सोमबार, मंसिर १९, २०७९

अर्थुङ्गेको उकालोमा

बिनु भट्टराई२०७९ असोज २८ गते १७:३७

“हात मिले काम सजिलो, मन मिले जीवन सजिलो” कता-कता सुनेको थिएँ । हुनपनि हो, एउटा पूर्व अर्को दक्षिण फर्केका साथीहरूसँग त कसरी काम गर्नु ! जे पर्ला पर्ला भन्दै केही नसोची, जानकारी बिना अन्धाधुन्ध कार्यालयको आदेश पालन गरेर कार्यक्षेत्रमा हिँड्ने योजना बन्यो । पुग्नुपर्ने थियो, सिन्धुलीको फिक्कल गाउँपालिका जहाँ भर्खर भिउटावर बन्दै छ ।

नामनै टावर, त्यसैले यस्तो अग्लो ठाउँमा बन्दै रहेछ कि जहाँबाट नेपालको पुरै कुनाकाप्चा देखिएझैं लाग्ने । वरिपरि परपरसम्म छ्वाङ्गै देखिने । त्यसमाथि भिउटावर बनेपछी त विश्व त्यहिंबाट देखिनैपर्ने हो । बाँकी ठाउँका विशेषता अप्ठ्यारा, सजिला अनुभव आफ्नो ठाउँमा छँदै छन्। जेहोस, टोली भने सोचेजस्तै बन्यो।

बाटोपनि त सधैं, निरन्तर कति अप्ठेरो रहिरहन सक्थ्यो र ! अब बाटो पनि अली सहज भेटियो। आसा लाग्यो, अब मान्छे पनि भेटीनेछन । हामीमा सास अलि दह्रो पलायो । मन्द मन्द मुस्कुराउनु भो टोलीका साथी। मैले लामो स्वास फेर्दै भनें- “आज त बाँचियो!”

गाउँ भनेपछि हुरुक्कै नहुने को होला र ? भलै त्यहाँ जस्तोसुकै कष्टकर जिवनशैली किन नहोस्।

सोल्पाको बसाइँ सकेर पुन: यात्रा शुरु गरेपछि अर्थुङ्गेको डाँडामा पुगियो । त्यहिं वनभात खायौं । त्यो पनि स्कुलको एकजना म्यामले ब्यवस्था गरिदिएर ठुलै एहसान गर्नु भएको थियो । हाम्रो खुशि, हाम्रो रमाईलोकालागि उहाँले सकेजति तालमेल मिलाइदिनुभयो । आखिर गाउँलेको कन्चन मन न हो ।

खानाको स्वाद नाम चलेका होटेलले होइन भोकले दिन्छ भनेको साँच्चै पो रहेछ। आँगनको एक छेउमा तिनवटा ढुङ्गा तीनतिरबाट जोडेर ओदान उभिएपछि हाम्रो चुलो बन्यो। यसरी वनभोज जस्तै बाहिर पकाउनुको कारण थियो, साँघुरो ठाउँ। भूगोलले साँघुरो पारिदिएको धरती ।

पहाडी वनका दाउरा दनदनी बले । अब टकरक्क कसौडीमा हाम्रो भात बसालियो। चारैतिरबाट आगोको रापले जलेर कोइला जस्ता देखिने भाँडाकुडाले हाइजिनको परिभाषा नै बदलिदिए।

“सुकिलो हुनु मात्र सफा हुनु होइन नि म्याम!” टोलीको एकजना मित्रले भन्नूभयो ।

“मान्छेलाई पुग्दासम्म हो के रोज्ने र खोज्ने त, नपुगेपछि जे भेटिन्छ त्यहि राम्रो मान्न पर्छ” अर्को साथीले थप्नुभयो।

थकाईले भन्दापनि भोकले लखतरान परेका हामी । खाना पाक्ने बेलासम्म कुर्न’नि निकै गाह्रो भयो । भात चलाउँदा-चलाउँदै हरियो किरो फिटिटिटी बुच्चे पखेंटा उडाउँदै आयो । ऊ उडदै गर्दा धुवाँको रापले भेट्टायो क्यार अल्मलिंदै त्यहि कसौंडी माथि खस्यो । भान्छेले हतपत निकालेर फालिन् । अरु साथीहरु गफिंदै थिए। गफको तालमा देखे कि देखेनन् कुनी । वा नदेखेझैं पो गरे कि ? मेरा आँखा भने त्यहिं ठोक्किए। खानु की छोडनु !

हाम्रै लागि मेलापातको काम छोडी-छोडी खाना बनाइदिएर ठुलो गुण लगाउने उनी आफ्नै कहालिलाग्दो जीवनबाट हैरान रहिछन। यसैपनि गाउँलेका कुरा सुन्न हतारमा रहने म । आखिर अहमी यहिंको गाउँवस्ति, यहि डाँडाकाँडाका कथा र गाउँलेका जिवन बुझ्न, देख्न र नियाल्न आएका न हौं । अरु साथीहरु झन गफिन माहिर देखिए भान्छे दिदीसँग ।

भात चलाउँदा चलाउँदै हरियो किरो फिटिटिटी बुच्चे पखेंटा उडाउँदै आयो । ऊ उडदै गर्दा धुवाँको रापले भेट्टायो क्यार अल्मलिंदै त्यहि कसौंडी माथि खस्यो ।

ओखलढुंगा माइतीघर उनको । बिहे गरेर आएको केही समयपछि श्रीमान बिदेश हिंडेका। दुइटा छोरी जुडुवा जस्ता देखिने साथमा छन । सासू-ससुरा र समाजका आँखा शंकाले ग्रसित । बिदेश गएर पैसा पठाउने बेलामा दूर्घटनामा परेर श्रीमानको हात बर्बाद भयो । दुइटा औंला नै रहेनन । बोल्दा-बोल्दै आँखाका नानी टिलपिल भए । गफ सुन्दै गर्दा भोक नै हरायो।

