बिहीबार, चैत १५, २०८०

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएलाई १० स्वर्णसहित २६ पदक

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ कार्तिक ७ गते ११:०५

गण्डकी प्रदेशमा गत १४ देखि २० अक्टोवर २०२२ सम्म आयोजना भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० स्वर्णसहित कुल २६ पदक जितेको छ ।

संघको विभागीय टोलीले १० स्वर्ण ९ रजत र ७ कास्य गरी २६ पदक हासिल गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सम्पूर्ण विजेता खेलाडी, प्रशिक्षक, म्यानेजर लगायत सम्पूर्ण सरोकारवालाहरुलाई बधाई दिंदै आभार प्रकट गरेको छ ।

पौडि विधामा सहभागी खेलाडी एस्ली सापकोटा डंगोलले ६ स्वर्ण, २ रजत जितेकि हुन् । त्यस्तै आशिष सापकोटा डंगोलले ३ स्वर्ण, ४ रजत र १ कास्य गरि कूल १६ पदक हासिल गरेका छन् ।

त्यसैगरि बक्सिङ विधाको ५७ केजी तौल समूहमा शिबु थापाले १ सुवर्ण, चन्द्र बहादुर तामांगले बक्सिङको ७१ केजी तौल समूहमा १ रजत, सनिल शाहीले ६७ केजी तौल समूहमा १ कास्य जितेका छन् ।

लनटेनिस सिंगल विधामा आरभ सम्राट हाडाले १ रजत, महिला तेक्वाण्डो विधाको ७३ केजी तौल समूहमा सुमित्रा खत्रीले १ रजत, जुडो विधाको ६० केजी तौल समूहमा विकास विकले १ कास्य, फूल कन्ट्याक्ट कराँते विधाको ६५ केजी तौल समूहमा दिशान तामांगले १ कास्य, टेबुल टेनिस विधाको मिक्स डबलमा सुनिता लामा र दिप्शनले कास्य पदक जितेका छन् ।

टेबुलटेनिस विधाको टिम इभेण्टमा क्रमशः महेश श्रेष्ठ, दिपशन, गणेश तामांग र प्रतिक थापाले कास्य पदक, ब्याडमिण्टन विधाको पुरुष तर्फको टिम इमेण्टमा दिवस विश्वकर्मा, साहिल चन्द, सुमन उदय, तुला राम धामी, एशिया जबेबु र विक बुढाले कास्य पदक हासिल गरेका छन् ।

संघका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १४ विधामा खेलाडी तथा अफिसियल गरी १३० भन्दा बढीको सहभागीता रहेको थियो ।

खेलुकुदको माध्यमबाट विदेशमा रहेका युवा तथा दोश्रो पुस्ताको नेपाल प्रति लगाव भएको र भविष्यमा पनि खेलकुद माध्यमबाट उनीहरु नेपालसँग जोडिरहने विश्वास संघले लिएको युवा उपाध्यक्षहरु रोशन थापा, हिमाल गुरुङ र राज रेग्मीले उल्लेख गरेका छन् ।

यसैबिच राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले प्रतियोगिता सफल भएकामा आभार प्रकट गरेका छन् ।

पहिलो पटक ‘एन्टी डोपिङ’ शुरु

राखेप सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताएका छन ।

राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए । प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट बन्ननसकेका पूर्वाधार निर्माणमा विशेष ध्यानदिनआग्रह गरे ।

उनले पोखरामै स्वीमिङ पुल र सुटिङका पूर्वाधार आवश्यक रहेकोमा जोड दिंदै खेलकुद पत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने स्पोर्टस् अवार्डमा राखेपको सहयोग निरन्तरतामा जोड दिए ।

गण्डकीमा २८ असोजदेखि ३ कात्तिकसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो जसमा नेपाल आर्मी च्याम्पियन बन्यो ।

प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा आयोजित समारोहबीच उद्घाटन गरेका थिए भने समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा आएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक