बिहीबार, वैशाख १३, २०८१

एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटाला : उपाध्यक्ष संलग्न भएको आरोप

नेपालप्लस संवाददाता / बेलायत२०७९ असोज १३ गते २२:२६

बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए यूकेको झण्डै ४० हजार पाउण्ड घोटाला भएको र त्यसमा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता रहेको दाबी गरिएको छ ।

उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको साँठगाँठमा अध्यक्ष प्रेम गाहामगरको अनुमति बिना एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका लागि च्यारिटीको पैसा ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स रकम गैर–कानूनी रुपमा रकम झिकेर नेपाल पठाइएको आरोप एनआरएनए युकेले बिहिवार साँझ सार्वजनिक लगाएको हो ।

सामान्यतया उपाध्यक्षलाई संघको आर्थिक लेखाजोखाकोे विषय नभएपनि बर्खास्तमा परेका कोषाध्यक्ष विष्णु खरेलसँगको मिलेमतोमा च्यारिटी संस्थाको पैसा झिकेको पाइएको दाबी संघको छ ।

बैंकबाट झिकिएको भनिएको रकमको बैंक प्रमाण

एनआरएनए केन्द्रमा ५१ को पद भागवण्डा गरेर २ सय २३ पुर्‍याएर दुई तिहाई भन्दा बढीले छ महिना अघि भएको उम्मेदवारी बापत तिर्नुपर्ने झण्डै दुई करोड २८ लाख रुपैयां संस्थालाई नतिरेर आधा भन्दा बढी पदाधिकारी अवैधानिक भएकाले अध्यक्ष प्रेम गाहामगरले केन्द्रमा पैसा पठाउन रोकेको पनि उल्लेख गरिएको छ । गाहामगरले बरु त्यो पैसा बेलायतमा नेपाल हाउस बनाउन सदुपयोग गरौं भन्दा अनुमति विना पैसा जवरजस्ती पठाएको आरोपसमेत एनआरएनए युकेका प्रवक्ता भरतमणी चोङवाङले प्रेशित गरेको प्रेश सामागिमा छ ।

“खड्कामाथि एनआरएनए यूके च्यारिटी कमिशनलाई व्यक्तिगत रुपमा कब्जा गर्न खोज्दै १५ मार्चमा कार्यसमितिको म्यान्डेड बमोजिम सिक्नेचरीबाट नाम नहटाएकोे, संस्थाको सम्पूर्ण कागजातहरु कब्जा लिएको र संस्थाविरुद्ध विभिन्न गतिविधिहरु गरिरहेको आरोप लाग्दै आएका छन्” चोनवाङद्वारा प्रेषित सामाग्रिमा उल्लेख छ ।

च्यारिटी पैसा घोटालामा मुछिएका खड्कालाई वार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिले संस्थाको रकम गैर‐कानूनी रुपमा झिकेको आरोपमा उजुरी परेपछि छानवीनका लागि बोलाएको समेत जनाईएको छ ।

छानवीन समितिले २९ सेप्टेम्बरमा खड्कालाई एनआरएनएको कार्यालयमा उनीमाथि लागेको आरोपमाथि छानवीन गर्न बोलाएको प्रेशित सामाग्रिमा छ । तर छनबिन भयो कि भएन भन्ने चाहिं एनआरएनए युकेले मेडियाहरुलाई पठाएको सूचनामा उल्लेख छैन ।

खड्कामाथि संस्थाको रकम गैर‐कानूनी रुपमा कोषाध्यक्ष विष्णु खरेलसँगको मिलेमतोमा झिकेको, संस्थाकै सम्पूर्ण कागजातहरु बुझाउन ताकेता गर्दा पनि कब्जा गरेको र संस्था हित विपरित क्रियाकलाप गरेको आरोप छ ।

मुख्य रुपमा तीनवटा विषयमा उजुरी परेपछि छानवीनका लागि खड्कालाई बोलाइएको छानवीन समितिका संयोजक डा. भीम पुनले बताएका छन् । आर्थिक जस्तो गम्भीर विषयमा उजुरी परेकाले त्यस विषयमाथि प्रष्ट पार्न र जवाफका लागि मौका दिने उद्देश्यसहित खड्कालाई बोलाइएको डा. पुनको भनाई छ ।

खड्कालाई समितिले बिहीबार विहान ९ बजे भित्र छलफलका लागि बोलाएको थियो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेमा लामो समयदेखि विवाद छ । यस अघि एनआरएनए केन्द्रिय समितिले अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको पत्र सार्वजनिक गरेको थियो । केन्द्रले उनलाई बर्खास्त गरेपछि अर्को अधिवेशन गर्न निर्देशनसमेत दिएको थियो ।

तर आफूनै अध्यक्ष भएको, आम सदस्यले मत दिएर बिजयी भएको अध्यक्षलाई केन्द्रले बर्खास्त गर्नसक्ने विधानमै उल्लेख नभएको जिकिर गर्दै गाहामरले चुनौति दिंदै आएका छन् । यसरि केन्द्र र एनआरएनए युकेकाबिचमा तिब्र मतभेद र कारवाहिको शिलशिला चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया