल्लो हप्ता एनआरएन युकेको ३९ हजार पाउण्ड अध्यक्षलाई जानकारी नगराई कोषाध्यक्ष विष्णु खरेलले बाहिर लगेको गम्भिर आरोपसमेत लगाइएको छ ।

सो रकम बाहिर लगेको कुरालाई ढाकछोप गर्न साधारण सभा तथा संघसंस्था प्रतिनीधी सभामा सहभागी नहुनुलाई एनआरएनए युकेले खेदजनक भनेको छ । र यो आईसिसिको पत्र पनि त्यसैको निरन्तरता भएको उल्लेख गरेको छ ।

एनआरएन युके राष्ट्रिय समन्वय परिषदको मंगलवार बसेको बैठकद्वारा आईसिसिले मिडियामा सार्वजानिक गरेको पत्र अवैधानिक भएको भन्दै सर्वसम्मत रुपबाट खारेज गरेको जनाइएको छ । बैठकले अध्यक्ष प्रेम गाहामगरको नेतृत्वमा रहेको एनआरएन युकेको राष्ट्रिय समन्वय परिषद यथावत क्रियाशिल रहेको उल्लेख छ ।

‘एनआरएनए युकेको खाताबाट हराएको ३९ हजार पाउण्ड ढाकछोप गर्नैका लागि पदमुक्तको अवैधानिक पत्र लेखेर वातावरण धमिल्याउने कोसिस गरिएको हो ?’ भन्ने प्रश्नसमेत बिज्ञप्तीमा गरिएको छ ।

तपाइँको प्रतिक्रिया