बिहीबार, चैत १५, २०८०

विश्व भरिकै चराका आधा प्रजाति लोप हुने क्रममा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज २२ गते ९:४४

विश्वमा पाइने करिब नौ हजार प्रजातिका चरा मध्ये झण्डै अधा प्रजातिहरु लोप हुँदै गएको अध्ययनले देखाएको छ ।

बिश्वभरि चराको अध्ययन अनुसन्धान र संरक्षणमा अभियान चलाउँदै आएको बर्ड लाईफ ईन्टरनेशनलले यसलाई एक गहिरो चिन्ताजनक अवस्था भनेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बर्डलाइफले २८ सेप्टेम्बरमा प्रकाशित गरेको एक रिपोर्टका अनुसार विश्वमा झण्डै आधा (४९ प्रतिशत) चरा प्रजातिहरू घट्दै गएका छन् । वा आठ प्रजातिमध्ये एउटा लोप हुने खतरामा छ । सन् २०१८ मा ४० प्रजातिहरू लोप हुँदै जाने क्रममा थिए। हाल त्यो प्रतिशत बढेको छ ।

यस अध्ययनका अनुसार एभियन जीवन (चरा जातिको जिवन) यति खराब यस अघि कहिल्यै भएको थिएन । चराहरू हाम्रो ग्रहको स्वास्थ्यको लागि ब्यारोमिटरहरू हुन् भनेर बर्डलाईफले उल्लेख गरेको छ । यसरि चराहरु लोप हुँदै जानुमा मानव गतिविधिहरू मुख्य कारण रहेको छ ।

विश्वका ७३ प्रतिशत लोपोन्मुख चराहरू कृषिको विस्तार र तीव्रताका कारण झन लोप हुने क्रममा छन् । ब्यापक मात्रामा गरिएको वन कटानी, जलवायु परिवर्तन चरा लोप हुँदै जानुका कारण हुन् र त्यो मानव गतिविधिहरुको परिणामभएको बर्डलाईफको भनाई छ ।

यि हानिहरूलाई कम गर्न, समस्या समाधान गर्न र हानी पुगेको प्रकृतिलाई पुन: प्राप्तिकालागि मद्दत गर्न बर्डलाइफले केहि प्रस्तावहरू गरेको छ- संरक्षणको कानूनलाई बलियो बनाउनुपर्छ, जैविक विविधताको मुद्दालाई समाजका सबै क्षेत्रहरूमा एकीकृत गर्नुपर्छ, विभिन्न सरकारले अघि सारेका महत्वाकांक्षी प्रतिबद्धताहरू पुरा गर्नुपर्छ । त्यसको साथै बर्डलाईफले जैविकविविधताका लागि विश्वव्यापी रूपरेखा अपनाउन आग्रह गरेको छ । आगामी डिसेम्बरमा क्यानडाको मोन्ट्रियल सहरले जैविक विविधताका विषयमा पन्ध्रौं विश्व सम्मेलन (कोपक्१५) आयोजना गर्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक