शनिबार, वैशाख १५, २०८१

पुठ्ठा जमेकाहरु !

अनुराधा पौडेल२०७९ कार्तिक ६ गते ८:५३

एकदिन युरोपको सबैभन्दा ठूलो बरफ नदी (ग्लेसियर) को तस्विर फेसबुकमा झुलुक्क देखियो । निर्मल र कन्चन सेतो गलैचा जस्तो त्यो तस्विर निराजन श्रेष्ठले खिचेका थिए । स्विस शहर जेनेभाबाट २३० किमी उत्तर पुर्वमा विराजमान यो आल्तेस हिम नदीको तस्विर देखेपछि ठट्टै ठट्टमा निराजनलाई मैले भनेँ, “आफू मात्र त्यति राम्रो ठाउँमा जाने, हामीलाई केहि नभन्ने ?”

दिन बिते । वर्ष बिते । कोभिड आयो । घुम्नको त के कुरा एक अर्कालाई हाइहेल्लो गर्न पनि त्रसित हुने बनायो ।

जीवनको गति आफ्नै लयमा फर्कदैँ थियो । भर्खर बितेको गर्मी याममा उनै निराजनले “हिमाली क्षेत्रमा जाने अवशर जुरेको छ । मिल्छ भने समय निकाल्नुहोला” भने । धुम्म परेको उकुसमुकुसयुक्त शहरी जीवन र काम अनि घरको एकोहोरो दैनिकी केहि दिनलाई छाडेर भएपनि प्रकृतिमा रम्न पाउने अवशरलाई गुमाउन मन लागेन ।

अक्टोबर महिना, युरोपमा मौसमको कत्तिपनि भर त हुँदैन । घाम लाग्यो र आकास खुल्यो भने पहेँलिदै गरेका वनका पातहरुले वनै रमाइलो बनाउँछन् । टाढा टाढाका क्षितीजले मन अझ रमाइलो थपिदिन्छन् । अक्टोबरमा गर्मी बिदा मनाएर मानिसहरु फर्किसक्ने भएकोले रमणिय न्यानो न्यानो वातावरणमा पर्यटक स्थलहरु पनि अलि खुला हुन्छन् । हामीले जे हुनेछ सबै राम्रो हुनेछ भन्ने अभिलाषा राख्यौँ । हिमाली क्षेत्रकालागि चाहिने लुगा र पोका पोन्तुरा तयार पार्न थाल्यौँ ।

स्विजरल्याण्डमा ‘पोलिस वाईन’ थप्दै गर्दा एक जनाले भनिहाले ‘गाडी चलाउनेले वाईन खान मिल्दैन नी । जरिवानामा परिएला, सवारी चालक परिचय पत्रको नंवर घटाइदेला नी ।’ ‘हाम्ले तिमीहरुकै वाईन खाको हो भन्दिम्ला नी पुलिसलाई’ अर्को साथीले त्यसो भन्नासाथ सबै गलल्ल हाँस्यौं ।

आफ्नो सवारी भएकोले हामीलाई रेल या जहाजको यात्रा गर्न मन लागेन । त्यसैले आफ्नै सवारीमा जाने निधो गर्यौँ । तर हामीले सात शय भन्दा केही किमी टाढाको यात्रा गर्नुपर्ने देखियो । यति धेरै लामो दुरीको यात्रा एकैदिन गर्ने आँट आएन । आफ्नो कर्मभुमी फ्रान्सबाट आफ्नो मनको देश स्विजरल्यान्ड जानु नै छ भने किन हतार गर्नु भन्ने लाग्यो । बाटोमा देखिने अनुपम भूदृष्य र नालिबेली पहाडि चुचुराहरु हेर्दै जाने उद्देश्य राखेर हिमाली क्षेत्रसम्मको गन्तव्यलाई दुइ दिनमा बाँड्यौं ।

सात शय वर्ष पुरानो इतिहास रहेको युरोपको सानो मुलक स्विजरल्याण्ड । तर समग्र युरोपको अर्थतन्त्र भन्दा बलियो यो देशले कयौँ पटक फ्रान्ससँग लडेको छ र पाँच शय ७२ किमी सीमा फ्रान्स सँगै बाँडेको छ । यि दुइ देशहरुका सीमा जुरासिक कालदेखि अस्तित्वमा रहेका जुरा पर्वत श्रैंखलाहरुले प्राकृतिक रुपमा छुट्टाएका छन् । भनौँ, तिब्बत र नेपाल जस्तै ।

फ्रान्ससँग सीमा जोडिएका स्विजरल्यान्डका बासिन्दाहरु आफूलाई स्विस रोमँ हुँ भन्छन् । यसको मतलब दुइ शय वर्ष अगाडिसम्म यि भूभागहरुमा कहिले फ्रान्सले जित्थ्यो कहिले स्विजरल्यान्डको सेनाले । नेपोलियन बोनापार्टको अस्तिव खतम भएपछि यि भुभागहरु स्विजरल्यान्ड तिरै फर्के जसलाई स्विसहरु गर्वले म स्विस रोमँ भूभागको हुँ भन्छन् ।

अहिले भने कुरा अलि फरक छ । सीमामा यि दुवै देश मिलेर बस्नु परेको छ । कुनै बेला स्विजरल्यान्डलाई आच्छु आच्छु पार्ने फ्रान्सको सीमावर्ती शहरका ४३ प्रतिशत फ्रान्सेलीहरु स्विजरल्यान्डका बिभिन्न भूभागमा काम गर्न जान्छन् र फ्रान्सको भन्दा तीन गुना बढी स्विजरल्यान्डको तलब खान्छन् । फ्रान्सेली चिज कामोबेयर र स्विस चिज ग्रुइएरलाई यि दुवै देशका बासिन्दाले रुचाउँछन् । फ्रान्सेली टिभी कार्यक्रमहरु फ्रान्सेली भाषा बोल्ने स्विस क्षेत्रमा लोकप्रिय छन् । तर पनि यिनीहरु फरक छन् ।

बाटोको दुरीलाई दुइ भागमा बाँड्दा हामीले हाम्रा दुइ स्विस साथीहरुको घरमा एकरात पाउने अवशर देखियो । ‘हामीहरु आउन सकिने अवस्था जुर्यो’ भन्न के भियाएका थियौँ उनीहरुले हाम्रा लागि दैलो खुला राखे । हामीले पनि हाम्रो जिपिएस यिनै दुइ साथीहरु रहेको स्विजरल्यान्डको “इभेर्दों ले बाँ’ भन्ने ठाउँका लागि राख्यौँ । र दक्षिण पूर्वी दिशा तर्फ गाडि गुडाउन थाल्यौँ ।

हामीले गत सालपनि स्विजरल्यान्डका केहि भूभागमा विचरण गरेका थियौँ । पोहोरको यात्रामा भित्री सडकहरु प्रयोग गरेका थियौँ । मैले यो सडकको कुरा किन लेखिरहेकी छु भने यात्रा गर्दा बाहिरी भूदृश्यहरु मात्र होइन यात्रामा भेटिने हरेक चिजहरुको इतिहास र महत्व बुझियो भने आफ्नो यात्रा इतिहास र वर्तमानका बिचमा भैरहेको अनुभूती हुन्छ । डाँडा काँडा त सबैले देखेकै हुन्छन् । पोहोर हामीले भित्री सडक लिएका थियौ र फ्रान्सेली गाउँहरु हेर्दै अगाडी बढेका थियौँ । स्पष्ठ भन्नुपर्दा यस्ता सडकहरु गरिबकालागि भनेर चिनिन्छन् । किनभने यसको निर्माण र रेखदेख सरकारको क्षेत्रीय बिकास कोषको बजेटमा निर्भर हुन्छ । यस्ता सडकहरुलाई पहेँलो प्लेटमा अंग्रेजी अक्षर ‘डि’ ले संकेत गरिएको हुन्छ । भित्री गाउँहरुसम्म पनि यस्ता सडक पुगेका हुन्छन् र घुमाउरा हुन्छन् । यस्ता राजमार्गमा गुड्दा सडक सवारी शुल्क तिर्नुपर्दैन । तर धेरै घुम्नुपर्ने र गती कम हुनाले इन्धन भने धेरै लाग्छ ।

यो पटक भने हामीले केहि भाग ‘अटोरुट’ अर्थात ‘द्रुत राजमार्ग’ लियौँ । नेपालमा यस्तो खालको राजमार्ग बनेको छैन । यस्तो सडकमा गुड्दा सडक शुल्क तिर्नुपर्छ । शूल्क तिर्न सक्ने र समयमै लक्ष्यमा पुग्न रुचाउनेहरुका लागि यस्ता सडकहरु उचित हुन्छन् । एकतर्फी बाटो, आकस्मिक सेवाका लागि भनेर छुट्टै लेन, क्यामेराको सन्जाल भित्र पर्ने र नियन्त्रण कक्षमा बसेर जाम भए नभएको, दुर्घटना भए नभएको तुरुन्त हेर्न सकिने यस्ता सडक सुरक्षित र भरपर्दा हुन्छन् ।

कुनै बेला स्विजरल्यान्डलाई आच्छु आच्छु पार्ने फ्रान्सको सीमावर्ती शहरका ४३ प्रतिशत फ्रान्सेलीहरु स्विजरल्यान्डका बिभिन्न भूभागमा काम गर्न जान्छन् र फ्रान्सको भन्दा तीन गुना बढी स्विजरल्यान्डको तलब खान्छन् ।

यस्तो जाती ‘अटोरुट’ को अवधारणा इटालियन तानाशाह मुसोलिनी सत्तामा हुँदा आएको हो । उ बेला घोडा साइकल पैदल यात्रु र मोटर गाडि एउटै सडकमा गुड्थे । इटालियन इन्जिनियर पिएरो पुरिसेलीले मोटर मात्र गुड्ने सडकको अवधारणा अगाडी सारेपछि मुसोलिनीले सडक निर्माण गर्न अनुमति दिए । पछि यो अवधारणा युरोप हुदै संसारका अन्य देशमा पनि पुग्यो । द्रुत गतिका सवारीका लागि मात्र आरक्षित हुने यस्ता राजमार्गमा फ्रान्समा कम्तीमा ८० अनि बढीमा १ शय ३० र स्विजरल्यान्डमा बढीमा एक शय २० किमी प्रति घन्टाका दरले गुडाउन सकिन्छ ।

हामीले यात्राको पहिलो दिन राजमार्ग शुल्क ३५ युरो तिर्यौँ । अक्सेएर, बोओन, माप्स आदी शहरलाई पछाडि पार्दै ल दुब्स नदी तरेर फ्रान्स र स्विजरल्यान्ड सीमानामा रहेको ओबर्सोँ नाका आइपुग्यौँ ।

नाकामा आइपुगेपछि हामीले सीमा सूरक्षा प्रहरीहरु जाँचको लागि आउलान् भनेर सवारी रोकेर पर्खियौँ । उनीहरु आएनन । झरेरै प्रहरी पोष्ट तिर गयौँ । तर पोष्ट बन्द रहेको देख्यौँ । यो चलन चल्तीको नाका त थिएन । तर प्रहरी पोष्ट नै बन्द होला भन्ने हामीलाई लागेको थिएन ।

यो नाका पार गरेपछि सानो गाउँ देख्यौँ । वर्षमा कम्तीमा पाँच महिना ठन्डा हुने जुरा पर्वतको गाउँमा बस्नेलाई तल भुताबफ तिरका बासिन्दाले “पुठ्ठा जमेकाहरु” भन्ने उपनाम दिएका रहेछन् । बिजुली र हिटर नहुदाँ दाउराका भरमा बरफको जीवन गुजार्न कति गाह्रो थियो होला उ बेला ! सिरक छाडेर निस्कन मन नहुँदो हो । तर आज पर्यन्त उनीहरुलाई जिस्काउने उपनाम ज्यूँदै रहेछ ।

फ्रान्सपट्टी भने फ्रान्स एकिकरणपूर्व अस्तित्वमा रहेको बुर्गोन्य भन्ने राज्यका राजाहरुले शासन गरेको भूभाग रहेछ । यहि भूभागमा बसेर स्विजरल्यान्डका बासिन्दासँग दिन रातै युद्द र झगाड मच्चाउँदा रहेछन् । स्विजरल्यान्डले आफ्नो क्षेत्र जोगाउन फ्रान्सेली सरकारलाई हार गुहार गर्दो रहेछ ।

