मंगलबार, वैशाख ४, २०८१

नेपालका सम्पदा फिरन्ते राउटे

हरि थापा२०७९ असोज ५ गते १२:१३

गत साता राउटेहरु प्रधानमन्त्रीलाई भेट्न भनेर काठमाडौं आएछन् । बसपार्क ओर्ले पछि फोन गरे । हाम्रै कार्यालयमा बस्ने बन्दोवस्त मिलाएँ । सविन, कृष्णओम, अर्जुन, अवस र रिक्कीले राम्रो हेरचाह गरे । चिडियाखाना, पशुपतिनाथ र अन्य ठाउँ घुमे । आइसफल प्रोडक्सनका रामकृष्ण पोखरेल र भीम थापाले काठमाडौंमा घुम्न गाडी उपलब्ध गराइदिनु भयो । टान र एनएमएका पदाधिकारीसंग भेटघाट मिलाइदिनु भयो । नेपाल मानवतावादी समाज गृहिणी सरोकार समूहका पदाधिकारीहरुको टोली हाम्रै कार्यालयमा आएर राउटेहरुलाई सहयोग र हौसला दिए । राउटेहरु कान्तिपुर पब्लिकेशन, तिनकुने पुगे । समाचार संयोजक हरिबहादुर थापाले उनीहरुको स्वागत गरे । उपसम्पादक सुरज कुँवरले स्टोरी तयार परे । सुरज कुँवरले उनीहरु आएदेखि नै समाचार दिन थाले । राउटेहरुलाई छाडेनन् । एलआरआई स्कूलमा उनैले विद्यार्थी र स्कूल परिवारसंग भेटघाट र अन्तक्र्रियाका लागि समय मिलाए । त्यहाँ पनि रमाइलो भयो ।

नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीले मृदुला कोइराला मार्फत् प्रधानमन्त्रीसंग भेट्ने समय मिलाइदिनु भयो । मृदुला कोइरालाले राउटेहरुलाई राम्ररी खाजा र चियाको प्रबन्ध गर्नुभयो । मृदुलाले प्रधानमन्त्री कोइराला अत्यन्तै व्यस्त रहनु भएको समयमा पनि प्रधानमन्त्री निवासको क्याबिनेट बैठक हलमा भेटघाटको प्रबन्ध गरिदिनुभयो ।

प्रधानमन्त्रीसँगको भेट अत्यन्तै प्रभावकारी भयो । प्रधानमन्त्रीले के कति कसरी सहयोग गर्ने भन्नुभयो । मोहन ज्ञवालीले ४० परिवारलाई कम्तिमा १०–१० हजार भए राम्रो दशैं हुने सुझाउनुभयो । प्रधानमन्त्री निवासमै रहनुभएका अर्थमन्त्रीले मुख्यसचिव लीलामणि पौडेललाई फोन गरेर राउटेलाई सहयोग गर्न भन्नुभयो । अन्ततः सरकारले क्याबिनेट मार्फत निर्णय गरेर राउटेहरुलाई ४ लाख रुपैयाँ सहयोग गरेको खबर आएको छ । सुनेर खुशी लाग्यो ।

(२१ सेप्टेम्बर २०१४ मा लेखिएको थापाको फेसबुकबाट)

तपाइँको प्रतिक्रिया