शुक्रबार, वैशाख १४, २०८१

हिथ्रो विमानस्थलका कर्मचारीहरुद्वारा हडतालको धम्की, विश्वकपमाथि अवरोध ?

नेपालप्लस संवाददाता / बेलायत२०७९ असोज २९ गते २१:३०

बेलायतको हिथ्रो विमास्थलले फिफा विश्वकपको समयमा गम्भीर अवरोधको सामाना गर्नुपर्ने संभावना देखिएको छ । विमानस्थलमा काम गर्ने कर्मचारीहरुले आफ्नो तलब वृद्धि हुनुपर्ने माग गर्दै हडताल गर्ने युनियनले चेतावनी दिएको छ ।

हिथ्रो विमानस्थलमा काम गर्ने (ग्राउण्ड स्टाफ) कर्मचारीको संख्या ७०० जति छ । ति सबैको युनाइट युनियन द्वारा प्रतिनिधित्व गरिएको छ जसले आगामी हप्ताहरूमा सम्भावित हडतालकालागि मतदानमा भाग लिने भएका छन्।

यदि कर्मचारीहरुले हडतालमा सहभागि हुने पक्षमा मतदान गरेमा कतारमा फुटबल विश्वकप सुरु भएकै बेला हिथ्रो विमानस्थलमा नोभेम्बरको मध्यमा औद्योगिक हडताल सुरु हुनेछ। यसले विश्व कपलाई ब्यापक असर पार्ने छ । किनभने हिथ्रो युरोपकै सबैभन्दा ब्यस्त विमानस्थल मानिन्छ ।

“कर्मचारीको हडतालले हिथ्रोमा गम्भीर अवरोध र ढिलाइ निम्त्याउनेछ, विशेष गरी विश्व कप यात्रा गर्ने फुटबल समर्थकहरूको लागि गम्भिर असर पुर्‍याउने छ” युनाइट युनियनका क्षेत्रीय अधिकारी केभिन हलले चेतावनी दिएका छन् ।

हिथ्रोका मजदुरहरुको हडताल किन ?

यहाँका कामदारहरू दुबई नेशनल एयर ट्राभल एजेन्सी (डिनाटा) र मेन्जीज एभिएसन द्वारा रोजगार दिएका छन् । तिनमा ग्राउन्ड ह्यान्डलिंग, एयरसाइड यातायात र कार्गो स्टाफ समावेश छन्।

युनाइट कर्मचारी युनियनका महासचिव शेरोन ग्राहमले दाबी गरे, “डिनाटा र मेन्जी दुवैले सजिलै आफ्ना कामदार सदस्यहरूलाई उचित तलब प्रस्ताव गर्न सक्नेछन् र त्यसो गर्नुपर्छ।”

“रोजगारदाताहरुले टेबलमा प्रस्तावहरू जसरि प्रस्तुत गरे पनि फरक पर्दैन । तिनीहरूले पर्याप्त सुविधा, वास्तविक सर्तहरूको उल्लंघन् र तलब कटौती गरेमा हाम्रा सदस्यहरूलाई अस्वीकार्य छ ।”

तर दुबै अपरेटरहरूले यी दावीहरूलाई खण्डन गरेका छन् ।

मेन्जीज एभिएसनका अध्यक्ष फिल लोयडले युनियनहरूले चरम र अनावश्यक कदमहरू चालेको भन्दै आलोचना गरेका छन् ।

“जनवरीमा ७ प्रतिशतको तलब वृद्धि लागू गरिएको थियो । हामी २०२२ मा थप वृद्धि गर्न खुला र इमानदार भएर परामर्श जारी राख्न चाहन्छौं” उनले एयरलाइन ग्राउन्ड सर्भिसेसलाई भने ।

डिनाटा प्रवक्ताले भने आफूहरूका कर्मचारीहरूले २०२१ मा १० प्रतिशत तलब वृद्धि प्राप्त गरिसकेको र अप्रिल २०२१ कै मिति (ब्याक डेट) मा थप ५ दशमलव ५ प्रतिशत प्रस्ताव गरिएको बताएका छन् ।

हडतालले विश्वकप यात्रामा बाधा पुर्‍याउँछ ?

हडतालले विश्व कप यात्रा योजनाहरूमा विनाश ल्याउन सक्ने युनाइट युनियनले चेतावनी दिएको छ ।

“विश्व कप भैरहेको अवधिमा हप्तामा १० वटा थप उडान गर्ने कतार एयरलाइन्स कुनै पनि औद्योगिक हडतालबाट नराम्ररी प्रभावित हुने छ” उनीहरूले विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तीका अनुसार अन्य प्रमुख एयरलाइन्सहरू पनि सम्भावित हड्तालबाट धेरै प्रभावित हुनेछन् । तिनमा भर्जिन, सिंगापुर एयरलाइन्स, क्याथे-प्यासिफिक र एमिरेट्स मुख्य छन्।

मेन्जीज एभिएसनले भने एयरलाइन ग्राउन्ड सर्भिसलाई आफ्ना धेरैजसो ग्राउन्डका अकमदार युनियनसँग आबद्ध नभएकोले तिनले हडताल नगर्ने बताएको छ ।

कतारले विश्वकपमा १२ लाखभन्दा बढी पर्यटक भित्र्याउने अपेक्षा गरेको छ ।

तपाइँको प्रतिक्रिया