सात शय वर्ष पुरानो इतिहास रहेको युरोपको सानो मुलक स्विजरल्याण्ड । तर समग्र युरोपको अर्थतन्त्र भन्दा बलियो यो देशले कयौँ पटक फ्रान्ससँग लडेको छ र पाँच शय ७२ किमी सीमा फ्रान्स सँगै बाँडेको छ ।

त्यसो त, सीमा नाकामा प्रहरीपोष्ट नभेटिएपनि या निगरानी, जाँच नभएपनि स्विजरल्यान्ड छिर्दा ‘क्विकजोल’ भन्ने अनुप्राग (एप्लिकेशन) मार्फत् आफ्नो उपस्थिति जनाउन सकिन्छ । हामीले त्यो पनि नगरिकनै खुरुखुरु ओबरस्योँ नाका छिरेपछि भुताबफ भन्ने सानो एतिहासिक सहर झर्यौँ । नेपालको त्रिभुवन राजपथमा रहेका सात घुम्ती जस्ता कयौँ ठाडा भिराला र गँड्यौला जस्ता सडक पार गर्दा मेरो ज्यानमा कयौँ पटक जिँग्रिँग काँडा उम्रिए । अग्ला रुखहरु र तिनका छायाँले सडक छोपिँदा आँखा कयौँ पटक तिलमिलाए । आँखा झिमिम्क गर्दा तल खसिन्छ कि भन्ने डरले आँखा खुलै रहे । घुम्दै जति तल झर्यो उतिनै ईभेर्दों ले बाँ पट्टीको न्युशातेल ताल र भुताबफको बिशाल फाँटहरु खुल्दै खुल्दै गए ।

अहिलेको जस्तो आधुनिक सडक बन्नु पहिला यो भुताबफ शहरसित ६ शय बर्ष पुरानो जनजिवनको कथा जोडिंदो रहेछ । इतिहासमा बुझ्दै गर्दा वर्तमानमा भने धेरै अवशेष हामीले भेटेनौँ । या खोजि गरेनौँ । खाली गोरेटोको एउटा कथा भेट्यौँ । हामी ओरालो झरेको सडक आसपास उ बेला चुनढुंगाका भिराला चट्टानहरु खोपेर बाटो निकालिएको थियो रे । यहि बाटो हुँदै उ बेला स्थानियहरुले माथि माथि लेकका भेडि खर्कहरु तर्फ नून बोकेर लैजान्थे रे । सडक निर्माण भएपछि भने पुरानो गोरेटो र पछि घोडेटोका केहि खन्डहरु नासिएछन् । केहि खन्डहरु भने बाँकी नै रहेछन् । तर हामीहरुलाई समय नभएकोले यता खोज्न भने लागेनौँ । एउटा कुरा चाहिं के अचम्म लाग्यो भने यस्तो भिरालो सडकमा पनि गाडिको गति ५० किमी प्रतिघन्टा लेखिएको थियो । र स्विजरल्यान्डको नम्बर प्लेट भएका गाडिहरु सुइँ सुइँ गर्दै मेरा आँखा अगाडि सजिलै दौडिरहेका थिए । म भने पछाडी आउने गाडिहरुलाई पालो दिँदै गड्यौँला गतिमा झार्थेँ ।

त्यसो त, यो ठाउँको वर्णन गर्दा हाम्रो यात्रा जहाँसम्मको थियो त्यहिँ गएर टुंगिन्थ्यो । हामी पुग्ने भनिएको हिमनदी फ्रान्स र स्विजरल्यान्ड भएर बग्ने रोन नदीको मुहान थियो । ८ शय १२ मीटर लामो यो नदी एक तिहाइ स्विजरल्यान्डमा बग्छ । दुइ तिहाइ भाग फ्रान्समा बग्छ । र फ्रान्सेली भूमि छुने भूमध्यसागरमा समाहित हुन्छ । यहि रोन नदीको एक पानी ढलो (भंगालो) नुशातेल ताल र हामीले फ्रान्स पट्टी तरेर आएको ला दुब्स नदी पनि हो । यि ठाउँका नदी नाला र खोल्साहरु पछि जेनेभामा देखिने लेमन लाक (लेमेन ताल, कसैकसैले जेनेभा तालपनि भन्छन्) मा मिसिन्छन् । नुशातेल तालका माथिल्ला भागहरुमा अरु पनि साना ठूला अनगिन्ति ताल तलैयाहरु छन् । हामीले यहि रोन नदीको एक पानी ढलोतिर यात्रा अगाडी बढाइरहेका थियौँ । देख्यौँ, रोन नदीका फाँटहरु कृषियोग्य छन् । डाँडा काँडा हरिया छन् । तर तिनले शिरमा हिउँको टोपी लगाएका छन् ।

