शुक्रबार, चैत १६, २०८०

बेलायतबाट मानविय कार्य सिकेर नेपाल लैजानुपर्नेमा जोड

नेपालप्लस संवाददाता / बेलायत२०७९ कार्तिक २ गते २३:५७

फोटो स्रोत- नेपालीलिंक

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बेलायत जस्ता विकसित मुलुकबाट नेपाली समुदायले सभ्यता, मुल्य मान्यता र मानविय कार्य सिकेर नेपालमा लैजानुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेको प्रवाशस्थित भात्री संगठन प्रवाशी नेपाली मञ्च (ओएनएफ) बेलायतले आयोजना गरेको दशैं, तिहार शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले बिदेशको सिप नेपाल लैजान आग्रह गरेका हुन् ।

संवन्धित : नेपालका नेता बोलाएर बेलायतमा दशैं तिहार शुभकामना

नयाँ कार्यसमितिको पहिलो कार्यक्रमका रुपमा रहेको शुभकामना साँझमा उनले आगामी ५ वर्षका लागि आआफ्ना प्रतिनिधि छान्ने संसदको निर्वाचनमा व्यक्तिगत स्वार्थ भन्दा उठेर राष्ट्र निर्माणमा लाग्न सक्ने उम्मेदवारहरुलाई मत दिन अपिलपनि गरे ।

प्रवासी नेपाली मञ्च बेलायत (ओएनएफ यूके) को शुभकामना तथा च्यारिटी साँझमा तिमल्सिनाले भने, ‘नेपालमा राजनीतिलाई कमाई खाने भाडो बनाउँने भ्रष्ट नेता र नराम्रोलाई पाखा लगाइदिउँ, राम्रो उम्मेदवारलाई भोट मार्फत अवसर दिउँ ।’ गलत उम्मेवारलाई भोट हाल्ने र पाँच वर्ष गाली गर्ने परिपाटी मतदाताले पनि अन्त्य गर्नुपर्ने सुझाव उनले दिए ।

फोटो स्रोत- नेपालीलिंक

पहिलो पटक बेलायत भ्रमणमा आएका तिमल्सिनाले गैर आवासीय नेपालीहरुले बेलायतबाट सुशासन, विकास र समृद्धिका आइडिया स्वदेश लैजान आग्रह गरे । तिमल्सिनाले नागरिकता विधेयक आगामी हिउँदे अधिवेशनबाट पारित गरि गैर आवासीय नेपाली नागरिकताको व्यवस्था हुने आश्वासन पनि दिए ।

ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा सम्पन्न च्यारिटि कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्प तिमल्सिनाले उमेर छँदै नेपालमा फर्किन सहभागीलाई आग्रह गरे ।

‘म २१ बर्ष युरोप बसेर अन्त्यमा नेपाल नै फर्केको हुँ । तपाईहरु पनि उमेर छँदैमा जन्मभुमी फर्कनहोस’ उनले भने ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले ओएनएफ यूकेले मानविय कार्यको लागि च्यारिटी जस्ता कार्यक्रमलाई प्राथमिकता दिएकोमा प्रशंसा गरिन् ।

ओएनएफ अध्यक्ष तुंग भद्र भुसालले प्रवासी नेपाली समुदायभित्र विकास भएको नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृति सँग जोड्दै नेपालीपन विकास गर्नुपर्ने दिशामा अघि बढनु पर्ने बेला आएको धारणा राखे ।

उनले डास्पोरामा फरक मत खोज्नु भन्दा पनि सबै संघ सस्था बिचमा न्युनतम सहमति हुन सक्ने बिषयहरु खोजेर अघि बढनु पर्ने बताए । आफ्नो संस्था ओएनएफ यो दिशामा अघि बढन तयार रहेको जानकारी पनि उनले दिए ।

कार्यक्रममा एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले ओएनएफ यूकेले च्यारिटि जस्ता मानविय कार्य गरेकोमा धन्यवाद दिए ।

प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङले बेलायतदेखि नेपालसम्मका मानविय कार्यमा ओएनएफले गरेको काम प्रसंसनिय भएको बताए ।

कार्यक्रम संयोजक ओएनएफ यूके पूर्व अध्यक्ष रामशरण सिम्खडाले ओएनएफ यूकेले अप्ठेरोमा आर्थिक तथा सामाजिक सहयोगलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै, शुभकामना साँझमा गायक सपनकुमार राई र गायिका निरुशा भट्टराईको गायन तथा प्रसुना कँडेल, प्रतिभा अधिकारी, बिनु लामिछाने, सुरक्षा पंगेनी लगायतका कलाकारका नृत्य प्रस्तुत गरिएको थियो।

उक्त शुभकामना साँझमा सहभागीहरुले विभिन्न नाचगान प्रस्तुत गरेका थिए । संयोजक सिंखडाले तयार गरेको संस्थाको गतिविधि समेटिएको ‘डकुमेन्ट्री’ समेत देखाइएको थियो ।

च्यारिटी साँझबाट संकलन भएको रकम चाडै सार्वजनिक गर्ने ओएनएफले जनाएको छ ।

बेलायतमा सन् २००४ सालमा स्थापना भएको ओएनएफ यूकेले राजनीति चेतनासँगै सामाजिक कार्यमा आफुलाई ससक्त ढंगले प्रस्तुत गरि च्यारिटि कार्यक्रमको आयोजना गरेको उल्लेख गरेको छ । नेपालीहरुको ठुला चाडहरु दशैंतिहार, छठ र नेपाल संम्वतको शुभकामना साँझ मार्फत समाज सेवालाई पहिलो प्राथमिकतामा राखेको भनाई ओएनएफको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक