शुक्रबार, वैशाख ७, २०८१

देउवा रहित नेपाली कांग्रेस र संसदको कल्पना गर्न सकिन्न र ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असोज २२ गते ८:३९

फोटो साभार-काठमान्डु पाटी

दशैं सकियो । देशको राजनीति फेरी उस्तै लय र धारमा फर्किंदै छ । उस्तै लय भनेको उस्तै गुट उपगुटका बैठक । उस्तै खुट्टा तानातान र उस्तै गरी एकअर्काका टाउको निचोर्ने खेल । अबको केहि दिनमा राजनीतिक दल र तिनका स्थानिय नेता तथा कार्यकर्ताका समाज तरङ्गित बनाउने अभिब्यक्तिहरु सुन्न पाइने छ । खास गरेर नेपाली कांग्रेसका कार्यकर्ताहरु उखर्माउलो रुपमा प्रस्तुत हुने छन । दशैं टिकाको दिन कांग्रेसका धेरै नेताहरुले ‘सांसद बन्नु’ भन्ने आशिर्वाद पाएका छन ।

यसपालीको चुनावमा कोहि पनि यो आशिर्वादलाई खेर फाल्ने पक्षमा छैन । धेरैलाई लाग्छ, वर्षमा एक पटक आउने दशैं र पाँच वर्षमा एकपटक आउने चुनावको संयोग सितिमिती यसरी जुर्दैन । यो आन्तरिक लडाईंका बिच धेरैले आफूलाई सांसद बनाइसकेका छन । तर अहिलेको दुरुह पार्टीगत अवस्थामा के यो सम्भव होला त ? पटक्कै छैन । किनभने अहिलेको गठवन्धनका कारण कांग्रेस भित्रका धेरै योग्य र टिकट पाउनैपर्ने अधिकांश नेताहरु चुनावी दौडबाट बाहिरिने छन । गठवन्धनको हिसाबकिताब पछी नेपाली कांग्रेसको पोल्टामा जती पनि सिट पर्ने छन तिनमा पहिलो त शेरबहादुर देउवाका आफन्त, निकट र उनले मन पराएका ब्यक्तिहरु पर्ने छन । त्यसपछी रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र शेखर कोइराला समुहका आफन्तहरु पर्ने छन । योग्यता भएका तर कतै आड नलागेका धेरै यस्ता नेताहरु छन जो यसपटकको चुनावमा पनि चिप्लिने छन ।

यसले कुनै ब्यक्ती र गुटका लागि के गर्छ भन्दा पनि समग्र नेपाली कांग्रेस पार्टीलाई ०७४ को संसदिय चुनावको जस्तै हैशियतमा पुर्‍याउने छ । त्यो चुनावमा नेपाली कांग्रेसको गिरावट शेरबहादुर देउवाको बुद्दी नपुगेर भएको थियो । यो चुनाव उनको एक्लो महत्वाकांक्षाले हुने छ । अन्य पार्टीहरुसँग गठवन्धन गरेर चुनावमा जाने र आफु फेरी पनि प्रधानमन्त्री बन्ने लोभ देउवाको हो । गठवन्धन प्रति न अन्य नेता कार्यकर्ताको रुची छ, न मतदाताको नै । त्यसैले कांग्रेस कार्यकर्ताहरुको भनाइमा यो पाप विशुद्द रुपमा शेरबहादुर देउवाको हो ।

नेपाली कांग्रेसका एक जना केन्द्रिय नेताको भनाई छ- हामीले आशा गरौं, शेरबहादुर देउवाको यो अन्तिम पाप हुनेछ । अहिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ एक सय ६५ सिट छन । गठवन्धनको बाँडफाँड पछी नेपाली कांग्रेसले ८५ सिटमा चुनाव लड्दै छ । यसको मतलव ६० जना सांसद बन्न योग्य नेताहरु राजनीतिका लागि उनिहरुले खनेको बाटोबाट बाहिर पुग्ने छन । यो भनेको कांग्रेस भित्रको मानशिक दुनिया कमजोर बन्दै जानु हो । नेपाली कांग्रेसले गठवन्धन गर्दा कती सिट सुरक्षित गर्न सक्छ र नगर्दा कति सिट भन्ने विषयमा कसैले पनि खासै विष्लेषण गरेका छैनन । शेरबहादुर देउवाको मन्द बुद्धीले के भन्छ भने यदि नेपाली कांग्रेसले माओवादी लगायतका पार्टीहरुसँग गठवन्धन गरेन भने कम्युनिष्टहरुको तालमेल हुनेछ र नेपाली कांग्रेस फेरी ०७४ को अवस्थामा पुग्ने छ । देउवाको विश्लेषण यत्ती हो । उनले कार्यकर्ताको भावना बुझेकै छैनन । न त उनलाई मतदाताको सोचको बारेमा कुनै पत्तो छ । उनका केहि भारद्वारहरुको चौघेरामा जति कुराहरुको उत्पत्ती हुन्छ त्यहि तिनको संसार हो र त्यही नै एक्लो सत्य हो ।

अर्को तर्फ कोइराला समुह छ, उसले पनि गठवन्धन नहुँदाको अवस्थामा प्राप्त हुने सिटका बारेमा खासै विष्लेषण गरेको छैन । यो समुह भित्र खास गरेर गगन थापाको उपसमुहले गठवन्धन हुँदा र नहुँदाको अवस्थामा प्राप्त गर्न सकिने नतिजाका बारेमा केही तथ्यहरु सार्वजनिक गरेको थियो । तर यसले पनि त्यहि कुरालाई मतदातासँग पुर्‍याउन सक्ने अवस्था देखिएन । किनभने थापाको यो उपसमुह पार्टीभित्र भर्खरै हुर्किन थालेको हो । उनी यहि उपसमुहलाई आफ्नो अलग खालको समुह बनाएर कोइराला तथा देउवा दुबैलाई टक्कर दिने तयारीमा छन । त्यसले उनका लागि पनि देउवा तथा कोइरालाको निकटता जरुरी नै छ । आफ्नो उप समुहका मसिना नेता तथा कार्यकर्ताहरुलाई जोगाउनुपर्ने उनको आफ्नै वाध्यता छ । त्यसैले थापा पनि आफू, आफ्नो उपसमुह अनी समुहका मात्र कुराहरुमा बढी केन्द्रित छन । चुनाव लड्न नपाएर रन्थनिने ति अन्य ६० जना नेता तथा कार्यकर्ताका बारेमा बोल्ने फुर्सद उनलाई छैन ।

चुनावमा आफ्नो क्षेत्र हुँदाहुँदै पनि आफूले टिकट नपाएर अर्को पार्टीका लागि भोट माग्नुपर्ने बाध्यतामा पुगेका ति ६० जना योग्य नेता कार्यकर्ताको मानशिकताको कुरा मात्र भएन, मतदाताले उनिहरुको अनुहार हेरेर मतपत्रमा छाप लगाउने अलौकिक स्वर्णिम काल पनि भएन । जे भयो शेरबहादुर देउवाले पातालमा पुर्‍याएर विलिन बनाउन लागेको कांग्रेसको कुरा भयो । ति ६० जनाले पनि देख्ने छन, नेपाली कांग्रेसले कसरी उनिहरुको भविष्यमा पूर्णविराम लगायो भन्ने कुरा ।

चुनाव लड्न लागेका ८५ सिटमा कती प्रतिशतमा चुनाव जित्ला काँग्रेसले ? त्यस्तै ७० प्रतिशत अर्थात ६० सिट । यि सिट नेपाली कांग्रेसका लागि यस्ता सिट हुन जसका लागि कांग्रेसले कहीं कसैसँग गठवन्धन गर्नै पर्दैन । कांग्रेसका ति केन्द्रिय सदस्य भन्छन- यदै बिना गठवन्धन जाने हो भने पनि हामीले मेहनत नै नागरिकन ८० सिट ल्याउने सम्भावना छ । तर हाम्रो पार्टीका राजाहरुले यो कुरालाई कहिंकतै विष्लेषण गरेका छैनन । नेपाली कांग्रेसले एकल रुपमा चुनाव लडेको भए सबै कार्यकर्ताहरुको मनोवल उच्च हुने थियो । टिकट पाउनेहरुले चुनाव हारे पनि सन्तुष्ट हुने अवस्था हुने थियो । चुनाव जित्नकै लागि भए पनि केहि न केहि हदसम्म संगठन बिस्तार हुने थियो । तर सधैंं नेताहरुको ऐश आरामका लागि, देशका लागि जहिले पनि अनुत्पादक ब्यक्तिलाई प्रधानमन्त्री बनाउनैका लागि कुनै पनि कार्यकर्ताले आफ्नो घर परिवार विगारेर दौडिने अवस्था अब छैन । कि चाहिं यस्तो होस- ल है यो मान्छे देशको प्रधानमन्त्री भयो भने हाम्रा लागि केहि नभएपनि कम से कम सन्ततिको भविष्य राम्रो बन्छ । तर त्यो अवस्था त छैन । देश र पार्टीलाई कहाली लाग्दो भविष्य तर्फ धकल्ने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुनैपनि कार्यकर्ताली पसीना चुहाउने छैन ।

पछिल्ला निर्वाचनहरुको मत पारीणामलाई हेर्ने हो भने नेपाली कांग्रेसको मत घट्दै गएको छ । तर यहि अवस्थामा पनि ४० लाखको हाराहारिमा मत छन । यि मतलाई सुरक्षित र सदुपयोग मात्र गर्न सक्ने हो भने कांग्रेसलाई पहिलो पार्टी हुनबाट कसैले पनि रोक्न सक्दैन । तर कसले गर्ने यि मतको सुरक्षा र सदुपयोग ?

त्यसो त, यसको सबै जिम्मा पार्टीको नेता अर्थात सभापतिको हो । सभापतिको कदम र उसले गर्ने निर्णयले नै पार्टीको भविष्य निर्धारण हुने गर्दछ । देउवाका कदमले पार्टीको त्यही भविष्य देखाएको छ । उनी हरेक पटक उहि पाप दोहोर्‍याउन उद्दत छन । एउटै प्रकारको पाप कसरी हरेक पटक सहन्छन् कार्यकर्ताहरुले ? देउवा रहित नेपाली कांग्रेस र देउवा रहित संसदको कल्पना गर्न सकिन्न र ?

तपाइँको प्रतिक्रिया

फेसबुक