शनिबार, मंसिर १०, २०७९

पटाक्षेप

ईशा शाह२०७९ असोज ८ गते ४:०१

(अघिल्लो अर्थात् तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

ईशा शाह

“म त आजितै भएँ, एउटी भएकी बुहारी पनि जागिर खान हिंडिहाली । सग्ला मान्छे तिनैजना एउटा एउटा बहानामा घरबाट निस्किए । अब घर बाँकी रह्यौं बुढी भएकी सासु, म र बालक नाती ! थुपुक्क बसेर पढे, भनेको माने पनि यति धेरै टाउको दुखाई त हुन्थेन नि ! त्यो पनि होईन । काम गर्ने बेलैमा आए पनि यति धामा हुने थिएन त्यो पनि आउँदिन, म त ……. ! अहिले बेलैमा भात पाकेन भने रिसाएर जात्रा हुन्छ । होईन यो पुरुषको मन किन यस्तो भएको होला ? साह्रो गाह्रो बुझ्न पर्दैन भन्या ? हेर है नाती मैले प्रमेशको सामान नचलाउनु भनेको छु, अहिले आएर केही भन्यो भने म त परिमित पसेको थियो कोठामा भनि दिन्छु । अनि काकाले उखेलोस् कान” प्रमदाले भनिन् ।

“काकाले हेर्न हुन्छ भन्नु भएको छ” परिमितले प्रमेशको कोठाबाट निस्किंदै भन्यो ।
“खुब भन्यो, अहिले स्कुल जाने बेलामा काकाले पिटेर कोकोहोलो मच्यायौ भने म पनि थप्पु लगाउँछु” प्रमदाले भनिन् ।
“लगाउनुहुन्छ थप्पु, हजुरको हात त थररर काम्छ रे !”
“कसले भन्या ?”
“बुवाले !” भन्दै परिमित डाईनिंग टेबल माथि चढ्यो ।

“उहाँ त जे पनि भन्नु हुन्छ ।”
“अँ होला !”
“हो भन्या !”
“आमा, मम्मी आउनु भयो” झ्यालमा बाहिर हेर्दैगरेको परिमितले भन्यो ।
“के भन्छ यो ? अब त हुँदा हुँदा नभएको कुरा पनि गर्न थाल्यो । कहाँ आउँछे तेरी मामु अहिल्यै ?” भन्दै प्रमदा कराउँदै थिईन् । स्वाती कोठा भित्र पसिन् ।

“लौ के हो ? आज त जानै नपाई फर्कियौ, सन्चो भएन कि के हो ?” स्वाती नजिकै आउँदै प्रमदाले सोधिन् ।
“होईन मुमा सुमित्रा दिदीको छोरीले आत्माहत्या गरिछ, रुँदै फोन गरेकी थिईन्, सुनेर मेरो हातखुट्टा सेलायो, त्यसैले म त फर्किएँ ।”
“अनि स्कुटर ?”
“यहाँ आफूलाई कति पिर परेको छ, हजुर स्कुटर भन्नुहुन्छ ! मेरो त के तागत थियो र हजुरको छोरोलाई बोलाएर फर्किएको !”
“अनि खोई त परिवेश ?”
“बुवालाई लिएर जानुभयो ।”
“कहाँ ?”
“खोई कहाँ हो ? मेरो त दिमागले कामै गरेको छैन, बिचरी सुमित्रा दिदीको हालत के होला ? म त …..!” भन्दै स्वाती रोईन् ।

“होईन के परेछ त्यसलाई र मर्नु परेछ ?” प्रमदाले भनिन् ।
“खोई ? अस्ति यहाँ आउँदा कस्तो कस्तो कुरा गर्दै थिई, अल्लारे केटी सोचेर मैले उत्ती वास्ता गरिनँ, अब अहिले आएर …..!” आँसु पुच्छदै स्वातीले भनिन् ।
“तिमी पनि !”
“मलाई के थाहा यस्तो होला भनेर ?”
“कुरा के रहेछ ?”
“खोई मलाई पनि राम्ररी थाहा भएन, असाध्यै गाह्रो भएको छ, म एकछिन आराम गर्छु अनि कुरा गरौंला !” भन्दै स्वाती आफ्नो कोठातिर रुँदै दौडिईन् ।
“लौन के हो ? घर कोही मान्छे पनि छैन, के अनर्थ आई लाग्यो ? प्रमेश त आईपुग्नुपर्ने हो नि ! जाउ त बाबु बुवालाई फोन गर” प्रमदाले परिमितलाई भनिन् ।
“नाईं हजुर आफैं गर्नुहोस्, मामु रुँदै हुनुहुन्छ म त मामुकहाँ जान्छु” भन्दै परिमित डाइनिंग टेबलबाट ओर्लिएर स्वाती गएतिर दौडियो ।

“हिजोआजका केटाकेटी के हो के ? एकछिन बिथोल्न नगए हुन्थ्यो, अब नानाभाँती कुरा सोधेर दिक्क लगाउने होला” भन्दै परिमितलाई लिन प्रमदा कोठा भित्र पसिन् ।
कोठामा स्वाती सोफामा बसेर रुँदै थिईन् । परिमित उसलाई अचम्म मानेर हेर्दै थियो । प्रमदालाई आफ्नो नजिकै देखेर परिमितले बिस्तारै सोध्यो,
“आमा ठूलो मान्छे पनि रुन्छ र ?”
“रुन्छन् नि ! आउ, हिंड जाउँ, स्कुल जाने बेला भयो ।” प्रमदाले परिमितको हात समातेर तान्दै भनिन् ।
“मम्मी रुँदै हुनुहुन्छ, आज म स्कुल जान्नँ ।” प्रमदाको हातबाट आफ्नो हात छुटाउन खोज्दै परिमितले भन्यो ।
“अँ कहाँ नजाने, तिमी गएनौ भने तिम्री मम्मी झन रुन्छिन् ।“
“हो र ?”
“हो नि ! आउ जाउँ” भन्दै प्रमदाले कोठाबाट तानेर परिमितलाई बाहिर लगिन् । परिमित स्वातीलाई हेर्दै प्रमदासँग लतारिएर भान्छातिर जाँदै थियो । बाटैमा प्रमेश आउँदै थिए ।
“के भयो घरमा ? केको हल्ला हो ? दाजी, बुवा कोही पनि देख्दिनँ” प्रमेशले सोधे ।
“पहिला हात धोएर मुमाको लागि सातु दुधमा फत्काएर राखिदिएको छु, उहाँ भोकाउनु भयो त्यो लगेर तिमीले खुवाउ अनि मात्रै कुरा गरौंला ।”

“किन ? समी आईन ?”
“समी स्वर्ग गई रे !” प्रमदाले प्वाक्क भनिन् ।
“हँ ! के भन्नु भएको हजुरले यस्तो ?”
“खोई तिम्री भाउजू त्यसै भन्छिन्, रोएर बिजोग छ, दाजी र बुवा उतै गएका छन् रे, म यसलाई स्कुल पठाउने बन्दोबस्त गर्छु तिमी गएर ….. !”
“अनि म अफिस नजाउँ ?”
“घर यस्तो बिजोग छ, म एक्लैले कता भ्याउनु भनेर यसो सहयोग गर्नु त कता हो कता यति गर न भन्दा उसैको घुर्क्याई छ । अरु कुरा थाहा छैन मुमा भोकाउनु भयो, खुवाउने काम सकेर तरकारी पकाउ, यसलाई स्कुल बसमा चढाएपछि मात्रै मेरो फूर्सद हुन्छ । बरु लुगा फेराउने काम म नै गरुँला ।”
“अझ तरकारी पनि ……!”
“होईन भने दाल र भात पाकेको छ, अण्डा प्वाट्ट फूटालेर पकाउनु र खानु जानु ।”
“बिहानको खाना पनि …!”
“चौरासी खान मन लागे कस्सिन पर्छ आफैं” भन्दै परिमितलाई डोर्याउँदै भान्छा भित्र पसिन् प्रमदा ।

उनलाई दाँयाबाँया हेर्ने फुर्सद थिएन । त्यसैले परिमितको ब्रसमा मंजन हालेर दाँत मझाउन थालिन् । असमन्जसमा परेको प्रमेश टेबलमा रहेको कचौरा बोकेर हजुरआमाको कोठातिर लागे ।

क्रमश :

तपाइँको प्रतिक्रिया