शुक्रबार, चैत १६, २०८०

ए आदीवासी जनजातीका मनुवा हो , हाम्रा पुर्वजमाथिको ज्यादतीलाइ यति चाँडै बिर्सिदिने ?

रामवहादुर गुरुङ / वेल्जियम२०७९ असोज २५ गते १६:५३

भन्ने बेलामा तमुहरु लगायतका आदीवासी जनजातीहरु यो देश वाहुनहरुले खायो, हाम्रो स्थान कहीं छैन, राज्यमा उनिहरुकै बोलवाला छ भन्छन् । र पहिचानको खुबै वकालत गर्छन । उनिहरुको पहिचान भनेको आफ्नो पहिरन पहिरिनु र ल्होसार लगायतका सिमित चाडपर्व धुमधामले मनाउन बाहेक अरु केहि देख्दैनन । जनजातीको चाडपर्वको विदा पनि राज्यको निगाहामा भर पर्छ । कहिले दिन्छ कहिले रद्ध गर्छ । केहि ठेगान छैन । तर दशै र तिहार लगायतका हिन्दु चाडपर्व चाहिं राज्यको पांचंग समितीले निर्धारण गरेअनुसार पहिलेनै तय हुन्छ र वार्षिक पात्रोहरुमा छापिन्छ । यो पहिरन र ल्होसार त पंचायतले पनि लगाउन र मनाउन दिएकै थियो नी!

अनि फेरी तमुधीं तमु छोंज ह्युल धिं भन्ने संस्थाहरु तमुहरुले आफ्नो पहिचानको लागि यसो र उसो भन्दै वर्षौं देखी फलाक्दै छन । तर यो अधिकार विहिन पहिचानमुखी मोटर गाडी जहींको तही मात्र हैन हिलोमा भासिंदै गइरहेछ । गफ दिन्छ रफ्तारमा कुदी रहेछ । हैन यो अधिकार विहिन पहिचानको वकालत तमु लगायत आदीवासी जनजातीले कहिलेसम्म गर्ने हो ?

हामी पहिचान पहिचान भनेर चिच्याउँछौं ।  तर हाम्रो पहिचानलाइ वाहुनहरुको दशैं र तिजको पैतालामुनी मज्जाले किचिमिची पनि गर्छौं । त्यहि जनजाती बाहुनको दशैंमा निधार भरी अक्षता लगाएर पाँच दिनसम्म धुमधामले मनाउँछ । उहिले त पन्ध्र दिनसम्म मनाउँथे । अनी त्यै जनजाति चेली बाहुनको तीजमा रातो सारी र ज्यानभरी गहनाले ढाकिएर बाहुनीहरुलाइ समेत उछिनेर कम्मर मर्काइ मर्काइ तीजमा उफ्रिन्छन भने के को पहिचान पहिचान ? छोड यो सबै नाटक । बरु भन्देउ, हाम्रो पहिचान भनेको नयाँ वर्ष पनि हो । न्यु इउर पनि हो । ल्होसार पनि हो । क्रिसमस पनि हो । ह्याप्पी वर्थडे पनि हो । भ्यालेन्टाइन डे पनि हो अथवा भनौ संसारमा भएको पर्व जती सबै हो ।

आखिर कुरो ठोक्किंदो रहेछ वर्गसँग । यी पहिचानवादीहरुले कहिले पनि वर्गको कुरा गदैनन् । गर्छन त निरपेक्ष पहिचानको । नेपाल वहुजाति, वहुभाषिक, वहुसांस्कृति, वहुधार्मिक देश भनेर तिनै पहिचानवादी अभियन्ताहरु भन्छन । तर तिनको समस्याबारे जनतालाइ बुझाउँदैनन । बरु आदीवासी जनजाती भर्सेज वाहुन भनेर साम्प्रादायिक वखेडाको लागि उक्साउँछन ।

आदीवासी जनजातीको समस्या त नेपाल भन्ने राज्य खडा भए देखि गरिंदै आएको उत्पिडननै त हो । त्यसबारै कसैलाइ चासो छैन । आखिर उत्पिडन भनेको शोषणनै त हो । त्यो उत्पिडनले अहिले राज्यमा हाम्रो अवस्था कहाँ छ ? के यो विषयमा कसैलाइ चासो छ ? शाह र राणा शासकहरुले त हामीलाइ मासिन्य जातीमा राखेको थियो । मास्नकै लागि पहिलो र दोश्रो विश्वयुद्धमा हाम्रा पूर्वजहरुलाइ जवर्जस्ती व्रिटिसहरुको हातमा खसी बोका जसरी बेचिएको थियो । दुबै विश्वयुद्धमा लाखौं मारिए । त्यसको लेखा जोखा गरेछौं हामीले ? हाम्रा पूर्खालाइ बेचेर आफ्नो ढुकुटी भरेथे शासक वर्गले । हाम्रो समुदायको त्यत्रा मानिस मारिंदा हाम्रा त्यसबेलाका आमा, दिदीवहिनी, चेलीहरु कति विधुवा बने होलान ! के त्यसको हिसावकिताव छ राज्यसँग ?

यी शाह वंशका पूर्खाहरुले सबभन्दा पहिले हाम्रो भुमी खोसे । हामीलाइ दास सरह बनाइयो । हाम्रो भाषा, संस्कृती र परम्परा सबै खोसे । जवर्जस्ती उनिहरुको लादे । तमुहरु भित्र चारजाते र सोह्रजाते भन्ने विभाजन गरायो । राज्यको नजिक पुग्ने तमुहरुलाइ मुख्य जिम्वाल बनाए । उनिहरुलाइ राज्यको प्रतिनिधी जस्तै बनाए पछि उनिहरु मार्फतनै सबै गर्न लगाए । प्राकृत धर्म मान्ने तमुलाइ एकाएक मुख्या जिम्वालको नेतृत्वमा गाउँमा हिन्दुधर्मको प्रतिक मौलो खडा गरियो जहाँ दशैंको अष्टमी नवमीमा पशु वलिदिने प्रथा जवर्जस्त लादियो । वलि दिएको पशुको रगतमा हातको पंजा चोवलेर घरको ढोका र भित्तामा छाप लगाउन बाध्य पारियो । यसो गर्न नमान्नेलाइ पाता कसेर नेल ठोक्ने गरियो । यसरी प्रकृती प्रेमी तमुहरुलाइ हिन्दु राजा रजौटाहरुले जवर्जस्ती उनिहरुको धर्म,संस्कृती परम्परामा ढाले । सयौं वर्ष यसै गर्न लगाएर अभ्यस्त बनायो । आफ्नो सबै बिर्सदै गए । अर्काकोलाइ आफ्नो मान्दै गए । अनि अहिले यो हरिविजोग देख्न परिरहेछ ।

अनेक हन्डर ठक्कर खाएर अहिले अलिकति राजनितीक चेत जागेकोले कुरो यसो हो है भन्दै आइएको छ । तर त्यो स्वर एकदम मधुरो छ । त्यसलाइ साथ दिने एकदम कम छन् । किनकी यो आवज उठाउनेहरुले अधिकार सहितको पहिचानको कुरा गर्छन् । उत्पिडनको विषय उठाउँछन् । त्यति मात्र होइन, उत्पिडन भनेको शोषण हो । उत्पिडित वर्ग भनेको शोषित वर्गनै हो । होला पाँच प्रतिशत आदीवाशी जनजातीका मान्छेहरुले राज्यबाट सुविधा पाएका होलान । सम्पन्न होलान । तर पन्चानव्वे प्रतिशत त कुनै न कुनै हिसावले उत्पिडनमै छन । हाम्रो संस्कृतीलाइ विकृत बनाएर उनिहरुले आफ्नो व्रान्डका रुपमा वजारमा बेचिरहैकै छन । उदाहरणको लागि, रोदीघरको नाममा दोहरी साँझ । थकाली भान्छाघरको नाममा काम नलाग्ने खानाको परिकार बनाएर गैर थकाली जनहरुले वजारमा बेच्दै ठग्दै आइरहेको छ । अनि नुनको सोझो गर्ने इमान्दारको नाममा हामीलाइ व्रिटिस, भारतको सेना लगायत संसारको विभिन्न मुलुकमा सेक्युरिटी गार्डको नाममा अझै पनि बेचिरहेकै छ त । यो कुरा हामीले कहिले बुझ्ने ?

हामीलाइ हिन्दु वर्णाश्रम धर्मअनुसारको जात व्यवस्था भित्रको भनेर मज्जाले प्रचार गरिरहेको छ । त्यसलाइ हामीले बुझेर पनि नबुझे जस्तो गरिरहेछौं । हामी चुपचाप छौं । हामीले हाम्रो जाती समुदायको अधिकारको कुरा गर्दा साम्प्रादायिक भयो भन्छन् हाम्रै वरीपरीका गैर जनाजाती मान्छेहरु । यसमा हाम्रो चासो छैन ।

राष्टृ भनेको केहो ? देश भनेको केहो ? हामीले बुझ्ने प्रयत्न कहिले गर्ने ? वेलायतले स्कटल्यान्ड वेलायत भित्र रहने कि नरहने भनेर जनमत संग्रह गर्दा त्यो सामान्य हुने गैर जनजाति मनुष्यहरुलाइ । तर तमुहरुले तमुवान र राइ लिम्वुले किरात र लिम्वुवानको आवाज उठाउँदा देशको विखण्डन देख्ने हाम्रा गैर जनजाति मित्रहरुले । हाम्रा आदीवासी जनजाती अभियन्ताहरुले कहिले प्रशिक्षित गर्ने जनतालाइ राष्ट्र र देशको परिभाषा यो हो भनेर । सबैले बुझ्नुपर्ने कुरा यो छकी अहिले पनि अमेरिका संयुक्त राज्य हो भने व्रिटेन पनि एकत्रित राज्य । युएसए र युनाइटेड किंगडमले त्यहि जनाउँछ । अर्थात विविध राष्ट्रहरुको समुह भएको एउटा देश भन्ने प्रष्ट छ ।

अब हामी विस्तारै आफ्नो राष्ट्र गुमाएर आफ्नै देशमा शरणार्थी वा अमेरिकाको काले र रेडइन्डियन जसरी दोश्रो दर्जाको नागरिक बनेर बाँच्न तिर अभ्यस्त हुँदै गइरहेको यो दशैं मनाइ र तिज मनाइले संकेत गरिरहेको छ । जुन समग्र देशको लागि डरलाग्दो परिस्थिती हो । के वहुसंख्यक समुदायलाइ पछाडी पारेर यो देशको विकास हुन्छ ?

शासक जातीमा अहिले खसआर्य भनिएको छ । जसको जम्मा ३३ प्रतिशत छ भनिन्छ । वास्तवमा खसलाइ आर्यसँग जवर्जस्ती जोडीदिएको छ । वास्तवमा खस समुदाय आर्य होइनन । हिन्दु होइनन । उनिहरु मस्टो धर्मालम्वी हुन । उनिहरुको छुट्टै संस्कुती र परम्परा छ । यदि खसआर्यबाट खस हटाउने हो भने कति प्रतिशत आर्य जाती उर्फ व्राह्मण शासक जातीले नेपालमा सत्ता चलाइरहेछन ? यसरी मुट्ठीभर शासक जातीले वहुसंख्यक जाती माथि उनिहरुको धर्म संस्कृती लादेर हामी माथि शासन गरिरहेका छन । दशैं र तिहारलाइ लोकतान्त्रिक गणतन्त्र आएपनि, धर्मनिरिपेक्ष भनिए पनि शामन्ती शासनमा जसरीनै राष्टिृय चाढपर्वको रुपमा राज्यले मनाउँदै आएको छ । राज्यको यो विभेदलाइ आदिवाशी जनजातीले कहिले बुझ्ने ? मुखले असन्तोष जाहेर गर्ने तर ब्यवहारमा उनिहरुकै सबै कुरा अँगालेर के को पहिचानको कुरा गर्ने ? छोडौं यो दोहोरो मापदण्ड । यता पनि ठिक उता पनि ठिकको नाटक गर्दा निचोडमा हातमा लाग्यो शुन्य भैरहेको छ । खोक्रो हुँदै गइरहेछ आदीवासी जनजातीहरुको बिना अधिकारको पहिचानको नारा ।

क्षतीपूर्तीको विषय

अहिले संसारमा देखिएका विकसित र सभ्य भन्ने देशहरुले जान अन्जानमा आफ्नै देशको समुदाय वा अर्को देश माथि इतिहासमा भएको नरसंहार वा अन्य ज्यादती प्रति पस्चाताप गदै नैतिक तथा भौतिक रुपमा त्यो देश वा समुदायसँग क्षमा माग्ने गरेको छ । भौतिक रुपमा क्षतीपूर्ती गर्दै गरेको यथेष्ट घटनाहरु सार्वजनिक भएका छन । तर हामी हाम्रो देशमा भने अझै पनि मध्ययुगिन वर्वर युगमै बाँचिरहेकै त छौं । बाहिरी आवरणमा परिवर्तन देखिए पनि मानसिकतामा रत्तिभर परिवर्तन छैन ।

जनयुद्धकालमा माओवादीले शासकवर्ग वा जातीले जातीय, क्षेत्रिय, लिंगिय र धार्मिक विभेदका कारण गरिएको उत्पिडन वापत तत् तत् समुदायलाइ क्षतीपूर्तीको व्यवस्था राज्यले वैज्ञानिक ढंगले गरिनुपर्छ भन्दै आफ्नो राज्यपुर्नसंरचना भित्र अवधारणा राखेको थियो । जसले गर्दा एउटा समय र अवधीसम्म उत्पिडित जाती तथा समुदाय शासक जातीको बराबरीमा आउन सक्छ भन्ने थियो । माओवादीको राज्यपुर्नसंरचनामा क्षेत्रिय तथा जातीय हिसावले चौध देखी सोह्र वटासम्मको स्वायत्त प्रदेशको परीकल्पना गरिएको थियो जुन व्यवहारमा आउन नपाइ कल्पनामै सिमित भयो । र अनेक जालझेल गदै अहिलेको संविधानमा समावेशी र समानुपातिक भनेर पार्टीको नेता मण्डलीको अगुवा पछुवाहरु जस्ता एसम्यानहरुलाइ भर्ति गर्ने यन्त्रको रुपमा विकसित गरे । त्यसैको परिणामस्वरुप अहिलेको यो भद्रगोल गोलचक्करवाला संसदिय व्यवस्थामा प्रमुख राजनीतिक दलका नेताहरुले तर मार्दै आइरहेका छन् । ए आदीवासी जनजातीका मनुवाहरु हो ! हामीले हाम्रा पुर्वजहरुमाथि दुइ तिन सय वर्ष देखि राज्यले गर्दै आइरहेको ज्यादतीलाइ यति चाँडै बिर्सिदिने ? कहिले लाग्ला हाम्रो चेतनामा घाम ।

तपाइँको प्रतिक्रिया

फेसबुक