सोमबार, मंसिर १९, २०७९

पटाक्षेप

ईशा शाह२०७९ असोज ३० गते १०:२७

(अघिल्लो अर्थात् पाँचौं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

ईशा शाह

“के भयो भन्या ? म त ….! ओहो बुवा पनि यहिं ? नमस्कार बुवा !” गाडीको आवाज सुनेर बाहिर निस्किएका अविजित र परिवेशलाई हेर्दै गाडीबाट ओर्लिंदै गरेको निवेशले भने ।

“नमस्कार, आउ भित्र । आफैं आएर भित्रको दृश्य हेर र हामीलाई उपाय सुझाउ” अघि लाग्दै अविजितले भने ।

“अपराधिक गतिविधि हो भने त मैले यहि वडाको प्रहरीलाई खबर गर्नुपर्ने हुन्छ” निवेशले भने ।

“त्यसो हो भने खबर गर, यहाँ एउटी युवतीले आत्माहत्या गरेकी छ” अविजितले कोठा भित्र पस्दै भने ।

“आत्माहत्या नै हो कि हत्या हो बुवा ?” निवेशले कोठा भित्र पसेर आफ्नो नजर यताउती दौडाउँदै सोधे ।

“कोठा यही हो, मानसिक रुपमा हत्यारा अरु कोही भए पनि उनले आत्माहत्या नै गरेकी हुन् । नपत्याए यो पत्र पढ” आफूसँगै आएर उभिएका परिवेशको हातबाट पत्र लिएर निवेशलाई दिंदै अविजितले भने ।

“को रहेछ यो आयाम भन्ने मान्छे ? यसको बारेमा अलि राम्रैसँग छानबीन गर्नुपर्ने भयो । यो युवतीसँगको हजुरहरुको नाता के हो बुवा ?” पत्र पढ्दै निवेशले सोधे ।

“रगतको नाता त केही पनि छैन निवेश, मानवीय नाता भन्छौ भने उ हाम्रो घर हाम्रो भान्छामा सघाउन आउँथी विहान । खाना खाएर कलेज निस्किन्थी बुहारीसँगै स्कुटरमा । कुरा त्यति हो तर …. !”

“यो तर सर तिर नलागेकै राम्रो बुवा । उनको बुवालाई आयामको नाममा मृतकले लेखेको पत्र अनुसार सबै व्योहोरा खुलाएर एउटा किटानी जाहेरी दिन भन्नु होला ।”

“न हात छ न खुट्टा छ यस्तो बिचराले…..!” विक्रमलाई हेर्दै अविजितले भने ।

“ए उहाँ हो मृतकको बुवा, आफ्नो छोरीको बिचार गर्न पर्छ नि ! बेलामा बिचार नगर्दा यस्तो भयो” निवेशले भूईंमा अलपत्र परेको विक्रमलाई हेर्दै भने ।

“हामीले के बिचार गर्नु ? हाम्रो बिचार उसैले गर्थी । उल्टो अर्ति उपदेश उ आफैं दिन्थी । तर अब अहिले आएर ….. !”

“अनि तँपाईंकी श्रीमती अरु बच्चाबच्ची …… ?”

“साना छन्, डराउलान् भनेर श्रीमतीले लिएर पल्लो कोठामा बसेकी छ ।”

“एकचोटी म उहाँलाई पनि ……!”

“अघि वडा प्रहरीको कुरा गर्दै थियौ, समयमै बोलाउन पाए यो असरल्ल पन्छिन्थ्यो” अविजितले भने ।

“ए अँ म खबर गर्छु । जतिसुकै कठोर मुटु भएको भए पनि यस्तो दृश्य देखेपछि गाह्रो हुने ।” निवेश कोठाबाट निस्किए । उनको पछिपछि अविजित र परिवेश थिए ।
परिवेश सेटमा कुरा गर्दै सुमित्राको कोठामा पसेपछि बाहिर उभिएर परिवेशले सानो स्वरमा अविजितसँग भने “अब हामी जाने हो कि के बुवा ?”

“पख न यहाँ यत्तिकै यस्तो असरल्ल छोडेर कसरी जाने ?”

“अब यो असरल्ल त अहिले सकिंदैन । प्रहरी आउन कतिबेर लगाउने हो ? भोक लाग्यो । उता स्वाती पिरले आधा भई होली त्यसैले …..!” परिवेशले भूईंतिर हेर्दै भने ।

“त्यो पनि हो । त्यसो हो भने तिमी जाउ न त ।”

“अनि हजुर ?”

“म व्यवस्था मिलाएर आउँछु ।”

“हजुर झन बिरामी मान्छे !”

“म अलिबेर तग्न सक्छु । तिमीलाई गाह्रो भएको भए तिमी जाउ, गएर हाम्रो बारीको कोठा सफा गर्न भन ।”

“किन बुवा ?”

“अब यिनलाई यहाँ कता त्यसै छोड्नु ?”

“मुमालाई सोध्नुपर्ने होला नि बुवा, नत्र त फेरि …… !”

“तिम्री मुमाले दाईजोमा ल्याएकी घर हो र सोध्नलाई ? अलिकती मानवीय समवेदनाको कुरा हुन्न ? यहाँ सुमित्रा साना बच्चालाई लिएर कसरी बस्न सक्छे र त्यसै छोड्ने ?” अविजित कड्किए ।

“त्यो त हो । तर पनि एकचोटी घर सल्लाह नगरी …. !”

“सल्लाह गर्दै गरुँला, गएर सम्झाउ तिम्रो मुमालाई ।”

“म त सम्झाउँला तर मुमा ….. !”

“अहिले मैले बनाए जस्तै मानसिकता तिमी बनाउ र घर जाउ । उनीहरुलाई जतिसक्दो चाँडो यहाँबाट लिएर जानुपर्छ । संभव भएसम्म छिट्टै सफा गरेर गाडी लिई तिमी आउनु, नभए भाई आउला” अविजितले परिवेशलाई समातेर अलि पर लग्दै भने ।

“म कोशिस गर्छु बुवा” परिवेशले भने ।

“हुन्छ जाउ । केही परे म कल गर्छु ।” अविजित घर भित्र पसे ।

क्रमश :

तपाइँको प्रतिक्रिया