शुक्रबार, वैशाख १४, २०८१

नेपालका खेलाडी लिएर एनआरएनए फूटबल, शुरुमै विवाद

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ असोज २७ गते २१:२१

 

फोटो साभार- नेपालसिटीन्युज

नेपालमा भैरहेको नवौं राष्ट्रिय खेलकुदमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को टोली भन्दै एनआरएनएले नेपाली खेलाडीहरु खेलाएपछि शुरुमै विवाद मच्चिएको छ ।

नवौं खेलकुदको औपचारिक उद्घाटनको अघिल्लो दिन देखि सुरु भएको फुटबलमा एनआरएनएले पुरुष फुटबलमा अधिकांश नेपाली खेलाडी खेलाएर सहभागिता जनाएको छ ।

विहिवार पोखराको गोस्टेघाट फूटबल मैदानमा फूटबल खेल भयो । गैर आवासीय नेपाली संघ (एनआरएनए) को तर्फबाट खेलिएको भनिएको फूटबलमा खेलाडी भने गैर आवासीय नेपाली थिएनन् । ति अधिकांश नेपालकै खेलाडी थिए ।

एनआरएनएले बिमल घर्तिमगरलाईपनि आफ्नो टोलीमा राखेको छ । उनी नेपालको राष्ट्रिय फुटबल टोलीका खेलाडी हुन् । यिनै बिमल घर्तीमगर र संजोक राले बिहिवार एनआरएनएको तर्फबाट एक एक गोल गरे । यि दुबै जना गैर आवासीय नेपाली होइनन् ।

बिदेशमा बस्ने नेपाली खेलाडीहरुलाईपनि प्रवर्धन गर्ने, नेपालीहरुबिच खेलकुदको विकास गर्ने र नेपालमा रहँदा बिभिन्न खेल क्षेत्रमा आवद्द भएका गैर आवासीय नेपालीलाई खेलकुदमा आबद्द गराउने उद्देश्यले एनआरएनएले स्पोर्ट्स एकेडेमी स्थापना गरेको छ । यहि एकेडेमी मार्फत् नेपालमा हाल भैरहेको नवौं खेलकुदमा भाग लिएको हो ।

प्रवाशी नेपालीको नाममा एकेडेमी खोलिएपनि प्रवाशका नेपालीहरुमाझ पर्याप्त छलफल नभएको, गैर आवासीय नेपाली खेलाडीलाई सहभागि नगराएको र उद्देश्यभन्दा बाहिर गएर देखाउनैकालागि खेलकुदमा संस्थाको तर्फबाट नाम जोडेर नेपालकै खेलाडीलाई सहभागि गराएको भन्दै केहिले गुनासो गरेका छन् ।

प्रदेश एकले एनआरएनए टोलीमा विमल घर्तिमगर लगायत राष्ट्रिय स्तरका नेपाली खेलाडी देखेपछि एनआरएनको सदस्यनै नभएका नेपालकै खेलाडी खेलाएको भन्दै बिरोध नै गरेको थियो ।

विमल र संजोगसहित अनन्त तामाङ, सुजल श्रेष्ठ, पुजन उपरकोटी, निशान खड्का, अशोक खवास लगायत खेलाडी एनआरएनएबाट खेलेका थिए । जबकी उनीहरु प्रदेश १ कै घरेलु टिमका खेलाडी हुन् । आफ्नो घरेलु प्रदेशको टिममा नपर्दा उनीहरुले एनआरएनएको टिमबाट खेलेका हुन् । गैर आवासीय नेपालीका नाममा आफ्नै खेलाडी आफ्नै टिम बिरुद्द खेलाएको भन्दै खेल रद्द गर्नुपर्ने माग प्रदेश एकले गरेको थियो । केहिबेर हाहु र होहल्ला मच्चिएको थियो । खेलपछि प्रोटेस्ट हाल्न पाउने भनेपछि उनीहरुले खेल सुचारु गर्न दिएका थिए ।

गैर आवासीय नेपाली संघले आठौं राष्ट्रिय खेदकुदमा भने गैर आवासीय नेपालीहरुबाटै खेलाडी छानेर सहभागि गराएको थियो ।

हाल एनआरएनएको कार्य समिति आठौं खेलकुदका बेला भन्दा चार गुणाले ठूलो छ । तर गैर आवासीय खेलाडीहरु नेपालमा उतार्न सकेको छैन । र देखाउनैकालागि भएपनि नेपालकै खेलाडीलाई गैर आवासीय नेपालीका नाममा खेलाएको छ ।

नेपाल सरकारमा दर्ता भएको, गैर आवासीय नेपाली संघको आफ्नै विधान अनुसारपनि गैर आवासीय नेपाली भनिसकेपछि नेपालका खेलाडीहरु गैर आवासीय नेपालीका नाममा खेलाउन मिल्दैन । तर एनआरएनएले आफ्नै परिभाषा र प्रावधानलाई लत्याएर नेपाली खेलाडी उतारेको हो ।

त्यसो त, नवौं खेलकुदको निर्देशिकामा पनि गैर आवासीय टिमको बारेमा भनिएको छ, ‘गैर आवासीय नेपाली संघ (एनआरएनए।) टिम भन्नाले गैर आवसीय नेपाली खेलाडीहरूबीच छनौट भई आएको टिम सम्झनु पर्छ ।’ राष्ट्रिय खेलकुदको निर्देशिकामा कुनै पनि खेलाडीले झुटा विवरण पेश गरी राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन नपाइने उल्लेख छ ।

गैर आवासीय नेपाली संघको परिभाषा अनुसार गैर आवासीय नेपाली भन्नाले दुई वर्ष भन्दा बढी नेपाल सरकारबाट खटीई बिदेशस्थित नेपाली नियोगमा बहाल रहेको, बिदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एशियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरु बाहेकका अन्य देशहरुमा पेशा, रोजगारी वा व्यवशाय गरी बसोवास गर्ने नेपाली नगारिकलाई जनाउँदछ ।

एनआरएनएले २०७५-७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुददेखि बृहत राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेको हो । त्यसबेला एनआरएनएनले पौडी, लनटेनिस लगायत केही खेलमा प्रतिस्पर्धा गरेको थियो ।

प्रदेश १ का प्रशिक्षक सुरेन्द्र तामाङले यस विषयमा सम्बन्धित संघ अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्र पठाएको नेपाल सिटीन्युजले उल्लेख गरेको छ ।

नेपाल सिटीन्युजका अनुसार प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेको पत्रमा कार्यविधि विपरीत ८ खेलाडी खेलाइएको भन्दै नवौं राष्ट्रिय खेलकुद पुरुष फुटबल प्रतियोगित संयोजकलाई पत्र लेखेका छन् भने राखेपका सदस्य सचिव, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालय, पोखरा र एन्फा अध्यक्षलाई बोधार्थ गरेका छन् ।

तपाइँको प्रतिक्रिया