शुक्रबार, चैत १६, २०८०

इन्धन कर्मचारीहरूलाई काममा फर्कन आदेश दिएपछि फ्रान्समा हडताल चर्किंदै

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज २८ गते १७:४४

करिब एक सातादेखि चलिरहेको हडताल त्यागेर फ्रान्सको ईन्धन आपूर्ति कम्पनीका कर्मचारीहरुलाई काममा फर्किन सरकारले आदेश दिएपछि हडताल झनै चर्किने देखिएको छ ।

फ्रान्सेली रेलवे कर्मचारीहरू र निजामती कर्मचारीहरूले बिहीबार हडताल गर्ने तेल रिफाइनरी कर्मचारीहरूलाई अर्को हप्ता हडतालमा सामेल हुन मतदान गरे पछि फ्रान्समा हडताल झनै चर्किने देखिएको हो ।

फ्रान्सेली सरकारले पेट्रोलको अभावलाई कम गर्न केही इन्धन डिपो कामदारहरूलाई आफ्नो काममा फर्कन बाध्य पार्न आपतकालीन शक्तिहरूको सहारा लिएको थियो । तलब वृद्धि र अन्य सुबिधाको माग राख्दै फ्रान्समा रिफाईनरी (इन्धन आपूर्ति र शुद्द गर्ने कम्पनी) का कर्मचारीहरुले एक साता भन्दा लामो समयदेखि हडताल गर्दै आएका छन् ।

सार्वजनिक क्षेत्रको सबैभन्दा ठूलो मजदुर युनियन सिजिटीद्वारा प्रतिनिधित्व गर्ने रेलवे कर्मचारी र निजामती कर्मचारीहरूले रिफाईनरी कर्मचारीहरुको हडतालमा ऐक्यबद्दता जनाउन अर्को मंगलबार काम रोक्ने जनाएका छन् । धेरै श्रमिक समूहहरूले हडतालमा राष्ट्रिय दिनको समर्थन् भन्दै आह्वान गरेका छन्।

सिजिटीले रेलवे कामदारहरूको लागि उच्च पारिश्रमिकको लागि दबाब दिइरहेको छ । उसले देशव्यापी इन्धन अभाव भएपनि रिफाइनरी कामदारहरूको हडताल तोड्ने सरकारी प्रयासको विरोध गरेको छ ।

“रेल्वे मजदुरहरू तलब सुधारको लागि फेरि दबाब दिन चाहन्छन् । दमन र हडतालको अधिकार विरुद्ध गरिएको आक्रमणको निन्दा गर्न चाहन्छन्” सिजिटी युनियनको विज्ञप्तिमा भनिएको छ ।

कर्मचारीहरुको हडतालले गर्दा देशमा यातायात लगायतका क्षेत्रमा ठूलो समस्या उत्पन्न भएको भन्दै राष्ट्रपतीकै निर्देशनमा रिफाईनरी कम्पनीले बन्द गरेको ईन्धन आपूर्तिको पाईपलाईनमा सरकारले हस्तक्षेप गर्दै खोलेको थियो ।

सरकारले हडतालमा रहेका केहि रिफाइनरी कामदारहरूलाई काममा फर्कन बाध्य पार्न आपतकालीन शक्तिहरूको सहारा लिई नाकाबन्दीमा फसेको इन्धनको भण्डार छोड्न बाध्य पारेको थियो ।

औद्योगिक हडतालले फ्रान्सको रिफाइनरी क्षमतालाई ६० प्रतिशतभन्दा बढीले घटाएको छ र तीनमध्ये एउटा इन्धन स्टेशनले मात्रै आपूर्ति गर्दा इन्धनको लागि नागरिकहरुले संघर्ष गरिरहेका छन् ।

फ्रान्सका सात रिफाइनरीहरू मध्ये छ वटा बन्द भएकाले देशभरका मोटर चालकहरूले स्टेशनहरूमा ट्याङ्कीहरू भर्न लामो लाईन बसिरहेका छन् । एउटा मात्रै खुलेको रिफाईनरीले सबै स्टेशनमा इन्धन पुर्‍यान नसक्दा इन्धन स्टेशनहरु एकै दिनमा रित्ता हुने गरेका छन् ।

“म तेल नपाएर चार वटा पेट्रोल पम्पमा धाएँ । तीन घण्टा लाममा बसिसकेपछि तेल सक्कियो भनेर पम्प बन्द भयो । तेल नपाएपछि म न काममा जान सक्छु न घर ब्यवहार चल्छ । फ्रान्समा यो सबै वाहियात भैरहेको छ” मंगलवार फ्रान्सको फ्रंस कँतेको एक प्रेटोलपम्प अगाडि गाडी रोकेर पर्खिरहेका डेनियल सेभ्रँले नेपालप्लससित भनेका थिए ।

राष्ट्रपति एमानुएल माख्रोंले बुधबार टेलिभिजन सम्बोधनमा इन्धन संकटको बढ्दो क्रोधलाई स्वीकार गर्दै अर्को हप्ताको लागि राहतको सम्भावना रहेको वाचा गरेका थिए ।

प्रधानमन्त्री एलिजाबेथ बोर्नको कार्यालयले बिहीबार सरकारले व्यवस्थापन र श्रम प्रतिनिधिहरू बीच आउँदो घण्टामा पुनः वार्ता सुरु गर्ने योजना बनाईरहेको बताएकि छन् ।

वार्ता गर्ने भनिरहेका बेला अत्यावश्यक कामदारहरूलाई बिहीबार उत्तरी फ्रान्सको डन्कर्क नजिकैको टोटल एनर्जी इन्धन डिपोमा काममा फर्कन उर्दी जारि गरेपछि कर्मचारीहरु थप आक्रोशित बनेका छन् । उक्त डिपो बाहिर एक दर्जन भन्दा बढी प्रहरी तैनाथ गरेको एएफपी पत्रकारले देखेको उल्लेख गरिएको छ ।

रिफाइनरी युनियनहरूले तीव्र मुद्रास्फीतिको प्रतिक्रिया स्वरुप तलब वृद्धि माग गरिरहेका छन् । ऊर्जा कम्पनीहरूले ठूलो नाफा कमाएको औंल्याउँदै उनीहरुले तलब बढ्नुपर्ने माग गरेका हुन् । ग्यास र तेलको मूल्यहरू युक्रेनमा रूसको आक्रमण भएपछि बढेको थियो।

कर्मचारीहरुले गत जनवरी १ देखि आफ्नो तलब १० प्रतिशतका दरले वृद्धिको माग गरिरहेका छन् । तर फ्रान्सको सबैभन्दा ठूलो ईन्धन आपूर्तिकर्ता टोटल ईनर्जीले भने अर्को वर्ष ६ प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरेको छ ।

यसैबिच राष्ट्रपती एमानुयल माख्रोंका वामपन्थी विपक्षीहरूद्वारा मुद्रास्फीति विरुद्ध आइतवार राष्ट्रव्यापी मार्च आव्हान गरिएको छ । उक्त मार्च पासपछि तनाव बढ्ने डरले त्यस अघिनै सरकारी अधिकारीहरूले कम्पनीहरूलाई वार्ता गर्न दबाब दिइरहेका छन् ।

अर्थमन्त्री ब्रुनो ल मेयरले आरटीएल रेडियोलाई यस वर्ष टोटल ईनर्जीले ठूलो नाफा गरेकाले त्यसलाई ध्यानमा राख्दै कामदारहरूको तलब बढाउने दायित्व रहेको बताएका छन् । यसलेपनि कर्मचारीको माग पूर्ति गर्न ईन्धन कम्पनीहरुमाथि दवाव बढाउने छ।

तपाइँको प्रतिक्रिया

फेसबुक