बिहीबार, असोज २०, २०७९

पटाक्षेप

ईशा शाह२०७९ असोज २ गते ४:४८

(अघिल्लो अर्थात् दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

ईशा शाह

अविजित बिउँझिएर झ्यालतिर हेरे । बाहिर अंँध्यारै थियो । त्यसैले हात लम्काएर टेबलमा रहेको मोवाईल समाउन खोजे । मोवाईल टेबलबाट तल खस्यो । मोबाईल खस्दाको आवाजले प्रमदा बिउँझिईन् ।

“के भयो ?” प्रमदाले बत्ति बाल्दै सोधिन् ।
“कति बज्यो भनेर हेर्न खोजेको मोवाईल टेबलबाट खस्यो ।” अविजितले भूईंबाट मोवाईल उठाउँदै भने ।

“फूट्यो होला !” प्रमदाले भनिन् ।
“हेर न बोलेको ! तिमी हिजोआज बिचार नगरी जेपनि बोल्ने भएकी छौ । तिम्रो यही बानीले हिजो परिवेश कति रिसायो ?”
“मैले के नराम्रो भनें र ?”
“कुरा राम्रो नराम्रोको होईन, हुर्किएर आफ्नै खुट्टामा उभिईसकेको छोरोले के कुरा सही र के गलत भन्ने छुट्ट्याउन सक्छ भन्ने बिर्सिएर ….. ! त्यो पनि मान्छे आएको बेला !” अविजितले सिरानीलाई भित्तामा ठड्याएर अढेस लगाउँदै भने ।

“अनि त्यसो भए पिउनु राम्रो कुरा हो, होईन त ? हुँदा हुँदा त्यो नातीलाई पनि पिउन सिकाएर …… !”
“प्रमदा पिउनु नराम्रो पनि होईन, थोरै पिउनु । त्यो पनि कहिलेकाँही ठिकै हुन्छ । अब कुरा रह्यो नातीको । उसलाई हामीले पिउ र नपिउ भन्दा उसले कतिचोटी के भन्यो सुनेकै छौ । त्यसैले औषधीमा सामान्यतः अल्कोहल भईहाल्छ त्यहि सोचेर हामीले …….. !”

“व्यक्ति पिच्छे मुख गाड्छ ।”
“फुर्केको जो छ, अनि तिम्री बुहारीले अर्को पाउँदिन रे !” सन्दर्भ परिवर्तन गर्न खोज्दै अविजितले सोधे ।
“खोई ? भनेको हो, यस्तो महँगीमा कसरी पाल्नु भन्छन् ।”
“हामी छौं भनेनौ ?”
“मैले भनिनँ होला त ? हजुर पनि ! लौ पानी पिउनु होस्” भन्दै प्रमदाले थर्मसको पानी गिलासमा खन्याएर गिलास अविजिततिर बढाउँदै भनिन् ।

“उठ्ने बेला भईसक्यो ?”
“ बुहारीको कक्षा छ, यसो तातो केही बनाएर दिए खाएर जान्छे, नत्र उसै गएको हुन्छ ! भोको पेटले पढाउन गाह्रो हुन्छ त्यसैले ……!”
“जति गरे पनि देख्ने होईन, हिजो परिवेशले कसरी भन्यो ?”
“भन्दा बुहारीले हकारेको पनि त सुन्नु भयो होला नि !”
“हो र ? म त तिमी दुई कराएको मात्रै सुनें ।”
“हजुरको त दिमागमै म नजाती भन्ने छ अनि कताबाट अरु कराएको सुन्नु हुन्थ्यो त ?”
“पैंतीस वर्ष भयो झेलेको तब किन अरुको कुरा सुन्थें म ?” अविजितले पानी पिएर गिलास प्रमदाको हातमा थमाउँदै भने । प्रमदाले थर्मसमा बाँकी रहेको पानी गिलासमा खन्याएर पिउँदै भनिन्, “हजुर मर्निंग वाक जाने होईन ?”
“जाउँला नि के बितेको छ र भन्या ? भर्खर पाँच बज्दैछ ।”
“साढे पाँच बजे स्वाती हिंड्छे त्यसैले म त …… “भन्दै प्रमदा उठेर बाथरूम भित्र पसिन् ।

