शुक्रबार, वैशाख १४, २०८१

नवौं राष्ट्रिय खेलमा पौडी बिजेतालाई एनआरएनएको सम्मान

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक ३ गते १७:११

गैरआवासीय नेपाली संघको सचिवालयमा संघको तर्फबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेताद्वय एस्ली सापकोटा डंगोल र आशिष सापकोटा डंगोलको सम्मानमा बिहिवार कार्यक्रम आयोजना गरियो । उनीहरुलाई प्रमाणपत्र तथा फुलगुच्छा मार्फत संघका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा, राज रेग्मी र महिला सचिव राधिका गुरुङले स्वागत गरेका थिए । उनीहरुका आमा र प्रशिक्षकलाई पनि सम्मान गरिएको छ ।

गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले ६ वटा स्वर्ण र आशिष सापकोटा डंगोलले ३ वटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

कार्यक्रममा विजेताद्वयले संघको तर्फबाट प्रतियोगितामा भागलिन पाएकोमा गर्व महशुस गर्दै संघ प्रति धन्यवाद प्रकट गरेका थिए । साथै उनीहरुका प्रशिक्षक र आमाले पनि उनीहरुको जितले गौरान्वित भएको बताए ।

यसरी नै कार्यक्रमको अन्त्यमा यस कार्यक्रमका सभापति एवं संघका अध्यक्ष डा बद्री केसीले पदक विजेताहरुका साथै उनीहरुका प्रशिक्षक र आमालाई बधाई तथा शुभकामना दिए । उनले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोश्रो पुस्ताका ट्यालेन्टेड युवाहरुलाई खोजेर प्रतियोगतामा सहभागीता गराई नेपालको खेलकुद प्रबर्धनमा सहयोग गर्ने बताए । साथै उनले आज सम्मान गरिएका खेलाडीहरुलाई आउने ओलिम्पिकमा पनि नेपालको तर्फबाट सहभागीता हुनको लागि शुभकामना दिए ।

उनले नवौं राष्ट्रिय प्रतियोगितामा हाल सम्म २३ पदक हासिल गरेकोमा विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संघको युवा विभाग लगायत सबै सरोकारवालाहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया