बिहीबार, वैशाख ६, २०८१

ईतिहासमै सबैभन्दा धेरै भ्रष्टाचार र अपराध भएकोमा संझिईने संसद

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असोज ३ गते १७:०४

निकै ठुलो दलिय संघर्ष, सत्ता भोगका अनगिन्ती चर्तिकला र विभिन्न मुद्दाहरुमा ईतिहास रच्दै प्रतिनिधिसभाको बैठक सकिएको छ । नेपाली जनताले विगत तीन दशक देखि संसदको बैठक र समापन धेरै पटक देख्दै र सुन्दै आएका छन । त्यसैले वर्तमान संसदको बैठक समाप्तीसँग खासै कुनै सरोकार छैन । किनभने देशको संसद र जनताको प्रतिनिधित्व गर्छौं भनेर देशका कुना कुनाबाट राजधानी पुगेका सांसदहरुले राष्ट्र र जनताका लागि कुनै उपलब्धिमुलक काम गरेको भए यो संसदको समापन सम्झना लायक हुने थियो । त्यस्तो केही भएन ।

केपी ओलीका चर्का राष्ट्रवादी भाषण, देशभरी रेल, पानी जहाज र जनताका घर घरमा ग्यासको पाइप लाइनसँग शुरु भएको संसद थकित, गलित र नेपाली राजनीतिमा पटक पटका स्खलित भएका शेरबहादुर देउवाको भाषणमा पुगेर समापन भएको छ । यो विचमा न त केपी ओलीका पानी जहाज नेपालका खोलामा दुगुर्न सके न चिनबाट सामान ढुवानी गरेका मालवहाक रेलहरु काठमाडौंमा रोकिन सके । बरु नेपाली जनताले आशा ओलीकै चर्का कुरामा गरेका थिए । बैमानले बन्चरो बोक्नुहुन्न भन्ने गाउँले उखानलाई चरितार्थ गर्दै उनले आफ्नै खुट्टा गिंडे ।

शेरबहादुर देउवासँग जनताका कुनै अपेक्षानै थिएनन । उनी हुनु र नहुनुमा नेपाली जनतालाई कुनै फरक परेको थिएन र देउवाको यो पछील्लो कार्यकाल पनि परेन । दुनियाँलाई थाहा थियो, देउवाले देश र जनतालाई दिनसक्ने कुरा केहिछैन । उनी विचारविहिन र शुन्य मानशिकता बोकेर प्रधानमन्त्री बनेका थिए । एक प्रकारले भन्नु पर्दा उनी प्रधानमन्त्री बन्नैका लागि मात्र प्रधानमन्त्री बनेका थिए । त्यसकारण उनले जे जति गरे आफ्नो लागि गरे । नेपाली जनताले सम्झिनु पर्ने केहि गरेनन । निकै आशा गरिएको यो पाँच वर्ष त्यत्तिकै खेर गयो । खास गरेर नेपाली जनताका सामान्य भन्दा पनि सामान्य समस्यालाई यो संसदले कुनै पनि रुपमा सम्बोधन गर्न सकेन ।

संसद बैठकको समापन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको पूर्ण कार्यकालका लागि भएका पहललाई इतिहासले पक्कै स्मरण गर्ने बताएका छन । मुख्य कुरा यहि नै हो, देश र जनताको उन्नतीका लागि संसदमा पुगेकाहरुले प्रतिनिधी सभाको पूर्ण कार्यकालका लागि मात्र खिचातानी गरे ।

विश्वभर फैलिएको महामारी, देशमा बढेको महँगी र उर्लंदो गरिविलाई सम्बोधन गर्न न त सरकारले कुनै पहल गर्‍यो न संसदले निती नियम बनाउन सक्यो । बितेको पाँच वर्षलाई पछाडि फर्केर हेर्ने हो भने के देखिन्छ ? देश र जनताका लागि के उपहार दिएर गयो । केही छैन । धेरै समय संसद मात्र होइन पुरै देश नेपाल कम्युनिष्ट पार्टीको झगडामा रुमल्लियो । पछी एमालेको झगडामा । च्याँखे थापेर बसेका शेरबहादुर देउवाहरुले उस्तै तरिकाले आफ्नो चरित्र देखाए । राष्ट्रपती विद्यादेवी भण्डारीको दोहोरो चरित्र फेरिएन । आफ्नो मुल पार्टी नेपाल कम्युनिष्ट पार्टी एमाले प्रती उनी सधैंभरी बफादार रहिरहिन । ओली सरकारले पठाएको उस्तै प्रकृतिको नागरिकता विधेयक सम्बन्धी अध्यादेशलाई चार घण्टामै लाल मोहर लगाउने भण्डारीले संसदको दुबै सदनले पास गरेर पठाएको त्यही बिधेयक फिर्ता पठाउनु उदेक लाग्दो थियो । भण्डारीले नागरिकता विधेयकमा रहेका असमान धाराका कारणले मात्र विधेयक फिर्ता पठाएको भए उनीप्रती नेपाली जनताको सम्मान जाग्ने थियो । तर ओली सरकारले पठाएको त्यही प्रकृतिको अध्यादेशमा मोहर लगाउने र अर्को सरकारले पठाएको चाहिं फिर्ता पठाइदिने कुरा निकै पुर्वाग्रही थियो ।