यो गाउँमा रहेका हाम्रा दुवै स्विस साथिका परिवारहरु नेपाल घुमेका छन् । यि मध्ये एक परिवारका अपांग बालक अन्त्वान डोकोमा बोकिएर अन्नपुर्ण हिमालको ट्रेकिंगमा गएका थिए ।

साँझ नघोप्टिँदै साथिहरुकोमा पुग्ने हाम्रो लक्ष्य थियो । कतै सडक मर्मत भइरहेको थियो र सवारीहरु एकतर्फी थिए । कतै तेल हाल्नु पर्ने त कतै फोटो खिच्नु पर्ने । हामी “जहाँ जाला जोगी भातै खाला” तालमा हिँडेकाहरु साथीहरुकोमा केहि ढीला पुग्यौँ । तर भरपुर न्यानो स्वागत र प्रेममा पग्लियौँ । राती अबेरसम्म उनीहरुकै गाउँमा उत्पादन भएको रातो वाइन, ग्रुइइएर नामको प्रख्यात स्विस चिज र रोटीहरु फालाफाल थिए । रेड वाइन ‘पिनो’ को जस्तो झल्को आउने त्यो स्थानिय वाइन कुनै जमानामा स्थानिय प्रहरीले उत्पादन गर्न शुरु गरेको रहेछ । त्यसैले त्यसको नामनै पोलिसिए (प्रहरी) रहेछ । र अहिले यसको नीजिकरण भएको रहेछ । बिशेष ठाउँमा मात्र बिशेष व्यापार हुने यो वाइन साथिले खोजिवरी ल्याएछन् र हामीलाई चखाउन पाएछन् ।

‘पोलिस वाईन’ थप्दै गर्दा एक जनाले भनिहाले ‘गाडी चलाउनेले वाईन खान मिल्दैन नी । जरिवानामा परिएला, सवारी चालक परिचय पत्रको नंवर घटाइदेला नी ।’

‘हाम्ले तिमीहरुकै वाईन खाको हो भन्दिम्ला नी पुलिसलाई’ अर्को साथीले त्यसो भन्नासाथ सबै गलल्ल हाँस्यौं ।

यो गाउँमा रहेका हाम्रा दुवै स्विस साथिका परिवारहरु नेपाल घुमेका छन् । यि मध्ये एक परिवारका अपांग बालक अन्त्वान डोकोमा बोकिएर अन्नपुर्ण हिमालको ट्रेकिंगमा गएका थिए । यो यात्राको आयोजना मेरै श्रीमानजीले मिलाएका थिए । उनीहरुको नेपाल यात्रा अबिष्मरणिय छ । र प्रेम नेपालीको जस्तो निश्चल अनि लोभ लालच बिनाको छ ।

भविष्यमा समाज चिन्तक बन्ने लक्ष्य लिएका यि अन्त्वान अब तन्नेरी बनेछन् । र खुल्लम खुल्ला बुबा आमाका अगाडि यौनजन्य कुरा गर्ने भएछन् । गोडाले धेरै हिंड्न नसक्ने उनको लागि एक विशेष साइकल रहेछ । सुतेजसरि चलाउन मिल्ने । पछाडी फिर फिर गर्दै हल्लीने पहेंलो झन्डा हल्लाउँदै । उनी र उनको परिवार हामीबाट बिदा भए । भोलिपल्ट बिहान हामीहरु भेडाका घन्टीहरुको आवाजले ब्युँझ्यौं ।

क्रमश :

तपाइँको प्रतिक्रिया