बिहीबार, चैत १५, २०८०

डेनमार्कमा ‘भेट्रान्स प्रिमियर लिग’ फुटबल प्रतियोगिताको उपाधि अन्नपूर्ण टिमलाई

नेपालप्लस सम्वाददाता / कोपनहेग , डेनमार्क ।२०७९ कार्तिक ३ गते १९:४९

डेनमार्कको राजधानी कोपनहेगनमा बस्ने नेपालीबिच दुई महिना लामो ‘भेट्रान्स प्रिमियर लिग’ फुटबल प्रतियोगिताको उपाधि अन्नपूर्ण टिमले जितेको छ । कोपनहेगनको भल्बी पार्कस्थित कुलबेनभाइ स्टेडियममा भएको खेलमा अन्नपूर्णले धौलागिरि माथि शुन्यका बिरुद्द एक गोलको संघर्षपूर्ण जित निकालेको हो।

अन्नपूर्णका क्याप्टेन सुमित खड्काले मैदानको मध्य भाग देखि रक्षा पंक्तिका खेलाडी मनोज दर्शनधारी र दिपक रिजाललाइ छक्याउँदै लिएर आएको बल डिबक्स भित्र पुगेका स्टाइकर जिजन कार्कीलाइ दिएका थिए । सो मौकालाइ सुन्दर उपयोग गर्दै कार्कीले गरेको कडा प्रहारलाई धौलागिरीका गोलकिपर ज्ञानेस कोइरालाले रोक्न सकेनन र बल जाली चुम्न पुग्यो ।

यस अघि धौलागिरीका क्याप्टेन बिष्णु श्रेष्ठले गरेका धेरै प्रहारहरू अन्नपूर्णका गोलकिपर रबिन ओलीले विफल बनाएका थिए ।

गत आइतबार भएको अन्तिम खेलमा अंकको आधारमा माथि पुगेका चार टिम अन्नपूर्ण, बागमती, चन्द्रागिरी र धौलागिरी बीच विभिन्न चरणमा खेलहरु भएका थिए । सो दिन खेल खेल्नु अघि अन्नपूर्ण र धौलागीरि क्रमश ६ र ५ अंकमा थिए भने चन्द्रागिरी र बागमती ४-४ अंकमा थिए ।

सो दिनको अन्तिम खेल अघि अन्नपुर्ण र धौलागिरीको अंक ९ र ८ भएपछि लिग च्याम्पियन बन्न दुवै टिमलाइ जितको आबश्यकता थियो । सोहि कारण अन्त्यन्त संघर्षपूर्ण र रोमाञ्चक रहेको यस खेलमा अन्नपुर्णले विजय हासिल गरि १२ अंक सहित प्रथम भेट्रान्स प्रिमियर लिगको उपाधि चुम्न सफल भयो । त्यसैगरि अन्तिम अंकतालिकामा धौलागिरी र बागमतीले आठ आठ अंक बनाए भने चन्द्रागिरी पाँच अंक जोड्न सफल भयो ।

यस अघि भएको अर्को संघर्षपूर्ण खेलमा बागमतीका अमृत परियार ह्याट्रिक गर्नबाट चुके । धौलागिरी बिरुद्ध दुइ गोल गरेपछि पाएको पेनाल्टी किकमा परियारको प्रहारलाई धौलागिरीका गोलकिपर ज्ञानेस कोइरालाले सजिलै विफल बनाइदिए ।

यस प्रतियोगितामा ५ गोलको असिस्ट सहित अन्नपूर्णका सुमित खड्काले ४ गोल गरे भने धौलागिरीका बिष्णु श्रेष्ठ र बागमतीका अमृत परियारको खातामा पनि ४- ४ गोल नै दर्ता हुन् पुगेको छ ।

त्यसै गरि चन्द्रागिरीका उदियमान खेलाडी हरि न्यौपानेले प्रतियोगिताभर ३ गोल गरे भने अन्नपूर्णका कृष्ण पराजुली र धौलागिरीका प्रकाश पुरीको खातामा पनि दुइ-दुइ गोल रहन गएको छ ।

यस सिजनको खेलमा बागमतीका क्याप्टेन उत्तम मोक्तान र चन्द्रागीरीका क्याप्टेन राम श्रेष्ठले सम्झन लायक उदाहरणीय खेल प्रस्तुत गरे भने बागमतीकै सुर्यमणि, बिमल केसी र सैलेन्द्र बान्तवाको ट्याकल गर्ने शैलीको समेत दर्शक हरुले प्रशंसा गरे । धौलागिरीका तर्फबाट लेफ्ट र राइट विङ्सका खेलाडीहरु सालिकराम शर्मा र सुदन पौडेलले प्रतियोगिता भरिनै राम्रो प्रदर्शन गरे ।

डिफेन्स तर्फ अन्नपुर्णका नबिन पौडेल, बिनोद ढकाल र धौलागिरीका मनोज दर्शनधारी, दिपक रिजाल दर्शकको नजरमा उत्क्रिस्ट ठहरिए भने चन्द्रागीरीका दिपेन्द्र श्रेष्ठ, कबिर छन्त्याल र ओजेश बाबु श्रेष्ठको खेल हेर्न लायकको देखियो ।

अन्नपूर्णका खेलाडी आर्सियल लामिछाने यस लिगमा त्यति जम्न सकेनन । उनले डिएरियामा पाएको धरै अवशरलाइ गोलमा परिणत गर्न सकेनन भने प्रदिप शर्माले समेत खड्काको पासलाई गोलमा परिणत गर्न सकेनन । प्रकाश ढकाल र राधाकृष्ण सापकोटा यस वर्षको अनुशासित खेलाडीको रुपमा परिचित भए भने बाग्मतीका डेब्यु खेलाडी विजय अधिकारीले चन्द्रागिरी बिरुद्ध एक गोल गरे ।

बागमतीको तर्फबाट निकै आकर्षक ड्रिबिलिङ्ग गरेका ओम प्रकाश बजिमय आपनो टिमको मेरुदण्ड साबित भए भने अर्जुन रानाभाट र रबिन उप्रेतीले बागमतीको रक्षापक्तिको उत्कृस्ट बचाऊ गरे ।

डेनमार्कमा अन्त्यन्त चिसो बढेको कारण एकै दिनमा दुइ तिन खेल खेल्नु परेपछि खेलाडीहरुले आयोजकहरुसँग केहि विवाद समेत गरेका थिए भने कुनै खेलमा रेफ्रीहरुले गरेका निर्णय बिरुद्ध समेत अपिल गर्दै केहीबेर खेल समेत रोकिन गएको थियो । कुनै कुनै निर्णय लिन रेफ्रीलाइ निकै अप्ठेरो परेपछि रेफ्रीले खेल समेत रोकेर केहीबेर आफ्ना सहयोगीसँग खेलबारे छलफल गरेका थिए ।

मैदानमा हावाको चाप एकदम बढेर जाँदा पेनाल्टी हान्न रखिएको बल समेत स्थिर हुन् नसकी खेल रोक्नुपरेको थियो । चिसो मौसमका कारण खेलको तालिका परिवर्तन भएकोमा आयोजक समक्ष केहि टिमहरुले लिखित असन्तुस्टी समेत जनाएका छन् ।

प्रतियोगिताको समापन भने तिहार पछि एक समरोह बीच गरिने आयोजकहरुले जनाएका छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक