सोमबार, मंसिर १९, २०७९

सुन्य पारे हटियालाई गैह्रारे कान्छाले

उदय राज गौतम / कोपहनहेगन, डेनमार्क२०७९ कार्तिक २ गते १९:५४

धेरै पढेलेखेका, धनधान्यले भरिपूर्ण, नाम चलेका मान्छेहरुको मृत्यु चर्चाको विषय हुन्छ। श्रद्धान्जली र समबेदनाका बाढी चल्छन। जीवनकालमा उसले गरेका यावत सु-कर्महरुको बखान हुन्छ। पत्र पत्रिकामा फोटो छापिन्छ। तर निम्न बर्गका मानिसहरुको मृत्युको ? खास चर्चा हुँदैन ।

हुनत, मृत्यु भयङ्कर चित्कार सहित सवार हुन्छ। यसले कोलाहल ल्याउँछ। अप्रिय हुन्छ। जन्म जस्तो शान्त र सौम्य हुँदैन। मृत्यु अधिक प्रतिक्रियात्मक हुने हुँदा यसले सबैभन्दा सम्बन्धले नजिक हुनेहरुको निम्ति बढी पीडादायी हुन्छ।

हाम्रो छिमेकी कका धन प्रसादले हालै अति सहज मृत्युबरण गरे। हाम्रो भतिज सुन्दरले अन्तिम अवस्थामा उनलाई पानी खुवाउने संयोग परेछ। ‘अजाले पहिला घुटुक्क पानी निल्नु भयो । अनि लत्रक्क हुनु भो । मलाइ त कस्तो डर लाग्यो’ उसले भन्यो।

धन प्रसाद ककासँग प्रशस्त धनले बास नगरे पनि उनी मन प्रसाद थिए। जीवनको अन्तिम काल खण्डमा गाउँ समाजले उनलाई कर्म प्रसादले चिन्यो। कर्म भनेको श्रम हो। श्रम गर्नु पर्छ भन्ने मार्ग दर्शन दिने गैह्रारे कान्छाले जीवनको लामो काल खण्ड सरस्वतीको मन्दिरको सेवामा समर्पित गरे। उनले जनसेवा संस्कृत मा.वि. मा सहयोगीको भूमिका निर्वाह गरे। झन्डै ३२ वर्ष सेवा गरेर ६८ वर्षको उमेरमा देहत्याग गरे।

बरिष्ठ मान्छेका भन्दा कनिष्ठका, धनीका भन्दा गरिबका, ठूलाका भन्दा सानाका अनि कुर्चीमा बसेर दिन काट्नेका भन्दा गाइबाख्रा चराउनेका जीवन कहानी रमाइला हुन्छन। आलिशान महलमा बस्नेका भन्दा झुप्रामा बस्नेका दैनिकी बेजोड साहित्य बन्दछन।

स्व. धन प्रसाद

कृष्ण श्रेष्ठले लेखे जस्तै कर्मका पारखी कान्छा ककाले कुचो र चापी लिंदा लिंदै झन्डै आधा जीवन बिताए। विद्यालयको भौतिक संरक्षण मात्र नभएर नियमित पानीको हाहाकार हुने स्कुलमा पलाँसे गैह्राबाट पानी बोकेर शिक्षक, स्टाफ र विद्यार्थीहरुलाई पानी पुर्याउनु एक चुनौतिपूर्ण काम थियो। न्यून तलबमानमा काम गरेर पनि बिहान देखी बेलुकीसम्म कर्तब्य निर्वाह गर्नु भनेको जागिर मात्र खाएको भन्न सकिंदैन।

विद्यालयका भूपू प्रधानाध्यापक शोभाकान्त रिजालले वहाँको समबेदना संदेशमा ‘समकालीन समाज र अहिलेको पुस्ताले वहाँको योगदानलाई बिर्सन नसकिने’ स्मरण गर्नु भएको छ। पालुस्थान मा.विका प्र.अ. पूर्णचन्द्र काफ्लेले धन प्रसादसँग सहकार्य गर्दाका दिनहरु अमूल्य’ रहेको स्मरण गर्नु भएको छ। हाम्रा ठुलाबा गिरिराज गौतमले ‘एक असल सहयोगी छिमेकी मात्र नभएर गैह्रारे कान्छा साँझ विहानका दुख सुखका मन साट्ने पनि थिए’ भनेर स्मरण गर्नु भएको छ।

‘एक वर्षकै अन्तरालमा हटियामा जुम्ल्याहा साहिला दाइ, हिमेदाई र अहिले गैह्रारे कान्छा हामीले गुमाउनुपर्यो। मेरो मन धेरै भारी भएको छ’ भन्दै दानकाजी श्रेष्ठले ‘गैह्रारे कान्छाको आत्माले शान्ति पाओस’ भनेर मसँगको वार्तालापमा भन्नुभयो । हाम्रो ठुलोदाई दिल प्रसादले आफ्नो बालसखा गुमाएको पीडा व्यक्त गर्नुका साथै बाल्यकाल देखी युवावस्थासम्म सँगै हिंडेको, घाँस काटेको, खेलेको, रमाएको बेलाको स्मरण गर्नु भयो। फौजको नोकरीबाट छुट्टी मिल्ने बित्तिकै घर आउँदा प्राय हाम्रो दाइको जाने घरनै कान्छा ककाको हुन्थ्यो । भाई दान प्रसाद, काशी, निलकन्ठ, कान्छाबा खेम प्रसाद गौतम समेतले श्रद्धा सुमन व्यक्त गर्नु भएको छ।

गैह्रारे कान्छा काकालाई अजीले माया गरेर ‘काले’ भनेर बोलाउँथिन। त्यसै भएर होला हट्टियामा अलि बुढापाकाहरु ‘काले’ भन्थे। अहिले त्यो पिंढी सकिइसकेको छ। मलाइ समेत माइला भनेर बोलाउने २ वटा हट्टियामा गरेर जम्मा ४ जना अझै जीवित छन्। म झन्डै ६ बर्षको हुँदा भुरुंग बनाइ पाउन निबेदन दिने उद्देश्यले पहिलो पटक गैह्रारे ककाको घरमा गएको सम्झना छ।

चिलाउनेको ठूटो तासेर गैह्रारे अजाले सुन्दर भुरुंग बनाउँथे। दशैको बेलामा गोबरले लिपेको आँगनमा त्यो भुरुंग नचाऊँदा चरम आनन्द मिल्थ्यो। अत्यन्त कुशल सिकर्मी थिए अजा। उनको नाम मलाई थाहा भएन। एउटा भुरुंग बनाइदिएपछि उनले अराएको सानोतिनो काम गर्दिनुपर्थ्यो । गोरु चराउन जाँदा फर्काइ दिने यस्तै यस्तै।

छोराहरुलाई गर्मि हुन्छ, झ्याल चाहिन्छ भन्ने हाम्राबाको इक्षामा बलियो तर्कगर्दै दुबैजनाले भनेका थिए, “ठुल्दाइ पछाडी झ्याल राख्यो भने बुहारीहरुले चामल बारीका पाटामा फाल्छन के, कति कुरा नबुझेको हो ?” बा ट्वाल्ल पर्नु भो।

एक पटक के कुरामा हो रिस उठेछ । कान्छा काकैलाई अजाले तिघ्रामा लठ्ठीले हानेको मैले देखेको छु। त्यसपछि भने म त्यहाँ अलि हिसाब किताब मिलाएर मात्र जान थालें। भन्नाले अजाको मुड बिचार गरेर। कान्छा काकैको मिल्ने साथी भएर होला, हाम्रो दाइलाई पनि हाम्राबाले त्यसै गरि बाँसको भाटाले तिघ्रामा हानेको मेरै आँखाले देखें। कारण अति सामान्य थियो, घरमा बेलामा नआएर । आफ्नो कुरा त आफैं लेख्ने कुरा भएन। अहिलेको जस्तो स्वतन्त्रता त्यतिबेला पक्कै थिएन। ठीक समयमा जेजे भन्यो त्यो गर्नुपर्थ्यो।