अविजित मोवाईल चलाईरहेका थिए । प्रमदाले बाथरूमबाट निस्किएर लुगा फेरिन् र कोठाबाट बाहिर निस्किन खोजिन् ।
“एक कप कफी मलाई पनि है !” कोठाबाट निस्किंदै गरेको प्रमदालाई हेर्दै अविजितले भने ।
“दुध कफी होला, हुन्न बिहानै पिउन” भन्दै प्रमदा कोठाबाट निस्किईन् ।
“कालै भए पनि हुन्छ” अविजितले कराउँदै भने । प्रमदाले जवाफ दिईनन् ।
उनी मोवाईल चलाउँदै थिईन् परिमित दौडिंदै कोठा भित्र पस्यो ।
“लौ किन के भयो ?”
“एक्लै भएँ” सिरक भित्र पस्दै परिमितले भन्यो ।
“अनि बाबा !”
“म त सानो बिस्तारामा रहेछु, हिजो म ठूलो बिस्तारामा सुतेको आज उठ्दा कसरी सानोमा पुगें बुवा ?”
“खोई ?” अविजितले हाँस्दै भने ।
“आ इतवार पनि त्यस्तै भएको थियो ।”
“त्यस्तो हुने भएपछि तिमी आफ्नै बिछ्यौनामा सुत न त ।”
“सुत्छु भन्यो बिर्सीहाल्छु अनि बिहान उठ्दा अर्कै बिस्तारामा हुन्छु ।”

“सू गरेर आएको हो कि के तिमी ?” परिमितको कुरा वास्ता नगरेर अविजितले सोधे ।
“हो, आमाले हल्ला गरेको सुनें । त्यही भएर उठें, सू गरेर यता आएको ।”
“बाबा थिएन कोठामा ?”
“हुनुहुन्थ्यो, उहाँ जिम जाने सामान मिलाउँदै हुनुहुन्थ्यो, म बिस्तारै उठेर ट्वाईलेट गएर यता आएँ ।”
“भनेपछि बाबाले थाहा पाएन ।”
“अहँ थाहा पाउनु भएन, हजुर सुत्नु न बुवा एकछिन ! म हजुरसँग सुत्न भनेर आएको ।”
“अब सुत्दा त मार्छिन् तिम्री आमाले, तिमी सुत” अविजितले भने ।

“हजुर आमासँग किन डराउनु हुन्छ बुवा ?”
“तिम्री आमा त्यस्तै छिन्, उनीसँग म मात्रै होईन हामी सबै डराउँछौं ।”
“ म त डराउँदिनँ” भन्दै परिमित अविजितसँगै आएर उनको मोवाईल हेर्न थाल्यो ।
“अँ अब नाति बाजे मोवाईल हेरेर पक्का बिग्रिने भए । लौ कफी लिनुहोस्” प्रमदाले भनिन् ।

“एकैछिन हो, त्यसपछि त हामी आफ्नो काममा लागिहाल्छौं नि !” अविजितले प्रमदाको हातको कप समाउँदै भने ।
“आमा मलाई पनि दुध ।” परिमितले भन्यो ।
“तिमी एकछिन सुत, म मुमालाई हेरेर आउँछु अनि मात्रै दुध पिउने ।” प्रमदाले भनिन् ।
“सधैं हजुर मुमा र मलाई बैठकमा सँगै राखेर तातो पानी पिउन किन दिनुहुन्छ आमा ?”
“कति बाते भएको यो ? पढ्नु लेख्नु छैन, चाहिने नचाहिने सोधेर दिक्क लगाउने, एकछिन सुत भनेको नमानेर अनेक सोधि बस्ने, जे सोध्ने हो बुवालाई सोध्नु, म गएँ” भन्दै प्रमदा कोठाबाट हिंडिन् ।
“कस्तो के आमा त !” भन्दै परिमित सिरक भित्र पस्यो ।

क्रमश :

तपाइँको प्रतिक्रिया

फेसबुक