शुक्रबार, वैशाख १४, २०८१

जसलाईपनि आक्रमण गरिहाल्ने होइन हात्तीले

किरण रिजाल२०७९ असोज १५ गते १०:०७

चितवन, सौराहाको हात्ती प्रजनन् केन्द्रमा २०४४ सालबाट हालसम्म ६५ देखि ७० वटा हात्तीका छावा जन्मिए । यो वर्ष एकैचोटी चार वटा बच्चा जन्मिए । भालेको संख्या अलि बढी छ । किनकि चार वटामा तीन वटा भाले एक पोथी जन्मियो । यहि प्रजनन् केन्द्रमा जन्मेका, हुर्केका हात्ती बाँके, शुक्लफन्टा, पर्सा राष्ट्रिय निकुञ्ज गएका छन् । तिनलाई ट्रकमा लैजाने गरिएको छ । हात्तीको संख्या बढाउन प्रजनन केन्द्रले महत्वपूर्ण भूमिका खेलेको छ ।

हात्तीको माग भएपछि नेपाल सरकारले निर्णय गर्छ । कति हात्ती कसरि लैजाने भनेर । सरकारको निर्णय अनुसार छानेर पठाउने गरिन्छ । हात्ती ट्रकमै ओसारपसार गरिन्छ । ट्रकले झण्डै चार टनको हात्ती बोक्न सक्छ । हामीले धेरै लगिराखेका छौं ।

ए उटा घटना अलि रोचक पनि भयो । प्रजनन केन्द्रको तिर्थमान कली भन्ने पोथीले दुई वर्ष नपुग्दै छावा जन्माई । यसले धेरैलाइ अचम्मित बनायो । एउटा बच्चा २४ महिनाको हुँदा अर्को बच्चा जन्मियो त्यो पोथीको । २८, ३० महिनामा त जन्मिरहेकै थियो । तर २४ महिनामै जन्मिएको भने पहिलो रेकर्डनै हो । त्यो पहिलो बच्चा एक दुई महिना अलि चाँडैपनि जन्मिएको थियो । हात्तीको खासमा २१ देखि २२ महिना गर्भमा बस्नुपर्ने । ६५० दिन भन्ने गरिन्छ ।

हात्तीको फेरि के अचम्म भने माउले दुबै बच्चालाई माया गर्छ । हात्तीको जातिमा सबैले बच्चालाई माया गर्छन् । सानो बच्चा दुई महिना जतिको हुनलाग्यो । प्रजनन केन्द्रमा अहिलेसम्म ६०-७० वटा बच्चा जन्मिएकोमा ८-१० वटा मरे होलान् नत्र बाँकि हामीसितै छन् । यहाँ जन्मिएका बच्चा अन्यत्रपनि पठाइन्छ ।

हात्तीको तालिम पिडादायी भन्नेपनि छन् । पहिले एकदमै पीडादायी किसिमकै थियो तालिम । अहिले अलिकति खाना दिएर, फकाएर, विविध किसिमले तालिम दिईन्छ । आजकालको तालिम चाहिं त्यति गाह्रो छैन । कतिपय बच्चाको त जन्मेकै दिनबाट तालिम शुरु हुन्छ । खाना दिएपछि बस भन्दा बस्ने, उठ भन्दा उठ्ने । यो तालिम हुनुभन्दा अगाडिनै सिक्न थाल्छन् । त्यसैले पहिलेको जस्तो पीडादायी छैन ।

अहिले हात्तीहरुलाई पर्यटक बोक्न रोक्का गरेको छ सरकारबाटै । चितवन राष्ट्रिय निकुञ्जका १५-१६ ठाउँमा पोस्ट छन् । तिनमा हात्तीको गस्ती, अनुसन्धान गर्न, निगरानीको काम हुन्छ । सरकारी हात्ती पर्यटक बोक्ने काममा बन्द नै छन् ।

पहिले हात्तीको नाम राजदरबारले लेखेर पठाउने गर्थ्यो । अहिले चितवन राष्ट्रिय निकुञ्जले लेखेर पठाउँछ । चितवन राष्ट्रिय निकुञ्जको प्रधान कार्यालयबाटै नाम राखिन्छ । काठमाडौंसम्म सिफारिस गर्नै पर्दैन ।

सिमसारको डे परेकोले सिमसार प्रसाद राख्यो एउटा हात्तीको नाम । शिवरात्रीको दिन जन्मिएकोले शिवगज राखियो । यदाकदा सचिवहरुको नामबाट राख्ने प्रचलनपनि छ । कोहि विशौं वर्ष काम गरेको ब्यक्ति रिटायर्ड भयो भने उसको नामबाटपनि राखिएको छ । हात्ती चिकित्शक कमल गैरेले राष्ट्रिय निकुञ्जमा २५ वर्ष सेवा गर्नुभयो । पछि उहाँको रिटायर्ड भएपछि एउटा भाले हात्तीको नाम कमलगज राखियो । खगेन्द्रमल्ली भन्ने पोस्टमा जन्मिएको एउटा भालेको नाम खगेन्द्र प्रसाद राखियो । सौराहामा जन्मेको सौराहागज भनेर राखिएको छ । अमलटारी पोस्टमा जन्मेको थियो एउटा हात्ती, उसको नाम अमलटारीगज भनेर राखियो । ठाउँको प्रतिनिधित्व गर्नेगरिपनि राखिएको छ नाम ।

प्रजनन केन्द्रका हात्तीजति सबै जंगली भाले हात्तीबाट हाम्रो पोथीहरु प्रजनन् भएर जन्मेका हुन् । लगभग २०५८ सालपछिको मलाई थाह छ, त्यस अघिको थाह छैन । शुरुमा नानापाटेकर, त्यसपछि रोमियो, रोनाल्डो, ध्रुव, गोबिन्द पोथीलाई प्रजनन गराउनेमा एकदमै प्रख्यात भालेहरु हुन् । २०५८ साल यताको कुरा हो यो ।

यसरि प्रजनन् केन्द्रमा पोथी खोज्दै आइरहने वनहात्तीको नाम डा. कमल गैरेले राखेका हुन् । प्रजनन् केन्द्रमा आइरहने गर्दा ति वनहात्तीलाई चिन्न सजिलो होस् भनेर उनले तिनको नाम राखिदिने गरेका थिए ।

ध्रुव चाहि ध्रुब पोस्टतिरै बढी भेटिने गरेकोलेपनि हो भनिन्छ । अर्को कुरा ध्रुव पोष्टमा एक जना सेना बसिरहेको बेला हात्तीसित जम्काभेट भयो । ‘ध्रुव भगमान मलाई बचाईदेउ, मलाई केहि नगर’ भन्ने हिसाबले प्रार्थना, बिन्ति गरेका थिए । त्यसो भनेपछि हात्ती रोकिएर आफ्नो कुनातिर लाग्यो । त्यो बेलामा ‘म बचें’ भनेर सेनाले सुनाए । त्यसपछि त्यतातिर त्यो हात्तीको नाम ध्रुबे भन्नथालियो । त्यहि नाम प्रचार भयो ।

हात्तीको न्वारन १२ औं दिनमा हुन्छ । त्यहि दिन नाम राखिन्छ । ठ्याक्कै मान्छेको जस्तै एक जना पण्डित बोलाइन्छ । धार्मिक विधि अनुसार पण्डितले न्वारन गरिदिन्छन् ।

अहिले डा. बिजय श्रेष्ठ चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेरिनरी चिकित्सक हुन् । डा. अमिर सडौला, राष्ट्रिय प्रक्रिति संरक्षण कोषमा छन् । म (किरण रिजाल) निकुञ्ज विभागमै छु ।

हाल सरकारी स्वमित्वका हात्तीहरु नेपालमा एक सय छन् भने निजि हात्तीहरु ७५ वटा छन् । कोरोनाको कारणले गर्दा हात्तीको संख्या नेपालमा घट्यो । नत्र २०० को हाराहारीमा थिए पालेका हात्ती । कोरोनाको कारणले गर्दा २५ वटा हात्ती भारत गए । जंगली हात्तीपनि लगभग त्यसकै हाराहारी १७५-२०० छ भन्ने अनुमान छ ।

जंगली हात्तीहरु आउने जाने गर्छन् । पर्सा चितवन ब्लक भन्छन् त्यसमा ३५-५० को हाराहारीमा छ भनिन्छ । त्यसपछि बर्दिया ब्लक भन्ने छ त्यसमा १००-१५० । शुक्लाफन्टा ब्लकमा ५० को हाराहारी छन् भनिन्छ ।

हात्तीको बथानबाट दबाईएका, एक्लिईएका भाले यता प्रजनन् केन्द्रतिर आउने हुन् । हामीले धेरै हात्तीमा कलर (पेटी) लगायौं । एक जना सरले पिएचडी गर्दै हुनुहुन्थ्यो । त्यसैले अध्ययनको क्रममा चिन्नको लागि घाँटीमा पेटी बाँधिएको थियो । गाउँमा आएर दुख दिएको हात्तीपनि पछि समुहमै फर्केर गएको पाइयो । किनभने त्यसको घाँटीमा हामीले लगाएको कलर भेटियो । समुहसित जे नमिलेर ऊ अलग भएको थियो सायद पछि ऊ बदलियो, समुहले स्विकार्‍यो र ऊ फर्केर आफ्नै समुहमा मिसिएको भेटियो ।