एउटा निम्न मध्यम बर्गीय किसान परिवारका दुख लगभग सबैका समान हुन्छन। गैह्रारे कान्छा काका पनि कडा मिहिनेत गर्ने, दिनभरि ढड्यानको खेत बिराउने, बेलुकी सेती खोला र गेडि खोलाको संगममा माछा मार्न खुंवा थाप्ने, राती माछा कुर्न बस्ने गर्नुहुन्थ्यो। सोंख्रे दर्जी र काकैको बीचमा कसले धेरै माछा मार्ने भन्ने प्रतियोगीता जस्तै हुन्थ्यो। मुस्किलले हाम्ले एक पटक मात्र काकैको खुंवाबाट माछा चोर्न सफल भएका थियौं। त्यो काम सायद बिकास सेनको घरको उखु चोर्नु भन्दा अझ धेरै जोखिमपूर्ण थियो। अनि ठूला ठूला जुरा भएका बहर गोरु पाल्ने, धान काटेपछि खुला फाँटमा गोरु जुधाउने चलन थियो त्यतिबेला। कसको गोरुले जित्छ भन्ने कुरा त्यतिबेला ज्यादै महत्वपुर्ण हुन्थ्यो। बलको जुग थियो।

गैह्रारे काकै बलियै भएको कारण म एक पटक सेतीखोलाको बाढीबाट बाँचेको छु। घाँसको डोको बगाए पनि उनले मलाई सिङ्गै जिउँदै झिकेर बालाई सुम्पे। त्यतिबेलाको दैनिकी कठिन थियो। बढेको खोलो तर्नुपर्ने, नियमित घाँस काट्नुपर्ने, खानजोत, मेलापात, रोपाईं, दाइँ गर्नुपर्ने हुँदा हामीलाई पनि कान्छा काकाले धेरै सहयोग गर्नुभयो। हाम्रो घर बनाउँदा गेडी खोलाबाट कान्छा काकैले बोकेर ल्याएको चिलाउनेको दलिनमा अहिले निस्फिक्रीसँग मुसाहरु परेड खेलीरहेका छन्। घर बनाउँदा पछाडी झ्याल राख्न नदिने हिमे काका र तल्लारे लुरे कका (कृष्ण श्रेष्ठको बुवा) पनि अहिले यो संसारमा छैनन्। छोराहरुलाई गर्मि हुन्छ, झ्याल चाहिन्छ भन्ने हाम्राबाको इक्षामा बलियो तर्कगर्दै दुबैजनाले भनेका थिए, “ठुल्दाइ पछाडी झ्याल राख्यो भने बुहारीहरुले चामल बारीका पाटामा फाल्छन के, कति कुरा नबुझेको हो ?” बा ट्वाल्ल पर्नु भो। झ्याल बनेन। समयकै कुरा भनौं, यहाँ भन्दा धेरै के भन्नु !

आफूसँगै हाँसखेल गरेकाहरुको भौतिक अवसान भए पछी बिगतमा सँगै हुँदा गरेका धेरै रमाइला क्षणहरुको सम्झना हुनु स्वाभाविकै हो। यस्ता रमाइला क्षण मध्ये कान्छा काकैसँगको एउटा घटना यहाँ उल्लेख गर्न मन लाग्यो।

