शनिबार, वैशाख १५, २०८१

साँढे १० हजार पाउण्ड भन्दा बढी दुरुपयोग गरेको भन्दै एनआरएनए युके अध्यक्ष गाहामगरलाई पत्र (पत्रसहित)

नेपालप्लस संवाददाता / बेलायत२०७९ असोज २५ गते १९:३६

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको खाताबाट आफ्नो निजि भिडियो बनाउने, बाढी पिडितका नाममा आफन्तलाई रकम बाँड्ने, आफ्नो प्रचारकालागि पत्रकारलाई पैसा बाँड्ने लगायतका काममा १० हजार ६२२ पाउण्ड दुरुपयोग गरेको भन्दै उक्त रकम तिर्न एनआरएनए युकेले अध्यक्ष प्रेम गाहा मगरलाई पत्र काटेको छ ।

एनआरएनए युकेका कोषाध्यक्ष विष्णु खरेलले उक्त रकम अध्यक्ष गाहामगरले दुरुपयोग गरेको भन्दै सोमवार गाहामगरलाई पत्र काटेका हुन् ।

कोषाध्यक्ष विष्णु खरेलले अध्यक्ष प्रेम गाहामगरलाई काटेको पत्रमा १० हजार ६२२ पाउण्ड दबाब दिएर भुक्तान गरिएको उल्लेख गर्दै उक्त रकम वार्षिक साधारण सभा (१८ अक्टोबर) भित्रै तिर्न निर्देशन दिईएको छ ।

पत्रका अनुसार गाहामगरले नेपालमा सुरेन राईलाई ६ हजार एक सय १६ पाउण्ड भुक्तानी गरेका थिए । उक्त रकम उनको निर्देशनमा बाढी पीडितलाई सहयोग गर्ने भनिएको थियो । तर राई गाहामगरको साथी रहेको र संस्थाका अन्य ब्यक्तिले नचिन्ने उल्लेख छ ।

पत्रमा भनिएको छ “हाम्रो संस्थाका अरू कसैले उहाँलाई चिन्दैनन् । र थाहा भयो कि तपाईको साथी सुरेन राई बाढीपीडित होइनन्, न त कुनै संस्थाको प्रतिनिधि नै हुन् । उनी नेपालको सरकारी निकायका कुनै ब्यक्तिपनि होइनन् । तर तपाईको व्यक्तिगत दबाबमा पैसा हस्तान्तरण गरिएको थियो । व्यक्तिगत सम्पर्क वा स्वार्थमा कल्याणकारी कोष खर्च गर्नु संगठनको सुशासन अभ्यासको विरुद्ध हो । तसर्थ, कृपया त्यो पैसा हाम्रो बैंक खातामा १८ अक्टोबर २०२२ सम्म फिर्ता गर्नुहोस् ।”

कोषाध्यक्ष विष्णु खरेलले अध्यक्ष प्रेम गाहामगरलाई काटेको पत्र

कोषाध्यक्ष विष्णु खरेलले अध्यक्ष प्रेम गाहामगरलाई काटेको पत्र अनुसार प्रेम गाहामगरले  आफ्नो निर्देशनमा एक हजार पाउण्ड आफ्नो भिडियो बनाउनकालागि पनि खर्च गरेका थिए । उक्त खर्चको बारेमा सोधपुछ गर्दा उनीहरुले यो इनभ्वाइस प्रेम गाहा मगरका लागि बनाएको भिडियोको लागि भएको पुष्टि गरेका छन् । तर उक्त भिडियो एनआरएनए युकेको संस्थाकालागि थिएन । आफ्नो भिडियो बनाउनको लागि १००० पाउण्ड खर्च गरेकाले १८ अक्टोबर पहिलेनै सो रकम संस्थाको नाममा भुक्तानी गर्न भनिएको छ ।

त्यसैगरि कोषाध्यक्ष खरेलले प्रेम गाहामगरलाई लेखेको पत्रमा नेपालका पत्रकार नारायण अर्याललाई ६२१ पाउण्ड चुनावको बेला आफ्नो पक्षमा प्रचार प्रसारको समाचार लेखाउन तिरेको आरोप लगाइएको छ । पत्रमा भनिएको छ “अर्याल नेपालमा बस्ने भएकाले हाम्रो संस्थाको लागि कहिल्यै काम गरेका छैनन् । उनको लागि संस्थाको कल्याण कोष व्यक्तिगत सेवा र उत्पादनमा तिर्नु संगठनको सुशासन अभ्यास र दिशानिर्देशहरू विरुद्ध हो । तपाईंले आफ्नो पक्षमा परोपकारी कोष खर्च गर्न सक्नुहुन्न । त्यसैले, कृपया त्यो पैसा हाम्रो बैंक खातामा १८ अक्टोबर अगाडिनै फिर्ता गर्नुहोस् ।”

