मंगलबार, वैशाख ११, २०८१

युरोप रुसी उर्जामा ‘लागू पदार्थ दुर्व्यसनी जस्तै’ निर्भर

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ कार्तिक ८ गते १९:१५

रूसी सेनाको गोलाबारी पछि कीभ नजिकैको बुचामा विनाशको दृश्य . foto- screen shot worldcrunch.com

युक्रेनको पुनर्निर्माण पुस्तौं पुस्ताका लागि चुनौती हुने र अब सुरु हुन आवश्यक रहेको जर्मन चान्सलर ओलाफ स्कोल्जले युद्धग्रस्त देशको पुनर्निर्माण सम्बन्धी सम्मेलनमा बताएका छन् ।

ओलाफ स्कोल्जले जी ७ अध्यक्षताको रूपमा युरोपेली आयोगसँग मिलेर युक्रेनको पुनर्निर्माण संवन्धि एक विशेषज्ञ सम्मेलनको सह आयोजना गरिरहेका थिए।

“हामी आज युक्रेनको पुनर्निर्माणको बारेमा छलफल गर्न चाहन्छौं” युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले आफ्नो उद्घाटन भाषणमा भनिन् ।

“हजारौं ध्वस्त घरहरू, सयौं विद्यालयहरू भग्नावशेषमा परिणत भए। अनगिन्ती पुलहरू, सडकहरू, पावर स्टेशनहरू, रेलवे पूर्वाधारहरू र उद्योगहरूमा बमबारी भयो । युक्रेनीहरूका लागि यी तथ्याङ्क मात्र होइनन्। यो उनीहरूको दैनिक अनुभव हो” उनले थपिन्।

“यहाँ के खतरामा छ भने २१ औं शताब्दीको लागि नयाँ मार्शल योजना सिर्जना गर्नुभन्दा कम छैन । यो एउटा पुस्ताको कार्य हो जुन अब सुरु हुनुपर्दछ” स्कोल्जले भने।

मार्शल प्लान दोस्रो विश्वयुद्ध पछि पश्चिमी यूरोपको लागि अमेरिकी पुनर्निर्माण योजना थियो ।

“हामीलाई थाहा छ, कुनै पनि दुई देशको इतिहास एउटै छैन । तर हाम्रो आफ्नै ऐतिहासिक अनुभवबाट हामीलाई यो पनि थाहा छ कि पुनर्निर्माण जहिले पनि सम्भव छ र यो कार्यलाई सम्बोधन गर्न कहिले पनि चाँडो हुँदैन” स्कोल्जले थपे।

विश्व बैंकले युक्रेनमा ३५ खर्ब युरो क्षति पुगेको अनुमान गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्क्सीले युक्रेनलाई ३८ अर्ब डलरको बजेट घाटा पूर्ति गर्न कोषको आवश्यकता रहेको बताए । प्रधानमन्त्री डेनिस श्म्याहलले युक्रेनलाई यस जाडोमा बाँच्न र मानवीय विपत्तिलाई रोक्नको लागि तत्काल पूर्वाधार पुनर्स्थापना गर्न द्रुत कोष आवश्यक पर्नेमा जोड दिए।

भोन डेर लेयनले ईयु युक्रेनलाई प्रति महिना एक अर्ब ५० करोड युरो योगदान गर्ने लक्ष्य राखेको गत हप्ता घोषणा गरेकि थिईन् । त्यस अनुसार सन् २०२३ मा कुल १८ अर्ब हुन आउँछ ।

सम्मेलनमा, पोल्याण्डका प्रधानमन्त्रीले रुसी उर्जामा युरोपको निर्भरतालाई लागुऔषध व्यापारीकहाँ फिर्ता जाने दुर्व्यसनीसँग तुलना गरे ।

“हामी प्राय: रुसी कच्चा पदार्थमा युरोपको निर्भरताको बारेमा कुरा गर्छौं। र वास्तवमा, रूसले लागूऔषध व्यापारीको रूपमा व्यवहार गरेको छ” माचुज मोरास्वेस्कीले भने।

“लागूऔषध व्यापारीले पहिले आफ्नो पहिलो डोज सित्तैमा दिन्छ । किनभने उसलाई थाहा छ कि दुर्व्यसनमा फसेपछि त्यो ब्यक्ति फर्केर आउनेछ र अर्को डोजको लागि धेरै महँगो तिर्नेछ” उनले भने ।

“आज युक्रेनको पुनर्निर्माण र युरोपको पुनर्निर्माणको बारेमा कुरा गर्न उचित छैन। यो त्यो भन्दा बढी छ। हामीले युरोपको पुनर्संरचनाको बारेमा कुरा गर्नुपर्छ” पोल्याण्डका प्रधानमन्त्रीले भने।

युद्ध अघि लगभग ४० प्रतिशत युरोपेली ग्यास आयात रूसबाट थियो । तर रुसले उसको देशमाथि युरोपेली युनियनले लगाएको प्रतिबन्धको बदलामा आपूर्ति कटौती गरेपछि यो धेरै कम भएको छ।

सन् २०२० मा ईयुले सबै ऊर्जा आवश्यकताहरू मध्ये २४ दशमलव ४ प्रतिशत रूसी आयातमा निर्भर थियो । पोल्याण्ड आफ्नो ऊर्जा आवश्यकताको लगभग ३५ प्रतिशत रूसमा निर्भर थियो।

तपाइँको प्रतिक्रिया

फेसबुक