हात्तीको बथानमा पोथीले नेतृत्व गर्छे । नियम नमानेमा लखेट्ने वा एक्ल्याउने गर्छन् । पछि बथानको नियम स्विकार गरेरमा फेरि बथानमै बस्न दिन्छन् ।

एक्लै छुट्टिएर जाँदा दानापानी, खानपिन अलि धेरै खान पाउने भयो । एक्लो हुँदा पोथीपनि नपाउने कारणले हात्तीहरु मातमा आउने गर्छन् । यौन हर्मोनहरुको एकदमै विकास हुन्छ । मातमा आएपछि दिनभरि नचर्ने । म नै सबैभन्दा ठूलो हुँ, हर्ताकर्ता हुँ भनेर जंगलमापनि रुखसुख ढाल्ने, स्वाँफ्वाँ गर्ने गर्छ । राती अलि भोक लागेपछि जंगलमा सजिलै खान त पाइन्न । गाउँबस्तिमा छिर्‍यो भने त एकैचोटि गर्‍याम गुरुम खान पाइयो । त्यसकारणलेपनि बस्तितिर आएको पाइएको छ ।

हात्ती पालेको भएर वनहात्तीले समस्या दिएको भन्नेहरुपनि छन् । तर वास्तविकरुपमा त्यस्तो होइन । हात्ती नभएको ठाउँमापनि वनहात्तीले राम्रै समस्या गरेको छ । त्यसैले पाल्तु हात्ती भएकाले मात्रै जंगली हात्ती आएको भन्ने चाहिं होइन ।

जंगली हात्तीले अरु घर पालुवा हात्तीको बच्चाबच्चीलाई आक्रमणपनि गर्दैन । त्यहि हात्तीसारमा हुने हात्तीपनि सबैलाई आक्रमण गर्दैन । उसले पहिलेनै पहिचान गर्छ । दाह्रासाह्रा देखाउने, फाँफुँ गर्ने, मसित निहुँ खोजेको छ कि छैन भनेर उसले पहिचान गर्छ । ऊसित निहुँ खोजेको छ भने केहि गर्छ नत्र केहिपनि गर्दैन । विशेषगरि यो भालेले मसित जोरिखोज्या छ, निहुँ खोज्या छ भन्ने बुझ्यो भने आक्रमण गर्छ । नत्र गर्दैन ।

हात्ती गर्भवती हुन पानी चाहिन्छ । वा हात्तीको सहबास पानीमा हुन्छ, जमिनमा हुन्न भन्ने हल्ला खुब सुनिन्थ्यो । हात्ती प्रजनन् केन्द्रले हटाईदियो त्यो भ्रम । हात्तीको यौनक्रियाको बेलामा त कहिलेकाहिं सबैले देख्न पाउँछन् । आफ्नै आँखाले देखेपछि त दिमाखबाट त्यो कुरा हट्ने भयो ।

बाघकोपनि संख्या अलि बढेको छ अहिले चितवनमा । वर्षको ८-१० वटा समस्या पार्ने बाघ समात्ने गरिएको छ । कसरामा दुई वटा बाघ छन् । पहिले एक पटक भाले र पोथी बाघ समातेका थियौं । छुट्टाछुट्टै राख्न खोर थिएन र एकै ठाउँमा राखेको । भालेले पोथीलाई मारिदियो । त्यसैले बाघ यौनकालमा सँगै बस्ने तर अरु बेला सँगै बस्ने जनावर होइन रहेछ ।

सौराहा नजिकै एउटा बघिनीले जरायो मारेकि रहिछ । त्यो जरायो खाने क्रममा भालेले त्यो पोथीको घाँटीनै भाँचिदिएको थियो । हामीले पोस्टमर्टम गरेर हेर्‍यौं, घाँटीको हड्डीनै क्र्‍याक्कै भाँचिदिएको रहेछ । अरु शरिर सबै ठिक थियो । तर खाने क्रममा त्यसरि झगडा गर्दो रहेछ । बाघ भालेपोथी सँगै नबस्ने रहेछन् ।

(गत मेको अन्तिम साता रिजालसित गरिएको वार्तामा आधारित-सं)

तपाइँको प्रतिक्रिया