त्यस्तै, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले ओम थापा का उचालाई एक हजार नौ सय ५० पाउण्ड संस्थाको खाताबाट भुक्तान गरेका थिए । अर्कोतर्फ दुई हजार आठ सय ८५ पाउण्ड सपथ ग्रहण लागतको रुपमा भुक्तानी गरेका थिए । यो दुबै रकम संगठनको सुशासन अभ्यास र दिशानिर्देशहरू अन्तर्गत रहेर सही रूपमा अनुमोदन गरिएको थिएन।

प्रेम गाहा मगरलाई कोषाध्यक्ष विष्णु खरेलले लेखेको पत्रकामा भनिएको छ “आदरणीय मगर, माथि उल्लेख गरिए अनुसारको भुक्तानी तपाइँको निर्देशन अन्तर्गत गरिएको थियो। तपाईका साथी सुरेन राईलाई गरिएको भुक्तानी, तपाईको चुनावी भिडियो प्रोडक्सनलाई गरिएको भुक्तानी र तपाईका लागि प्रचार लेख्ने नारायण अर्याललाई तपाईको व्यक्तिगत स्वार्थमा तिर्नु भएको हो जुन गम्भीर दुराचार हो । त्यसैले कृपया यो पैसा दिइएको बैंक खातामा फिर्ता गर्नुहोस् ।”

कोषाध्यक्ष विष्णु खरेलले अध्यक्ष गाहा मगरलाई रकम तिर्न भन्दै लेखेको पत्रमा परोपकारी आयोग इङ्गल्याण्डको सामान्य निर्देशन र १७ सेप्टेम्बर २०२२ को ट्रस्टी बोर्ड बैठकमा ट्रस्टीहरुको निर्देशन अनुसार लेखेको उल्लेख गरेका छन् । खरेलले पत्रमा ओम थापा का उचा र सपथ ग्रहण सेमिनारको भुक्तानी बारे थप विवरण प्रदान गर्नपनि माग गरेका छन् ।

नौमति बाजा नि:शुल्क उपलब्ध भएको, अन्य ब्यान्डहरू स्वेच्छिक र नि:शुल्क सेवा गर्न इच्छुक भएकाले र सपथ ग्रहण सेमिनारको लागत व्यक्तिगत उम्मेदवारले तिरेको हुनाले यी भुक्तानीहरू गर्नुपर्ने कुनै कारण भए उल्लेख गर्न गाहामगरलाई भनिएको छ ।

एनआरएनए युके बेलायतको सामाजिक र परोपकारी संस्थाको नियम र कानुन अन्तर्गत दर्ता भएकाले यस्तो संस्थाको रकम ब्यक्तिगत स्वार्थ र प्रयत्नमा खर्च गरिनु बेलायतको परोपकारी संस्थाको कानुन बिरुद्द रहेको अध्यक्ष प्रेम गाहामगरले बताउँदै आएका छन् । उनले गत सेप्टेम्बर १५ का दिन बेलायतबासी नेपाली, संघ संस्थाका प्रतिनिधि र एनआरएनए युकेका सदस्यहरुका नाममा जुम मार्फत गरेको सन्देशमापनि त्यहि दोहोर्‍याएका छन् । एनआरएनए युकेले प्रत्येक सदस्यलाई तिर्नुपर्ने पाँच पाउण्ड केन्द्रलाई तिरेको रकम अवैधानिक र गैर कानुनी भन्दै उनले कोषाध्यक्ष खरेल लगायतका केहि ब्यक्तिमाथि छानबिन भैरहेको र तिमाथि कानुनि कारवाहि गर्ने उल्लेख गर्दै आएका छन् ।

तर परोपकारि संस्थाको रकम आफू खुशि खर्च गरेर आफैंले बेलायतको कानुन र आफ्नै बोलीको समेत धज्जी उडाएको भन्दै उनलाई पत्र काटेको अर्को पक्षको भनाई छ ।

अक्टोबर १८ मा एनआरएनए युकेको वार्षिक साधारण सभा भएकाले उक्त सभामा वार्षिक आर्थिक गतिबिधि प्रस्तुत गर्नुपर्ने भएकाले पनि गाहामगरले आफूखुशि खर्च गरेको रकमको हिसाब आम एनआरएनए युकेका सदस्यहरुलाई देखाउनुपर्ने भनाई कोषाध्यक्ष पक्षको छ ।

एनआरएनए युकेमा गत अन्तर्राष्ट्रिय सम्मेलनदेखिनै विवाद छ । अध्यक्ष गाहामगर चोइटिएर गएको पूर्व अध्यक्ष शेष घलेका पक्षमा देखिएका छन् । अर्को तर्फ महासचिव खुशि लिम्बु, कोषाध्यक्ष विष्णु खरेल लगायतका पदाधिकारीहरु संस्थापन पक्षमा छन् । यि दुबै पक्षबिच गत अन्तर्राष्ट्रिय महाधिवेशनदेखि विवाद चल्दै आएको छ ।

तपाइँको प्रतिक्रिया