सोमबार, मंसिर १९, २०७९

किन होला यत्रो स्नेह ?

धनराज गिरी२०७९ असोज १० गते ७:०८

“सर हजुर एकछिन लजमा आउनपर्यो । विशेष मान्छेको खोज, अहिले होप्य !” सौराहाको लजको मालिकको फोन आयो प्रोफेर दयासागर सापकोटा आनन्दलाई ! तुरुन्त निस्कियो बाइकमा आनन्द । जङ्गल सफारी लज बाहिर नै प्रतीक्षामा पत्रकार “शान्तनारायण दीक्षित” ।

“आहा,नमन दाजी !” बोल्यो आनन्द ।

“यहाँ आएपछि आनन्दजीको गीत नसुनी, केही गीत गजल रसपान नगरी गएमा त पिताश्री रिसाउने पक्का ! त्यही भएर सरलाई सरप्राइज!”

“होइन दाजी, यो त घरप्राइज ! घर गएर खीरग्रहण नगरे चीरहरण र योगमाया झोक्किने नि!”

“आनन्द सरको कुरा बुझ्न तीनपटक सोच्नपर्छ, कमलपोखरी मात्र होइन कनकपुरदेखि मदननगर, पदमपुर, अडगड यात्रा भ्याएको मान्छे, हाम्रो लागि त हीरा, मोती, मणि, कुन्द, मुकुन्द सबै नि । माता जगदम्बाको पनि आशीर्वाद छ ।”
—–
“किन होला यति धेरै स्नेह ? मबाट केही त्यस्तो काम भएको त छैन । उही पिताश्री नीरजनारायण आचार्यज्यूसित हार्दिक नाता मात्र हो।” आनन्द सोचमा पर्यो। एक घन्टा वार्ता भयो। गीत गजल सुनायो।

“आनन्द सर, हजुर त यहाँको बादशाह, थाहा भयो, जसले पनि नाम लिने! म क्यानडा पुगेको, त्यहाँ बालकृष्ण ढकाल, त्यति सज्जन र मेधावी पात्र, हजुरकै चेलो, फेरि फ्रान्स, पेरिसमा भीष्म र अनिल विरही, डियर कमरेडको अनुज, त्यो छुरा, त्यो ज्यामिति, वनको वैभव, यो नेपाल, मैले लेखेको नेपाल, त्यो नेपाल, आहा नेपाल, मिस्टर अनुपकान्त पौडेल पनि हजुरकै चेला ! यस्ता यस्ता अर्जुनहरूको द्रोण, आचार्य, मानियो । हाम्रो पिताश्रीको छनौटमा के खोट हुने । आनन्द सर, मोग्याम्बो खुश हुवा !”

“आहा, आज म पनि धरावासी, अमर, नवराज, सबै भएँ। यो स्नेहको “नोबेल प्राइज” हृदयमा राख्नेछु । आशीर्वाद हो यो मेरो लागि । वास्तवमा म केही पनि होइन दाजी, मेरा चेलाचेलीले मिहिनेत गरे । पसिना बगाए, फल खाए । कर्तव्यपालना गरियो । हो, इमानदार बनेको हो । सगर्व भन्छु, म गुरु हूँ। किताबको हिसाब मिलाकै हो। खुशी छु । र, छु सुखी पनि। हजुरहरूको माया र स्नेह अमृत मेरा लागि। यो “कनकहार” जोगाएर राख्नेछु। नौरथामा आउने छु। गजल गाउने छु।

“हार्दिक स्वागत छ आनन्द सरलाई!” बिदा भयो आनन्द । किताब उपहार पायो, अग्नि।

“चेलाहरूको कारणले पनि गुरुले सम्मान पाउनेरहेछ।” अनन्त चेलाचेली र झुवानी सम्झियो।” आज मीन राशीको होइन धनु राशीको राशीफल राम्रो हुनुपर्छ ।” मनमा पेरिस आयो । र, आयो क्यानडा पनि।

“किन होला यत्रो स्नेह ? भनेको त चेलाचेलीको कमाल पो रहेछ ।” घर पुग्यो ।

तपाइँको प्रतिक्रिया