“श्री ज्वाइँ गैरारे काले, यो चिठी लेख्ने तिम्रो जेठान अहिले म पल्टनमा छु। आगे जल्दी छुट्टी आउने इरादा छ। म आउँदा अलि अच्छा टाइपको खसी काट्नु । सबै कुराको राम्रो ठाम ठेगान गर्नु । अगर कोहि पुग अपुग भएमा मलाइ अच्छा लाग्ने छैन।”

एक दिन सँगै गाइगोरु चराइरहेको बेलामा दानकाजी दाइले मलाई बोलाएर एउटा चिट्ठी लेख्न लगाए। व्यहोरा यस्तो थियो :

“श्री ज्वाइँ गैरारे काले, यो चिठी लेख्ने तिम्रो जेठान अहिले म पल्टनमा छु। आगे जल्दी छुट्टी आउने इरादा छ। म आउँदा अलि अच्छा टाइपको खसी काट्नु । सबै कुराको राम्रो ठाम ठेगान गर्नु । अगर कोहि पुग अपुग भएमा मलाइ अच्छा लाग्ने छैन।” यस्तै यस्तै आधा पेज जति थियो होला। अन्तिममा,  तिम्रो जेठान …….भन्दै नाम लेखिएको थियो।

चिठी लेखिएको भोलिपल्ट फेरी छेडुवाको बगरमा भेट भैहाल्थ्यो। हवाइपत्रमा राखेर प्रेषक / प्रापक मिलाएर लेखिएको थियो। ‘कान्छा तेरो चिठी आ रैछ। मैले बिहान हुवास जाँदा ल्याइदिएको छु’ भनेर काजिदाइले चिठी दिए। झन्डै ३० हात पर एक्लै गएर कान्छा काकैले चिठी पढ्न थाले। चिठी कचाककुचुक पार्दै उनी मुर्मुरिंदै आए। ‘मैले पनि जान्या छु । मलाइ जे पायो त्यहि भन्ने जेठानले’ भन्दै गोरु खेदेर घर हिंड्न थाले। पिप्ले खेतको पिपलनेर उनी पुग्न थालेका थिए। काजिदाई दगुर्दै गएर चिठीको यथार्थ कुरो भनेपछि बल्ल उनी सेलाए। झन्डै एक हप्ता जति चिठीले राम्रै हँसायो।

बरिष्ठ मान्छेका भन्दा कनिष्ठका, धनीका भन्दा गरिबका, ठूलाका भन्दा सानाका अनि कुर्चीमा बसेर दिन काट्नेका भन्दा गाइबाख्रा चराउनेका जीवन कहानी रमाइला हुन्छन। आलिशान महलमा बस्नेका भन्दा झुप्रामा बस्नेका दैनिकी बेजोड साहित्य बन्दछन। यसको एउटै मात्र जब्बर कारण केहो भने भूइँ मान्छेका दिनचर्या बहुरंगी हुन्छन, बहुआयामिक हुन्छन। त्यहाँ कुनै मर्यादाक्रम र औपचारिकताका सीमाहरूले बाँधिनुपर्ने हुँदैन ।

कान्छा ककासँगको अन्य केहि रमाइला अनुभूतिहरु पनि छन्। एक पटक हाम्रो गाउँमा अरब गएर खराब कमाउने हल्ला चल्यो। खरब कमाउने लोभमा हामी केहि अरब जाने भयौं। टोलीमा टीम क्याप्टेन दानकाजी श्रेष्ठ सहित ग्यांदल काका, गैह्रारे कान्छा काकै, गोतामे माइला, मुलाबारी साइँला, अन्य केहि वालिङ्ग तिरका चिरपरिचित युवाहरु।

झन्डै ३० हात पर एक्लै गएर कान्छा काकैले चिठी पढ्न थाले। चिठी कचाककुचुक पार्दै उनी मुर्मुरिंदै आए। ‘मैले पनि जान्या छु । मलाइ जे पायो त्यहि भन्ने जेठानले’ भन्दै गोरु खेदेर घर हिंड्न थाले।

काठमाडौंबाट दिल्ली बसमा गयौं । क्याप्टेन भएकोले काजीदाई प्लेनमा उडे। बसमा गएको हुँदा भात खान हामीलाई बसले बाहिर निकाल्यो। दिल्ली नपुग्दै कुन ठाउँ हो मैले बिर्सें। कान्छा कका र मसँगै एउटै टेबलमा थियौं। भातलाई चावल भनिंदो रहेछ। भात निकै नमिठो लाग्यो। पहिलो पटक निकै कम दिएको थियो। दोस्रो पटक खाना थपेपछि ‘तडी डाल्नाहे ?’भनेर सोध्यो । मैले ‘पर्दैन’ भन्ने आशयले टाउको हल्लाएँ। काकैले पनि त्यसै गरे। ‘तडी भनेको तरकारी भनेको हो। भात निस्तै खान्छौ र ?’ भनेर ग्यांदल काका कड्केपछि फेरी उसले तरकारी दियो। भाषा नबुझ्नु पनि कम्ता दुखदायी हुँदो रैनछ ।

दिल्ली गएर केहि दिन कुर्दा पनि हाम्रो काम बनेन। अझै २ महिनाजति पर्खिनुपर्ने खबर आयो। खर्च धान्ने उपाय के होला भनेर हाम्रा कान्छाबा खेम प्रसादसँग राय सल्लाह लिने काम भयो। केहि सम्पर्कमा सोधपुछ गरेर कान्छाबाले हामी ५ जनालाई मेरठ जाने सल्लाह दिनुभयो। हामी एउटा जिर्ण बसमा मेरठ पुग्यौं।

बेलुका ७ बजेको थियो। जुलाई महिनाको दिल्लीको गर्मीले सताएका हामी, मेरठमा झन् चर्को गर्मि रहेछ। भौंतारिंदै तोकिएको कम्पनीको ठेगाना पत्ता लगाउन झन्डै एक घण्टा लाग्यो। हिन्दि बोल्न अलि अलि ग्यांदल काकालाई आउँथ्यो । अरु कसैलाई पनि आउँदैनथ्यो। कम्पनि भनेको थियो । तर कुखुरा फारम रहेछ।

गेटबाट एकजना बाहिर आयो। हामीले ग्यांदल काकालाई अगाडी सार्यौं। उसले भनेको हिन्दि अलि अलि बुझियो । तर काकाले भनेको हिन्दि अलि बुझिएन। खानपिन र बसोबासको कुरा भयो। उसले ‘सब ठिक हुन्छ’ भन्दै त्यहाँबाट दुइ सय मिटर पर एउटा टीनले बारेको झुप्रोमा लिएर गयो। ‘कपडा लिन एक जना आइज’ भन्यो । अनि भाँडाकुँडा लिन २ जना बोलायो । दाल चामललगायत लिन पनि बोलायो।

कपडा लिन जाने मेरो भागमा पर्यो। उसले अर्को एकजना साथ लगाएर मलाइ कपडा लिने ठाउँमा लग्यो। ५ वटा जुटका बोरा दियो । मैले लिएर आएँ। तरकारी पनि आयो । तर ५ किलो जति कुखुराका टाउका मात्र। के गर्ने कसो गर्ने भयो । तर त्यो रात गुजार्नु थियो। लामखुट्टेले सुत्ने अवस्था थिएन। जुटका बोरा त लामखुट्टे धपाउन पो दिएको रहेछ। “तिमीहरु फेला पर्यौ, पढे लेखेर हावा खाने भनेको यहि हो” कान्छा काकैले प्वाक्क भने।

साना मान्छेहरुको इतिहाँस नलेखिए पनि सके र भ्याएसम्म उनीहरुको पनि स्मरण गर्न सकियो भने लेखिएका कुरा जीवित रहन्छन । जन्मदा परिचय विहिन बालक मृत्यु हुने बेलासम्म उसले एउटा परिचय बनाइसकेको हुन्छ ।

आलोपालो रातभरी हम्कने, लामखुट्टे धपाउने गरेर बसियो। सुत्ने कुरा भएन। विहान ४ बजे घन्टी बजाउँदो रहेछ स्कुलमा जस्तै। लाइनमा बस्ने आदेश आयो। हामी पनि बस्यौं। कामको बाँडफाँड हुँदो रहेछ। त्यस दिन मैले ३ बजेसम्म काम गरें। बाह्र बजे पाउरोटी खान १५ मिनट समय दिँदो रहेछ। मुस्किलले ३ बजेसम्म काम गरेर मैले काम नगर्ने घोषणा गरें।

अघिल्लो रात गेटमा हामीलाइ भेट्न आउने मान्छे डोटीको भोजराज भट्ट भन्ने रहेछ। उसले बोलेको नेपाली त हिन्दि भन्दा झन् कडा, पटक्कै नबुझिने। ‘अंग्रेजी बोल्नुहुन्छ ?’ भनेर मैले उसलाई सोधें । उसले नबोल्ने प्रतिक्रिया दियो। मैले एक दिनको ज्याला मागें । ५५ रु. दियो। झन्डै १५ मिनट पछि त्यहाँ केहि कामदारहरुले उसलाई घेरा हाले।

ज्यालाकै लफडा त्यहाँ केहि दिन देखि चलिरहेको रहेछ। पछि थाहा भयो। उसले हरेक कामदारको ज्यालामा २५ प्रतिशत जति कटाएर मात्र दिँदो रहेछ। ‘भिडमा नजा’ भन्ने साथीहरुको आग्रहको बेवास्ता गर्दै म पनि त्यहीं गएँ। ‘भोजराज मुर्दाबात’ भन्दै एक जनाले नारा लायो। सबैले नारा लगाउन थाले। साहु बल्ल आइपुग्यो। ठूलो, अग्लो, मोटो जिउ भएको फेटा बाँधेको मुन्छे रहेछ ।

“भोलि एक एक जना गरेर मेरो अफिसमा आउनु । म कुरा बुझ्छु” भन्ने आशयको उसको आस्वाशन पछि भीड तितरबितर भयो। मैले साहुसँग अंग्रेजीमै कुरा गरेर मेरो ज्याला जम्मा ५५ भएको गुनासो गरें। उसले दायाँबायाँ अरु केहि कुरै नगरी मलाइ ७५ रुपयाँ थपिदियो। म साथीहरुसँग बिदा भएर हिंड्न लागें।

दोस्रो पटक खाना थपेपछि ‘तडी डाल्नाहे ?’भनेर सोध्यो । मैले ‘पर्दैन’ भन्ने आशयले टाउको हल्लाएँ। काकैले पनि त्यसै गरे। ‘तडी भनेको तरकारी भनेको हो। भात निस्तै खान्छौ र ?’ भनेर ग्यांदल काका कड्केपछि फेरी उसले तरकारी दियो।

अलि वर आएको थिएँ, गैरारे कान्छा ककाले मलाइ ‘पर्ख त’ भनेर बोलाए। ‘तिमिसँग पैसा पनि छैन। अब ठुल्दाइले पैसो सुको पनि दिंदैनन। बिचार गर है’ भने। मैले ‘हैन कका जेसुकै होस् यहाँ त बस्दै बस्दिन’ भन्दै बस खोजेर दिल्ली आइपुगें, राती १० बजे। झन्डै एक हप्ता पछी अरु पनि आइपुगे। कान्छा काकैसँगको यो दुखद भनौं कि रमाइलो क्षण भनौं, वहाँको अवसानको स्मरणमा उल्लेख गर्न मन लाग्यो। यो पढ्दा कतिपयलाई असान्दर्भिक पनि लाग्न सक्छ . तर मेरो व्यक्तिगत अनुभूतिका कुरा अरुलाई असान्दर्भिक लाग्नु पनि स्वाभाविक अर्थमा मैले लिने छु।

