बिहीबार, चैत १५, २०८०

इन्धन अभाव र मुद्रास्फीतिको आक्रोशले पेरिसमा प्रदर्शन : बैंक तोडफोड, अश्रुग्यास र लाठी प्रहार

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ असोज ३१ गते ०:०४

फ्रान्समा इन्धन अभावका कारण तीन हप्ता देखि चलेको प्रशोधन उध्योगका कर्मचारीको हडतालबाट आजित बनेका दशौं हजार नागरिकले सरकार बिरुद्द प्रदर्शन गरेका छन् ।

बढ्दो मुद्रा स्फितिले हैरान बनेका नागरिकहरुले ईन्धन हडतालको मारसमेत खेप्नुपरेपछि जीवनयापनको बढ्दो मूल्यमा निराशा व्यक्त गर्न आइतबार पेरिसमा जुलुस निकालेका हुन् ।

यो प्रदर्शन राष्ट्रपती एमानुएल माख्रोंका वामपन्थी राजनीतिक विपक्षीहरूले आह्वान गरेका थिए । प्रदर्शन फ्रान्स अनबोड (एलएफआई) पार्टीका प्रमुख जँ-लुक मेलँसोंको नेतृत्वमा भएको हो ।

प्रदर्शनकारीहरुले विभिन्न वस्तुले प्रहार गर्न लागेपछि सुरक्षाकर्मीहरुले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछिपनि प्रदर्शनकारीले प्रहरीमाथि प्रहार गर्न नछोडेपछि धेरै पटक लाठी चार्ज गरेको थियो । प्रदर्शन सकिने बेलातिर कालो पहिरन लगाएका मुखौटाधारीहरूले बैंकमा तोडफोड गरेको प्रहरीको भनाई छ ।

केही प्रदर्शनकारीहरूले पहेंलो रङको भेस्ट लगाएका थिए जुन २०१८ मा भएको सरकार बिरोधी हिंसात्मक प्रदर्शनमा लगाइएको थियो । पहेंलो भेस्टलाई धेरैले अहिलेपनि सरकार विरोधी प्रदर्शनको प्रतीकको रुपमा मान्छन् । त्यो बेला पहेंलो वस्त्रधारीले राष्ट्रपति एमानुएल माख्रोंको सरकारलाई हल्लाईदिएको थियो ।

“उच्च पद र स्थानमा भएका मानिसहरुलाई तेलको अभाव, मुद्रास्फिति र महँगीले नछुने । न्युन स्तरमा रहेका नागरिकले कर तिरेको तिर्‍यै गर्ने । त्यस्तो किन भैरहेको छ भनेर जानकारिपनि नपाइने । कुनैपनि समस्याले उच्च ओहदाकालाई छुँदै नछुने । यो देशको सबै कुरा नालीमा बग्न लागेको जस्तो छ” आन्दोलनकारीहरुले गुनासो गरेका थिए ।

माख्रोंका विपक्षीहरूले सेप्टेम्बरको अन्त्यमा सुरु भएको ईन्धन प्रशोधन र डिपोका कर्मचारीको विवाद र हडतालले सिर्जना गरेको गतिमा आफ्नो आन्दोलनलाई निर्माण गर्ने आशा गरिरहेका छन् ।

मेलँसोंले प्रदर्शनकारीलाई संवोधन गर्दै भने “हामीले एक हप्ता जे देख्यौं त्यस्तो हत्तपत्त देख्दैनौं । स्थिति अत्यन्त खराब देखिएको छ । सरकार जनताको, कर्मचारीको माग पुरा गर्न असमर्थ देखिएको छ ।”

आम हड्तालको आह्वान

मेलँसोंले मंगलबार पनि हडतालको आह्वान गरे । धेरै फ्रान्सेली युनियनहरूले पहिले नै सडक यातायात, रेल र सार्वजनिक क्षेत्रलाई लक्षित गर्दै हडतालको राष्ट्रिय दिन घोषणा गरिसकेका छन् ।

आयोजकहरूले आइतवारको र्‍यालीमा १ लाख ४० हजार मानिस सहभागी भएको दाबी गरे पनि प्रहरीले भने ३० हजार रहेको बताएको छ । स्वतन्त्र पत्रकार र अन्य नागरिकले २९ हजार ५०० सहभागि भएको बताएका छन् ।

अहिलेको हडताल सरकार र नागरिक दुबैकालागि महत्वपूर्ण छ । त्यसैले हडताल र आन्दोलनलाई सरकारले नजिकबाट हेरिरहेको छ । किनभने आगामी केही महिनाहरूमा पेन्सन प्रणालीमा अत्यधिक विवादास्पद परिवर्तन पारित गर्ने लक्ष्य सरकारले राखेको छ। त्यसैले सरकारले बिपक्षी पार्टीको शक्ति र जनताको भावना बुझ्न चाहन्छ ।