गणतान्त्रिक राष्ट्रको दोस्रो र देशको पहिलो महिला राष्ट्रपती बनेकी उनले पनि सम्झिनलायक त्यस्तो काम केहि गरिनन । आगामी मंशिर चार गते प्रतिनिधि सभाको निर्वाचन पश्चात उनको पनि कार्यकाल समाप्त हुँदै छ । त्यसैले राष्ट्रपती भण्डारीलाई पहिलो महिला राष्ट्रपती भन्नु बाहेक अन्य कारणले सम्झिनुपर्ने तस्वीर उनले बनाउन सकिनन । जे होस, पाँच वर्षको आफ्नो पदावधीलाई संसदको यो अन्तिम बैठकले पूर्णविराम लगायो । जनताले स्मरण गर्न लायक केही नभएको भए पनि नेताहरुले भने यो कार्यकाललाई पटक पटक सम्झिने छन । किनभने देशको अर्थतन्त्रमा सबैभन्दा बढी खैलाबैला मच्चिएको यही कार्यकालमा हो । जनताको करमा उनीहरुले संसदको भत्ता, सेवा र सुविधा बिलम्ब नगरिकनै लिए । नेपाली ईतिहासमै संसदको यही कार्यकाल यस्तो कार्यकाल हो जहाँँ सबैभन्दा धेरै भ्रष्टाचार भएको छ । आयल निगमको जग्गा काण्ड, नेपाल वायुसेवा निगमको जहाज खरिद काण्ड, केपी ओली सरकारले आफ्ना कार्यकर्तालाई दानमा दिएको भनिएको गोकर्ण रिसोर्टको जग्गा काण्ड, सेक्युरिटी प्रेस खरिद प्रकारणमा गोकुल बास्कोटाको ७० करोडको घुस काण्ड, कोरोना सम्वन्धि स्वास्थ्य सामाग्री खरिदमा भएको लुटपाट ।

त्यसो त, शेरबहादुर देउवाको यो डेढ वर्षे कार्यकालमा भन्दा केपी ओलीको कार्यकालमा देशभरी भयंकर लुटपाट मच्चियो । तर प्रतिपक्षमा बसेर विरोध गर्नुको साटो शेर बहादुर देउवाले भाग खोजे र ओली सरकारसँग वार्गेनिङ गरिरहे । देशको अवस्था अहिले जस्तो दुरुह बनेर कहिल्यै पनि देखिएको थिएन ।

गिरिजा प्रसादले पनि भ्रष्टाचार त गरे तर उनलाई आवश्यकपर्नेजती मात्र । अहिलेको यो संसदिय कार्यकालमा जस्तो देशको ढुकुटिमा कुचो लगाएनन् । यो कार्यकालमा देउवा र ओलीको जोडी मिलेको देखियो । सरकार र प्रतिपक्षमा जो जो बसेको भए पनि पैसा सोहोर्ने मामिलामा दुबै जना एक ठाउँमा बसे र तैँ चुप, मै चुप गरे। त्यसैले संसदको यो कार्यकाल जनताले संझिन लायक त्यस्तो केहि राम्रो काम गरेर टुङ्गिएको होइन । बरु धेरै हदसम्म यो कार्यकाल बिर्सिन लायक छ । ईतिहासमा पनि नलेखिए हुने कार्यकाल ।

तै पनि एउटा मामिलामा भने यो कार्यकाल सम्झिइरहने छ । किनभने वितेको पाँच वर्ष संसदमा रहेका धेरै नेताहरु अबको संसदिय निर्वाचन पछि फेरि यहि ठाउँँमा देखिने छैनन । देउवा, ओली, प्रचन्ड लगायतका नेताहरुले गरेको भ्रष्टाचारको एक एक हिसाब जनताले खोज्ने छन ।

अबको चुनाव पहिलेको जस्तो हुने छैन । ठूला पार्टीहरु र ठूला नेता भनिएकाहरुको असली औकात यो चुनावमा देखिने छ । काठमाडौं महानगर प्रमुख वालेन्द्र शाहले स्वतन्त्र हुँदाको असली स्वतन्त्रता देखाएका छन । यसले मतदातालाई मानशिक दवाव परेको कुरा आगामी निर्वाचनले भन्ने छ । जहाँँ देउवा, नेपाल, ओली र दहाल विहिन संसद हुने छ । किनभने बहुदल, प्रजातन्त्र र गणतन्त्र मिलेर ३० वर्षमा गर्न नसकेको काम स्वतन्त्र प्रमुख वालेन शाहले शुरुवात गरेका छन । उनी प्रतिको आकर्षण अब धेरै वर्ष जनतामा रहिरहने छ । यो संसद फोहोर सफा हुनुपूर्वको ससंद भनेर सम्झिने छ । अथवा ईतिहासमै धेरै अपराध र सबैभन्दा धेरै भ्रष्टाचार हुने संसदको रुपमा सम्झिने छ । तर अब कहिल्यै यस्तो नहोस, अबको चुनावले फोहोर उत्पादन गर्ने हरेक धमिराहरुलाई बढार्न सकोस । ओली, नेपाल, दाहाल र देउवाहरुलाई नेपालीको श्राप लागोस । अहिले संसद कहिल्यै स्मरण गर्न नपरोस ।

तपाइँको प्रतिक्रिया

फेसबुक