काका पर्नेलाई काम लगाउनुपर्ने हुँदा शुरुमा तिलक सरले अलि अप्ठ्यारो मान्नु भएको थियो। पछि स्थानीय र स्टाफको भावना, अनि विद्यालय संचालक समितिका भूपू अध्यक्ष स्व. दल बहादुर श्रेष्ठको चाहनाले पनि कका धन प्रसादले विद्यालयको सेवा गर्ने अवसर पाउनुभयो र विद्यालयले पनि उहाँजस्तो कर्तव्यनिष्ठ कर्मचारी प्राप्त गर्यो।

२०४१ सालमा जनसेवा नि.मा.वि. बाट विद्यालयको स्तरोन्नति गरि जनसेवा संस्कृत मा.वि. मा रुपान्तरण गर्ने समयमा मैले पनि छोटो समय सेवा गर्ने अवशर पाएँ।

हुनत मृत्यु भयङ्कर चित्कार सहित सवार हुन्छ। यसले कोलाहल ल्याउँछ। अप्रिय हुन्छ। जन्म जस्तो शान्त र सौम्य हुँदैन। यसले सबैभन्दा सम्बन्धले नजिक हुनेहरुको निम्ति बढी पीडादायी हुन्छ।

अर्को एक दिन फेरी कान्छा ककासँग सम्बन्धित एउटा रमाइलो घटना भयो । संयोगले टिफिन समयमा म पनि अफिसमा थिएँ। टिफिन सकिएपछी तिलक सरले घन्टी बजाउने संकेत गर्नु भयो। “आ……आफू घन्टीको त्यति नजिक अनि ट्वांङ्ग ट्वाङ्ग पारे भै हाल्छनि” तिलक सर जिल्लाराम । लामो हाँसो चल्यो। यो पनि एक स्मरणीय क्षण हो।

गैह्रारे कान्छा ककाको नाम धन प्रसाद रहेछ भन्ने कुरा मैले पहिलो पटक उनले स्कुलमा सेवा गर्न थालेपछि चाल पाएँ।

हाम्रो बुवालाई गुरु भन्ने, हरेक गाह्रो अप्ठ्यारोमा सल्लाह लिन आउने गैह्रारे कान्छाको अब बासँग पनि भेट होला नै। साना मान्छेहरुको इतिहाँस नलेखिए पनि सके र भ्याएसम्म उनीहरुको पनि स्मरण गर्न सकियो भने लेखिएका कुरा जीवित रहन्छन। जन्मदा परिचय विहिन बालक मृत्यु हुने बेलासम्म उसले एउटा परिचय बनाइसकेको हुन्छ। उ सँगका सम्पर्क र जीवनका भोगाइ, तितामिठा सम्बन्धहरूलाई लिपिबद्ध गर्न सकियो भने भावी सन्ततिले पनि मेरा हजुरबा, जिजुहजुर्बा यस्ता रहेछन भन्ने चिन्दछन। यो मेरो निजि बिचार हो ।

आशा छ, कान्छा ककाका २ भाइ छोराहरु रेशम र ध्रुबले सानो रकम भए पनि अक्षय कोषको निम्ति पहल गर्नेछन् । अमेरिकामा बस्ने राजेन्द्र श्रेष्ठले पनि यदि सानो तिनो अक्षय कोष बनेमा धेरथोर सहयोग गर्ने बचन मसँग दिएका छन् र काकाको आत्माले अधिकतम शान्ति प्राप्त गरोस भन्ने कामना गरेका छन्। मैले पनि अलि अलि सहयोग थप्ने प्रतिबद्धता जाहेर गर्दछु । रेशम र ध्रुब भाइ अनि काकीमा गहिरो समबेदना प्रकट गर्दछु।

तपाइँको प्रतिक्रिया