गत अप्रिलमा दोस्रो कार्यकालकालागि चुनाव जितेका राष्ट्रपती एमानुयल माख्रोंले जाडोको अन्त्य हुनु अघि नै सुधारको तालिका बनाएर सेवानिवृत्तिको उमेर ६२ वर्षबाट बढाउने वाचा गरेका छन्।

अस्वीकार्य

फ्रान्सका सात ईन्धन प्रशोधन र आपूर्ति मध्ये चार सबै पेरिस वरिपरि छन् । ति ऊर्जा समूह टोटल एनर्जीसँग सम्बन्धित छन् । आइतबार ति सबैमा उर्जा आपूर्ति र बितरण अवरुद्ध रह्यो।

फ्रान्सेली कम्पनीले आफ्नो प्रशोधन केन्द्रहरूमा कर्मचारीहरूको प्रतिनिधित्व गर्ने दुई ठूला युनियनहरूसँग तलब सम्झौतामा पुगेको र अवरोधको अन्त्यको आशा बढाएको शुक्रबार घोषणा गरेको थियो ।

तर फ्रान्सको सबैभन्दा ठूलो र कट्टरपन्थी युनियन सिजिटीले यसलाई अस्वीकार गरेको छ । यसका सदस्यहरूले हडताल जारी राखेका छन्।

प्रधानमन्त्री एलिजाबेथ बोर्नले आइतवार साँझ टि एफ १ टेलिभिजनलाई यदि स्थिति सोमबार तनावपूर्ण रहेमा अधिकारीहरूले हडताल गर्ने कामदारहरूलाई आग्नो काममा फिर्ता जान बाध्य पार्दै थप आवश्यकताहरू अगाडि बढाउने बताइन् ।

करिब ३० प्रतिशत इन्धन सर्भिस स्टेशनहरूले कुनै न कुनै प्रकारको इन्धन आपूर्तिमा समस्या भोगिरहेका छन्। त्यो धेरै हो” उनले भनिन् ।

यसअघि आइतवार अर्थ मन्त्री गाब्रियल अटलले हडतालको निरन्तरतालाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेका थिए । अर्को तर्फ व्यापार लबी समूह मेडेफले १५० मानिसहरूले देशलाई बन्धक बनाउँदै गरेको बताएका थिए ।

अमेरिकी समूह एस्सो-एक्सोनमोबिल्को स्वामित्वमा रहेका अन्य दुई ईन्धन प्रशोधनका कर्मचारीहरू गत हप्ताको अन्त्यमा काममा फर्किएका छन् । तर त्यहाँका सञ्चालनहरू सामान्य अवस्थामा फर्कन कम्तिमा पन्ध्र दिन लाग्ने कम्पनीले जनाएको छ ।

हाल, देशभरका करिब एक तिहाइ पेट्रोल स्टेशनहरूले आपूर्तिमा समस्या भोगिरहेका छन् । चालकहरूले इन्धन भर्न घण्टौं कुरिरहेका छन्।

धेरै कम्पनीहरूले यात्रा र डेलिभरीमा कटौती गरेका छन् । आपतकालीन सेवाका सवारी साधनहरूले पनि अभावको सामना गरेका छन् ।

इन्धनको मूल्य निकै बढेका कारण ऊर्जा समूहहरूले गरेको ठूलो नाफाले उच्च पारिश्रमिकको लागि दबाब दिन कर्मचारीहरूमा मनोबल बढाएको छ ।

तर शुक्रबार जारी गरिएको बिभिए सर्वेक्षण समूहको सर्वेक्षणले मात्र ३७ प्रतिशत मानिसहरूले हडताललाई समर्थन गरेको देखाएको छ ।

आइतवार राजधानी पेरिसमा भएको बिरोध प्रदर्शन र जुलुस जँ लुक मेलँसोँको पार्टीले आह्वान गरे पनि यसलाई उनको गठबन्धनका सहयोगीहरू ग्रीन, समाजवादी र कम्युनिष्टहरूले समर्थन गरेका थिए ।

हालै नोबेल साहित्य पुरस्कार विजेता एनी एर्नो र कला र सार्वजनिक जीवनका अन्य ६० व्यक्तित्वहरूले पनि संयुक्त पत्र लेख्दै मानिसहरूलाई मार्चमा सामेल हुन आह्वान गरेका थिए।

तपाइँको प्रतिक्रिया

फेसबुक