जहाँ जसको पिडा सुन्यो सर्लक्क आफ्नो जिन्दगी उसैको पिडा मुक्तीको लागि खर्चीदिउँ हुन्छ। “सुनिदिंदा मात्र पनि हल्का हुन्छ के म्याम, सीरियस नभैस्यो न” टोलीको साथीले सम्झाउनुहुन्छ।

धेरै जसो ठाउँमा अरुको अवस्था देखेर भावुक हुन्छु। अरुको पिडालाइ महशुश गर्नु भनेको आफ्नो दुःख बिर्सनु हो क्यार।

गफिंदा गफिंदै खान पस्किनु भयो उनै दिदीले।

“मरता क्या नही करता” भने जस्तै अप्ठ्यारो नमानी खाना खाएर उकालो लाग्यौं।

मानव वस्ती छोडेर हामी ठाडो उकालो यात्रामा छौं । कसैलाई सोधखोज गरौं भने न मान्छे फेला पर्छ न ईन्टरनेटको सन्जालले काम गर्छ। अझ हस्सू र कुइरोले छोपिएका डाँडाकाँडा आफु हिंडने उकालो ठाडो न ठाडो भीर बाहेक केहि देखिंदैन । भिरको बाटो हिंड्दा हिंड्दै यस्तो कहाली लाग्दो ठाउँमा पुगिएछ कि माथीबाट ढुङ्गे पहिरो तल हेर्यो छंगाछुर !

त्यहिंनेर पुग्दा पानी दर्कियो । ढुंगाकै पहिरो झार्ला झैं गरी पानी बेस्सरी ओइरियो । मान्छेको अत्तो-पत्तो कतै छैन । एकलास जस्तो । यहाँ पुग्दासम्म त झन बोकेको पानी पिएर सकियो । खाना खाएर उकालो लागेको तिर्खा उस्तै । डर त्रास को त के कुरा ! ज्यानको आस मेटेर हिंडेका छौं । त्यसो त, यो यात्राबारे कसैलाई थाहा थिएन टोलीमा।

“यस्तो बाटो मान्छे कसरी हिंड्छन होला ? सम्बन्धित निकायको नजर किन नपरेको होला यहाँसम्म ?” मैले आफू भित्रको त्रास लुकाउन प्रसंग जोडें ।

“बिचरा ससाना बालबालिका घण्टौं लगाएर यहि बाटो ओहोर-दोहोर गर्छन । स्कुल जान्छन । गार्हो छ नी ।”

“परेपछि जस्तो परेनी भोग्नै पर्छ ।”

अमिलो मुटु बनाउँदै हिंडेका हामीहरु सबैले आआफ्नै विचार पोख्दै गयौं । आफूलाई लागेका कुरा एक अर्कामा साट्दै हिंडीरहेछौं । डर घटाउने माध्यम पनि त हो यो। गफमा ब्यस्त भएपछि मनमा डर र त्रास पसिहाल्न भ्याउँदैन कि जस्तो लाग्ने ।

हिंड्दै गयौं । बाटो अगाडि बढ्दै गयो । छोडेको बाटो लम्बिंदै गयो । जसोतसो त्यो कठिनाई छिचोल्यौं । केहिबेरमा पानीको धारा भेटियो । गाइवस्तु हिंडेका पाइलाका डोब देखिए । बाटोपनि त सधैं, निरन्तर कति अप्ठेरो रहिरहन सक्थ्यो र ! अब बाटो पनि अली सहज भेटियो। आसा लाग्यो, अब मान्छे पनि भेटीनेछन । हामीमा सास अलि दह्रो पलायो । मन्द मन्द मुस्कुराउनु भो टोलीका साथी। मैले लामो स्वास फेर्दै भनें- “आज त बाँचियो!”

अघि देखि त्रसित सबैले आ-आफ्नै अनुभव सुनाउन थाले । अब जोक पनि शुरु हुन थाल्यो । “डर त सबैलाई रैछ नि” प्वाक्क मुख फोरेर कसैले भन्न नसकेका । ज्यानको माया कसलाई हुँदैन र !

“घटाएर घट्ने, बढाएर बढ्ने डरको पनि के अर्थ हो। नडराइदिए हुँदैन र ?” अप्ठ्यारो सकिनेबित्तिकै मलाई पनि आँट आयो यत्ति भन्ने ।

“हो त है ! पहिले नै सिकाउनुपर्थ्यो नि हजुरको दर्शन” हो मा हो मिलाए सबैले ।

साँझ पर्नै आँट्यो । चिन्ता एउटा कुराको मात्र थिएन। बर्खाको मेलोपात सबैलाई कामको महत्व हुन्छ । हामी पनि त आफ्नै कामले आएका थियौं । तर हाम्रो कामसँग गाउँको तालमेल मिलाउनुपर्थ्यो।

संयोगले त्यो वातावरण मिल्दै गयो । बाटो बनाउँदै गरेका कृषक दाजूभाई भेटिनु र हाम्रो बिश्राम गर्ने ठाउँमा पुग्नु, यात्रा भरको सुखानुभूति बनिदियो ।

क्रमशः

बिनु भट्टराईका अघिल्ला रचनापनि हेर्ने कि ?

नियात्रा : चार घण्टाको यात्रा, तिन घण्टाको जाम

“प्रेमाधिकार”

प्रेम-प्रज्ञा- १

प्रेम-प्रज्ञा- २

प्रेम पात्र

तपाइँको प्रतिक्रिया