शुक्रबार, वैशाख १४, २०८१

मन्दीको कारण ३७ वर्षमा पाउण्ड स्टर्लिङ् सबैभन्दा न्यून स्तरमा

नेपालप्लस संवाददाता / बेलायत२०७९ असोज ७ गते २३:१२

मुद्रास्फीति र मन्दीको त्रासका बीच अमेरिकी डलरको तुलनामा यूके पाउण्ड दशकयताकै न्यून स्तरमा झरेको छ । सरकारले आर्थिक वृद्धिदर बढाउने दाबी गर्दै कर कटौतीको कडा योजना सार्वजनिक गरेको छ ।

पाउन्ड स्टर्लिङ् २ प्रतिशतले घटेको हो । यसको अर्थ एक पाउण्ड बराबर अमेरिकी डलर १ दशमलव १०४२ अनुपातमा कम भएको हो ।

बेलायत सरकारले ऐतिहासिक कर कटौती र ऋणमा भारी वृद्धिको घोषणा गरेपछि ३७ वर्षमा सबैभन्दा कमजोर बनेको शुक्रबार सार्वजनिक भएको हो । यस अघि सन् १९८५ मा पाउण्ड स्टर्लिङ सबैभन्दा कमजोर बनेको थियो ।

स्टर्लिङ्ग पाउण्ड पहिले नै व्यापक मुद्रास्फीति, कोभिड महामारी र ब्रेक्जिट पछिको प्रभावबाट पीडित भएको छ । यसका कारण केही ठूला व्यापारीहरूले सरकारको योजनालाई ब्यापक आलोचना गरेका छन् ।

रुस-युक्रेन युद्धको कारणले गर्दा भएको मुद्रास्फीतिले विश्वभरका अर्थतन्त्रहरूलाई खतरामा पारेको छ । व्यापारीहरू बेलायतको आर्थिक दृष्टिकोणको बारेमा बढी चिन्तित देखिन्छन् किनभने बेलायती मुद्रा खस्कँदै गैरहेको छ ।

बढ्दो मुद्रास्फीति र जीवनयापनको लागतमा देखा परेको संकटले नयाँ स्थापित बेलायती प्रधानमन्त्री लिज ट्रसको सरकारलाई नयाँ चुनौती खडा गरेको छ ।

हाल बेलायतमा मुद्रास्फीति लगभग ९ दशमलव ९ प्रतिशत छ । यो सन् १९८० को दशक पछि उच्चतम स्तर छ । अर्को महिना ११ प्रतिशतमा वृद्धि हुने भविष्यवाणी गरिएको छ।

पाउन्ड यूरोको बिरूद्धमापनि खस्किएको छ । शुक्रवार बिहान १ दशमलव १४ युरोबाट १ दशमलव १३ मा झरेको छ ।

बैंक अफ इङ्गल्याण्डले ५० न्युनतम बिन्दुले ब्याजदर बढाएको एक दिनपछि दुवै मुद्राको विरुद्ध स्टर्लिङको गिरावट आएको हो ।

तपाइँको प्रतिक्रिया